~जीवनाथ धमला~
नयाँ बान्की सजिएर लिपिहरू/ध्वनिहरू
उभिएका छन् गल्छेँडा, चउरहरूमा
पिरो धूवाँको नागबेली लर्को
प्रश्नबोधकझैँ
टाँगिएको छ छानादेखि छानासम्म ।
रमिता छ साँझ-बिहान, पर देखिने गल्लीमा
आकार लिन लालायित धमिला धर्साहरू
भिरालो बगेका छन्/ उकालो चढेका छन्
सिह्रानी चुहेर खोपिएका खिरिला विरौटाहरूमा
प्रश्नका बाछिटाहरू टल्केका छन्
काला प्वाँखहरू आकाश चढेका छन्
पैँयुका फूलहरू उत्तर पर्खिरहेछन्, डिलहरूमा ।
हिँड्न बाँकी छ, उज्यालोको महा-प्रस्थानमा
ब्यूँझिन बाँकी छ, सखारैको शुभसाइतमा
हस्तरेखामा टाँसिएको धूलो कसैले धुन्छ कि
खलाको महकलाई कसैले सेलाउँछ कि
चिसा परेलाको निशान एउटै हो, जहाँको पनि
टाउको उठाउँदा देखिन्छ, फेदीबाट-
पहरामा पाखनबेत फुलिरहेछ
तेर्सो वा उकालो/खलो वा विरौटो
जहाँबाट बजे पनि
बाँसुरी एउटै हो,
बाँसुरीको धुन, मात्र एउटै हो ।
(स्रोत : मधुपर्क २०६८ असार)