~लक्ष्मण वियोगी~
रोदीघरमा मादलुको, ताल मिठो ‘सोल्टिनी’
त्यही तालमा नाचेको त्यो, चाल मिठो ‘सोल्टिनी’
छमछम नाच्छ्यौ, पाउमा पाउजु बजाएर
उर्ली आउँछ भावनाको, छाल मिठो ‘सोल्टिनी’
झ्याउरे भाका ‘सालैजो’ रातैभरि आँगनीमा
जूनको रात पिरतीको, खाल मिठो ‘सोल्टिनी’
तनको बयेलीमा आज, मनको डाली नुग्यो
बुझ्न नसकिने यो, मायाजाल मिठो ‘सोल्टिनी’
(स्रोत : रचनाकारको ब्लगबाट सभार)