~अज्ञात~
प्रस्तोताः होमर श्रेष्ठ
वर्षदिनको बरखी फुकाएको दिन हर्केले बाबुको मृत्यु-वचन सम्झ्यो।
हर्केको बाबुले मर्नुअघि प्राणवायु फेर्दै भनेको थियो—”हर्के, मैले गर्न नहुने थुप्रै पाप र अपराध गरेको छु…फलतः अकुत धन-सम्पत्ति जोडेको छु। वैंकको चेकबुक, पासबुक, तमसुक, मन्जुरीनामा आदि महत्वपूर्ण कागजपत्रको फाइल दराजभित्र छ। दराजको चाबी मेरो भित्रीकट्टुको इँजारमा बाँधेको छु। मेरो शेषपछि आफ्नो नाममा वैंकखाता खोल्नू! पैसाको माम्लामा सुँगुरलाई विश्वास गर्दा हुन्छ, तर मान्छेलाई विश्वास नगर्नू!… आमा-बाबुको सम्झनामा शिलालेख कुँदेर शिव-पार्वतीको मन्दिर बनाऊनू…! मन्दिरमा दानबाकस राख्न र त्यसमा भोटेताला लगाई चाबी आफ्नो हातमा लिन नबिर्सनू…! अब म छिट्टै मर्नेछु र मेरो पुनर्जन्म हुनेछ। यही गाउँको ‘विकासे बंगुर फारम’मा म ठिमाहा बंगुर भएर जन्मिने छु। मेरो ज्यान रातो र सेतो थोप्ला भएको टाटेपाटे हुनेछ। फारममा अरु बंगुर पनि राघेपाटे रहेछन् भने थुतुनोमुनि मासुको लुँदो भएको बंगुर हेरेर मलाई चिन्नू र तैँले त्यो बंगुरको खप्परमा बन्चरोको पासोले हानेर एकै खेपमा ठहरै पार्नू! तब म चोला फेर्नेछु र पारि तर्नेछु…मेरो वास स्वर्गमा हुनेछ।”
बाबुको वचन पूरा गर्न हर्के गाउँको विकासे फारममा गयो। … नभन्दै उसको बाबुले भनेको जस्तै थुतुनोमुनि मासुको लोला भ’को टाटेपाटे सुँगुरको पाठो फारमको आहालमा खेलिरहेको उसले देख्यो। हर्केले फारमको मालिकसित त्यो बंगुर किन्न माग्यो। फारमको साहुले सानो पाठो नबेच्ने भन्यो। हर्केले टाटेपाटे बंगुरको इतिवृत्त बतायो र साहुले मागेको मूल्य ति-यो। त्यसपछि, हर्केले आँखाभरि आँसु सँगाल्यो र बन्चरो उचालेर बंगुरको थाप्लोमा हान्नै लागेको बेला च्वाँचे करायो—”हर्के, भो मलाई नमार! म चोला फेर्न चाहन्नँ। मेरो निम्ति यही फारम स्वर्गतुल्य छ।”