~सदानन्द अभागी~
परिचय–
हरि कट्टेल (२०२५)का, बिलौ नै बिलौना (छन्दोबद्ध लघुकाव्य, २०४५),अनावृत आकृति (छन्दोबद्ध कवितासङ्ग्रह, २०६१), मुटु टुक्रिएपछि (मुक्तकसङ्ग्रह, २०६९),काँडा टेकेर फूलका कुरा (गजलसङ्ग्रह, २०७२) र माधवआनी (खण्डकाव्य, २०७३) कृतिहरूमा आँखामा अल्झिएका आँखा (गजलसङ्ग्रह, २०६४) र काँडा टेकेर फूलका कुरा (गजलसङ्ग्रह, २०७२) पढ्ने सौभाग्य मिलेको थियो र ती कृति सम्बन्धमा केही धारणा पस्केको थिएँ । आज ‘माधवआनी’ खण्डकाव्य,२०७३ ले मलाई आकर्षित पारेको छ र म त्यसैमा रमाइ रहेको छु । छन्दमा रमाउने यी कविलाई एक दर्जन जति साहित्यिक संंस्थाले सम्मान गरेका छन् भने साहित्यिक कार्यक्रममा सहभागी भै प्रतियोगितामा प्राप्त गरेका पुरस्कार पनि दर्जनौ छन् । हरि कट्टेलले लामो समय साहित्य सेवामा समर्पित गरेका छन् । शैक्षिकस्तरलाई केलाउँदा उनले एम. बी.ए. र एम.एड. को डिग्री हाँसिल गरिसकेका छन् । उनी अंग्रेजी र नेपाली दुबै विषयमा दक्ष छन् । उनको पेशा अध्यापन हो । उनका भावना र पोखाइलाई अध्ययन गर्दा उनी कविता लेखनको आरम्भदेखि नै छन्दमा
रमाउने कवि हुन् र उनको कथनमा नै उनी लोक छन्द र वर्णमात्रिक छन्दमा प्रथमिकता ओगटेदै पछि उनी शास्त्रीय छन्दमै रमाउन थालेको धारणा उनीबाटै प्रस्तुत भएको पाइएको छ । यस खण्डकाव्यले पनि उनको धारणाको पुष्टि गर्दछ । शास्त्रीय छन्दमा कविता, काव्य महाकाव्य लेख्नु भनेको त्यति सहज त हुँदैन तर उनको यो प्रस्तुति स्तुत्य छ ।
कृतिको संरचना – छन्दमा लेखिएको यो खण्डकाव्यमा ३६३ श्लोकहरू छन् । यो कृति प्रतिभा पुरस्कार प्रतिष्ठान विराट नगरले प्रकाशन गरेको छ । आवरण पृष्ठको अग्रभागमा गङ्गा सुवेदी द्वारा आकर्षक तस्विरले सजिएको छ भने पछिल्लो आवरण पृष्ठमा हरि कट्टेलको फोटोको साथै राष्ट्रकवि माधव घिमिरे, डा.रामप्रसाद ज्ञावली, प्रा. डा. गोपाल भण्डारी र दधिराज सुवेदीका कृति र कृतिकारप्रति लेखिएका अमृत वाणीले सजिएको छ । कृतिको मूल्य १८०÷–रुपियाँ तथा ५ युएस् डलर राखिएको छ । खण्डकाव्य ६१ पृष्ठमा सजिएको छ भने आवरण पृष्ठ, प्रकाशकीय, भूमिका, शुभकामना कविको परिचय लगायतका २३ पृष्ठ सहित कुल ८४ पृष्ठको आकारमा यो कृतिको सिर्जना भएको छ ।
साहित्यकारहरूको कृति र कृतिकारप्रतिको धारणा – यस कृतिको प्रकाशकीय ‘कवि कट्टेलको शिखरोन्मुख काव्य–यात्रा शीर्षकमा साहित्यकार दधिराज सुवेदीजीले लेख्नु हुन्छ – ‘देश काल परिस्थिति र आजको समाजको विकृति विसङ्गतिलाई संक्षिप्त रूपमा अभिव्यक्त गर्ने सामर्थ नै कवि कट्टेलको मौलिक विशेषता हो ।’ वरिष्ठ साहित्यकार सुवेदीजीले सानो तर अति मिठोरूपमा यस खण्डकाव्यको सारभाव पस्कदै भन्नु हुन्छ – ‘‘ तिमी छिटै शिखर चढ र नेपाली कविताको फाँटमा कालजयी झण्डा गाड ।’’ राष्ट्रकवि माधव घिमिरेले यस कृतिलाई यसरी मूल्याङ्कन गरेका छन् –कविले आन्तरिक प्रशान्तिबाट टाढा गइरहेको आजको विश्वलाई त्यतातिर फर्काउनका निम्ति अत्यान्त कुशलताका साथ यो सुन्दर काव्यको सृर्जना गरेका छन् । यो काव्य सुललति र सार्थक बनेको छ । यस काव्यमा पहाडी र हिमाली सौन्दर्य र त्यसभित्र पाइने शान्तिको काव्यिक तर जीवन्त वर्णन छ ।’
वरिष्ठ साहित्यकार,महाकाव्यकार एवम् समालोचक डा. रामप्रसाद ज्ञावलीले यस काव्यको विशेषतालाई केलाउँदै भन्छन् –‘प्रस्तुत खण्ड काव्यको मुख्य विशेषता भनेको राग र विरागका दुई पाटाहरूको उद्घाटन गर्दै प्रेमको शाश्वततालाई काव्यिक वाणी दिनु हो । आत्मिक प्रेम भन्दा माथि अर्को कुनै प्रेम हुँदैन भन्ने बोध कविलाई भएको छ ।’ अर्को उल्लेख्य विशेषतामा –‘प्रकृतिको काखमा जीवनको आनन्दलाई अनुभूत गर्नु’ हो भन्ने धारणा आएको छ । ज्ञावलीजीले यस काव्यको समालोचनात्मक भूमिका लेख्नु भएको छ । यस भूमिकाले यस काव्यको राम्रोसँग चिरफार गरेको छ र कवि कट्टेलको काव्यिक क्षमतालाई राम्रोसँग विश्लेषण गरेको छ । पछिल्लो आवरणमा प्रा.डा.गोपाल भण्डारीको यस काव्यप्रतिको धारणालाई पनि समावेश गरिएको छ । भण्डारीजीले लेख्नु हुन्छ –‘माधवआनी’ नवीन आस्वादन दिन समर्थ खण्डकाव्य हो । कथा बस्तुको नवीनता, परिकल्पना, गरिएकोले यो स्वतन्त्र र मौलिक बन्न पुगेको छ । काव्यमा जीवनदर्शन सामाजिक तरलता, युगिन प्रवृत्ति, मानवीय कमजोरी, मूल्यान्तरण व्यस्तता र एकाकी प्रवृत्तिले निम्त्याएका बेथितिको चित्त बुझ्दो प्रस्तुतिले कविको परिपक्क विश्लेषणात्मक काव्यिक क्षमता प्रमाणित गरेको छ । ’वरिष्ठ साहित्यकार प्रा. बाालकृष्ण पोखरेलले, ‘एउटा गुञ्जन भर्खरै ध्वनित भो’ शीर्षकमा पाँचओटा श्लोकमा कवि कट्टेल र काव्यप्रति आफ्नो धारणाराख्नु भएको छ र उहाँले राखेका धारणाको एक श्लोक यहाँ यसप्रकार छ –
‘वाणी नै पनि सुस्त सुस्त मजको बानी छ जो व्यक्तिको
त्यो होला अति नै सुरम्य मुटुको नानी सरी नेत्रको ।
यौटा गुञ्जन भर्खरै ध्वनित भो चल्दै छ रे आरन
मीठा लाख हजार काव्य कविता जन्मून् यसै कारण ।।५।।
काव्य भित्र के छ भन्नु भन्दाा कविले यस कृति सम्बन्धमा के बोलेका छन् त मलाई त्यतातिर लाग्न मन लाग्यो । हरि कट्टेलले यस काव्य सम्बन्धमा लेख्छन् – ’प्रेम शाश्वत सत्य हो । मनको कुनै घेराबार हुँदैन, मान्छे अन्तर यात्राबाट निर्देशित हुन्छ । मनको चाहना र वाह्य परिवेश फरक कुरा हुन् । तथापि सत्य के हो भने मान्छे चाहनाकै्र पक्षमा रहन्छ । बहानामा पात्र आफू लुक्ला तर उसका चाहनाहरू लुक्दैनन् । यस काव्यमा मैले आजको शहर, पहाडी हिमाली संस्कृति र रहस्यले भरिएको हलेसीलाई समेत भावभूमि बनाएर फरक धर्म विशेषका आनी र योगी बीचको आत्मिीय प्रेम प्रसङ्गलाई पनि उठाएँ ।’
यस काव्यमा के छ त भन्ने यथार्थता त माथि उल्लेखित विद्वान साहित्यकार र स्वयम् काव्यकारको अभिव्यक्तिबाट प्रष्ट प्रष्टिएको छ तापनि मैले पनि यसकाव्यलाई पढ्ने र भावसारलाई पस्कने् प्रयास गर्दछु । यस काव्यमा काव्यकारले अरुकाव्य जस्तो सर्ग ÷अध्याय नलेखी पात्रको नाम दिएर थालनी गरेका छन् । माधवको नाम उल्लेख गर्दै काव्यको थालनी भएको छ । माधव यस कृतिका नायक नै हुन् । शहरमा सुनाम सुविधा नयाँ सभ्यता देखिए पनि सबै कृतिम छन् । यो दुनियाँ स्वार्थी भएकोले प्रेम ममता केही पाइदैन तर मैमत भएर धाक भने फिजाउँछन् । मानिस अजम्बरी छैन तर उसले भन्सारको जागिर महल, सानमान, आदि खोजी गर्दछ तर मनमा शान्ति पाउँदैनन् ।बास्तवमा यहाँ सहरको यथार्थता खिच्न कवि खपिस देखिन्छन् । सहरको धनीवर्ग र गरिव वर्गको बीचको खाडल विभेद, महलबासी र झुप्रो पनि नभएका, पितृ परम्परालाई त्यागिएको मानवीयतामा ह्रास आदि धारणा आएका छन् । केही श्लोक नै हेरौं–
मातैमात छ रातमा अनि यहाँ बढ्दैछ उत्पीडन
मान्छे मार्न तयार हुन्छ शहरी मान्छेहरूकै मन।
मान्छे गर्छ जेसुकै पनि यहाँ आनन्दको खातिर
पैसानै सब थोक हुन्छ नभए सर्दैन सिन्को पर ।।
(श्लोक १० पृष्ठ २)
माधवका मनभावहरू यसरी बग्दै गएका छन् । सहरी जीवन भन्दा गाउँले जीवन श्रेष्ठ र शान्त छ । केटीहरूको नग्नता, केटाहरूपछि लाग्नु, कसैलाई बोल्ने फुर्सर्तै हुँदैन, मानिस धर्म इमानमा चल्दैनन् अभिमानमा मानिसहरू बाँचेक छन् भन्दै माधव शान्तिको खोजीमा छन् –
खै त्यो शान्ति छ धाममा कि वनमा एकान्त उद्यानमा
झुल्के घाम र जूनमा कि मनको एकाग्रतता ध्यानमा ?
जस्तो सम्पति होस्, रहोस् नगरमा चिप्लोस् सधैं कारमा
आत्मा छैन खुसी भने सब कुरा अल्पिन्छ बेकारमा ।।
(पृष्ठ ३, श्लोक १७)
यस शीर्षकमा सहरी जीवनमा आजको समयमा देखिएका विविधतालाई कविले पष्ट्याएका छन् र माधवबाट आजको यस्तो समाजदेखि विरक्तिएका धारणा आएका छन् ।
आमा – आमा दोस्री पात्र हुन् । यसमा आमाले माधवलाई विरक्तभाव लागेको देखेर, सहरमा असीम मान र सम्पति छ । यो सबै तिम्रै लागि हो र तिम्रै आधारमा हामी बाँँचीरहेका छौं तिमी बिना कसरी बाँचिएला, नौली बुहारी भित्रिने बेला भएको छ, तिमीलाई कसले भड्कायो, पूजा आरती जपहरू यही गर्न सकिन्छ आदि भावनालाई आमाले माधवसँग राखेका केही पंक्तिलाई अध्ययन गरौं –
राम्रा उन्नत सीप बुद्धि जति छन् संसारका सभ्यता
छन् ती आज सबै यिनै सहररमा खोज्छौ तिमी चैं कता ?
( पृष्ठ ५ श्लोक २४)
सबै शहरतिर लाग्न थालेका छन् ,बाँचुन्जेल शान्ति कहिं मिल्दैन, लेखेको भोग्न पर्छ ।यो संसार स्वार्थी छ ‘स्वार्थैले तप ध्यान भो नी नभए बुद्धत्व मिल्थ्यो कहाँ ? योगी मानव, देवता कि ऋषि होस् स्वार्थी छ संसारमा ।। ’ (पृष्ठ ५,श्लोक २७)
माधवलाई सम्झाउँदै आमाले भन्छिन् –
के चै भो त अभाव यो घर अरू के दि द्यूँ म ऐले भन ?
वैरागी बनियौ भने दिनदिनै बुझुँला कसोरी मन ?
हामी मालिक छौं र अर्बपति छौं पौडेर आनन्दमा
बाँचौं गर्व गरी बसौं शहरमा भोगौं नयाँ जीवन !!
(पृष्ठ ६ श्लोक ३०)
आफ्नो घर परिवार स्वर्गसरि छन्, आफ्नै घरमा सुख शान्ति छ भागेर बुद्ध भइन्न, ठूलो मानिसले यस्ता साना मझौला कुरा सम्झिदैनन्, सबै घरपरिवार धाममा गएर परलोकको मधुरता र समृद्धिको आसनको माग गरौंला तिमी सानै छौ, कलिला छौ, दिमाग कलिलो छ हिड्ने कुरा नगर भन्ने आमको छोरालाई सम्झाउने धारणा यस शीर्षकमा आएका छन् ।
माधव–
यहाँ माधवले शहरको यथार्थतालाई आमा समक्ष यसरी पस्केका छन्–
घट्दो मानवता र जण्ड जनको साम्राज्य, आतङ्कता
बढ्दो फेसन, नग्नता, कुलत औ चोरी र सङ्कीर्णता
मान्छे छन् कपटी कुसङ्गति यहीं हुन्छन् बिराना सब
यस्तो निर्मम तुच्छ यो शहरको के गर्व गर्ने अब ??
(पृष्ठ ६ श्लोक ३५)
माधवले आमासँग निमुखाको अर्थ छैन,पापै कर्म गरे पनि धनीले सम्मान पाउँछ, गरिबले मरिमरि काम गरे पनि भोकै छन्, कुल्लीको कामको उपजबाट मालिक धनी बन्छ, भ्रष्ट र दुष्टहरूको यहाँ सालिक बन्छ,। सयौं मानिसले सडकमा सुतेर हुस्से बादल ओढ्न बाध्य छन्, अस्मिता बेचेर बाँच्न बाध्यता छ, कतिले यहाँ मस्ति गरेर बसेका छन्, कोही देश छाडेर विदेश पसेर बाँच्न बाध्य छन्, कोही शासक बनी साँढे बनेर घुम्दछन्, कोही गाँजा पिई झुम्दछन्, मान्छेमा माया,ममता र सौहार्दता छैन, नेता खँदिला नोटतिर लाग्दछन्, नेता हुन् या पिता सबैमा स्वार्थमात्रै देखिन्छ, शहीदको पथलाई बङ्ग्याइएकोले उत्सर्गको अर्थ छैन, मानिस हिंस्रक भएका छन्, पैसाकैपछि दौडेका मानिसको नालायकी कर्म छ, यस्ता विकृतिले गर्दा माधवले आफ्नो मन विरक्त भएको र अब कसैले रोक्न नसक्ने यथार्थता आमासँग पोख्दछन् । यहाँ माधवले आमासँग सबै नाङ्गै आयौं नाङ्गै जानु छ, यो भूवनबाट तर्नु छ, भन्छन्, कसैले द्यौता छैन भन्छन् कोही ढुङ्गा र माटो छोएर भगवान भन्दै पुज्छन्, शास्त्रमा पनि फरक फरक मत छ एउटा शास्त्र भन्छ ब्रह्मा कमलमा बसेका थिए र उनले संसार रचेका थिए, मधुकैटभ राक्षस विष्णुँग लड्दा मारिए र उनका हड्डी, रक्त र मासुले यो भुवन बन्यो, अर्को शास्त्रले मानिसहरू ईश्वर कल्पित हुन्, विद्वान शिक्षकले यी सबै विज्ञानका देन हुन् र पृथ्वीदेखि समस्त जीव विज्ञानका सृष्टि हुन् हामी अमीवाबाट विकसित हुँदै आएको भनेर पढाउँछन्, डार्विनका सिद्धान्त र धार्मिक सिधान्तमा फरक मत देखिएकोले सक्कली कुरा के हो त बुझ्न आवश्यक ठानेका कुराहरू, योगले मानिसलाई कुकर्म गर्न नदिई सत्कर्म सिकाउने कुराहरू,सबै धर्ममा मानववादका कुरा पनि हुन्छन् र तिनै दर्शन धर्मलाई पक्रेर मानिस हिड्थे तर आज त्यो छैन, मानिस भाँड भएको छ आदि धारणा सहित माधवले आमासँग भन्छन् –
यौटा मानिस कर्मले भुवनमा देखिन्छ द्यौता सरि
कर्मैले बनिए नि बुद्ध अनि ती श्रीकृष्ण सीता हरी
गर्दै लालच द्वेष, राग सँगमा बोकेर लोभी मन
ज्ञानी बन्न सकिन्न हुन्छ लँगडो संसारमा जीवन
(श्लोक ५१,पृष्ठ ९)
दिलमा चैन नभएर वैराग्यमा हुन्छ कि, हिन्दू दर्शनले मनको चिराग जलाएर ज्वाजल्य पारिदिन्छ कि, त्यसो हुँदा तपमा वा ध्यानबाट सकली इन्द्रलोक खोज्नको लागि, एउटा नव्य जगत खोज्नको लागि यस सहरको चाल चलन देखेर देश दुनिया बुझेर फर्कने योजना गरी माधवले आमासँग विदा माग्छन्। यस शीर्षकमा कविले माधव मार्फत धेरै कुराहरू उठाएका छन् । धनी भएर आफ्नैहरूको मन जलाएर त्यो धनले के गर्छ,, छुवाछुत तथा विभेदका कुरा, पानी नचल्ने कुरा, भ्रष्टचारका कुरा, आफ्नो बाबुले पनि भ्रष्टचार गरेका धारणा जनताबाट आएकोले यस्तो जनता चुसेको धन नछुने भन्छन् ।
सारा धर्म ग्रन्थमा शान्ति छ तर मानिसमा शान्ति नभएको र संसार आक्रान्त भएकोले यी सबै विरक्त हुने मनको लागि सङ्लो दर्शन खोज्न शास्त्र र शिवले के भन्दा रहेछन् त्यो बुझ्न ्हिड्ने आज्ञा आमाबाट माग्दै निधारमा चन्दन लगाएर हिडेको धारणा यस शीर्षकमा आएको छ ।
वैराग्यतामा माधव –यस शीर्षकमा माधव योगी बनेर देश विदेशका मठ, मेला, मन्दिर, घुम्न थाले । उनका दाह्री भर्खर पलाएका, कलिला ओठ, छोटो जटा, पहेंलो धोतीको पहिरन,साथमा जलपात्र, डमरू र त्रिसुलले सुशोभित आकर्षणले सबै प्रभावमा पर्दथे, भिखमाग्दै समाजका सबै कुरा बुझ्दै, हिडदै गर्दा पशुपते र हलेसीको जानकारी प्राप्त गरेर त्यहाँ जाने सङ्कल्प गर्दछन् । ठाउँ ठाउँमा कविले सारगर्भित रूपमा आध्यात्मिक दर्शनलाई पनि उठाएका छन् जस्तै –
मान्छे नश्वर छौं सबै भुवनका को बाँच्छ मान्छे यहाँ ?
कस्तो दृष्टि रहस्य बुझ्न सजिलै सक्थ्यो र मान्छे कहाँ ?
नौला जीव अचम्मको प्रकृति यो, यो सृष्टि, यो सिर्जना
वैली झर्दछ जिन्दगी जति गरून् मान्छेहरूले यहाँ ।।
(श्लोक ७१,पृष्ठ १२)
कवि सशंकित पनि छन् । जोगी हुन गाह्रो छ के माधवले चराचर बुझेर सन्मार्ग लिन सक्लान् भन्ने प्रश्न आफै पनि गर्दछन् । मानवीय प्रवृत्ति सधैं मिठो र रसिलो आनन्द लिनको लागि वेग हानेर दगुर्छ तर इच्छा पूर्ति गर्न सक्दैन । मान्छेरूपी पिंजडाको मन भने स्वतन्त्र छ, ऊ जहाँ त्यहाँ पुग्दछ । जस्ले मनलाई बाँध्न सक्छ त्यो नै महात्मा जन हुन सक्छ । माधवले मनलाई थुनेर राख्न सक्लान, किनकी मानिस त्यागी बन्छु भनेर पनि त्यागी हुन सक्दैन, मान्छेले मान्छेलाई बुझ्न पनि कसैले सक्दैन, मानिस बाहिर हाँसिरहेको हुन्छ तर उसको मन तड्पिरहेको हुन्छ । माधवले शास्त्र समाजलाई अध्ययन गर्दै हिड्दा असंख्य भोका देह पाएको छ । ऊ प्राणीको भलाइ गर्नको लागि हिडेको छ । ‘‘ प्राणी निम्ति भलाइ गर्न जहिल्यै मान्छे तयारी परोस् ’’ भन्दै यो शीर्षकको अन्त्य हुन्छ ।
माधवको हलेसी यात्रा– यस शीर्षकमा कविले प्राकृतिक शौन्दर्यलाई रहर लाग्दो तरिकाले वर्णन गरेका छन् । माधव हलेसी जान यात्रा गर्दा घोर वनको बाटो जान पर्ने, नदीको पवित्रता, दोभानमा संगम, पर्वतका छाया, जलपरीको खेल, कोशीतटका वयरका पोथ्रा पोथ्री, त्यही नै बसेर तपस्या गर्न मनलाग्ने, माछाहरूको उफ्राइ, छालको उठाई र विलाई,, पानी पधेरीमा नाग र नागिनीको खेल, पाखापखेराका नानाथरी फूल र गुराँसको सुन्दरता, चौतारीको तल वनचरीको भाकापूर्ण गान, कोकिलको सङ्गीतको स्वागत, आदिको साथै असहज मार्ग छिचोल्दै माधव हलेसीतिर बढदै जान्छन् । यी सुन्दर प्राकृतिक वर्णन र माधवले बाटोमा व्यहोर्न परेका कठिनाइको एउटा श्लोक यहाँ प्रस्तुत गर्न चाहान्छु –
बाटोमा वनमा अनेक रङ्का ढुङ्गा अनौठा थिए
टेकेका शिवले भनी जव सुने योगी झनै हौसिए
भोले शङ्कर जप्दथे र धरती ढोग्दै तिनी बढ्दथे
देख्दा घोरल भीरमा पयरती काम्थे र अड्दथे
(पृष्ठ १५ श्लोक ८४)
हलेसी मेला र आनीसँगको भेट– हलेसी महादेवको मन्दिरमा शिवरात्रीमा लाग्ने मेलामा मानिसको ठूलो भीड लागेको, नागा, सन्त महन्त बुढा बूढीहरू तथा विभिन्न रङका मानिसहरूले श्री शम्भुको नाममा भेटी अर्पण गर्नु, शङ्खको ध्वनि गुञ्जन, लाखबत्ती बाल्नु, सन्तहरूले गुफाका कुरा गर्नु, भस्मासुरले शिवको पुकार गर्नु र शिवजीलाई खुसी बनाएर वर माग्नु, शिवजी सँग भस्मासुरले ‘मैले जे जे छुन्छु त्यो भस्म होस््’ भन्ने वर माग्नु र शिवजीले तथास्तु भन्नु, वर प्राप्त गर्ने वित्तिकै शिवजीलाई भस्म पार्न दकुर्नु शिजी पनि यही गुफामा लुक्न आउनु, गुफामा गएर शिवलाई मार्न गुफामै जाँदा साँढेले गुफाको प्वाल छेक्नु, यस्तो संकट साध्य गर्न शिवजी आएर बसेको ठाउँ (गुफा)मा माधव पुग्दछन्, पुस्पाञ्जलि अर्पण गर्नु, माधव लगायतका सबैले शिवमा मन सुम्पनु आदि धारणा सहित माधवको भक्तिभाव, शारिरिक सौन्दर्यता र योगीका भेष लगायत समस्त सक्रियता यहाँ प्रष्ट पारिएको छ । हलेसीमा हिन्दू, बौद्ध, किराँत, सन्त तपसी, कोही विदेशीहरू, भिक्षु भिक्षुणीले कल्याणका देवता भनेर श्रद्धाभाव पूजा गर्दथे भन्ने धारणा आएका छन् । यस पछि माधवले ठूलो गर्जनसहित भोले र सम्भो भनेको आवजले तपसी आनीका आँखा खुल्छन्, उनले माधवलाई शंकरदेवको नजिक देख्छिन् । माला जप्दै भगवान शिवसँग निर्वाण पाउँ भनी ढोग्छिन् । यो मन्दिरमा हिन्दु धर्म र बौद्ध धर्मका सबैको आस्था छ । यहाँ माधव र आनीको देखादेखलाई कविले अति रहर लाग्दो रूपमा पस्केका छन् –
योगी आशनमा थिए नजरका ढोक थिए बन्द ती
आयो तैपनि चेतना हृदयमा जागेर नौलो रथि
खोले लोचन सन्तले नजिकमा देखे पहेंली परी
उम्रे त्यो मनमा विरुवा ती प्यारका मञ्जरी
(श्लोक १०५, पृष्ठ १८)
आनीको रूपको वर्णन–
देखे शीलवती सती सरि थिइन् ती शैल्यकी पार्वती
छर्थिन् सुन्दरता सुरम्य छविले शोभा छरेझैं अति
हुन् रम्म्भा रमणी कि वा शिव सती आइन् लिई तिर्सना
लाग्दैथ्यो धरणी कि इन्द्रपुर हो त्यो ठाउँ त्यो सिर्जना ।।
(श्लोक १०६, पृष्ठ १८)
आनीको यो रूप सौन्दर्यले माधवले अनेक थोक गुन्न थाले त्यसै बीचमा दुई गौंथली उडी आए, मन लोभी भयो तर माधवले शिव भक्तिमै लागे, तपमा लिन हुँदाहुँदै पनि योगीको मन तड्पिनु, धर्तीमा सुनपरी झरेको भान हुनु, मनमा कौतुक जाग्नु, आनीले पनि त्यसै ठाउँमा शिवजी भन्थिन्, जात धर्म दुई भए पनि सङ्कल्प भने दुवैको मुक्तिप्राप्त गर्नु थियो । माधव आनीको सौन्दर्यमा प्रभावित हुन्छन् यो सौन्दर्यका आकर्षणलाई कवि कट्टेलले यसरी वर्णन गर्दछन् –
खुल्दो सुन्दरता अगाडी छ भने तड्पिन्न को चैं जली
वैरागी पनि भोग्दछन् सब कुरा पक्कै नि आँखा छली
(श्लोक ११२, पृष्ठ ११३)
माधवका आँखा आनीतिरै पर्नु तर भक्तले के भन्छन् भन्ने आशङ्का बढ्नु तर पनि छुस्स बोलूँ भनेर तपसी आनीतिर सर्नु भीडमा बोल्दिन भनेर टोल्हाउनु, मनले मान्दैन तपसी आनीको नजिक पुग्छन् र माला दिन्छन् र आनीले पनि माधवलाई पीत रङको माला दिन्छिन्, सन्तका मनमा अझै तरङ्ग बग्छ, आनीलाई देवपरी मान्छन् र माया छर्न आएको ठान्छन्, यस समयको माधवको स्थितिलाई कट्टेलले यसरी लेख्छन् –
बढ्दा ताप हिमालको हिम कहाँ सक्थ्यो नपग्लीकन
देख्दा सुन्दर बस्तु को मनुजको लोभिन्न होला मन ?
माया हो कसको या देवगणको या मानवी सिर्जना
देख्दाती युवती प्रफुल्ल मन भो थाल्यो निकै दौडिन ।।
(श्लोक १२१, पृष्ठ २१),
यस शीर्षकमा कविले प्रकृतिक वर्णन, धार्मिक आस्था, आस्थामा देखिने व्यवधान, प्रेम, सुन्दरता, शृङ्गार रसलाई सभ्य, सुरम्य र पवित्रताका साथ उठाएका छन् अमृतरूपी भावनालाई सलल बगाएका छन् ।
आनी– यसमा माधवले आनीसँग नाउँ, गाउँ, ठाउँ, धर्मको सोधनी गर्छन् । आनीले सुन्दर प्रकृतिले सिङ्गारेका हिमशैलको कन्तरामा हुर्केको ्तामाङ् शेर्पा जातको, गुम्मामा बसेर तपध्यान गर्ने, बुद्धवाणीलाई सबै ठाउँमा छर्ने, ‘गच्छामी बुद्धम्शरणम भनेर निर्वाण खोज्दै छु म खाली हेर’ चोरी नगर्नु, सत्य बोल्नु, गुम्बा र देवस्थलको तीर्थ गर्नु, बत्ती जलाएर तप गर्नु, भिक्षा मागेर खाने, हिंसा क्यै नगर्ने, बाती बालेर शान्ति छर्नु, विहानमा जलदान गर्नु, पुर्खा पितालाई भगवान मान्नु, माने र गुम्वातिर नित्य जाने, ठूला ग्रन्थलाई ढोगेर पढ्ने, कर्मान्त प्रज्ञा र समाधि खोज्ने, लामालाई गुरुदेव मान्न,े शृङ्गार आडम्वरलाई शत्रु ठान्ने, समनाताको आवज बोकेर हिड्ने व्यक्ति नै देवता हो भन्ने ठान्ने, दीप जलाएर भगवानको समिपमा रहने, हामी सबै मानव नै हौं, तिमीमा कुन सोच छ ? मान्छे नखरा नशामा डुब्दै छन्, कैयौं साधुहरू पनि त्यै दिशा तिर छन्, छोरा छोरीमा समदृष्टि राख्नु पर्छ कुदृष्टि राख्न हुँदैन, शेर्पा हुनमा गर्व मान्छिन ्र म पक्कै सुरलोक जान्छु भन्दै आफ्नो परिचय दिँदै माधवको जानकारी यसरी माग्दछिन् –
त्यागी म यौटी नवयौवना हुँ
आनी भने पुग्दछ हेर नाउँ
हे सिद्ध योगी म कहें वृतान्त
हौ के तिमी मन्दिरका महन्त ??
(श्लोक १३७, पृष्ठ २३)
आनीले आफ्नो शुद्ध आचरण, शिवप्रतिको भक्ति, योगीको रूपको चित्रण गर्दै माधवलाई कुनदेशमा हिडेका, मनमा सुनौला इच्छा के छ,, के को निम्ति शिव धाम आयौ ,के सौच्छौ के फलाक्छौ, आँखा चिम्लेर के माग्छौ, चिम्टा र छाला साथमा, लट्टा अनौठो माथमा, आधाशरिर नाङ्गै किन राख्छौ र खरानी घस्न किन राम्रो लाग्छ । आवास कहाँ छ, मोक्ष कहाँ छ, कस्तो दीक्षा छ सुख कहाँ छ प्राणीहरूमा कतिको दया छ आदि प्रश्न आनीले माधवसँग राख्दछिन् । यस शीर्षकमा आनी र माधव बीचको परिचायन्त्मक भावनाको आदान प्रदान भएको छ । प्रस्तुति शिष्ट छ सौम्य छ ।
माधव – यस शीर्षकमा माधवले आनीले राखेका धारणालाई प्रष्ट पार्ने काम भएको छ । माधव आफू बाल तपसी भएको, निर्वाण पाउनको लागि शिवको ध्यान गर्न थालेको, तीर्थधामहरू घुमेको, धेरै योग गरेको, कुलीन खानदानको एक मात्र छोरा, वेजोड शिक्षा लिएको, बर्षैाबर्ष विलास र सुखको संसारमा रङ्गिएको रङ्गबाट मन भरङ्ग भएर वैराग्य लिएको, भौतिक चीजले जति सम्पन्न भए पनि आत्मामा अशान्ति नभए मानिसको जुनी व्यर्थ हुन्छ, त्यसो हुँदा सत्य र शान्ति खोज्दै, सुखलाई त्याग्दै, लाखौं संकट व्यहोर्दै, संसार कसो गरी बनियो, प्राणी बन्यौं के गरी, अनेकौ थरीका मानिस जन्मन्छन्, तारा, जून, घाम, हावा जल आदि छन् मानिसमा पनि प्रेम माया मोह, लोभ क्रोध छन् भूत प्रेतका कुरा पनि सुनिन्छन् पढदा शास्त्र अनेक छन् मतहरू पनि धेरै छन् तर आधार छैन, सिर्जना एउटै भए पनि नानाथरी हीरा मोती धर्म बिचारहरू छन्, कतिको अध्यात्मविज्ञानमा जवाफ पाइदैन,तर्क गर्दा कयौं प्रश्नहरू निरुत्तर छन् ,शुभ चिन्तनको लागि यहाँ आएको, भनिन्छ लोभ मोह, दम्भ पाप त्यागे ईश्वर पाइन्छ तर आनी तिमीमा ईश्वरको सुगन्ध कसरी आयो, भन्दै यस शीर्षको अन्तिम श्लोकमा माधवले आनीसँग भन्छन्–
खोजेको छु अतीत भुल्न घरका आमा बुबा बिर्सन
मेरो त्याग अझै पुगेन कि कसो घुम्छन् सयौं तिर्सना
योगी योग म गर्छू यो भुवनमा इच्छा नराखी कुनै
त्यागी हिड्छु म बाल सन्त तपसी हीरा र मोती सुनै
(श्लोक १५८, पृष्ठ२७)
आनी–यस शीर्षकमा माधवका कुरा सुनेर आनीले माधवका सबै सदिच्छाहरू बुझेका कुरा शान्ति प्राप्त भयो कि भएन भन्ने प्रश्न, बुद्धका उपदेशमा मानिसको लागि सत्मार्गका कुरा छन् । यी शब्दलाई सुनेमा संसार शिव बन्न सक्छ तर आज नाटक सन्तको देखिन्छ तर काम ठगीको छ । मानिसले कल्याणको काम गर्नु पर्ने हो तर गर्दैन जति त्यागी बने पनि लोभ रहन्छ । मानिसले नाफै खोज्छ, सुरा सुन्दरी र सुवर्ण खोज्छ । सारा धर्म प्रेममा र कल्याण्मा छ तर मानिसको मनमा पाप छ असुरी कर्म गर्दछ आदि धारणा राख्दै आनीले माधवलाई प्रश्न गर्छिन्–
‘लोभी छैन भन्यौ तथापि मनले पाउँ भन्यौ ईश्वर
सक्दैनौ जबशून्य बन्न कसरी योगी भयौ आखिर ?? ्
(श्लोक १६२ पृष्ठ २८)
आनीले गुम्बामा मन शान्त हुने हुँदा उकालो चढ्न, बुद्धको् बन्दना गर्न, रिङ्पोचे गुरुका शरणमा परेमा या दर्शन गरेमा मुक्ति मिल्ने कुरा राख्दै, शैली धर्म परम्परा भिन्न भए पनि हाम्र धर्म बिचारमा समता र सद्भावना छ, सहरका मानिस देवत्वको नाममा धन आर्जनतिर लाग्ने धारणा सहित आनी भन्छिन् –
‘नाङ्गो भै पटुकी कसी उदरमा भोकै र तिर्खै बसी
पक्कै मोक्ष कहीं हुँदैन तपसी फुस्रो खरानी घसी ।
‘ त्यागी बन्न कहाँ सकिन्छ मनमा इच्छा भए सल्बल
योगी बन्न सकिन्छ बल्ल मन त्यो रित्तो भएको पल’
आनीले माधवलाई ढर्राको सहर छाडे र गाउँमा आउनु राम्रो हो किनकी गाउँका मानिस सही कर्ममा लाग्ने सत्धर्ममा रहने गर्छन् । जन्म र मरण नौलो होइन सबै मर्छन् नै, यो जान्दा जान्दै मानिस किन अन्धो बन्छ ,तिमी पनि जाऊ सफा र शुद्ध कपडा लगाऊ, सही भोजन खाऊ, समयमा प्रभावयुक्तरूपमा भक्तिभावमा योग गर, नयाँ चिन्तन आउने गरि समाधिमा बस, एक्लो भएर शान्ति मिल्छ भन्ने भ्रमलाई त्याग्देऊ, सन्तोष पाउनको लागि राम्रो कर्म गर्नु पर्छ अधर्म गर्नु हुन्न, जन्म अपूर्व छ र इन्द्रियलाई बसमा पार्नुपर्छ जस्ता गहन तार्किक भावनालाई आनीले अनुहार नमिठो पार्दै माधवलाई हेछिन् र्। माधवका साथीहरूलाई देखेर झस्किन्छिन् । उनका आँखा माधवसँग जुध्न पुग्छन् र माधवलाई नाम्चे र लुक्लातिर आउने निमन्त्रण दिंदै शिष्टतासँग विदा माग्छिन् आदि गहन धारणा यहाँ आएका छन् । जब माधवले आनीलाई धेरै आशीर्वचनसँग विदा गरे त्यस पछिको मायावीय संसारमा प्राकृतिले प्रदान गरेका प्रेमका घटनाले माधवमा ल्याएको कुतूहलताको वर्णन अनुकरणीय देखिन्छ । प्रीति गाँस्न पुतली ओझेलमा ओर्लनु, ढुकुरका जोडीले मायाप्रीति साट्नु यी सबै प्रकृतिले दिएका आत्मीय प्रेमका घटनालाई माधवले देख्छन्, ‘मान्छेमा पनि राग प्रीति नभए के सार संसारमा’ माधव प्रश्नवाची हुन्छन्, उनका मनमा प्रेम जाग्दछ एक्लो जुनी काट्न कठिन हुने सम्झन्छन् । आनी नयनमा झल्झली आउन थाल्छिन्, बिर्सिन खोज्छन् तर झल्को बढ्दै जान्छ र आनीलाई खोज्न हिड्छन्, तर फेला पार्दैनन् ।
माधव–यस शीर्षकमा काव्यकारले धेरै कुराहरू समेटेका छन् । आनीको यादगारमा डुबेका माधवलाई इन्द्रिय कावु पार्न कठिन भएको छ । हलेसी महादेवसँग अर्ती मागेका छन्् । यसरी माधवको भावनालाई प्रष्ट्याइमा प्रचुरमात्रामा प्राकृतिक वर्णन र आनीको रूपको बारेमा प्रकाश पारिएको छ । केही श्लोक हेरौं –
काँडै रहोस् बोट बनेर ताज
पक्रिन्छ नै त्यो वनमा गुलाफ
चुम्दैन कोही जब फूललाई
बस्लिन कहाँ यी धरती रमाई
श्लोक १८१, पृष्ठ ३१)
आनीको रूपको वर्णनको एक श्लोक–
आनी मजाकी रसप्रेम खानी
कस्ती मिजाशी कति शान्त बानी
यो स्वर्ग राम्रो र उनी परी हुन्
फर्की गइन् वा अझै यतै छिन् ??
हलेसीको ऐतिहासिक वर्णन– हलेसी गुफा बौद्ध, लामा र किरात हिन्दू सबैको साझा केन्द्र विन्दुु भएको र यसमा भोला महाभैरव, बसाह गुफामा बस्छन्, । यहाँ जलकुण्ड थियो र यहाँ शिवजीको बास थियो शिवलिङ्गबाट निस्केको ज्योतिले मध्यरातमा उज्यालो पार्दथ्यो । एक दिन शिकारी मृगको बच्चाको पछि लाग्दै जाँदा गुफ्फामा पुग्दा, शिवलिङ्गलाई देख्यो र गाउँमा आएर भन्यो । यी शिकारी बाघवंशी किरात थिए, यो पवित्र ठाउँको उनले स्वयम् देखेका थिए । यहाँ बटवृक्ष, ढुङ्गाहरू रामा छन् शिवलिङ्गको सामुन्ने गौरी बिराजमान छिन् । हलेसी को ऐतिहासिक विवरण यसरी आएको छ ।
माधवले सपना देख्नु – यहाँ माधवले सपनामा शिवको स्मरण गरिरहेको वेला शिव पार्वती त्यहीं आएको देख्छन् । माधवको तपदेखि शिव पार्वती दुबै खुसी भएर एउटी सुकन्या परी दिन आएको र माया प्रीति अपार होस् भन्ने कामनाका शब्द सुन्छन्, नजिकै रूपसीलाई देख्छन्, अति रूपवती कन्याले योगीलाई निकै मोहित पार्दछिन् नजिकमा आउँछिन्, मायाजाल फाल्छिन् योगी लठ्ठ पर्छन्, योगबाट उठ्छन्, शिवजीले पनि माधवलाई तिम्रो जोडी मिलेको छ प्यार गर भन्दै आशीर्वाद दिएर कैलासतिर आउने आज्ञा दिंदै दुई प्रेमीलाई छाडेर अन्तरध्यान हुन्छन् भन्ने धारणा काव्यमा आएका छन् । शिवजीको अन्तरध्यानपछिं माधव युवतीको सुन्दरतामा हौसिन्छन््, जोगीले अपार आनन्द आएको अनुभूति हुन्छ । प्रेम नशा नशामा सल्सली बग्छ । सपनामा दर्शिएको रूपसीको वर्णन र योगीको प्रेमले पारेको विह्वलतालाई कविले अद्वितीयरूपमा प्रस्तुत गरेका छन्, शृङ्गारिक वर्णनले काव्यमा मिठास भरेको छ र उच्चाइमा पु¥याएको छ । माधवले शिव आशीर्वादलाई यसरी पालन गरेका छन् –
गालामा बडुकी थिएन पटुकी शृङ्गार शोभा अति
छोटो केश, मुहारमा चमकले जाग्ने तुरन्तै रति
आइन् छेउ परी उमङ्ग मनमा आयो निकै वेगमा
स्वीकारे शिवको महावचन त्यो आएर आवेगमा ।।
(श्लोक २०७, पृष्ठ ३५)
यो आवेगपछि योगीले शहर जाने आग्रह गर्छन, उर्वशीले भीड र अशान्तिको सहरमा नजाने भन्छिन्, बाबुको मन दुखाएर योगी भएर आएका तिमीमा कति छिटै गृहस्थीपन आयो । रूपवती मिल्दैमा सुख हुँदैन, मानिस तरुनी खोजेर अधोगतितिर लागेका छन् । बाहिरी सुन्दर रूपले आनन्द दिन्छ तर साँचो रूपता आवरणरूप भन्दा पर हुन्छ । देखिदा बाल तपसी देखिने तर निमेषमै अर्धाङ्गिनी स्वीकार्ने तिम्रो रूप यही हो भन्ने धारणा माधवसँग उर्वसीले राख्दछिन् ।
माधवले महादेवको आशीर्वचनले खुसी भएँ, तिम्रो साथले जीवन पूर्ण भयो, शिवजीको नाम जप्दै, जब माधव घुम्टो खोल्न, चुम्वन र आलिङ्गनको लागि अगाडी बढ्छन् तर रूपसीले परै बस भन्दै मन दुखाउँछिन् । माधवलाई थाहालाग्छ कि यी सपनीमा आउने आनी रहिछन् । उनी सपनाबाट व्युँझन्छन् । यो सपनाले माधवलाई विदीर्ण पार्छ र उनी हिमालको यात्रा सुरु गर्छन् । हिमाली प्राकृतिक सौन्दर्यको वर्णन यहाँ पनि निकै चाख लाग्दो छ । बाटोमा हिमाली भेकबाट बसाइँ सर्न हिडेका बालबच्चा सहितका एक हूल प्रवासीहरूलाई योगीले भेट्छन् । सोधनी गर्छन् । अर्थात यहाँ कविले प्राकृतिक वर्णनमात्र नभएर यस ठाउँको सामाजिक परिवेशलाई, पनि समेटेका छन् । साहुको ऋणतिर्न सबै घरबास बेचेर बसाइँ सरेर हिडेका बालबच्चा, बृद्धबृद्धाको कारुणिक आवाजलाई समेटेका छन् हेरौं केही श्लोक–
सबै बालबच्चा नजाऔं न भन्छन्
नजाने म भन्दै चिथोर्छन् र रुन्छन्
छ थाङ्ना र थुङ्नी यहाँ ढाकरैमा
छ छोरो सबै छौं उसैको भरैमा
(श्लोक २४७, पृष्ठ ४२)
प्राकृतिक चित्रणका केही श्लोकहरू–
इन्द्रेणीसित जिस्किएर वनमा उड्थे जुरेली चरी
गोठालासित मस्किदै चउरमा नाच्थे सयौं सुन्दरी
ऐना छन् हिमका तलाउ तटमा चल्थ्यो हावा हर्दम
पाइन्थ्यो र कहाँ अरू मुलुकमा स्वर्गीय यो जीवन
(श्लोक २७१, पृष्ठ ४६)
नाच्छन् स्वर्ण पखेरु ती निमिषमै उड्छन् र पुग्छन् कहाँ
गालाबीच गुलाव फुल्छ युवती मान्छेहरूको जहाँ ।
निस्कि त्यो हिमशैल्यबाट कुहिरो फैलिन्छ आकाशमा
डाँफै नाच्छ मुनाल नाच्छ मधुरो त्यो सौम्य सौन्दर्यमा ।।
(श्लोक २७५, पृष्ठ ४६ )
जुन जाती भए पनि, सबैले सत्कार गर्ने, तुलहरू बुद्धका वाणीले भरिएका र फर्फराइ रहेका, बाटोमा लामा र आनीहरू भेटिने,, बुद्धलाई जपेको पाइने आदि विविध प्रकृतिक, वर्णन र लामाहरूको मन्त्र उच्चारण बुद्ध धर्मको विवरणलाई यहाँ समेट्ने प्रयास भएको छ । माधवले आनीलाई कहाँ छिन् भन्दै खोजनी गरिएको धारणाहरू सवलरूपमा प्रस्तुत भएका छन्
आनीको अवस्था – हलेसीबाट आनी हिडेपछि माधव जसरी तडपेका छन् आनीको अवस्था पनि त्यो भन्दा कम छैन –
खाने र बोल्ने मन छैन केही
बिर्सुँ भने सम्झन थाल्छ देही
सम्झी तिनै माधव जल्छ छाती
उस्तै छ माया दिन होस् कि राती
(श्लोक २९२, पृष्ठ ४९)
गुम्बा पुगेकी आनीले उँधो हेर्ने, तलझर्ने, अनौठा व्यवहार गर्ने, तर्सने, झस्कने, मन अशान्त हुने, यो अवस्थाबाट कसरी पार हुइन्छ भनेर सोच्ने, निद नपर्ने निद परे सपनामा माधव आउने, शिर मुसार्ने लाज नमान आऊ बस भन्ने, आनी आगो जल्दाझै जल्न थाल्नु, माधवबाट आनन्द पाउनु, बिम्झेर रुन थाल्नु आदि घटनाक्रमलाई कविले मार्मिकरूपमा प्रस्तुत गरेका छन् –
आनीको अवस्थाको एक श्लोक यहाँ हेरौं –
माने त हुन्थ्यो घरबार गर्न
भन्लान् सके ती पनि हो अधर्म
यो लोकमा होस् परलोकमा होस्
यो नेत्रले माधव देख्न पाओस् ।।
(श्लोक ३०५, पृष्ठ ५१)
आनीका मनमा तर्कना उठछन् शुभ कर्मगर्न आनी भएर धर्म गर्न धाएको तर पति पत्नी सत्य मित्र भए भने त्यही नै स्वर्ग हो भन्छन् नरहरू, विवाह गर्दा कुन पाप होला, पुराना परम्परालाई ध्वस्त पार्नु पर्छ भन्ने धारण पनि मनमा आउँदा आनीले शिव र बुद्ध दुवैलाई सम्झदै भन्छिन् –
बाबा हलेसी ! शिव ! बिन्ति गर्छूृ
बाटो खुलाऊ अब पाउ पर्छु ।
हे बुद्ध मेरा भगवान पवित्र
के राग जाग्यो मनमा विचित्र
(श्लोक ३११, पृष्ठ ५२)
आनीका मनमा अनेकौ तृषना पलाउँथे, उनको मनले माधवलाई खोजी रहन्थ्यो तर माधव भेटिदैनथे, उनका नजर बाटोमा र बटुवाको ताँतीमा हुन्थ्यो धूप बत्तीबालेर हलेसीलाइ भाक्दै सन्त ज्ञानीलाई भेट गर्न पाउँ भन्थिन् जस्ता धारणा आएका छन् ।
शिखर काखमा –यो यस काव्यको अन्तिम शीर्षक हो । माधव कैलाशको काखमा पुग्दछन् । यहाँको सुन्दरताले नेपालको भूतल अमरापुरी जस्तो ठान्दछन् । यहाँको प्राकृतिक सौन्दर्यले माधवलाई निकै प्रभाव पार्दा पनि ऊ आनीको खोजीमै तल्लिन छन् । उनको ओजस्वी व्यक्तित्वले किरातहरूलाई प्रभाव पार्दछ । माधवले त्यहाँ आदर सत्कार पाउँछन् । यहाँ धुनी बालेर तपस्यालाई पनि निरन्तरता दिन्छन् र दृष्टि पनि आनीको खोजीमा चारैतिर फाल्दछन् । माधवको यस अवस्थालाई कवि कट्टेलले यसरी प्रस्तुत गरेका छन्–
सारा इन्द्रिय ती गरेर बसमा गर्थे तपस्या मुनि
मान्छे आसनमा थिए नि मन चैं आनीतिरै तै पनि ।
मान्छे–चित्त टुना गरेर चटकी सक्दैन भेटाउन
साँचो प्रेम सधैं रहन्छ कसले सक्ला र मेटाउन ??
(श्लोक ३२३, पृष्ठ ५४)
आनी र माधव दुबै बीचको भावनात्मक प्रेमको छटपटीलाई कविले यसरी प्रस्तुत गरेकका छन् –
पिऊँ प्याला मीठो मधुरतम् प्रेमाव्धिरसको
भनि योगी गर्थे मन मन जपी ध्यान जसको ।
तिनै आनी गर्थिन् छटपट सधैं फेरि मनमा
थियो चाह योगी छविसरि उदाउन् नजिकमा ।।
(श्लोक ३२५, पृष्ठ ५५)
खुजुङ्गको फाँटमा योगीझुण्ड समाधिमा छ भनेर दिउजेर फाँटतिरका गाउँमा हल्ला चल्छ ।आनीले पनि सुन्दछिन् र उनको मनमा उमग्न जाग्छ । साथी लिएर झर्दछिन्, योगी माधवलाई देख्छिन् योगिलाई हिमखण्डमा आएकोमा हृदयदेखि नै स्वागत स्वीकार्न भन्छिन्, लामा र योगीसँग तपमा आनी पनि बस्न हुन्छ भन्ने धारणा राख्छिन्, आनी, ‘राधाले किन बस्नु हुन्न तपमा आफ्ना मुरारीसित’आफ्सेआँफ प्रश्नवाची हुन्छिन् । माधवले आनीका यी स्वर सुनेर आँखा खोल्छन् । आनीलाई देखेर प्रफुल्ल हुन्छन् । उनका मनममा तर्कना उठ्छन् ,कुटी बनाएर बस्ने कि विदेश पस्ने उनी यस्तो दोधारमा पर्दा उनको ब्रह्मले भने निर्णयमा अवेर गर्न हुन्न भन्यो, नारीलाइ दुःखी बनाएर कोही बस्न सक्दैन, देवताले दिने शान्तिभन्दा नारीमा अझै त्यो अनन्त छ जस्ता भावना माधवमा पलाउँछ । माधवका यस्ता भावना मनमा बगी रहह्दा आनीमा पनि अनेकौं विचार च्याउ जस्तै भएर उम्रन्छन् । आनीले धर्म आस्थामा प्रहार भयो कि या सत्य साँचो बिचारै छरें कि, कतै जिन्दगीमा सुधा पिएँ कि, बाटो कहीं भुलियो कि, आट गर्न सके कस्ले छेक्छ, आदि बिचारले उनलाई सताउँछ र भन्छिन् –
हुँदै जात भिन्दै हुँदै भिन्न लिङ्ग
कहाँ हुन्छ बेग्लै कहाँ रक्त रङ्ग ?
बगेको छ माया बनी एक खोला
भने साथ बस्दा कसोरी नहोला ??
(श्लोक ३५३,पृष्ठ ५९)
आनीले औंला चलाएर माधवलाई छोएर एक्लो नपार्नको लागि आग्रह गर्दछिन्, सँगसँगै बसेर सबैको भलाइ चाहेर ,उच्च भावनाको दीयो जलाएर, एकमा भन्दा दुईमा शक्ति छ भन्ने ठानेर बुद्ध देवता दुबैमा रमाउने गरेर भक्ति गरौं भन्ने आग्रह आनीले राख्दछिन् । यानीको धारणालाई माधवले कसरी स्वीकारे सो सम्बन्धमा काव्यका अन्तिम दुई श्लोक सहित यस काव्यको भावसार यहीं समाप्त गर्छु –
उठी सन्तबाबा गए छेउसम्म
थिए सन्त–आँखा रसाएर टम्म
फिजाई अँगालो दिए मन्द मन्द
आनी विलाइन् गरी चच्छु बन्द
(श्लोक ३६२, पृष्ठ ६१)
रुझेका परेलीहरू चिम्म पार्दै
लिए पास आनी नबोली मुसार्दै ।
थिइन् शान्त आनी निकै त्यो घडीमा
छ माया अझै ती कुटी झोपडीमा ।।
(श्लोक ३६३, पृष्ठ ६१)
सहरको वातावरण र बाबुले कमाएको अकुत सम्पत्तिमा समाजले चलाएको टिकाटिप्पणीबाट माधवमा वैराग्यता आउँछ । आमाबाबुको शहर र घर नछाड्ने आग्रहलाई नस्वीकारी जोगी बन्छन् । यस समयमा सहरको वातावरण, मानव जीवन, मानव्यि व्यवहार यहाँको वातावरणीय सौन्दर्यता साथै सहरमा देखिएका विकृति र विसङ्गति, गाउँका मानिसको सहरतिरको आकर्षण आदिलाई कविले सरलरूपमा प्रस्तुत गरेका छन् । माधव शान्ति, देवत्व र आध्यात्मिक ज्ञान प्राप्तगरि सार्थक जीवनतत्वको लागि अपार धन सम्पत्ति सुख आदिलाई सहजै त्याग्न सकिन्छ भन्ने उदाहरणको रूपमा देखिन्छन् । हलेसी महादेवको ऐतिहासिक विवरण, मन्दिरको महत्त्वको साथसाथै बौद्ध धर्मले पनि यसलाई दिएको महत्वलाई यहाँ प्रष्ट पारिएको छ । यस काव्यमा नायक माधव र नायिका आनीको मनो विश्लेषण तथा मनोवैज्ञानिक विचारलाई समेट्ने प्रयास भएको छ । ठाउँ ठाउँमा दार्शनिक अभिव्यक्तिहरू जीवन सार्थकताका कुराहरू र आत्मिक प्रेमको माध्यमबाट नै सुख शान्ति मिल्ने जस्ता धारणा खुलेर आएका छन् । नारी शक्तिको उच्चाइको धारणा पनि काव्यले समेटेको छ । प्रेमको सर्वोपरिता अर्थात आत्मिक प्रेम भन्दा अर्को कुनै प्रेम हुँदैन र प्राणीजगत मायावीय संसारमा रमाएको छ र माया अनयासै अन्तर मनमा पलाएर आउँछ, विपनामा नभए पनि सपनामा भोग गरिन्छ भन्ने धारणा पनि यहाँ जानकारी पाइन्छ । धनी र गरिब बीचको विभेद, शोषण र दमनको बाध्यताले जन्म थलो छाडेर बसाइँ सर्न पर्ने बाध्यतालाई मार्मिकताको साथमा उठाइएको छ । प्राकृतिक सौन्दर्यमा कवि प्रचुर मात्रामा रमाएका छन् र पाठकलाई पनि प्राकृतिक सौन्दर्यको मनोरम रसपान गर्न पूर्णरूपमा प्रदान गरेका छन् ।
यो एउटा संयोगान्त खण्ड काव्य हो । काव्यको थालनी यस काव्यका नायक माधवबाट गरिएको छ । आमा माधवलाई योगी नबन्न, घरमै बस्न र सुखभोग गर्न आग्रह गर्ने पात्रको रूपमा देखा परेकी छन् आनी यस काव्यकी प्रमुख नायिका हुन् । माधव र आनी यस काव्यका प्रमुख र क्रियाशील पात्र हुन् । योगीहरू, लामाहरू, हिमालका युवा युवतीहरू, आनीहरू, महादेव, बुद्ध माधवका बाबा, तीर्थ यात्रीहरू आदि पात्रहरू काव्यको सिर्जना क्रममा जोडिएका पात्रहरू हुन् । माधवआनी सहर, मदेश, पहाड, हलेसी र हिमालको प्राकृतिक, सामाजिक, धार्मिक, आर्थिक परिवेशमा लेखिएको खण्डकाव्य हो । हिन्दू दर्शन र बौद्ध दर्शनको महत्त्वलाई दर्शाउँदै यी दर्शनका वेषभूषा, संस्कृतिलाई समाउँदै सुन्दररूपमा संरचित यो खण्डकाव्य अनुकरणीय छ । भाषा सरल ,सहज, सुवोध रसपूर्ण छ । वैदिक धर्मका नायक बौद्ध धर्मकी नायिका बीच सम्वाद गराएर प्रणयसूत्रमा बाँधिएको यो सुन्दर काव्यको जति नै व्याख्या गर्दा र प्रशंसा गर्दा कमी नै हुन्छ । यस्ता गहन खण्डकाव्यका काव्यकार हरि कट्टेललाई सुन्दर काव्य रचनाको लागि हार्दिक बधाई एवम् सुस्वास्थ, दिर्घायुको कामना गर्दै भविष्यमा पनि यस्तै सशक्त काव्य रचनाको लागि हार्दिक शुभकामना सहित विदा चाहान्छु ।
धन्यवाद
२०७५ साल, पुष १५ गते, कावासोती न.पा.वडा नं ७, शान्तिचोक नवलपुर, गण्डकी प्रदेश, नेपाल ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )