कविता : जाति गान

~हरि कट्टेल~

आऊ देश विदेशबाट सहजै नेपालमा सज्जन ।
लाऊ प्रीति हिमालमा मुलुकका हेरेर पाखा वन ।।
गाऊ गीत सुशान्तिका शिखरमा झन्डा उर्ठाईकन।
नेपाली जन जातिको छ रसिलो संस्कार ठूलो मन ।।
१

मुर्चङ्गा मुरली सँगै वनचरी नाच्छन् पखेराभरि ।
डम्फू मादल बज्दछन् घरघरै घन्केर बस्तीभरि ।।
हाम्रा किर्तन आरती अनि कला संसार बिर्साउँछन् ।
हाम्रा गौतम बुद्घका वचनले सत्मार्ग दर्शाउँछन् ।।
२

हामी वीर पराक्रमी खलक हौं संसार थर्काउने ।
थाप्लोमा पगरी थुगे, मखमली स्यूरेर लर्काउने ।।
को होला बल बुद्धिमा अघि बढी हामीसँगै दाँजिने ।
हामी झैँ सहजै बली दिनु परे हाँसेर को छन् दिने ।
३

लिन्छौँ हुर्मत शत्रुको, मुलुकको उत्कर्षा खातिर ।
माटो भो र धरा रहृयो अनि यहाँ मान्छे रहृयौँ आखिर।।
माताको ममता छ धेर मनमा जो ताक्छ हाम्रो घर ।
मौरी झैँ सब एक एक खलका खुस्काउँछौँ खप्पर ।।
४

दोस्रो युद्ध हुँदा लडी सकलको सातो लिएका थियौँ ।
बेचेनौँ तर स्वाभिमान मुखमा गोली पिएका थियौँ ।।
बोकेका खुकुरी कटी कमरमा नेपालका सन्तति
हामी मानव वीर हौँ मुलुकको ताक्छौँ सदा उन्नति ।।
५

टोपी उच्च हिमाल तुल्य शिरमा निर्वाध ठाडो शिर ।
हेर्छौँ शान्ति घुमाउँदै नजर यी सेता परेवा तिर ।।
नेपाली हुनु गर्व लाग्छ मनमा बोकेर आफ्नै पन ।
खोज्छौं शान्ति सहिष्णुता र समता हामी हिमाली जन।।
६

नेचा, सोलुखुम्बु ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.