~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~
उहिले पृथ्वीको सृष्टि हुँदा देवताका एघार जनामा एउटी र मान्छेका नौ जनामा एउटी छोरीको जन्म भयो।
मानिसको सृष्टि गर्ने क्रममा देवता र मान्छेबीच विवाह हुन्थ्यो। देवताका सन्तानबाट एउटी छोरी गाङसाल्मो जन्मिइन् भने मान्छेका सन्तानबाट छ्युल नामकी छोरी जन्मिइन्। गाङसाल्मोको मान्छेसँग र छ्युलको देवतासँग विवाह भयो। यिनीहरुबाट नै तामाङ सन्तानहरूको वृद्धि हुँदै गयो। त्यसबेला मानिस र देवताहरु सँगसँगै बस्दथे। मान्छेहरु लोभी र अल्छी थिए। त्यो देखेर देवताहरु आजित भए। त्यसैले देवताले अब आ–आफ्नो परिवार छुट्टिएर बस्ने निर्णय गरे। यो कुरा देवताले मान्छेसँग पनि बसेर छलफल गरे। अलग बस्ने निर्णय भयो।
यसैबीच एउटा सर्त पनि राखियो। जुन दुवैलाई मान्य भयो। बिहान कुखुरा बास्नुअघि जो सूर्यकहाँ पुगेर पर्दा गाड्छ, ऊचाहिँ स्वर्गमा बस्छ, जसले गाड्न सक्दैन्, ऊ पृथ्वीमा बस्नुपर्छ। सर्तअनुसार देवता बिहान सबेरै सूर्यमा पुगेर सुनको पर्दा गाडे। मानिस ढिलो उठेर सूर्यमा नपुगेकाले पर्दा गाड्न सकेन। हार मानेर फर्कने क्रममा देवताले मानिसलाई सोधे, ‘तिमी आइपुगेछौ। मलाई देख्यौ?’
मानिसले भन्यो, ‘देखेँ।’
त्यसपछि देवताले चाँदीको पर्दा गाडेर सोधे, ‘अब देख्यौं?’
मानिसले उत्तर दियो, ‘देखेँ।’ अनि देवताले तामाको पर्दा लगाए र पुनः सोधे। मान्छेले अझै देवतालाई देखेको कुरा बतायो। अनि देवताले कटुसको बिरुवा पर्दा लगाए र मानिसलाई सोधे, ‘के तिमीले अझै पनि मलाई देख्छौ?’
मानिसले उत्तर दियो, ‘अहिले चाहिँ देखिन।’
मान्छेले देवतालाई नदेखेपछि ऊ रुन कराउन लाग्यो। यसरी अल्छी मानिसको अलाप–विलाप देखेर देवतालाई दया लाग्यो। अनि देवताले भने, ‘तिमी नआत्तिऊ। अब हामी देवताहरू तिमी मानिसहरुको संरक्षक हुनेछौं। साथै तिमीहरुले पृथ्वीमा खनीखोस्री गरेर खानुपर्छ। त्यसैले बन्चरो र यो कोदालो पनि लिऊ। वनजङ्गलबाट दाउरा काटेर ल्याऊ। अनि मज्जाले दाउरा बाल। त्यसपछि खरानी हुन्छ। त्यसबाट मल बनाऊ।
कोदालोको प्रयोगले तिमीले पृथ्वी (जमिन) खनजोत गर्न सक्छौ। त्यहाँ तिमीले बीऊ छर्दै जाऊ।
अनि मान्छेले देवतासँग सोध्यो, ‘बीउ कहाँ पाइन्छ त?’
देवताले मान्छेलाई भने, ‘कुखुराको फुटेको अण्डामा तिमीले बीऊ पाउनेछौ। त्यो खोस्रेर खनेको जमिनमा रोप्दै जाऊ। अनि दाउराबाट भएको खरानीको मल त्यसमा हाल। त्यहाँ धान, मकै, जौ, गहुँ उम्रिनेछ। पाकेपछि टिपनटापन गरेर घाममा सुकाई पिँधेर राख्नुपर्छ। त्यसबाट छ्याङ (जाँड) बनाउनु अनि सर्वप्रथम आफ्नो कुलदेवतालाई चढाएर खानुपर्छ है।’
यति भनेर देवता अलप भए। त्यसै बेलादेखि तामाङहरु मानिसको सम्बन्ध देवतासँग टुटेर भूमि देवतासँग गाँसिएको हो भन्दछन्। जसका कारण तामाङहरुले खेतीपाती सुरु गर्नुपूर्व भूमे (ह्युल्सा ल्हा) देवता र खेतीपाती भित्र्याएपछि कुलदेवताको पूजा गर्ने गर्दछन्।
पुस्तकमा तामाङ समुदायमा प्रचलित ६२ वटा लोककथाहरु संकलित छन । यसमा सामाजिक कथा २२ वटा, ऐतिहासिक कथा ११ र धार्मिक कथा २९ वटा समावेश छन ।
(स्रोत : रत्न पुस्तक भण्डारद्वारा प्रकाशित “तामाङ लोककथा संगालो”बाट सभार)