व्यङ्ग्य निबन्ध : मझधारमा मगन्ता

~रमेश भट्टराई ‘सहृदयी’~

एकाबिहानै कलङ्कीको एउटा लामो जाममा अल्झिएँ । कलेज जाने ठिटाठिटीको अट्टहास र छाडा जिस्क्याइ । भरियाको भारी र व्यस्त मान्छेको तँछाडमछाड । दगुरादगुर लाग्ने अनेकौँ प्रकृतिका जिन्दगीहरू । म भने जामको तामझाम मात्रै नियालेर लठ्ठ । झ्याल बाहिरका दृश्यमा दुनिया नियाल्दै थिएँ । कतै मेरो प्रश्नको उत्तर दिने कोही होलान् कि ? अकस्मात् उत्तर पाउन लागेको भान भयो तर त्यहाँ जीवनको अर्को परिभाषा– एक जना फलफूल पसलेले एउटा काटुनभरि सायद हिजोको फोहोर– उखुका खोस्टा, भुइँकटहरका बोक्रा अनि साथमा खर्बुजाका बोक्रा फाल्दै गरेको देखेँ । बिहानीकै समय हो । काटुन राखेको देखिन्थ्यो मानौँ सभ्यताको एउटा चिन्ह । पसले निर्दोषझैं आफ्नो कर्मतिर बटारिए । त्यत्तिकैमा दुईतीन जना देख्दा कालो वर्णका, अलि फोहोरी बच्चाहरूले त्यो काटुनलाई खोतलखातल पार्न थाले । एउटाले खर्बुजाको चिरोमा अलिकति जुठो छोडेको भाग पाएर खुसीले हतारहतार कोपर्न थाल्यो । अर्को त्यसैमा लुछाचुँडी गर्नै लाग्दा अर्कोचाहिँले काटुनभित्रै एउटा त्यस्तै केही खाएर छोडेको खर्बुजाको चिरो भेट्टाएपछि अब त्यो काटुनको सबै फोहोरलाई भुइँमा छरपस्ट पारेर तिनले खुब खुसी प्रकट मनाए । एउटा दृश्य समाप्त भयो । जाम खुल्यो । फर्केर गोङ्गबुसम्म आउँदै थिएँ । गाडिभित्र एउटा बच्चाले खाँदै गरेको महङ्गो चकलेट टेक्ने ठाउँमा खसायो । बच्चाकी आमाले उसलाई नखानका लागि गालि गर्दै अर्को किनिदिने वाचा गरिन् । अलि पर्तिर दुई तीनजना बच्चा ढलभित्र खेल्दै थिए । सायद तिनकै आमाचाहिँ होलिन्, एउटा ५–६ महिने बच्चा बोकेर कटौरोमा मागिरहेकी देखिन्थिन् । ती केटाकेटी चाहिँ त्यो ढलको पानी छ्यापाछ्याप गर्दै थिए । सायदै त्यो ढलको पानी तिनको शुद्ध पिउने पानी होला नहोला तर खेल्ने नहर भने अवश्यै थियो । मैले तिनमा रोग, शोक भेटिन मात्र भोक, अभाव र सोख भेटेँ– आफ्नै स्तरको । म अत्तालिएर भगवान्लाई भन्दै थिएँ– के यो पैसा छाप्ने मेसिन मान्छेलाई नै तिमीले दिनुपर्ने ? तिमीले पैसा छापेर बाँढे नहुने ?

म अनायास भगवान्लाई प्रश्न सोध्न थालेँ– तेरो उद्देश्य मसँग के छ ? छ भने केही त भन् । म प्रश्नका पाना बोकेर हरेक साँझ उसको आरती गर्छु, पुकारा गर्छु । म आफै सम्झिन्छु, आफै गम्छु । मान्छेले भन्छन्, यो त भक्त हो । मैले लगाएको मेरो निदारको चन्दनलाई हेरेर मान्छेले मलाई भक्त बनाइदिन्छ । पल्लाघरे काइँला बाले आफ्ना नातिसँग भन्नुहुन्छ, ‘हेर् तँ ऊजस्तो बन्नुपर्छ ।’ मास्तिर मास्टर साब कुमारलाई भन्नुहुन्छ– ‘ऊजस्तो बनेर हुन्न बाबु, पढ्नलाई सहरतिर जानुपर्छ । खाली घण्टा बजाएर जिन्दगी गुज्रिँदैन ।’ मैले अर्को दोधार भेटेँ । जिन्दगी आखिर के हो ? जब मैले देखेँ एकजना अति सुन्दरी युवती, कलकलाउँदा गाला, सौन्दर्य पनि भगवान्ले सायद थुप्रै समय लाएर कुँदेको हुँदो हो– खुसी पनि लाग्यो । खै, किन किन आफ्नै हो भन्ने भाव पनि जाग्यो । म त्यसै अर्कै भक्तितिर भुल्न थालेँछु दिवास्वप्नामा सायद । फेरि तिनको पहिरनलाई नियालेँ तिनी त पक्कै भगवान्की प्रेमिका हुनुपर्छ । अर्कोतिर हेरेँ– सेतो साडी, सेतै चोलोको पहिरनकी बेग्लै सुन्दरी, बेदाग मुहारमा । तर फेरि सोचमा परेँ के जिन्दगी यिनले बुझेकी होलिन् ? तिनीसँग बोल्ने आँटसम्म गरिन । खै, उनको मनमा के थियो, म चञ्चल मनको मान्छेले के–के सोचेँ के–के ! कोणकोणबाट भगवान् खोजेँ तर मैले तिनको छेऊबाट एउटा मैलो, फोहोरी, झुत्रा कपडा लगाएको, हातमा कटौरा बोकेको मानिस यतैतिर आएको देखेँ । उनले त्यो मान्छे समीपमा पर्नासाथ आफ्नो स्वास बन्द गर्न चाहिन् । एउटा दोधारमा म परेँ । अर्को संसार देखेँ । फेरि मैले सोच्नुको तात्पर्य खोज्न थालेँ, के ईश्वर त त्यो आत्मामा पनि समाहित थियो, अनि फोहोरी हुनमा उसको नादानी अवस्था न हो– अनि ईश्वरकी भक्तिनी किन घृणा पस्किन्छिन् ?

भगवान् विष्णुलाई सोधेँ ईश्वर मेरो जीवनको मूल्य के हो ? कति स्तरसम्ममा म मान्छे बन्छु । उनले हाँसेर उत्तर दिए बाबु तिमी अहिले बच्चै छौ । तिम्रो जीवनको मूल्य तिमीले सोचेभन्दा कैयौँ गुणा धेरै छ । म अलमल्ल परेँ । उनी अन्तर्धान हुन हतारिँदै थिए, मैले पाउ समातेर भनेँ– प्रभु म दुनियामा किन नाजायज भइरहन्छु । उनले एक मीठो मुस्कानमा भने– ‘बाबु तिमीले ज्ञानको कुरा बुझिसकेका छैनौ ।’ मैले फेरि सोध्न खोज्दै थिएँ उनी त अलप । सारा जिन्दगीभरि अलप । के ईश्वर पनि दोधारे परीक्षामा मलाई उत्तीर्ण भएको हेर्न चाहन्छ । मैले आफ्ना प्रश्नहरू मेरा अघि पाउलिएर लहलह भएका कुटमिराका बुट्यानलाई सोधेँ, छेउका सिमालीलाई सबै मेरो खिल्ली उडाइरहेका थिए । म अलमल्ल पर्दै छेउको धारालाई कलकल पानी कहाँ हराउँछ भन्दै गर्दा ती पनि अलप भए । वरपिपलले आफ्ना कुरूप शरीरमा वासना नभएको गन्थन गर्दै थिए । म मगन्ता माग्ने टोकरीमा सर्वश्व खोज्दै भीडमा बढारिएँ ।

म ईश्वरको खोजीमा अब गिर्जाघर पुगेँ । त्यहाँ भक्तको पहिरन र भाषामा गहिरो प्रेम देखेँ । मानवता खोजेँ । म त्यहाँ हाँसको बथानमा बकुल्लो नै बनेँ । खोज्दै दगुर्दै दार्शनिक कहाँ पुगेँ । माक्सवादको बुज्रुकता छाँट्दै हाम्रा संस्कार खराब हुन् भन्दै डुक्रन्थे– ‘भगवान्, देउता, प्रभु, ईश्वर, कृष्ण, राम यी सब भ्रमका खेती हुन् । सामन्तवादी संस्कारका द्योतक मात्र । माक्स बरु देउतै हुन्, विचारका हिसाबले हामी लेनिनका पछाडि संसार देख्छौँ ।’ मैले यसो भनिन, रामराज्य राम्रो कि साम्यवाद ? कुन सम्भव छ ? अहँ, तिनको बौद्धिकताले अनुहारमा अर्को रूप लिइसकेको थियो । आफूलाई पढालेखा मान्ने तिनका हरेक वचनमा ईश्वरीय आस्थाको विरोध झल्कन्थ्यो । जीवको रहस्यमा हिन्दू दर्शनभित्रकै भौतिकवादी सोच त चार्वाक दर्शनमा पनि छ– मोज गर, मस्ति गर अनि जीवन बाँच । हो, चार्वाकले भन्छ– मरेपछि केही छैन, सबै खरानी हो । जैन दर्शन या त बौद्धको समकक्षता कोट्याएँ । मैले पनि सोचेँ, के पृथ्वी यदि कुनै सफ्टवेयर हो । अफलाइन चल्ने सफ्टवेयर होला । यहाँ अन्न उब्जिन्छ । प्राणीका लागि चाहिने तत्वको व्यवस्थित प्रबन्ध छ । अझ भनौँ मान्छेको आँखा, नाक, मुख पनि कति वैज्ञानिक संयोजन गरेर राखेको छ । अनि यो पृथ्वीको अपडेट गर्नु पर्दैन ? यो कस्तो सफ्टवेयर होला त ? मात्र दिन्छ, प्राणीका लागि तर अभाव, अन्याय, भोक दिँदैन । सबैलाई पुग्नेभन्दा कैयौँ बढी अन्न उब्जाउँछ । गोदाममा कुहिएका र समुद्रमा फालिएका अन्न देखेर पनि ऊ किन केही बोल्दैन ? न त भोकमरीको कृत्रिम सङ्कटमा हरियाली, पानी र हावालाई नाकाबन्दी गराउँछ । यो एउटा एप हो सायद । अफलाइन एप– पृथ्वी । जुनदिन अपडेट गर्नुपर्छ– त्यसदिन यसको नेटवर्क खराब पनि त हुन सक्छ । के मान्छे यो हरियाली प्रकृतिको संरचना अनि मान्छेको जीवनभित्र एकछिन टोलाउला । अहँ, लाग्दैन । दौडधुपको अन्तिम स्वासमा ढोङ र रवाफको पुन्तुरो कस्दै मर्छ । अन्धो मान्छे– अहङ्कारको बलिबेदीमा उही फुस्रा खोक्रा गफमा महान् भन्छ तर मानवता देख्दैन । पाखे र सेठको दर्जा तोल्छ– मान्छे देख्दैन । नवयौवना र यौवनको वेश्यावृत्तिमा मान्छे पशुभन्दा कैयौँ गुना नीच लाग्दैन त ? कपडा लाएर अङ्ग छोपिन्छ तर स्वभाव सर्वाङ्गै देखिन्छ ।

पशुपतिसम्म पुगेँ । मरेको मान्छे जलाउन लागिएको रहेछ । सबै रोएका छन्, जो मरेको हो उसलाई केही मतलब छैन । न त यसो एकछिन उठेर धन्यवाद भन्छ, न कुनै प्रतिक्रिया । सबै आस्तिक नास्तिकको मनमा ‘दुई दिनको जिन्दगी के छ र !’ भन्ने समानता भेट्छु । लास जली नसक्दै फोनको घण्टी बज्छ । प्रायः बुज्रुकहरूले घडीको सुइ हरेर बाटो तताउँदा रहेछन् । काम भएर पनि सामान्य मान्छे बसिरहँदा रहेछन् । ठूलाठालु कामै नहुँदा पनि ‘मिटिङ छ, त्यहाँ यस्तो काम छ’ भन्दै लुसुक्क–लुसुक्क अलप हुँदा रहेछन् । ती पशुपतिनाथ एक शब्द केही बोल्दैनन् । त्यहाँ हजार रुपैयाँ तिर्नेले लाइनमै नबसी ठ्याक्क दर्शन पाउँदा रहेछन् । ती निरीह कङ्गालहरू लाइनमा भोकै नाङ्गो खुट्टामा धाइरहेका देख्छु । अहो भगवान् ! न्याय खोइ ? अहँ, एक शब्द बोलेनन् । शैव दर्शन पल्टाएँ, पाशुपत दर्शनभरि खोतलेँ ईश्वरको रूपमा मलीनता छ तर त्यहाँ त आडम्बर देखिन खै । यो मान्छेको मन्दिर र व्यवस्थामा खै कस्तो समानता ? म घोरिइरहेँ । साँझको आरतीमा भावुक प्रत्येक भक्तमा भगवान् देखेकै जस्तो लाग्यो । जहाँ भित्र बाहिरको कुरा देखिन । शिव भजनमा मग्न बाँदरको तालमा साधुको हाल देखेँ जो लोभको पगरीमा कामको गेरु बेरेर मदको पहिरनभित्र त्यागको नाटक त गर्दै छैनन् ? अनि ती साधु–सन्त भक्त हुन् कि त्यहाँका बाँदरको जमात वास्तविक सन्त हुन् ? कमसेकम तिनले खोजेर, चोरेर त खाने प्रबन्ध गर्छन् । हो, त्यागको हवासमा कामको वासना, क्रोधको कामना, लोभ या षड्शत्रुको पङ्गुपना तिनमा सबैथोक देखेँ तर शक्तिमा कमी भेटिन । तब, शिवजीको मन्दिरको गजुरमा जानलाई ती भक्त बाँदरलाई गेटका पुलिसले रोक्न सक्दैनन् । सोचिरहेँ ।

म अवाक भएर एकछिन घोत्लिएँ । अलिपर चर्चसम्म पुगेपछि उनी अर्कै मोडमा मोडिइन् । म आफ्नो गन्तव्यहीन यात्रामा एकछिन् बिसौनी खोजेर रोकिएँ । बेतेलभित्रका आवाजसँग गितारको झन्का आएको । छेउमा एकछिन् अडिएँ । भित्रबाट एउटा मान्छे दौडिएर आयो । बाइबलको ठेली जबरजस्ती थमायो । नरम भाषामा बोल्यो । कति पनि कर्कस आवाज थिएन । अनि, छेउको उसको परिचितले बोलाउन चाहँदा मात्र ऊ आगो भयो । फेरि मतिर मोडियो उही नरमपना । फेरि मलाई अन्य प्रचारका पत्रको उपहार बोनस भिरायो । मैले जवाफ वा प्रतिक्रियाको आशा गर्नुमा आफैलाई अनुचित ठानेँ किनकि मेरो पालोसम्ममा घडीको सुइले बाह्र बजाउने सम्भावना । म पनि त बोल्न कहाँ कमको छु र । म अझै दोधारको सागरमा डुबुल्की मार्दै दगुरेँ । म आफ्नो संसारमा लुकामारी गर्दै बुद्धका अघि उभिएँ । उनी अवाक बोलेनन् । न त मलाई उनको ध्यान प्रक्रिया सिकाउन चाहे । मेरो कपडामा बुद्धत्वको पहिचान जोडिएन सायद । म आफ्नो सामल खानतिर लागेको के थिएँ । माथि एक हुल बाँदर आएर मेरो पेटको अशान्तिलाई भूकम्प चलाइ दिन भ्याएछन् । खाजा त एकै पटक माथि रुखमा चढेछ । म जमिनको जमिनमै दोधारमा परेँ । म भक्त कि यी बाँदर भक्त ? यी त रातदिन मन्दिर, गुम्बाका सामीप्यमा बस्छन् । प्रसाद बाहेक अरु केही नखाने । घुम्दै चारो खोज्न दगुर्ने स्वयम्भूका पेटीमा हात फैलाएका बिजोग लाग्ने व्यक्तित्वको जीवन हेरेँ । बुद्धलाई भनेँ, के तिमी पशुपतिनाथसँग सहकार्य गरेर दुबैतिरका सबै यस्ता आशामुखीको जीवनलाई बुझ्न सक्दैनौ ? ती पेटीका तपश्वीलाई देखेर तिमीले कहिल्यै कृष्णजीसँग सम्झौता गरेनौ ? मैले दोधारमा भगवान्लाई गाली गरेँ । तिमी तिनको अभाव वा बाध्यता वा ढोङी मगन्ता अवस्थाको छानबिन समिति त बनाऊ । यति सोच्दै मात्र के थिएँ, बैशाखीको सहारामा आएको एउटा व्यक्तिले मेरो अघि हात पसार्यो, उसलाई के थाहा म अनाधिकारी मगन्ता हुँ भन्ने कुरा । म सभ्य मगन्ता हुँ । देख्दा इज्जतदार तर न माथि जाने, न तल गिर्ने मझधारमा – म पनि ऊ जस्तै एउटा मगन्ता हुँ । पेट युगमा जेट युगको चर्चा गर्दै यन्त्रको तन्त्रले मूल मन्त्र भिरेको गणतन्त्र, लोकतन्त्र, शोकतन्त्र, भोकतन्त्र, गरिबी र मानवतालाई ठोकतन्त्रको नयाँ परिवर्तनमा म मगन्ता बेसहारे मझधारमा । न म बोल्छु, आवाज बुलन्द छन् नैतिक बन्धनमा । म कसैको सशक्त कार्यकर्ता । पुच्छर, न टाउको न धार – म केवल मझधारको मगन्ता । तब बुझें जीवनमा म ईश्वरको प्यासी हुनु मेरो प्रकृति रहेछ । म मानिसरूपी मूर्तिमा बसेका ईश्वरको खोजीमा रहेछु । मभित्रकै ईश्वरको ज्ञानको भोकमा तड्पेको रहेछु । हो म वास्तवमा मगन्ता हुँ तर अब म आफै
भित्रका ईश्वरलाई चिन्छु । मूर्ति, मन्दिर, विश्वासमा खै के छ तर मभित्रको मन्दिरमा साँचो ईश्वर रहेछ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.