कविता : शुभकामना

~गिरीप्रसाद बुढा~

जनताका खुशी लुट्नलाई
मन काला हुनेहरूले
झोलामा बम लुकाएर डुल्दै गर्दा
सङ्घीयताको जपना गर्नेहरूले
विखण्डनको तरबार उठाएर
नेपाली छाती चिर्दै गर्दा
मलमपट्टी बोकेर नेपाली पीडा मेट्न हिडेकाहरू
नेपाल बचाउन सफल बनुन्
यही छ मेरो शुभकामना

देश जलाउनलाई
कालो मैलो मुस्लो छोड्दै
सङ्घीयताको आगो
आँधी हुरीसँग आउँदै गर्दा
आगो टेक्दै अघि वढेका सपुतहरू
अग्नि परिक्षामा सफल बनुन्
यही छ मेरो शुभकामना

देश ढलाउनलाई
पहाडहरू हल्लाएँदै
सङ्घीयताको भुइँचालो
ज्वालामुखी फुटाएर आउँदै गर्दा
देश जोगाउने अभियानमा खतेका योद्धाहरू
देश जोगाउन सफल बनुन
यही छ मेरो शुभकामना

नेपाल निल्ने दाउमा
सङ्घीयताको पासो थाप्दै
हाम्रै छिमेकीले कपटी खेल खेल्दै गर्दा
छाती थापेर अघि बढेका योद्धाहरू
स्वाधीनताको लडाइँ जित्न सफल बनुन्
यही छ मेरो शुभकामना

आफ्नै स्वार्थको आकाङ्क्षामा
राष्ट्रियतालाई बन्दकी राखी
सङ्घीयताको ज्वारभाटासँगै
लोभी पापी र स्वार्थीहरू बग्दै गर्दा
ज्वारभाटाका विरुद्ध राष्ट्रियता बोकेर हिडेकाहरू
लक्ष्य चुम्न सफल बनुन्
यही छ मेरो शुभकामना

साम्प्रदायिक द्वन्द्व मच्चाउनलाई
वर्ग युद्धको बाटो छाड्दै
सङ्घीयतामा मुक्ति देख्नेहरू
आफ्नो नाममा राज्य दर्ता गर्न
तछाडमछाड गर्दै गर्दा
वर्गयुद्धमा लामबद्ध भएका सर्वहाराहरू
वर्गयुद्ध जित्न सफल बनुन्
यही छ मेरो शुभकामना

२०६९÷१÷२३ गते

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ३ – Dec. 3, 2015 – २०७२ मंसिर १६ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.