लेख : दुमी भाषाको त्रैभाषिक शब्दकोश

~डा. माधवप्रसाद पोखरेल~

नेपालमा झन्डै सय ओटा मातृभाषा होलान् भन्ने मैले अड्कल गरेको छु। नेपालका भाषाहरूको वास्तविक सङ्ख्या चाहिँ नेपाल सरकार, राष्ट्रिय योजना आयोगको प्रायोजनमा त्रिभुवन विश्‍वविद्यालय भाषाविज्ञान विभागले गरिरहेको नेपालका भाषाहरूको समाजभाषावैज्ञानिक सर्वेक्षणको परिणाम हातलागी भएपछि नै थाहा होला। यस शब्दकोशका सम्पादक श्री नेत्रमणि दुमीराई पनि नेपालका भाषाहरूको सर्वेक्षण गर्ने त्यसै परियोजनामा सक्रिय अनुसन्धाता हुन्। जति अरूको भाषाको नियमहरू सिकिन्छ, त्यति आफ्नै भाषा झन् झन् बढ्ता बुझ्दै गइन्छ। भाषाविज्ञानमा एम. ए. गरेको र पिएच.डी. तिर उन्मुख मातृभाषी नेत्रमणि दुमीराईले पनि यो कुराको महसुस् गर्दै दुमी भाषाको शब्दकोश यो अवस्थासम्म ल्याइपुर्‍याएको हुनु पर्दछ।

दुमी भाषा खोटाङ जिल्‍लाको उत्तरी क्षेत्रमा बोलिने एउटा किराँती भाषा हो। भाषावैज्ञानिक बेहोराहरूका आधारमा सबै किराँती भाषामा जटिल सर्वनामीकरण हुन्छ। यस भनाइको अर्थ के हो भने, किराँती भाषाहरूमा कर्ता र कर्म स्थानमा रहेका सर्वनामको वचन र पुरुषको फरकले क्रियाको रूप फेरिन्छ। त्यति मात्र नभएर वाक्यमा कर्म स्थानमा उत्तम पुरुष वा मध्यम पुरुष पर्‍यो भने अन्य पुरुषको कर्ताले सर्वनामीकरणमा भाग लिँदैन। संसारका भाषाका व्याकरणमा उत्तम पुरुष भन्दा मध्यम पुरुष होचो हुन्छ र मध्यम पुरुष भन्दा अन्य पुरुष होचो हुन्छ। धेरै किराँती भाषाहरूमा अग्लो सर्वनामले क्रियाको सङ्गतिमा भाग लिन्छ, होचाले लिन सक्तैन। लिम्बु र याक्खा जस्ता पूर्वी किराँती भाषामा त करण जत्तिकै अकरणको रूपावली पनि जटिल हुन्छ, तर दुमीमा अकरण पूर्वी किराँतीमा जस्तो जटिल हुँदैन।

धेरै किराँती भाषाको ऐतिहासिक पुनर्निर्माणमा दुमी भाषा पूर्वी किराँती भषाहरू (बान्तावा, आठपहरिया, याम्फु, मेवाहाङ, लोहोरुङ, छिन्ताङ, याक्खा, लिम्बु आदि) सँग भन्दा प्राय: खालिङ, कोयु, बाहिङ, उम्बुले, जेरोङ, थुलुङ, कुलुङ, नाछ्रिङ र सुनुवार भाषासँग नजिक पर्छ। दुमीसित सबैभन्दा धेरै नजिकको भाषा चाहिँ कोयु नै देखिन्छ। अनेक भाषावैज्ञानिक बेहोरा हेर्दा दुमीले पूर्वी र पश्‍चिमी किराँतीको साँधको काम गर्ला कि जस्तो पनि देखिन्छ। दुमी भाषाका कतिपय बेहोराहरू त पूर्वतिर भन्दा पश्‍चिमतिरका हायु, थामी, दोलखाली नेवार, नेपाले नेवार, चेपाङ, भुजेल, खाम, राजी, राउटे र व्याँसी जस्ता सरल तथा जटिल सर्वनामीकरण भएका भाषाहरूसँग मिल्छन्। त्यसैले यी भाषाहरूका तुलनात्मक अध्ययन-अनुसन्धान गर्दा पश्‍चिमका ती हिमाली भाषाहरूको किराँती भाषासित साइनो स्थापित गर्न दुमी भाषा सहायक हुने देखिन्छ।

दुमी-नेपाली-अङ्ग्रेजी शब्दकोश सम्पादनका क्रममा भाषाविज्ञान पढेका नेत्रमणि दुमी राई जस्ता कर्मठ व्यक्तिहरू हुनु, वैज्ञानिक तरिकाले शब्दकोशलाई चाहिने शब्दहरू कसरी बटुल्ने र तिनीहरूलाई शब्दकोशमा कसरी व्यवस्थित गर्ने भन्ने प्राविधिक कुराहरू (कम्प्यूटर सफ्टवेयर: टुलबक्स, ओन्टोलोजी,वर्डसर्व आदि)को ज्ञान हुनु, कोशविज्ञानको आधारभूत विशेषताको रूपमा युनिकोडको प्रयोग हुनु, शब्दकोशमा चाहिने उच्‍चारण कसरी गल्ती नहुने गरी सुन्ने र वैज्ञानिक रूपमा त्यसलाई कसरी लेख्‍ने भन्ने ध्वनिविज्ञानको सिद्धान्त लागु हुनु, दुमी भाषाका अनेक भाषिकाहरूका सामग्री सङकलन हुनु यस शब्दकोशका सबल (वा सकारात्मक) पक्ष हुन्।

भाषाविज्ञानको सैद्धान्तिक र प्राविधिक ज्ञानको अभ्यास र अनुशीलनसँगै नेत्रमणि दुमीराईले आफ्नो मातृभाषाको अद्वितीय सेवा गरी रहेका छन्। उनलाई आफ्नो जन्मथलो माक्पा क्षेत्रको मात्र नभएर अन्य दुमी गाउँ-ठाउँहरू (बाक्सिला, जालपा, सप्‍तेश्‍वर, खार्मी आदि) का भेदहरू पनि थाहा छ। उनले यस शब्दकोशमा आफ्नो मातृभाषाका सबै भाषिकामाका भेटेसम्मका शब्दहरूलाई ठाउँ दिएका छन् र तिनीहरूको तुलनात्मक अध्ययन समेत गरेका छन्। त्यसैले शब्दकोशमा मूल शब्दहरू आधारभूत रूपमा माक्पा क्षेत्रका भए पनि सम्भव भएसम्म अन्य भाषिकाहरूमा पाइएका शब्दका फरक रूपहरू र त्यसको सूचना समेत प्रष्‍ट रूपमा दिइएको पाइन्छ। कोशविज्ञानका यति धेरै पक्षमा ज्ञान राख्‍ने कुनै नेपालीले पनि आजसम्म अर्को भाषाको शब्दकोश बनाएको छैन। दुमी भाषाको शब्दकोशले त्यो ऐतिहासिक फड्को हालेको छ।

सम्भवत: होस पुर्‍याएर यो शब्दकोश बनाइएको भएतापनि शब्दकोश तयार गर्दा कतै न कतै गल्ती र खोट लगाउने ठाउँ त पाठकले भेटी हाल्छन् नै। यसैले प्रसिद्ध कोशवैज्ञानिक ज्गुस्ताले ‘कोश बनाउने काम गाह्रो र अब्जस्याहा हुन्छ’ भनेका पनि छन्। हरेक कोश बनाउनेहरूले आफ्नो मातृभाषाको अत्यन्त ठूलो सेवा गरेका हुन्छन्, तर जिउँदै सालिक बनाएर पुज्नुपर्ने त्यस्ता महात्माहरूले कोश पाठकका हातमा पुगेपछि ताली होइन गाली पाउने गर्छन्। हरेक कोश बनाउनेहरूको नियति त्यस्तै हुन्छ, तर भविष्यका संस्करणहरूमा सच्याउँदै गएर नै संसारका प्रसिद्ध कोश र विश्‍वकोशहरू खारिएर परिमार्जित हुन्छन्। नेपाली र अङ्ग्रेजी बुझ्न सक्‍ने जुनसुकै पाठक पनि यस शब्दकोशबाट लाभान्वित हुने हुनाले दुमी, नेपाली र अङ्ग्रेजी पढ्न सक्‍ने यस कोशका सबै प्रयोग कर्ताहरूले मायाँ गरेर यस कोशको आलोचना गरी दिऊन् भन्ने मेरो पनि कोशका सम्पादक नेत्रमणि दुमीराई लगायत यस शब्दकोश निर्माणमा सङ्लग्‍न सबैलाई शुभ कामना छ।

-डा. पोखरेल भाषावैज्ञानिक हुन् ।
प्रा.डा. माधव प्रसाद पोखरेल
भाषाविज्ञान केन्द्रीय विभाग
त्रिवि कीर्तिपुर

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.