~विश्वराज अधिकारी~
म भौजीलाई भेट्न नगएको त के कुरा, भौजीको गाउँसम्म पनि नगएको पाँच वर्षभन्दा बढी भइसकेको थियो। त्यस हुनाले यो पटक निधो गरेर हिंडेको थिएँ, चन्द्रनिगाहपुर पुगेर त्यहाँको काम सकिने बित्तिकै भौजीको गाउँ अवश्य जान्छु। अँ, मैले भन्नै बिर्सें, त्यो बेला चन्द्रनिगागपुर र गौरबीच मोटर चल्थेन । मैले हिंडेर नै पुग्नुथियो, चन्द्रनिगाहपुरबाट भौजीको गाउँ। झट्केर हिंडे पनि तीन घण्टा लाग्थ्यो। एक सुरले हिंडेको हिंड्यै गर्नुपथ्र्यो, चिया पसल यस्तो उस्तो केही थिएन, त्यो गाउँ जाने बाटोमा।
म भौजीको गाउँ पुग्दा साँझ परिसकेको थियो। गाईको बथान जङगलबाट फर्कंदै थियो गाउँमा, दिनभरि चरेर। केही गाईहरूका घाँटीमा झुन्ड्याएका घाँडो (ढोलना) ती गाईहरू हिंड्दा निस्कने अनेक ध्वनिहरू मैले बीरगंजको कीर्ति सिनेमा हलमा मेरो समयमा सुनेका हिन्दी गीतभन्दा कम बेजोड थिएन। जाडोको सयम भएकोले सबैले आफ्नो आफ्नो आँगनमा घुर लगाउँदै थिए। म भौजीको आँगनमा पुगेर वहाँसँग केही छिन कुरा गरेपछि धुपलालको घरतिर लागें, राति उसैको घरमा बस्ने सुरमा। म गाउँमा पसेको मात्र छु भन्ने थाहा पाउने बित्तिकै धुपलाल आइ पुग्छ मेरो हात समातेर आफ्नो घरतिर लैजान भन्ने मलाई थाहा थियो र त्यही विश्वासले मेरा पाइलाहरू मेरो बाल्यकालको साथी धुपलालको घरतिर बढेका थिए, अन्त कतै नरोकिएर। हुनत भौजीको आग्रह पनि कम थिएन, तर मैले साथी कहाँ जाने निधो नै गरिसकेको थिएँ। भोलि बिहानको खाना भने भौजीकै घरमा खाने बाचा गरेको थिएँ, भौजीसँग ।
त्यो गाउँ पुगेको भोलिपल्टको कुरा हो, भौजीको आतिथ्य स्विकार्न पुगें, म । भौजीलाई थाहा थियो मलाई मसुलार निकै मन पर्छ भनेर। मसुलार पाकेको थियो अनि अचार पनि थियो आमको, डुबौआ। बासमती चामलको भात अनि रहरीको दाल। भौजीले ऋण गरेको हुनुपर्छ, ती कुराहरू जुटाउन। भौजीलाई कति जाँगर चलेको थियो, म हेरेर दङग परेको थिएँ। ती परिकारहरूले तिनको खास स्वादभन्दा पनि भाउजुको देवर माथिको सीमाहीन प्रेम प्रदर्शित गरिरहेका थिए। ती परिकारहरू भौजीले मप्रति देखाएको मायाका साक्षी थिए– मबिना कुनै द्विविधा, निर्धक्क भएर भन्न सक्छु, आज यो मितिसम्ममा पनि।
मैल खान मात्र के सुरु गरेको थिएँ, भौजीले बाँसको पङ्खा चलाउन थाल्नुभयो हातले। मैले हाँस्दै भने– भौजी, यो जाडोमा पनि पङ्खा ? भौजीले भन्नुभयो–“जाडो छ भन्ने त मलाई पनि थाहा छ, खाना ज्यादै गरम छ, झिँगाहरूले पनि उत्तिकै दु :ख दिइरहेका छन्, त्यसैले यो पङ्खा चलाएको।” मलाई प्रस्टसँग थाहा थियो मेरो अलि बढी नजिक बसेर कुरा गर्न भौजीलाई सजिलो पारिदिएको थियो, त्यो पङ्खाले। र वहाँले त्यो कुरा भन्न मात्र सक्नुभएको थिएन।
कुराको थालनी भौजीले नै गर्नुभयो । मतिर हेर्दै भन्नुभयो– “तिमीलाई यो गाउँ आउन खुब मन लाग्छ, हैन ? तर योपटक त चार–पाँच वर्षपछि आयौ, किन ? मैले छोटो उत्तर दिएँ–“भौजी धेरै मेहनत गरेर पढ्नुपर्छ, कलेजको पढाइ, त्यो पनि साइन्स।”
साइन्सको पढाइ किन गार्हो हुन्छ, कति गार्हो हुन्छ, भौजीलाई के थाहा हुनु। एक छिन चुप लाग्नुभयो भौजी। म पनि खानमैं व्यस्त भएँ। आफ्नो यौवनकाल र मेरो बाल्यावस्थाका कुराहरू झिक्नुभयो। अन्तहीन शृङ्खलाका रूप लिएका भौजीका कुराहरू त्यतिखेर मात्र टुट्थ्यो जब म वहाँलाई रोकेर केही भन्थें।
म बालक हुँदा भौजीले मलाई किन त्यसरी आफ्ना कुराहरू सुनाउनुहुन्थ्यो त्यसको पछाडि पनि एउटा कारण थियो । र त्यो कारण थियो मेरो उमेरका सानासाना केटाकेटीहरूमध्ये वहाँ मलाई नै बढी मन पराउनुहुन्थ्यो। र म सानो हुँदादेखि नै निजी र मजस्तो आठ–दस वर्षको केटालाई भन्न नमिल्ने कतिपय कुराहरू पनि सुनाउनुहुन्थ्यो। वहाँले भनेका कतिपय कुराहरू मैले, युवावस्थामा पुगेपछि बल्ल बुझें। भौजी कुनै रात कति बेलासम्म जागा भएको, के के गरेको आदि आदि। हुनत अर्को पनि एउटा कारण थियो– भौजीका पति बुटाइ, एक त अति नै कम बोल्ने त्यस माथि पनि गाँजा खाने बानी। बुटाइ भैयाले बोल्दा पैसा खर्च गर्नुपरेझैं गरी मुखबाट शब्द झिक्थे। भौजी र बुटाइ भैयाबीच कुरा भएको मैले ज्यादै कम देखेको थिएँ। एक सम्पन्न किसानको घरमा हरवाह थिए। बिहानदेखि बेलुकीसम्म उतै बस्दै, राति सुत्न मात्र आउँथे, घरमा बुटाइ भैया। ती किसानको घरमा हुँदा दुईवटा मात्र काम हुन्थ्यो बुटाइ भैयाको– गोरुहरूलाई खुवाउनु, तिनको स्यहारसुसार गर्नु। र यी कामहरूबाट फुर्सत भएपछि मचानमाथि बसेर चिलममा गाँजा भरेर तान्नु। गाँजाको चिलम तान्दा वहाँको मुहारमा अपूर्व सन्तुष्टि देखिन्थ्यो, मानौं कुनै अति स्वादिष्ट परिकार खाइरहेको जस्तो। बुटाइ भैयाका यिनै व्यवहारहरूले गर्दा भौजीको धित मर्थेन गफ गर्ने, अनि समात्नुहुन्थ्यो मलाई, आफ्ना उकुसमुकुस भएका कुराहरू सुनाउन। म सानो हुँदा वहाँले भनेको एउटा घटना अहिले पनि मलाई याद छ। घटना यस्तो थियो, भौजीको भनाइमा– भौजी पन्ध्र–सोर्ह वर्षको हुँदा यति राम्री हुनुहुन्थ्यो कि गाउँमा नया उमेरका त के, बूढाहरूले पनि अनेक बहाना बनाएर हेर्थे, वहाँलाई । अन्य महिलाहरू इष्र्या गर्थे वहाँको चन्द्रमा झैं उज्यालो रूप देखेर। एकचोटी भौजी तीनचारजना केटीहरूसँग गाउँको सरेहमा घाँस काट्न गएको बेला गाउँमा कपडा बेच्न ल्याउन थालेको एउटा बेपारीले कपडा लादेको घोडालाई बाटोमा राखेर भौजीहरू भएको दिशातिर फर्केर पिसाब मात्र गरेन अन्य जिस्काउने कुराहरू पनि गरेछ, खासगरी भौजीलाई लक्षित गरेर । भौजीले आफ्ना साथीहरूको सहयोगमा त्यो कपडा बेपारीलाई नाङ्गो पारेर यति किसिमको सजाय दिनुभयो रे, कि त्यो कपडा बेपारी लाजले कहिले फर्केर फेरि त्यो गाउँमा आएन। भौजीले म जवानीमा यतिसम्म राम्री थिएँ भन्ने प्रमाणको रूपमा त्यो कुरा मलाई त्यस बेला भनेको हुनुपर्छ, उमेरदार भएपछि मात्र बुझे मैले त्यो यथार्थ। तर बालक कालमा मैले के बुझ्नु त्यस्तो दोहोरो अर्थ लाग्ने कुराहरूको सार ?
म खाना खाँदै थिएँ। भौजीले कुनै घटना सम्झेझैं गरी भन्नुभयो–“कैलाश, तिमीलाई याद छ, एकचोटी मैले तिमीलाई यै गाउँमा डोमकच देखाउन सुनरी फुआको घर लगेकी थिएँ, के के भएको थियो त्यो डोमकचमा सम्झना छ ? के के गरेका थिए त्यो डोमकचमा अनेक रूप धर्नेहरूले ? तिम्रो उमेर यस्तै छ–सात वर्षको हुनुपर्छ त्यो बेला।”
मैले भनें– त्यो डोमकचमा के के देखेको थिएँ त्यो त याद छैन, बरु केवल आइमाईहरू मात्र थिए त्यहाँ, र डोमकचमा उपस्थित सबै हाँसिरहेका थिए, त्यति मात्र याद छ, मलाई भौजी । तर अहिले भने मलाई राम्ररी थाहा छ डोमकचमा के हुन्छ र डोमकच हेर्नेहरू किन हाँस्छन् भन्ने कुरा।
मेरो कुरा सुनेपछि भौजीले भन्नुभयो–हेर, कस्तो रमाइलो भएको थियो त्यो डोमकचमा, अहिले सम्झँदा पनि…एउटा आइमाई चटाईमा सुतेकी थिई, अर्की आइमाईले भने केटाको रूप धरेकी थिई र सुतेकी थिई त्यही आइमाईसँग। दुवै टाँसिएर सुतेका थिए । त्यसपछि दुवैले के के गरे के के। एकै छिनमा कसैले परालको लुँडोमा कपडा लपेटेर बनाएको बच्चा ती दुईको छेउमा राखिदियो। त्यतिकैमा कसैले बच्चा रोएको आवाज निकाल्यो। होइन, त्यो बेलाका यस्ता कुराहरू केही पनि याद छैन, तिमीलाई, हँ कैलाश ?”
मैले टाउको हल्लाएर ती दृश्यहरू याद नभएको बताए।
भौजीले फेरि भन्नुभयो–“अर्को दृश्यमा एउटी आइमाई केटा बनेकी थिई अर्की आइमाई केटी। दुवै प्रेमी बनेर एक अर्कालाई अँगालो मारेर अनेक किसिमका कामहरू गरे। अरू भन्न नसकिने धेरै कुराहरू गरे। तिमी जवान मान्छेको अगाडि के भन्नु त्यस्ता कुराहरू यति बुझ कि भन्न नहुने कुराहरू पनि धेरै गरे, डोमकच खेल्नेहरूले।”
भौजीका कुराहरूको शृङ्खला टुट्न सकिरहेको थिएन, एकपछि अर्को गरी आउँदै थिए। केही अति नै चाखलाग्दो कुरा बिर्सन थालेकोमा त्यसलाई सम्झेझैं गरी भन्नुभयो–“एउटी आइमाईले यस्तो केटाको रूप धरेकी थिई कि भन्न पनि लाज लाग्छ। उफ, कस्तो विचित्र।” यति भनेर भौजी निकै बेर हाँस्नुभयो। वहाँको त्यो हाँसोबाट के कुरा प्रस्टगरी झल्कन्थ्यो भने त्यो डोमकचको सम्झनाले वहाँलाई निकै आनन्दित पारिरहेको छ।
चलिरहेको प्रसङगलाई परिवर्तन गर्न मैले भौजीलाई प्रश्न गरे–भौजी, आजभोलि त के हुनु त्यस्तो डोमकच, कि हुन्छ पहिलेजस्तो, अहिले पनि ? अहिलेको मान्छेलाई त्यति फुर्सत कहाँ ? अहिले त मारामार छ बाँच्नका लागि, पहिले त जीवन निकै सरल थियो, होइन त भौजी ?
भौजीले केवल सिर हल्लाएर मेरा कुरामा सहमति जनाउनुभयो। तर फेरि त्यो डोमकचको कुरा सुरु गर्नुभयो । मतिर हेरेर आश्चर्य मान्दै सोध्नुभयो – “होइन, तिमी त सानो हुँदै सबै कुरा बुझ्ने जस्तो देखिन्थ्यौ, गहकिलो कुरा गथ्र्यौ, तेज थियौ दिमागको। तिमीलाई त त्यो डोमकचमा देखेका कुराहरू याद हुनुपर्ने हो, होइन र ?”
भौजीको प्रश्नको मैले उत्तर दिनँ । केवल वहाँको मुहारतिर हेरें मात्र। वहाँका दाँत सबै झरिसकेका थिए। गाला र निधारका छालाहरूमा गन्न नसकिने मुजाहरू परेका थिए। बुढयौलीको भारले वहाँको कद पनि पहिलेभन्दा अलि सानो पारिदिएको थियो। अलि कुप्रिएर हिंड्नु हुन्थ्यो। कपाल फुलेर सेताम्यै भएको थियो, हिम शिखरझैं। मैले भौजीको मुहारमा केही क्षण घोरिएर हेरें। त्यसरी वहाँलाई हेरेको देखेर भौजीले मेरो त्यो हेराइको अनुमान लगाउँदै भन्नुभयो–“हेर, बूढो भएपछि भगवान्ले सबै रङगरूप हरेर लैजान्छन्। भगवान्लाई भेट्न पाए म सोध्थें–“भगवान्, तिमी किन यस्तो निष्ठुरी ? आफैंले सिँगारपटार गर्छौ अनि फेरि आफैंले त्यो सिँगारपटार खोसिदिन्छौ । यस्तो किन निष्ठुरी भएको ?”
भौजीको कुरा सुनेर म निकै बेर घोरिएँ। वातावरण एकै छिन शान्त रह्यो। मौनता निकै बेर कायम रहेपछि त्यसलाई भङग गर्न मैले भौजीतिर हेर्दै प्रश्न गरें–“भौजी, यो उमेरमा पनि कसैले हेर्न जाऔ भन्यो भने, तपाईं डोमकच हेर्न जानुहुन्छ त ? र पहिलेकै जति आनन्द लिन सक्नुहुन्छ ?
मेरो प्रश्नको उत्तरमा भौजीले भन्नुभयो–“किन नजानु डोमकच हेर्न, त्यस्तो रमाइलो पनि छाड्छ कसैले ?”
समाप्त
br2063_adhikari@yahoo.com
(स्रोत : प्रतीक दैनिक पत्रिका)