~विश्वराज अधिकारी~
मैले दाइलाई भनें– “भाउजूले तपाईंलाई अति नै माया गर्नुहुँदो रहेछ। जहिले पनि मेरो पति यस्तो, मेरो पति उस्तो भनेर हजुरको बयान, गुणगान गर्नुहुन्छ।”
मैले थपें– “हजुर त भाग्यमानी हो दाइ। साँच्चै, यति प्रशंसा गर्ने पत्नी पाउनु भाग्यको कुरा हो। अस्ति एउटा पार्टीमा भेट भएको बेला उनका छेउछाउका सहआमन्त्रितहरूलाई हजुर यो शहरको नाम चलेको चिकित्सक हो, क्लिनिकमा बिरामीको जहिले पनि भीड हुन्छ रे। शहरका अरू कुनै चिकित्सकले निको पार्न नसकेको बिरामी तपाईंले निको पार्नुभयो आदि आदि कुराहरू सुनाउँदै हुनुहुन्थ्यो। सुन्नेहरू पनि उनका कुराहरू चाख लिएर सुन्दै थिए।”
मैले यति कुराहरू सुनाए तापनि अनादि दाइको मुहारमा कुनै पनि किसिमको प्रतिक्रिया देखिएन ।
“दाइ त आफू काम गर्ने संस्थामा पदोन्नति पाएर प्राध्यापक पनि हुनुभएछ। अनि तलब पनि बढ्यो रे। आफ्नो विषयमा विशेषज्ञता हासिल गर्न एक वर्षपछि अमेरिका पढ्न जाँदै हुनुहुन्छ। उताबाट फर्केपछि अहिले बसेको सानो घर भाडामा दिएर ठूलो सरभेन्ट क्वाटर, गार्डरूमसमेत भएको नयाँ घर बनाउने । यी सबै कुराहरू पनि त्यहीं पार्टीमा भाउजूको मुखबाट नै मैले सुनेको हो। कुरा गर्नमा पनि अति स्मार्ट हुनुहुन्छ, हाम्रो एलिना भाउजू । हैन त दाइ ? दाइलाई त अति माया गर्नुहुँदो रहेछ। दाइलाई माया गरेको त कति हो कति ? आजभोलि त्यस्तो कमै देख्न पाइन्छ। हैन त, दाइ ?” मैले बेलिबिस्तार लगाएँ।
“मेरो प्रशंसा गरेको होइन एलिनाले, बरु आफ्नो प्रशंसा गरेको हो,” व्यङ्ग्यात्मक हाँसो हाँस्दै अनादि दाइले भन्नुभयो।
“कसरी ?” आश्चर्य मान्दै मैले प्रश्न गरें।
अनादि दाइले भन्नुभयो– “मेरो अति प्रशंसा गरेर, मेरो पति यस्तो छ, उस्तो छ भन्दै खासमा एलिनाले आफ्नो प्रशंसा गरेको हो। मेरो पति यस्तै छ भन्ने देखाएर आफू ठूलो हुन खोजेको हो। आफ्नो स्थितिको, गौरवको बखान गरेको हो।”
“एलिना एक ज्यादै अहम् भएकी महिला हुन्। सीमाभन्दा बढी अहम् छ, एलिनामा। त्यसैले पनि हाम्रो कुरा कहिल्यै न मिलेको हो। हामी, पतिपत्नी डिभोर्स गर्ने निर्णयमा पुगिसकेका छौं ।” अनादि दाइले थपे।
मैले अगाडि केही पनि बोल्न सकिनँ ।
br2063_adhikari@yahoo.com
(स्रोत : प्रतीक दैनिक पत्रिका)