कथा : #मीटुहेवन

~रजित ओझा~

छेवैमा भएको स्टिल गिलासको चिया सुरुप्प पार्दै उसले सुनाएको थियो मेरो काम नहुने जानकारी । चिया नै हुनुपर्छ गिलासमा । भित्रको तरल पदार्थ नदेखिए पनि कार्यालय समय नै भएकाले मैले चिया नै होला भन्ने अनुमान लगाएँ । टिलिक्क टल्केको थियो गिलास पनि ! भर्खरै नयाँ किनेको जस्तो !

“९ नम्बरबाट फर्म लिनुस् तर आज काम हुँदैन होला !”

म अचम्म परेँ । यो ठाउँ त सबै काम बिनारोकटोक हुनुपर्ने ठाउँ होला भन्ठानेको । बीचको बाटोमा ‘स्वर्ग जाने बाटो’ भन्नेतिरै बांगिएर आएको । ढोकामा पनि स्वर्ग नै लेखिएको छ । अनि तालचाहिँ उही मर्त्यलोकको हाम्रै आफ्नै सरकारी अड्डाजस्तो ।

उसको परिचयपत्र हेरेँ । चित्रगुप्त हैन रहेछ । म पनि कस्तो हुस्सु, चित्रगुप्त त यमलोकमा पो त । यो त स्वर्ग पो त ! आफ्नो अज्ञानताप्रति आफैंलाई रिस उठेर आयो ! कस्तो सामान्य कुरा पनि ख्याल नभएको ! धर्मशास्त्रप्रति खासै रुचि नलाग्ने ममा यस्ता ज्ञानको अभाव हुनु स्वाभाविकै हो । वेद, पुराणहरुमा दख्खल नभए पनि मलाई ‘तपाईं स्वर्गतिर लाग्नुस्’ भनिँदा तीनछक परेको थिएँ । मृत्युपश्चात् स्वर्ग-नर्क हुन्छ भन्ने थाहा पाउँदा पहिला त डर नै लाग्यो । जीवित हुँदा विश्वास गरेको भए अलि धेरै मन्दिर गइन्थ्यो । तर, मैले कसैको कुभलो चिताइनँ, कसैलाई गलत नजरले हेरिनँ । शायद त्यसैले स्वर्गतिर पठाइदिए होला ।

यहाँ आज काम हुँदैन भन्ने सुन्दाचाहिँ म खिस्रिक्क परेँ । यो मान्छे ‘स्वर्ग’को इमिग्रेसन अफिसर होला । यसको नाम मैले कुनै धर्मशास्त्रमा पढेको थिइनँ । गरुड पुराणलाई पनि यहाँ प्राप्त सुझावअनुसार संशोधन गरिनु पर्ने टड्कारो आवश्यकता महसुस गरें । कम्तीमा इमिग्रेसन पोलिसीहरु र लाग्ने समयको बारेमा जानकारी गरुडमा हालिदिए कति सजिलो हुन्थ्यो । तर अहँ, छैन । न यताकाले संशोधन दर्ता गर्न सक्छन् न उताकाहरु संशोधनप्रति त्यति उदार छन् ।

“कामचाहिँ किन नहुने ?” मैले सुस्तरी सोधेँ ।

उसले पुलुक्क मतिर हेर्‍यो ।

“ऊss त्यहाँ पर कुर्सी देख्नुभएको छ ?”

मैले टाउको हल्लाएँ ।

“त्यहीँ बसेर छेउको स्क्रिनमा हेर्नुस्, स्वर्गका खबर सबै देखाउँछ ! समाचारमा ! आज स्ट्राइक छ ! कति दिन लाग्ने हो, थाहा छैन । त्यो टोकन नम्बरकै कुर्सीमा बस्नुहोला ! स्वर्ग छिर्न ढिलो भएबापतको क्षतिपूर्ति र खानपिनको व्यवस्था त्यहीँ गर्छौँ हामी !”

मसँग सोध्न बाँकी प्रश्न रहेन । लुरुलुरु कुर्सीतिर लागेँ । आज म स्वर्ग छिर्न नपाउने भएँ । आज स्वर्गमा स्ट्राइक छ ।

० ० ०

छेउको कुर्सीका दाइ मलाई देखेर मुस्कुराए । उनको वरपर अरु कोही थिएनन् बसेका । शायद बह पोख्ने मान्छे भेटेर मुस्कुराए । साँच्चै, मरेपछि चाँडो मरेका मान्छेलाई ‘दाइ’ भन्न मिल्ला कि नमिल्ला ? जन्मिँदा चाँडो जन्मिएकालाई त हामी सजिलै ‘दाइ’ भनिदिन्छौँ । आफूभन्दा ढिलो जन्मिएका तर चाँडो मरेर यहाँ भेट भएका मान्छेलाई ‘दाइ’ भन्न मिल्ने कि नमिल्ने होला ? मनमा अनेकौँ प्रश्नहरु एकैचोटि आए अनि एकैचोटि सेलाए जब मैले ‘आss दाइ नै भन्छु’ भन्ने निर्णय गरेँ ।

“किन भएको रहेछ बन्द ? थाहा पाउनुभयो दाइ ?”

“स्वर्ग पनि अछुतो रहेन ! बुझ्नुभो ?”

“केबाट ?”

“मेनका चिन्नुहुन्छ ? मेनका ?”

म मेनका नाम गरेको कसैलाई चिन्दिनँ । सबैभन्दा नजिकैको नाम मेनकासँग मिल्ने चिन्ने भनेको ‘मोनिका’ हो- ‘मोनिका लेवेन्स्की !’ तर, उसको नाम दाइको अगाडि किन लिनु थियो र मैले ?

“चिन्दिनँ त !” मैले टाउको हल्लाइदिएँ।

“ऊss त्यो ?” उनले स्क्रिनतिर औँला सोझ्याए । एउटी अधवैंशे महिलाजस्ती ।

“को हुन् त उनी ?”

“जमानामा स्वर्गकी नाम चलेकी अप्सरा ! अहिले काम छोडेकी रहिछन् । कामचाहिँ अहिलेका राजाको कारणले छुटेको बताउँदैछिन् । कार्यालय समयमा जबर्जस्ती गरे रे ! सुरक्षित काम गर्ने ठाउँको माग रहेछ ।”

मैले अनुहार हेरेँ । अधवैंशे । अनुहारमा रेखाहरू देखिन थालेका । मैले सुनेको त अप्सराहरु चौपट्टै राम्रा हुन्छन् । ‘मेनका राम्री त थिइन् तर जमानामा !’ जस्तो । इन्द्रले यस्ती महिलालाई किन पो जबर्जस्ती गरे होलान् त ? कतै इन्द्रलाई फसाउने जाल पो थियो कि ?

“कहिलेको कुरा हो यो ?”

“विश्वामित्रको नाम थाहा छ ?”

मैले टाउको हल्लाएँ । साँच्चै मलाई केही थाहा छैन । स्वर्ग छिर्नलाई ज्ञान सर्वोपरि हैन भन्नेको म ज्वलन्त उदाहरण बन्दै छु । कसैले मेरो उदाहरण दिन सके !

“त्रेता युगमा तिनको तप भंग गर्न मेनकालाई प्रयोग गरिएको थियो ! त्यसपछि केही समय विश्वामित्रसँगै बिताइन् । पछि तपमा बाधा भएको भनी विश्वामित्रले उनलाई स्वर्ग नै फर्काइदिए ।”

तप कसरी भंग गरिन् ? विश्वामित्रलाई फसाइछिन् ! त्यस्तो पनि काम रे ! मनमनै सोचेँ !

“अनि ?”

“इन्टरभिउ नै हेर्नुस् न ! म पनि हेर्दैछु ।”

आँखा स्क्रिनतिर दौडाएँ, मेनका बोल्दै थिइन्, “त्यो काम सिध्याएर म स्वर्ग फर्केकी थिएँ । फेरि काम गर्न इन्द्रको हस्ताक्षर चाहिन्थ्यो । म कार्यकक्षमा जाँदा ‘आज काम हुँदैन, भोलि मेरै शयनकक्षमा आऊ’ भनेर टारिदिएका थिए !”

मेनका रोकिइन् । बोल्न गाह्रो भएजस्तो गरेर । छेवैको टेबलको पानी पिइन् । अनुहारका धर्साहरू अझ स्पष्ट देखिए स्क्रिनमा !

“म शयनकक्षमा पुगेँ । इन्द्र मलाई पर्खेर बसेका थिए । छेवैमा मेरो निवेदन थियो । म टाढै बसेँ । ‘नजिकै बसे हुन्छ’ भन्दै उनी मुस्कुराए । कुटिल मुस्कान ! हेर्नुस्, मेरो काम नै नृत्य गर्ने, कहिलेकाहीँ ऋषिमुनीहरू आकर्षित गर्ने भएकाले म कुटिल मुस्कानहरु चिन्छु ।”

मेनका फेरि रोकिइन् । अनि एकछिनको मौनतापछि फेरि शुरु भइन् ।

“मेरो निवेदनमा हस्ताक्षर गर्दिनुहोस्, म जान्छु भन्दा उनले ‘तिमीले काम कसरी गर्‍यौ, एकचोटि मलाई पनि देखाऊ न’ भने ! म अलमल्लमा परेँ । विश्वामित्रसँगको काममा नै मैले कार्यक्षेत्र र निजी जीवनको फरक थाहा नपाउनाले दु:ख पाइसकेकी थिएँ । अचानक इन्द्र नजिकै आएर मेरो काँधमा हात राख्दै ‘पीर नमान । अफ्ठ्यारो लागे यो लिए हुन्छ’ भन्दै हातको मदिरा दिन खोजे ! मेरो काँध सुम्सुम्याए । मैले उनको हात झट्कार्दै ‘माफ गर्नुहोला, म सक्दिनँ भनेँ ।”

मेनका मलीन देखिइन् र फेरि भन्न थालिन्, “उहाँले ‘विश्वामित्रसँग हुने, मसँग किन नहुने ? म पनि त स्वर्गको राजा हुँ ! तिम्रो सर्वेसर्वा मै हुँ । सबै मरिमेट्छन् स्वर्गमा काम गर्न । तिमीलाई मेनका बनाएको मैले हो !’ भन्नुभयो । बाहिर निस्किने बेलामा मैले सुनेका अन्तिम शब्द यिनै हुन् ।”

म सोच्दै थिएँ, अप्सराको काम नै त्यही त होला नि ! एक किसिमले इन्द्रको पनि सोचाइ ठिकै हो !

अचानक मेनका स्क्रिनमा कड्किइन्, “मेरो शरीरमा मेरो अधिकार हो । विश्वामित्रसँग सम्बन्ध राख्ने, मसँग नराख्ने भन्ने इन्द्र को हुन् ? अनि यो त द्वापर युगको शुरुको कुरा भनेर टार्नुहुन्छ भने मैले राजाको विरुद्द गरेको आँट हेर्नुस् । कुनै स्त्रीले यसो भन्छे भने आफ्नो परिवार, काम सबै दाउमा राखेर बोलेकी हुन्छे । त्यो त्रिलोक र चौध भुवनले बुझ्नुपर्छ । मानव, ईश्वर र दानवले बुझ्नुपर्छ । मलाई फेरि अप्सरा भएर काममा फर्किनु छैन । म यति मात्र चाहन्छु कि अन्य अप्सराहरुको पनि कार्यक्षेत्र सुरक्षित होस् ।”

म सजग बनेँ । मर्त्यलोकमा पनि धेरै मेनका थिए होलान्, मैले मेनकाको ठाउँमा आफूलाई राखेर सोचिनँ । मैले सोचेको थिएँ- म स्वर्ग आएँ किनकि मैले कसैको कुभलो चिताइनँ, कसैलाई गलत नजरले हेरिनँ । शायद म गलत थिएँ कि ? शायद मैले कसैलाई गलत नजरले हेरेँ कि ? पुरुषको अहंकारकै पर्दा त होला, मलाई थाहा छैन आफैंले गरेका गल्तीहरू । मरेपछि पनि !

मैले सोचेको मात्रै पनि मेनकालाई थाहा हुन्छ ? यो त स्वर्ग हो, टेलीप्याथी पनि हुन सक्छ ! मैले सम्हालिएर सोच्नुपर्छ । थाहा भए पनि, नभए पनि मैले पर्दा फ्यालेर सोच्नुपर्छ । नत्र स्वर्ग आएको के फाइदा ?

दाइ भने अझै पनि घोरिएर अन्तर्वार्ता हेर्दै थिए ।

“विश्वमित्रले पनि तपमा बाधा भो भनेर यिनलाई खेदे, इन्द्रले मौकाको फाइदा उठाउन खोजे ! यिनी प्रयोग भएकै हुन् । तर, यिनको आँटले स्वर्गमा हलचल ल्याउला जस्तो छ ! बुझ्नुभो ?”

मैले बुझेजस्तो गरेर टाउको हल्लाएँ । मैले धेरै बुझ्न बाँकी रहेछ । मेरो ज्ञानका सिमाना रहेछन् । किन इन्द्रको पक्ष लिएर सोचेँ ? मलाई ग्लानि भयो । फेरि स्क्रिनतिर हेरेँ ।

“मेनकाजी ! तपाईंलाई एकछिन होल्डमा राख्दै छौँ । मर्त्यलोकबाट ‘अहिल्या’ले पनि इन्द्रको विरुद्द आवाज दर्ता गराएकी छन् । पुरुषको अभिमानमा मेरो मानमर्दन किन भन्दै उनी पनि यो आन्दोलनमा जोडिएकी छन् ।”

नयाँ खबर स्क्रिनमा आयो ।

“के इन्द्र साँच्चै त्यस्तै हुन् त ?” मैले सुस्केरा काड्दै दाइलाई सोधेँ ।

“इन्द्रमात्रै ? तपाईं, हामी नि ? सामान्य छेडछाडको नाममा हामीले के-के गरेका छौँ, आफै सोच्नुस् त !” दाइले हाँस्दै भने !

“पापै भए त हामी नर्कमा नै हुन्थ्यौँ होला नि !” मेरो स्वर बोल्दै गर्दा काम्यो । मलाई आफ्ना शब्दहरूमा विश्वास छैन ।

“धर्म, पापको हेक्का राख्नेले नै गणना नराखेपछि त्यो बहिखातामै चढेन !” दाइ फेरि खिसिक्क हाँसे ।

म घोरिएँ आफ्नो टोकन खेलाउँदै । स्वर्ग यस्तो होला भनेर मैले बनाएको तस्बिर भत्किँदै थियो । मैले गरेका धर्म र पापका हिसाबकिताबका ठेलीहरु भत्किँदै थिए- स्वर्गकै ढोकाअघि !

अचानक ‘ब्रेकिङ न्युज’ आयो । यी सबै आरोप सिद्ध नहुन्जेलका लागि इन्द्रलाई राज्यच्यूत गरिएको छ । र, आन्दोलन फिर्ता हुने भएको छ । टोकनका काउन्टरहरु खुले । हामी काउन्टरतिर अघि बढ्दै थियौँ । अचानक अर्को समाचार फ्ल्यास भो । बैकुण्ठबाट अर्को ‘#मीटु’ को समाचार आइरहेको रहेछ ।

“वृन्दाबाट विष्णुमाथि रूप फेरेर बलात्कार गरेको आरोप !”

(स्रोत : बाह्रखरी दैनिक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.