~ज्ञान बहादुर राई~
‘के गर्ने बाबा? यसपालीको दशैं त जसो तसो बित्यो। अलीकति बाँकीरहेको पैसा पनि सिद्धीयो। घरको आर्थीक अबस्था तपाईलाई थाहा छँदैछ। अब तिहार पनि आउँदैछ । बर्ष दिनको चाँडमा चेलीबेटीहरु बोलाउनै पर्र्यो। कोशेली पात बोकेरै आउलान्, खर्च पर्दैन भनेपनि केही त दिनै पर्छ नी! छोरी चेलीको सित्तैमा पानी पनि खानु हुदैंन, पाप लाग्छ भन्छन्, होईन र?’
‘तिमीहरुलाई त घरमा बस्नु र खानु त छ नी! जति भने पनि बुडाले पैसा झ्याप्पै पठाईहाल्छ त। तिमीहरुलाई के थाहा, यस मरुभुमीमा खटेर पैसा कमाउन कति गाह्रो छ भनेर। अहिले म संग पैसा-सैसा छैन। २-४ महिना पछि बिचार गरौंला…’
आऽऽऽ, बुडीको कचकच पनि कति सुन्नु हौ! अस्ति भर्खरै पचास हजार रूपैंया पठाकोऽऽ … ओऽहोऽ ६ महिना पो हुन लागेछ त! हिजो-अस्ती जस्तो लाग्छ, कुन्नी कति छिटो समय बित्दो रहेछ। हुन पनि अहिलेको यस्तो महँगीमा तेती जाबो पैसाले ६-६ महिना घर खर्च, छोरा-छोरीहरुको पढाई अनि पकेट खर्च! धन्न कसरी हो बुडिले ब्याबहार थाम्छे! यसपालीको दशैंमा चोलो धरी किनेर लाउन भ्याईन त भन्थीन्। शायद पैसा नपुगेर पो हो की! म संग कहिल्यै खुलेर कुरो गर्ने होईन ब्यारे! धत्, व्यर्थैमा बुडीलाई हप्काएँ। म पनि सोंच्दै नसोंची आवेशमा प्याच्चै भनिहाल्छु। एऽऽ त्यसैले पो होला हौ बुडीले पनि खुऽऽलेर कुरा गर्न नसकेको।
खोई के भन्नु! केहि पैसाको जोहो हुन्छ की भनेर साथी-भाईहरु संग सर-सापट लिएर विदेश आईयो। भने जस्तो काम त छ नी तर के गर्नु तलब असाध्यै थोरै छ। आफु संगै, आफु जस्तै, आफ्नै स्तरको काम गर्ने अरु देशका साथीहरुको तलब चाहीं आफ्नो भन्दा झण्डै दोब्बर छ। होईन, उनीहरुले गर्ने कामको गुणस्तर भन्दा आफुले गरेको कामको गुणस्तर धेरै राम्रो छ नी! उनीहरुलाई अप्ठेरो परेको खण्डमा मलाईनै गुहार्न आउँछन्। एक हिसाबले हेर्दा मेरो काम र गुणस्तर राम्रो भएकोले मैले पो उनीहरू भन्दा धेरै तलब सुबीधा पाउनु पर्ने हो त। किन यस्तो भेद-भाव भनेर सोध्यो भने, ‘तिमी नेपाली हौ। यहाँको पैसा तिम्रो देशमा धेरै हुन्छ, त्यसैले हो’ भन्छन्। मूर्खहरू, झारो टार्ने काम सिवाय अरु केही गर्दैनन्। तीनीहरु त मूर्ख नै भए, म चाहीँ महामूर्ख परें। तीनीहरुले त्यसो भन्दा मैले पनि ‘उसो भए, यिनीहरूले दिनभरी लगाएर गर्ने काम म साढे दुई घण्टामा नै सिद्धाउँछु। त्यसकारण मेरो ड्युटी पनि साढे दुई घण्टाको नै होस् न त’ भनेर भन्नु पर्ने हो नी। म धकाउने भएर नै हो नी यी पाजीहरुले त्यसको फाईदा लिएका। बेला बेला त म किन नेपाली भएर जन्मेछु भनेर मन खिन्न भएकै हो। तर मेरो कमजोरीको फाईदा अरुले उठायो, देशमा शान्ति दीदीको उठीबास छ, सबै आफ्नै भुडीपुराण लगाउनमा नै व्यस्त छन् भन्दैमा त्यो देशको नागरीक हुनुमा आफुलाई धिक्कार्न त हुदैन भनेर पनि चित्त बुझाउँछु।
ओऽहोऽ, चन्द्रेलाई पनि भेट्नु पर्ने। त्यसले पैसा दिने भाका त हिजै थियो। खोई, भेट्न पनि आएन। कस्तो मान्छे रहेछ। उसलाई साह्रो परेको बेलामा त मैले एकै बचनमा खल्ति बाट खुत्रुक्कै झिकेर दिएको थिएँ। दुई महिना भैसक्यो भाका सारेको सारेकै गर्छ बा। यतिखेर, त्यो पैसा पाए त यता उता खोज-खाज गरेर भए पनि अलिकति घर खर्च पठाउन सके, बुडी धेरै खुशी हुन्थीन्। तर, पैसा कसले पो दिन्छ होला र? चन्द्रे संग आशै भएन। उसले मेरो पैसा फिर्ता गरे नै म धन्य हुने थिएँ। अँ, साँच्ची प्रशान्तले पो दिन्थ्यो की! उसलाई पनि मैले धेरै सहयोग गरेको छु नी! आऽऽ होस् है! उसको काम पर्दा चाहिँ, रुँला झै गरेर सहयोग माग्न आ’ थियो। उसको समस्याको हल भएपछि भेट्न त परै जाओस, यसो फोन धरी गर्दैन। त्यस्तो मान्छे सँग खोई के आश गर्नु र!
ल, जे गरे पनि, जति धेरै सोचे पनि, आफ्नो लागी आफैले नगरे यहाँ केहि हुनेवाला छैन। भोलि बिहानै एटिएम् मा गएर क्याश ब्यालेन्स हेर्नुपर्र्यो, २-४ हजार त हुनुपर्ने हो। त्यति भएपनि पठाई दिदैं गर्नु पर्ला। के गर्नु र, अर्काको छोरी-चेली भित्र्याएर बालबच्चा भए पछि, घरको सुख-दु:ख त हेर्नै पर्र्यो नि!
छ्या हौ, बिहानको ३ पो बजिसकेछ। २-३ घण्टा पनि सुतिएन भने, भोलि कसरि काम गर्न सकिन्छ। ल, अब सुतें।
– उपल्लो दन्तकाली-८ गौरीगंज, झापा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)