कथा : के म नायक हँु

~विश्वराज अधिकारी~

गोकुलले मतिर हेर्दै भने,“जे कुरा देखेर आयो अन्त कतै, त्यो आफ्नो घरमा पनि हुनुपर्ने। नयाँ कुनै कुरा देख्यो, किन्नै पर्ने। कसैले कुनै कुरा गर्‍यो, मैले पनि त्यो गर्नुपर्ने। कसैले कार किन्यो मैले पनि किन्नुपर्ने। नकिने, मैले जिन्दगीमा केही गर्न नसकेको ठहर्ने। त्यति मात्र हो, कसैले आफैंले कार चलाएर काठमाडौंबाट पोखरा गएको रिताले सुन्नु मात्र पर्छ, म पनि त्यसै गरी काठमाडौंबाट जानुपर्ने, नगए म हिम्मतहारा हुने। घरमा मेरा साथीहरू आएको बेला कुनैले भन्यो ऊ पीएचडी गर्दैछ, मैले पनि पीएचडी गर्नुपर्ने । मैले पीएचडी गर्ने सुर देखाइ नभने म गफ मात्रै लगाउने तर पढाइमा कमजोर रहेको प्रमाणित हुने। कसैले काठमाडौंमा अर्को घर किन्यो मैले पनि किन्नुपर्ने, किन्न नसके म जीवनमा असफल भएको अर्थ लगाउन गार्‍हो नहुने, रितालाई। निष्कर्षमा भन्ने हो भने म हिन्दी फिल्मको हिरो हुनुपर्ने मेरी श्रीमतीको लागि। हिन्दी फिल्मको हिरोले जे पनि गर्न सक्ने जस्तै मैले पनि गर्न सक्नुपर्ने, जे पनि । हिन्दी फिल्मको हिरोले एक्लैले मुख्य भिलेन र उसका बीसौं सहायकहरूलाई पछारेर आफू शक्तिशाली रहेको प्रदर्शित गरे झैं मैले पनि आफू त्यो हिरो जतिकै शक्तिशाली रहेको रितालाई व्यवहारद्वारा देखाउनुपर्ने । म सबै ठाउँमा अग्रस्थानमा हुनुपर्ने र त्यस्तो हुन नसके म हुतिहारा त भएँ, भएँ तर त्योभन्दा पनि बढी रितालाई एक हुतिहाराको श्रीमती हुनुपरेको ग्लानीले चिमोट्ने। उनको प्रतिष्ठामा क्षति पुग्ने। म त मेरी श्रीमतीको यस्तो मनोविज्ञानबाट वाक्क भइसकें। छ त्यस्तो कुनै उपाय, उनको यस्तो मनोविज्ञानमा परिवर्तन ल्याउन सकिने, हँ कमल ?”

गोकुलले फेरि भने,“कमल, मैले मेरी श्रीमतीलाई धेरैपटक भनिसकेको पनि छु, हेर म सामान्य मान्छेले तिम्रो हरेक चाहना पूरा गर्न सक्दिनँ । मैले तिम्रो हरेक त्यस किसिमको चाहना पूरा गर्न म हिरो नै हुनुपर्दछ, हिन्दी फिल्मको । हिरो भए भने मात्र मैले तिमीले जे इच्छा गरे पनि त्यो पूरा गर्न सक्छु । तर एउटा कुरा के याद राख भने संसारमा त्यस्तो मान्छे भेट्न सकिंदैन, जसले आफूले इच्छा गरेको सम्पूर्ण कुरा हासिल गर्न सकोस् वा धेरै कुरा एकैचोटि गर्न सकोस् । हरेक व्यक्तिको क्षमताको एउटा निर्धारित सीमा हुन्छ। एक सफल डाक्टर, एक सफल साहित्यकार, एक सफल राजनीतिज्ञ, एक सफल चित्रकार, सबै कुरा एकैपटक हुन सक्दैन । र यदि कोही त्यस्तो हुन चाहन्छ भने न त ऊ एक सफल डाक्टर हुन सक्छ, न त साहित्यकार नै। यसैगरी न त एक सफल राजनीतिज्ञ नै हुन सक्छ। बरू त्यस्तो चाहना राख्ने व्यक्ति डिप्रेसनको शिकार हुन्छ । त्यस्ताले सुख र उल्लासमय यो जीवनलाई पनि अभिषप्त तुल्याउँछ । त्यसैले मनमा आए जतिका तिम्रा सबै चाहनाहरू मैले पूरा गर्न सकौं भनी तिमीले सधैं यसरी नै चिताउने गरेमा एकातिर म लघुताभाषको दलदलमा भास्सिँदै जान्छु भने अर्कोतिर तिमी कुण्ठाको भवसागरमा धकेलिने
छौं।”

म ध्यान दिएर गोकुलको कुरा सुन्दै थिएँ। गोकुलका कुराहरू मलाई रोचक लागिरहेको थियो अनि म केही आश्चर्यमा पनि थिएँ। मेरो र गोकुलको स्थितिमा केही समानता देखिएकोमा । मैले पनि त्यस्तै स्थितिको सामना गर्नुपरेको छ । मेरी श्रीमती पद्माले पनि त्यस्तै इच्छा राख्छिन्, मैले सबै किसिमको काम गर्न सक्नुपर्छ भनी मलाई दबाब दिन्छिन्, जहिले पनि। म सोच्नमा तल्लीन भएँ, केही क्षण । गोकुलका कुराहरू मेरो कानमा परी रहे तापनि मेरो ध्यान भने म र पद्मा बसेर कुरा गर्दा उनले जहिले पनि मेरो सफलताको प्रशंसा गर्नुको साटो मेरो असफलता खोजी खोजी मेरो आलोचना गर्ने उनको व्यवहारतिर गयो । म गोकुलको कुरा सुन्नपट्टि नलागेर कुनै अन्य विषय सोच्नमा तल्लीन भएको अनुमान गर्दै गोकुलले भने,“कमल, तिमी मेरो कुरा ध्यानपूर्वक सुनिरहेका त छौं कि अलमलियौं अरू नै कुनै विषयमा ?” म गोकुलको भनाइबाट झसँग भएँ। तर आफ्नो त्यस्तो स्थितिलाई जाहेर हुन भने दिइन। मैले सानो झूटको सहारा लिंदै भने,“होइन, गोकुल, म तिम्रो कुरा एकदमै ध्यानपूर्वक सुनिरहेको छु। बरू तिम्रा कुराहरूलाई म अलि गहिरो गरी सोच्दै थिएँ। अँ, भन अनि।”

गोकुलले म उनको कुरामा केही क्षण केन्द्रित नभएको चाल पाएनन्। म उनकै कुरामा केन्द्रित भएकोमा ढुक्क भएँ। गोकुलले मतिर हेर्दै भने,“म त मेरी श्रीमतीको त्यस्तो व्यवहारबाट थाकिसकें। उनको त्यस्तो व्यवहारमा परिवर्तन ल्याउन केही नगरी भएको छैन । तर सोच्दै छु गरौं त के गरौं ?”

आँखामा खुशीको भाव झल्काउँदै मैले भने,“गोकुल, मसँग एउटा योजना छ। यसौ गरौं, अँ….। हेर, मेरी श्रीमतीको पनि कुनै काम छैन। तिम्री श्रीमतीको पनि कुनै काम छैन । दुवैजनालाई
काम लगाइ दिऔं, कतै कुनै अफिसमा हुँदैन र ?”

मेरो योजना सुनेपछि गोकुलले निराशा मिश्रित स्वरमा भने,“हेर, कमल म परे निजी कलेजको शिक्षक, मैले कहाँ चिन्नु त्यस्ता मान्छेहरू, जसले मेरी श्रीमतीलाई जागिर लगाइ देओस्।”

मैले भने,“म मिलाउँछु सबै चाँजोपाँजो, मेरो एउटा साथी प्राइभेट बैंकको हर्ताकर्ता जस्तै छ, उसैलाई भन्नुपर्ला, दुवैजनालाई जागिर लगाइदिन, मेरी श्रीमतीलाई र तिम्री श्रीमतीलाई
पनि।”

मेरी श्रीमती पद्मा र गोकुलकी श्रीमती रिता अर्थात् रिता भाउजू दुवैजनाले मेरो साथी हर्ताकर्ता रहेको बैंकमा काम गरेको एक महिनाभन्दा बढी भइसकेको थियो। तर कामको व्यस्तताले गर्दा मैले गोकुललाई भेट्न सकेको थिइनँ । गोकुललाई भेट्ने मात्र होइन, मेरी श्रीमती पद्मासँग समेत सँगै बसेर राम्ररी कुराकानी गरेको एक महिनाभन्दा बढी भइसकेको थियो। खासमा म एक महिनाको लागि वीरगंज गएको थिएँ, अफिसको कामको सिलसिलामा। संयोग नै भन्नुपर्ला, म वीरगंजको एक महिनाको बसाइ सक्याएर काठमाडौं आइपुग्दा, आफ्नो घर पुग्नुभन्दा पहिले नै गोकुलसँग भेट भयो, बाटोमा। हालखबर केही नसोधी मैले गोकुललाई हत्तारिँदै प्रश्न गरे,“गोकुल, रिता भाउजूको त्यो किचकिचे व्यवहारमा कुनै परिवर्तन आयो कि आएन, जागिर गर्न थालेपछि ?” मेरो प्रश्नको उत्तर दिनुभन्दा पहिले गोकुल केही बेर हाँसे अनि त्यसपछि भने,“निकै परिवर्तन आएको छ। आजभोलि त्यस किसिमबाट किचकिच गर्न छाडेकी छिन्, रिताले। तर कसरी भयो त त्यस्तो, हँ ? किन आयो त उनमा त्यस किसिमको परिवर्तन, मैले केही बुझ्न सकेको छैन ?”

गोकुलले मतिर हेर्दै फेरि भने, “मैले तिम्रो त्यो योजनामा सहमति डराउँदै डराउँदै जनाएको थिएँ। मलाई यो डर थियो कि घरभित्र बस्दा त रिताका इच्छा र आकाङ्क्षाहरू त्यति चुलिएका थिए। अफिसमा, त्यो पनि बैंकमा काम गर्न गएपछि दसथरीका मान्छेलाई देखे, भेटेपछि त झन् उनका इच्छा र आकाङ्क्षा अझै चुलिने छन् र मलाई उनीले गर्ने किचकिचका विषयहरू पनि उतिकै मात्रामा बढ्ने छ, ह्वात्तै। तर त्यस्तो भएन। रिता काममा जान थालेपछि उनको व्यवहारमा पहिलेभन्दा निकै सकारात्मक परिवर्तन आएको छ । अब पहिले जस्तो सधैं किचकिच गर्दिनन्, यो गर्नु, त्यो गर्नु भनेर म उनको अगाडि पर्ने बित्तिकै। एक किसिमले भन्ने हो भने किचकिच गर्न नै बन्द गरेकी छन्, रिताले।” यति भनेर गोकुल केही क्षण शान्त भए। तर फेरि केही सम्झै झैं गरी भने,“हँ कमल, भन त, कसरी आयो रितामा त्यस किसिमको परिवर्तन, अफिसमा काम गर्न थालेपछि ? हँ कमल ?”

मैले हाँस्दै जवाफ दिएँ,“हेर, गोकुल, खासमा मैले तिमीलाई पनि सम्पूर्ण कुरा खुलस्त पारेको थिइनँ। पूरा बेलिविस्तार लगाएको थिइनँ। अब चाहिँ भन्छु। मैले मेरो एउटा साथी, जो एउटा बैंकमा हर्ताकर्ता छ भनेको थिएँ नि, हो उसलाई मैले आग्रह गरेको थिएँ, पद्मा र रिता भाउजूलाई उसको बैंकमा काम लगाइदिन भनेर। अनि यो पनि आग्रह गरेको थिएँ, उसको बैंकमा काम लगाउँदा त्यस्तो डिपार्टमेन्टमा काम दिनु जसमा कम समयमा धेरै काम गर्नुपर्ने होस् । आखिरमा भयो पनि त्यस्तै नै । त्यो मित्रले रिता भाउजू र पद्मा दुवैजनालाई उसको बैंकको अति नै व्यस्त विभाग, ग्राहक सेवा विभागमा काम लगाइ दियो। त्यो विभागमा काम गर्ने कर्मचारीले छोटो समयमा र एकै समयमा त्यहाँ आउने धेरै ग्राहकहरूको एकाउन्टमा कति ब्यालेन्स छ हेरी दिनुपर्ने, नयाँ खाता खोल्नुपर्ने, खाता बन्द गर्न चाहनेहरूको खाता बन्द गरी दिनुपर्ने, चेक इस्यु गर्नुपर्ने, रकम जम्मा गर्न आउनेहरूलाई सहयोग गर्नुपर्ने जस्ता थुप्रै कामहरू न हतारिएर, न अत्तालिएर गर्नुपर्ने। रिता भाउजू र पद्माले त्यो विभागमा काम गर्न भ्याइ नभ्याइ भयो र अहिले पनि भइरहेको छ रे। आउने ग्राहकहरूले झर्को मानेर रिता भाउजू र पद्मालाई अनेक किसिमका कुराहरू भन्थ्ये, किचकिच गथ्र्ये, रिसाउँथ्ये र अहिले पनि त्यो सिलसिला जारी नै छ। केहीले त बैंकको प्रमुख कहाँ गएर गुनासोपत्रसमेत बुझाए रे, कस्तो जुम्सो कर्मचारी त्यस्तो महत्त्वपूर्ण ठाउँमा राखेको भनेर, रिता भाउजू र पद्माको नामै तोकेर । एउटा बैंकको जाबो एउटा सानो विभागमा रहेर रिता भाउजू र पद्मा दुवैजनालाई काम गर्न निकै गार्‍हो भइरहेको छ। अब आफैं अनुमान गर के भएको होला र के कुराले परिवर्तन ल्याएको होला दुवैजनामा, खासगरी रिता भाउजूमा। यति भनेर म केहीबेर हाँसें। मेरो कुरा सुनेर गोकुल पनि हाँस्यो केहीबेर ।

समाप्त

br2063_adhikari@yahoo.com

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.