व्यङ्ग्य निबन्ध : हाम्रो प्यारो बाल भरिया

~लक्ष्मण गाम्नागे~

धेरैले भन्छन् यो मैजस्तो छ । त्यो भन्नेहरूले उसको नाक र मेरो नाकको तुलना गर्छन्, उसको निधार र मेरो निधार दाँज्छन् । कान हेरेर उस्तै भन्छन् । ओठ त झन् ठ्याक्कै ठान्छन् । त्यो त तिनीहरूको भ्रम मात्र हो । मेरो यो ताछेको आलुजस्तो नाङ्गो तालु, पोतोले राघेपाटे परेको बाङ्गो नाक, सप्तरङ्गी जुँगाले छोपेका काला ओठ, चिन्ता र अभावको छायाँ परेर हरियो भएको चाउरे अनुहारसँग यो पुटुस्स परेको बाख्राको पाठोजस्तो बच्चोलाई तुलना गर्नुलाई म चाकरीको चरम नमुना मात्र ठान्दछु । यो मसँग काम लिन खोज्ने अथवा मेरो घरमा आएर बाक्लो, कडा रङको स्वादिलो चिया खान पल्केका छिमेकी वा आफन्तजनको मलाई खुसी पार्ने दाउ मात्र हो । मलाई थाहा छ यो मजस्तो छैन, म भन्दा कति राम्रो छ कति ! सुन्दर छ, सफा छ, निर्दोष छ, निर्भीक छ, निष्पाप छ, निष्छल छ, निष्कलङ्क छ । यस्तो लाग्छ, अगाडि राखेर उसैलाई हेरिरहुँ, खेलाइरहुँ, जिस्क्याइरहुँ । उसलाई काँधमा बोकुँ उसले मेरो कपाल तानोस् । घोडा बनुँ र ढाडमा चढाऊँ, उसले कानमा समातेर वरिपरि घुमाओस् । ढाडबाट लडोस्, रुँदै ममाथि आक्रमण गरोस् । उसलाई फकाउन बाहिर लिएर जाउँ, आइसक्रिम किनेर खान दिउँ । गालाबाट आँसुका डल्ला लडाउँदै मुस्कुराओस् । उसलाई उठाऊँ प्रेमपर्ूवक र गालामा टोकुँ हलुका डाम बस्नेगरी । कल्पनै गर्दा पनि मन गद्गद् हुन्छ । छाती भरिएर आउँछ । तर अपसोच ! अहिले ऊ डल्लो परेर ठस्ठसी कन्दै होमवर्क गरिरहेको छ । मैले चिताएजस्तो गर्न खोजेँ भने उसलाई ‘डिर्स्र्टब’ हुन्छ । किनभने उसका अगाडि अहिले एक भारी किताब-कापी रास लागेका छन् र ऊ पूरा थिचिएको छ होमवर्कको भारीले । म चुपचाप आफ्नो बच्चोले भोगिरहेको यातना हेरिरहेको छु र मनमा अनेक तर्कना गरिरहेछु । बिचरा यसले दर्ुइ वर्षो नहँँदैदेखि ओछ्यानमा सू गर्नर् पाएन । सिँगान कट्कटिएर फुटेका गाला लिएर बाख्राका पछिपछि दगर्ुन पनि पाएन । आँपको पातलाई बाँसको सिन्कामा उनेर फिफिर्रे बनाएर दौडिन, फलामको रिङ्लाई छाताको करङ्ले गुडाएर वल्लोपल्लो घरका केटाकेटीलाई फर्ूर्ति देखाउन, अँजुलीभरि बालुवा उठाएर हर्ुरहर्ुर आकाशतिर फाल्न, साथीको टाउकोभरि माटो हालिदिन केही गर्न पनि पाएन । रूखमा चढेर काँचा आँप खानुको मज्जा यसले चाख्नै पाएन । ठूलाठूला चौर वा खेतका गरामा मोजाभित्र झुम्रा खाँदेको फुटबल खेल्न पनि पाएन । डन्डिबियो के हो – यसले पत्तो पाएन । खोप्पी खेल्दा ढ्याक्ले पैसालाई हिर्काउँदाको मज्जा, टिडिङ्टिडिङ् पारेर गुच्चा खेल्दाको आनन्द यसले भोग्नै पाएन । ढुङ्गामाथि चढेर छम्ल्याङ्ङ दहमा हाम्फाल्दाको आनन्द बटुल्नै पाएन । खालिखुुट्टा, कट्टु र फाटेको र्सटमा एकडेढ घण्टाको उकालो, ओरालो, खोला, जङ्गल काटेर स्कुल जान पनि पाएन ।

स्कुल जाँदा कालेझारको झ््यासमा लुकाएको काँक्रो फर्किंदा लुकाएको ठाउँ बिर्सिएर नभेट्टाउँदा भएको उदेकलाग्दो अनुभूति गर्न पनि पाएन । स्कुलबाट फर्केपछि मोही र नूनसँग मुछेर बिहानदेखि कट्कटिएका भातको ‘टिफिन’ खाँदाको मिठास यो बबुरालाई के थाहा ! हरिया मकै खाएर कक्षामा ग्याँस छाड्दाको आनन्द, अझ त्यसरी अपानवायु छाडेको अभियोगमा अर्कै साथीका त्रि्रामा सरले ठट्टाउँदाको रमाइलोे…… मेरी बास्सै ! यसलाई के थाहा ! पाँच-सातजनादेखि दस-बाह्रजनासम्मका वर्षोनिका दाजुभाइ, दिदीबहिनीसँग घर्ुचाघर्ुर्ची, कुटाकुट, लुछालुछ, चिथाराचिथोर र खोसाखोस गर्दै नाङ्गैभुतुङ्गै हर्ुकनु-बढ्नुको उदेकलाग्दो अनुभव यसका भाग्यमा भए पो ! लौ हेर, यो बच्च्ाो ! बिहान पाँचै बजे मम्मीले -आमा भन्नर्ुपर्छ भन्यो भने त हामीलाई नै उल्याउँछ ) सिरक पर हुत्याएर यसलाई उठाउँछिन् । मुख च्यातिदिएर एक गिलास डेरीको गन्धे दूध भुँडीमा हालिदिन्छिन् । दूधको गिलास राखेर भातको प्लेट तान्छिन् र बाछापाडालाई नून कोच्याएजस्तो मुखमा भात खाँदिदिन्छिन् । यो वाक्कवाक्क गर्दै केही गाँस भात पानीले घँचेटेर निल्छ । मम्मीले बिजुलीको गतिमा ड्रेस लगाइदिन्छिन्, घाँटीमा सर्ुर्केनी कसिदिन्छिन् र ऊभन्दा ठूलो भारी झोला बोकाएर पाखुरामा समातेर घिसार्दै बस चढ्ने ठाउँसम्म चितुवाकोे गतिमा पुर्‍याउँछिन् । उचाल्नै नसक्ने झोलाको भारी यसले बोक्नर्ैपर्छ । किनभने उसले चानचुने स्कुलमा पढ्दैन भन्ने प्रमाणित गर्नुपर्छ । जति ठूलो किताबको भारी उति ठूलो स्कुल भन्ने यो बच्च्ाोलाई थाहा नभए पनि उसको बाबुलाई त्यही लाग्छ, उसको प्रिन्सिपललाई त्यही लाग्छ, उसका छरछिमेकीलाई पनि त्यही लाग्छ । अर्को कुरा के पनि हुनसक्छ भने यो बच्चाको स्कुलले जुन व्यापारीबाट पुस्तक खरिद गरेर बच्चालाई बेचेको छ त्यहाँबाट जति धेरै किताब किन्यो स्कुललाई उति धेरै फाइदा हँुँदो हो । अर्कोतिर बच्चोले यत्रो ठूलो भारी नबोक्दा पाठ्यपुस्तकका व्यापारीलाई पनि घाटा हुँदो हो । तिनीहरूले बडेबडे अफसेट मेसिन जोड्न नपाउँदा हुन् । भव्यभव्य महल ठड्याउन नपाउँदा हुन् ।

तिनीहरूले नयाँ नयाँ गाडीका सिटमा आफ्नो भ्यात्ले भुँडी अड्याउन नपाउँदा हुन् । यिनै विविध कारणले गर्दा ऊ आज्ञाकारी बालभरिया बन्न बाध्य छ । जे होस्, बच्चो हस्याङफस्याङ गर्दै ढिलो गरेकोमा हप्काउन मुख बाएर बसेको खलाँसीको हात समातेर गाडीमा छिर्छ र रुन्चे अनुहारले मामुलाई ‘बाइबाइ’ गर्छ । उसले गरेको ‘बाइबाइ’ मामुले नदेखेकोमा उसको मन कटक्क हुन्छ । मानौँ, मामुसँग अब फेरि कहिल्यै भेट हुँदैन कि जस्तो ! एकडेढ घण्टासम्म गाडीमा थेचारिँदै, निचोरिँदै र निस्सासिँदै स्कुल पुग्छ । स्कुलले यसलाई खुब घोटाउँछ । यसले मरुन्जेल घोटिएर उत्कृष्ट नतिजा ल्याएन भने स्कुलको इज्जत जान्छ । व्यापार घट्छ । सर र म्यामहरूको जागिर जान्छ । स्कुलले एकपछि अर्को गर्दै बिल्डिङ् थप्न पाउँदैन । एक पछि अर्को गर्दै नयाँनयाँ गाडी किन्न सक्तैन । संस्थापकको घर बन्दैन, उसका छोराछोरीले विदेशमा पढ्न पाउँदैनन्, उसकी श्रीमतीले सुनमा लटपटिएर भोजमा जान पाउँदिन । ड्याडीमम्मीको सपना तुहिन्छ । इज्जतमा धक्का लाग्छ । फर्ूर्ति हराउँछ । यस्ता ठूलठूला सामाजिक, आर्थिक समस्याबाट छुटकाराका लागि योे बालक बबुरोलेे स्कुलमा टिफिन खाने समय पनि पाउँदैन । उसलाई एक छटाक अरमठिएकोे खाजा खान पन्ध्र मिनेट दिइएको छ । औषधि निलेजस्तो पानीले पाउरोटी, चाउचाउ इत्यादि जे छ किलकिलेमा अड्काउँदै मरीतरी निल्छ र क्लासमा पसिहाल्छ । स्कुलले चार बजेपछि अतिरिक्त ट्युसन पढाउन थालेको नहुनाले चारै बजे बालक गाडीमा पस्न पाउँछ र भोकले झोल्टिङ् भएको ज्यान लिएर पाँच छ बजेतिर घर पुग्छ ।

हत्तपत्त झोला घोप्ट्याएर एक रास होमवर्क थुपार्छ र स्कुलको लुगा पनि नफेरी घोट्न थाल्छ । घोट्ता-घोट्ता-घोट्ता सकिए पो ! झर्किँदै जुरुक्क उठ्छ र खाटमुनिबाट फूटबल निकालेर कोठाभित्रै हाई हान्छ । बलले कतै सिसामा वा बिजुलीको बल्बमा लाग्न सक्छ र उस्तै परे मामुको थप्पडै पनि खानसक्छ । एकछिन फन्फनिन्छ र घर बाहिर खेल्दै गरेका अरू केटाकेटीको आवाजतिर कान ठड्याउँछ । बाहिरतिर दगुरौँ कि झैँ गर्छ तर छेवैमा आँखा तरेर बसेको बाउलाई देख्छ, लुत्रुक्क परेर बस्छ र मन नलागी नलागी होमवर्क गर्नथाल्छ । सायद होमवर्क नगरी जाँदा क्लासमा कुखुरो हुनुपर्ने कल्पनाले भित्रभित्रै काप्छ र नराम्रै अक्षर पारेर भए पनि बाबु र मिसका लागि होमवर्क गरिदिन्छ । बालक जसोतसो होमवर्क सक्छ । उँङ्दै, ब्युँझँदै, चिसो पानी छ्यापिमाग्दै मम्मीका लागि अलिकति भात जबरजस्ती खाइदिन्छ र भात खाँदाखाँदै झपक्कै निदाउँछ । बिहान मामुले प्रेमपर्ूवक गालामा म्वाइँ खाइदिन्छिन् र कठोर हुँदै सिरक फालिदिन्छिन् । बिचरो २-४ पटक त सिरक तानेर फेरि सुत्ने प्रयास गर्छ तर मामुले सिरक खोसेर पर हुत्याएपछि के लाग्छ उसको – झरक्क झर्किँदै उठ्छ, रिसाउँदै उठ्छ, रुँदै उठ्छ । उठेर रुञ्चे स्वरमा भन्छ- ‘थुक्क ! हिजो पनि कार्टर्ुुहर्ेन पाइन ।’ बेलुका टेेलिभिजनमा कार्टर्ुुहर्ेन छुटेकोमा ऊ पछुताउँछ, नमिठोसँग चित्त दुखाउँछ । आज शनिबार पनि ऊ होमवर्कमै व्यस्त छ । शनिबारलाई स्कुलले थप होमवर्क पठाएको छ । छुट्टीमा बाबुआमासँग कतै घुम्न जाने वा खेल्ने वा टेलिभिजन हर्ेर्ने वा छरछिमेकका केटाकेटीसँग रमाइलो गर्ने समय स्कुलले दिएकोे छैन । त्यो स्कुललाई मतलब भएको विषय पनि होइन । स्कुलको मतलबको विषय त एसएलसीमा सकेसम्म धेरै प्रतिशत डिस्टिङ्सन र शतप्रतिशत फस्ट डिभिजन हो । एसएलसीसम्मलाई गधाजस्ता भरिया, रोबोटजस्तो आज्ञाकारी र कम्प्युटरजस्तो ट्यालेन्ट विद्यार्थी उत्पादन गर्नु हो । म चकित भएर यो बालकलाई हेरिरहेको छु र सोचिरहेको छु- यो मैले जन्माएको बच्च्ाो हो कि कुनै यन्त्रबालक – लौ हर्ेर्नुस् यो प्यारो बाल भरिया, होमवर्कको भारीले थिचिएकै ठाउँबाट अलिकति मुन्टो उठाएर कस्तो निरीह भएर मतिर पुलुक्क हर्ेर्दैछ । ‘गर् बाबु गर् ।… कस्तरी हेरेको – मलाई चिनिनस् कि क्या हो – म तेरो बाबु …ए के रे ड्याडी क्या !’ लौ ! रुन पो थाल्यो काले त !!

(स्रोत : मधुपर्क फागुन २०६३ : वर्ष ३९ : अंक १० : पूर्ण अंक ४५३ Vol.39 No.10 – February- March 2007)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.