~ललिता कार्की~
दशैं तिमी आयौ फेरी लड्दै र भिड्दै
कठै गरिबको आँखामा आँसु झार्दै
उकासिएको मनको घाउ बल्झाउँदै
आयौ प्रिय तिमी दशैं होइन दशा बन्दै
भत्किएका भित्ताहरु माटो अनि कमेरोले पोत्दै
टुक्रिएको मनलाई टीका र जमराले उन्दै
खोसिएका आफन्तको यादलाई ब्युझाउँदै
तड्पाएर जान्छौ मलाई तिम्रो लागि आ’को हैन भन्दै
आउँछौ तिमी आशैआशका किरणहरु छर्दै
जान्छौ तिमी यसैगरी ऋणको झोला भिर्दै
बित्ने भयो जुनी मेरो साहुको ऋण तिर्दै
फेरी आउनु दशैं तिमी सबैलाई बराबरी गर्दै
–ललिता कार्की
धुर्कोट बस्तु- ४ गुल्मी
हाल, काठमाण्डौं
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
