कविता : अहा दशैं !

~बिनोद खड्का~Binod Khadka

खेतभरी धान बढ्यो
हरियाली छायो
बारीभरी तोरी फुल्यो
स्वर्णसंसार आयो ।

तारामण्डल दानाले
आली झलमली
घर करेशा सबैतिर
बढे मखमली ।

सयपत्री फुल फुल्यो
बास्ना हररर
चंगा उड्यो माथी माथी
हावा सररर ।

भाउजु गईन च्यूरा कुट्न
आमा तोरी पेल्न
बाउ गए भोटतिर
च्यांग्रा भेडा लिन ।

बुट्टे भोटो लगाएर
पींग खेल्न जाउँला
दशैंको मासु च्यूरा
मीठो गरी खाउँला ।

टिकाटाला गर्दै हिडी
आशिष थाप्नु छ
मामाघरको दक्षिणाले
के के किन्नु छ ।

जमराको पुजा गर्ने
हजुरबाको पालो
ठूलाबाले घर पोते
फाले माकुराको जालो ।

मेरो घर मेरो आँगन
कति रमाईलो
दशैंको आगमनले
गाँउ नै घमाईलो ।

बाल्यकालको सम्झना हो
उर्ली उर्ली आउँछ
प्रवाशमा के को दशै
मन धेरै रुन्छ ।

१४ सेप्टेम्बर २००८

बिनोद खड्का
दुवाकोट ६, भक्तपुर
हाल: दोहा, कतार

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.