कथा : समय

~खेमलाल पहारी~Khemlal Pahari

शिरमा टकटकाउँदो सेतो हलुंगो पछ्यौरीको फेता गुथेकी, त्यस्तै सफा साडी चोलो लगाएकी अन्दाजी असी-असीवटा शिशिर वसन्त भोगेकी तिनी आमा सरासर मेरो घरको प्रवेशद्वार नजिक घण्टीफूलको बोटमुनि आएर टक्क अडिनुभयो। मैले सोचें सँधैंझै वहाँ पुजाकोलागि फूल टिप्न आउनुभएको होला। तर वहाँ त्यसै उभिइ रहनुभएकोले मैले वहालाई अभिवादन गरेर सोधें, “आमा केही काम थियो कि?” वहाँले मलाई आशीर्वाद दिंदै भन्नुभयो, “हैन बाबु, मुक्तिनाथको दर्शन गर्न जाँ भनेर हिँडेकी यहाँ आएर अलमलिएँ।”

हाम्रो स्थानीय गणेश मन्दिरमा दुर्गा मन्दिर र शिवालयको स्थापना गरिएको त थाह थियो तर मुक्तिनाथको बारेमा म अनविज्ञ नै थिएँ। मैले गोडा-चारेक फूल टिपेर वहाँको हातमा दिंदै मन्दिर जाने बाटो देखाई दिएँ। वहाँले एकक्षण मलाई नौलो मानेर हेर्नुभयो र “ए अँ” भन्दै बाटो लाग्नुभयो।

झण्डै महिना दिन बितेको हुँदोहो, मैले छिमेकी आमालाई फेरि भेटें। सुकिलो पहिरन र केशरीको पहेंलो टीकामा वहाँको निधार झलझलि बलेको थियो। “आमा नमस्कार!” मैले अभिवादन गरें। मेरो शीरमा हातराख्दै वहाँले सोध्नुभयो, “कैले आयौ तनि बा, सन्चै छौ सवैजना?” वहाँ झुक्किनुभयो भनेर जान्न मलाई निमेष पनि लागेन। “मलाई चिन्नुभो त?” मैले सोधें। किन चिन्दिनहुम् आफ्नो नातिलाई; हि बरै! हेर्दाहेर्दै यत्रो भयौ! भन्दै वहाँले मलाई छातिमा टाँस्नुभयो। मेरी हजुरआमा परलोक जाँदा म ठाडोभोटो र हनुमान कट्टुभित्रै थिएँ।

मस्तिष्कको एक कुनाबाट हजुरआमाको घुर्मैलो घुर्मैलो आकृति बिस्तारै मेरो छेवैमा आयो र छिमेकी आमाको शरीरमा प्रवेश गर्यो। बगरको काँसझैं आँबोईको कपाल, बगरको बालुवामा वर्षादको बाढीले छोडेका पाँगो माटोका धर्का जस्ता गाला र निधारका डोबहरू अनि हातगोडामा नागबेली पर्दै भेल बोकेर कुदेका नशा नदीहरू! मलाई लाग्यो वहाँ मेरी स्वर्गवासी हजुरआमा नै हुनुहुन्छ। “आँबोई!” मेरो रुन्चे ढोकाको पल्ला खुल्यो। यतिबेला सम्म म छिमेकी आमाको बाहुबाट छुटिसकेको थिएँ। “हजुर झुक्किनुभयो,” मैले भनें। तर मलाई थाह थियो वहाँ झुक्किनु भएको थिएन। वहाँ महान साहित्यकार शेक्सपिअरको ‘सन्सार एक नाट्यशाला’ कविताको एक अहम् पात्र हुनुहुन्थ्यो।

“मैले त बाबुलाई सन्तोष भन्ठानेकी साँच्चैं बाबु कोअरे?” हिजोआज आलि हेक्का राख्न सक्दिन बा दुख्ख नमाने है भन्दै वहाँले मेरो काँधमा हात राख्नुभयो। मैले पैंतीस वर्ष अघि आँबोईका हात गोडामा राईफलको तेल लगाएर मालिस गरेको, बार्दलीको डिलमा छानाका डाँडाभाटा समात्दै हजुरआमाको हात गोडा पिठ्यूँ कुल्चिदिएको सम्झना ताजा भएर आयो। मलाई छिमेकी आमा केहिदिन अघि मुक्तिनाथको एक्लो यात्रामा निस्केर बाटो हराउनुभएको घटना याद भयो र ज्ञानभयोकि त्योदिन वहाँ गणेश मन्दिर नभै घरबाट साँच्चैं नै मुक्तिनाथको तिर्थयात्रामा निस्कनु भएको रहेछ।

मैले छिमेकी आमालाई म वहाँका धेरै नाती नातिनीलाई पढाउने खेमसर हुँ भनेपछि बल्ल वहाँले हाँस्दै भन्नुभयो, “होतनि हाम्रा छोराको बोणिंगको सर।” यति भनेर वहाँले मलाई प्याट्ट पिठ्युँमा धाप दिनुभयो। म वहाँलाई घर जाने बाटो देखाएर बाटो लागें।

‘ए साँच्चैं हाम्री आँबोई उहिल्यै मुक्तिनाथ जानुभयो कि जान पाउनु भएन होला, कुन्नि!’ आज यो कुरा सोध्न मसँग न मेरा बा हुनुहुन्छ न आमा। हाम्री हजुरआमा पशुपति गएको कथा त मैले आमाबाट सुनेकै हुँ। अँ साँच्चैं छिमेकी आमा पनि एक पटक अम्रिका पुगेर आउनु भएको हो। उताबाट फर्के लगत्तै हाम्रो भेटमा वहाँले पश्चिममा वहाँका छोरा बुहारी नाति नातिनी पनातिनीहरू भौतिक रुपमा सम्पन्न भएपनि आफन्तबाट टाढा रहनु परेकोले दुखी रहेको बताउनु भएको थियो।

एकदिन वहाँ खै कसको हो पछि लागेर देवघाट जान कस्सिनु भएछ तर उनिहरूले छिमेकी आमालाई चकमा दिएर कुलेलम ठोकेछन् बिचरी आमा धेरैबेर चोकमा कपडाको पोको च्यापेर फनफनी घुमिरहनु भएको रहेछ। त्यसदिन पनि मैले आमालाई मेरो नयाँ परिचय दिनु पर्यो। आमाको स्मरण शक्ति क्षय भैसकेको रहेछ। आमाले ए कान्छा! लौ न तेरो बा ह्यैंनिर थियो अहिलेको अहिल्यै काँ गयो गयो, हेर हेर भनेपछि म एक्कासी कटहर चोकबाट एउटा समययन्त्र भित्र हुर्रिएँ। त्यसले मलाई पेल्दै पेल्दै झण्डै सात वर्ष अगाडिको घटनामा लगेर घोल्यो।

त्यस दिन म श्रीमती र छोरा सहित आफ्नो सहपाठी शंकर प्रसाद गौतमलाई भेट्न लंकू स्थित श्रद्धेय गुरू लक्ष्मण प्रसाद गौतमको घर पुगेको थिएँ। आमा भन्दै मैले एउटा कोठाको ढोका धकेलें। त्यहाँ पिताजी हुनुहुँदो रहेछ। मैले वहाँलाई अभिवादन गरें। लगभग छ सात महिना पछि गएको हुनाले वहाँले चिन्नु हुन्नकि भनेर एकक्षण ढोकामै रोकिएर कुरागर्ने विचारले म रोकिएँ। पिताजीले मलाई अलिकति पानी तताइदिन भन्नुभयो। अनि म आमालाई बोलाउँदै अर्को कोठातिर लागें। आमालाई पीताजीको सन्देश दिएपछि आमाले हाँस्दै किन रहेछ भनेर सोध्न पठाउनु भयो। जवाफमा पिताजीले नुहाउन जपगर्न भन्नुभएपछि म फेरि आमा भएको ठाउँमा पुगेर बेलिबिस्तार लगाएँ। आमाले गएर हाँस्दै भन्नुभयो नुहाइधुवाई जप ध्यान बिहानै गर्नुभएको हो अहिले दुई बज्यो। अब खाजाखाने हो। दुई बज्यो। तीनबजेतिर हामी सवै सँगै बसेर खाजा खाँदै थियौं। पिताजी सरासर हामीछेउ आउनु भयो। हामीले फेरि परिचय गर्यौं। एकक्षण मौन बसेर वहाँले आमालाई सोध्नुभयो, “अनि यहाँ नानी को नि? यता माईती हो कि मावली?” हामी सवैले एकक्षण आपसमा हेराहेर गर्यौं। पिताजीको प्रश्न आमाको बारेमा रहेछ। यो जानेर हामी जिल्ल पर्यौं र पछि मैले भनें, “वहाँ हजुरकी श्रीमती, शंकरकी आमा!” त्यसपछि त के थियो घरभरि हाँसोको फोहरा छुट्यो।

यो घटनाले मलाई मेरो बुढेसकालको कल्पना गराउँदै आज पनि झस्काउँछ। यता छिमेकी आमाले मलाई ‘कान्छा, भेटियो बा?’ भनेर बोलाउँदा म अतितको गर्भबाट वर्तमानमा फर्किएछु। त्यो दिन आमालाई कसैले घर पुर्याइदिए।

हिजो भर्खरैको कुरा हो। छिमेकी आमा हाम्रो टोलका सवैजसो घरमा बाहिरबाट नियाल्दै हिंडिरहनु भएको रहेछ। कसैले वहाँलाई सोध्यो, “आमा कता हो तनि?” वहाँले बायाँहात कम्मरमा राखेर दायाँ हातले आँखामाथि पालि हाल्दै भन्नुभयो, “छोरी भेट्न भनेर आएकी नानी ह्याँ आएर अलमलिएँ।” ति महिलाले आमाको कुरा बुझिनन् र सोधिन्, “यता को हो र हजुरको छोरी?”

“राधा क्यातनि?” पहिला त दश नंबरमा हो, अहिले ह्यैंनिर घर बनाएकीछे। ज्वाँईं हुनुहुन्न। जानुभो। एऽऽछोराहरू छन्; ठूला ठूला भैसके। अब क्यै को चिन्ता छैन।” मलाई आमालाई तनाव दिनु हुन्न भन्ने लाग्यो र पहिल्यै आफ्नो परिचय दिंदै भनें, “आमाले बिर्सिनु भयो। दिदीको घर त विकासचोक हो। यो त हाम्रै टोल हो नि ऊ पछाडि हेर्नु त, त्यो भर्यांग देखिएको हजुरको घर। आमाले आज्ञाकारी बालकले झैं फर्केर हेर्नुभयो। “दिदी त अहिले माइला छोरासँग अम्रिकामै हुनुहुन्छ। सन्तोष काठमाण्डौ छन् अनि कान्छा बैंकमा जागिरे छन् , घरै छन्। दिदी अब आउँदै हुनुहुन्छ। दिदीलाई पनि आमाको न्यास्रो लाग्छ रे त्यही भएर फर्कन लाग्नुभयो रे।”

छिमेकी आमाका गहभरी हर्षाश्रू टल्किए। वहाँले रून्चे हाँसो हाँस्दै भन्नुभयो ए ऽऽऽ मेरो राजा! छिनछिनमा भुल्छु। मलाई यसरि कसले सम्झाई रहन पाओस्!” आमा आफ्नो बाटो लाग्नुभयो म मेरो बाटो।

अहिले रातिको ठीक बाह्र पचास बजेको छ। छिमेकी आमा अहिले आफ्नो विस्तारामा हुनुहोला। आमाको सपनामा अमेरिकाबाट राधादिदी आउनु भएको होला आफ्नी आमाको काखमा शिर अड्याएर सुत्न। भोलि बिहान आमाको बिस्तरामा दिदी हुनुहुने छैन। अवचेतन मनले आमा फेरि छोरीको घर खोज्दै टोलटोलमा पुग्नु होला। घुम्दैफिर्दै म हिँडेको बाटोमा आइपुग्नु भए त म आमालाई संझाएर घरजाने बाटो देखाउँला तर भोलि जसै म छिमेकी आमाको हातबाट खसेको लौरो टिपेर आफ्नै टोलमा मेरी छोरीको घर खोज्दैखोज्दै हिडिरहेको हुनेछु त्यसबखत यसो रोकिएर मलाई सम्झाउन र मेरो बास्तविकता बुझाइदिन कसैसँग होलाकि नहोला त ‘समय’!?!

(समस्त आदरणीय जेष्ठ नागरिकजनप्रति हार्दिक समर्पण)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.