~लक्ष्मण नेवटिया~
विपरीत परिस्थितिका ढुंगै ढुंगाको अक्करबाट
आफ्नो हिस्साको कर्तव्य उमारेर पनि
समयले दिएको घाउ लिएर
आशाको त्यान्द्रोमा अल्झेर
सासमा भन्दा पनि आशमा अडिएर
आँखाको पानी आँखैमा सुकाएर
बाँच्न बाध्य छिन् आमाहरू
बाचुन्जेल उनको चोखो मायाको गरिन्छ अवमूल्यन
मनको फूल भन्दा , वनको फूलको गरिन्छ अभिनन्दन।
मरेपछि अश्रद्धाका भाव बोकेका हातहरूबाट
कस्तो श्राद्ध ? कस्तो तर्पण?
आमाको मस्तिष्कमा सँधै छोराको चिन्तन मनन,
छोरा जस्तै भएपनि आमाको छोराहितकारी मन,
तर जो हुन्छ छोरो स्वार्थी उसको आँखामा सँधै
वृद्धा आमालाई कसरी कुन ठाउँमा राखेर
फुर्सद पाउने चलिरहन्छ गन्थन मन्थन।
छेपारो जस्तै रंग फेर्ने आचरण।
आमा अनुपयोगी पारिवारिक वस्तु सरह
पालो पालो कहिले यस छोराको घरमा
त कहिले त्यस छोराको घरमा ।
समाजले के भन्लान् ? डरमा।
त्यो पनि जुन छोराले आमालाई राख्ने ,
उसले सम्पत्ति बढी पाउने भरमा ।
जसले आफ्नी जननीलाई जीउँदैमा राख्यो भोकभोकै
इज्जतले खुवाएन दुई छाक भोजन
दुखाइ राख्यो उनको अन्त:स्करण
अब मरेर गए पछि उनको तस्वीर अगाडि
गरेर खिरपुडी अर्पण ,
बाहुनलाई भोजन दानदक्षिणा समर्पण,
यस्ता अश्रद्धाका भाव बोकेका हातहरूबाट
कस्तो श्राद्ध ? कस्तो तर्पण?
-लक्ष्मण नेवटिया, बिराटनगर
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)