~एम.वि. बुढा~
दक्षिणको तातो हावा बढ्दैछ आजभोलि
बहँदैछ हानिएर उत्तरतिर पंख खोली
तराईमा छिरीसकी भित्री मधेश चहार्दैछ
जीव निर्जीव सबै कन एकै तालमा बढार्दैछ
तराईका खम्बाहरु ढालिकन कराउँदैछ
जाल रची बासिन्दालाई अचेत सरी गराउँदैछ
तातो हावा सँगै छिरे बिच्छी, साँप सर्पहरु
शान्त भई बस्नु छैन सबै हिउँद वर्षाहरु
धाँजै धाँजा चिरै चिरा यो भूमिलाई पार्न खोजी
हिंड्दैछ सिंगो घरमा विष र आगो झोंसी
आसन राख्न खोज्दैछ लाली गुराँस फुलमाथि
सुख्खा पार्न लम्किदैछ हाम्रो अमृत मूलमाथि
विषाणु यो हावाले नै पग्लिंदैछ हिमाल
खतरामा पर्न थाले पंक्षी डाँफे, मुनाल
झन झन् संकट गहिरिंदैछ दिनदिनै यहाँ
सधै रहे यही हावा रहुँला हामी कहाँ ?
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २५ – May 8, 2013 – २०७० बैशाख २५ गते, बुधबार)