~अम्बर गुरुङ~
निकै वर्षअगाडि सुनेको यो गजलको अर्थभन्दा पनि मर्म आजको यो निस्सासिँदो अन्धकारमा बुझ्दा मनमा आत्मग्लानि सोच आउँछ र छटपटी हुन्छ । र, सोच्न थाल्छु-किन हामी आवश्यक परेको बेला मात्र अनावश्यक भनेर फालेका कुराहरूको सम्झना गर्दै पछुतो गर्छौं ? किन हामीले भोगिसकेका भइपरि आउने त्यस्ता संकटहरूका समाधान अघिबाटै गर्ने पहल गर्दैनौं ? आज हामी असह्य भएर भोगिरहेको यो अन्धकार यसै वर्षबाट सुरु भएको समस्या होइन । हामीले यो संकेत अघिबाट पाइसकेका थियौं । तर के गर्ने ?
एउटा स्विच थिचेर उज्यालो र अँध्यारो पार्नु हाम्रो हातमा भए पनि उज्यालोको स्रोत फेला पार्नु हाम्रो हातमा हुँदैन रहेछ । त्यसैले मलाई अँध्यारो र अन्धकारमा फरक लाग्छ । अँधेरो क्षणिक र सीमित हुन्छ भने अन्धकार व्यापक हुन्छ । अब फेरि के गर्ने ? हामी सबैलाई थाहा भएकै कुरा हो कि बीसौं शताब्दीको मध्यअवधिसम्म पनि अपि|mकालाई ‘डार्क कन्टिनेन्ट’ अर्थात् अँध्यारो महादेश भनिने गरिन्थ्यो । हिजोआज त्यसो भनिंदैन । किनभने धेरैजसो अपि|mकी मुलुकहरू आज अन्धकारबाट उज्यालोतर्फ उन्मुख हुँदै छन् अर्थात् भइसकेका छन् । हामी भने उज्यालोदेखि अन्धकारतर्फ जाने तत्परताको उल्टो परिधिमा छौं । डर लाग्छ, कतै यो शताब्दीको अँध्यारो मुलुकको उपाधि हामीलाई मिल्ने त होइन !
यतिखेर मलाई एउटा सान्दर्भिक भएकै घटना सुनाउन मन लागेको छ । त्यसबेलाको कोलकोतामा एउटा साह्रै संगीत अनुरागी दाइ थिए जसले मलाई औधि नै माया गर्थे । उनी अत्यन्तै मिलनसार र सहयोगी भावनाको व्यक्ति भएर होला, त्यो थलोमा उत्तिकै लोकपि्रय पनि थिए । तर उनको एउटै अवगुण के थियो भने उनी औधि नै रक्सी खान्थे । कुन घटना-उपघटना, कारण-अकारणले हो, बुझ्नै नपाई दाइले एक्कासि रक्सी खान छाडेकाले हामी झन्डै आश्चर्यचकित भएका थियौं । तर पनि किन उनले रक्सीलाई परित्याग गरे भनेर सोध्ने साहस हामीले गर्न सकेनौं । सम्भवतः हामीलाई डर थियो कि हाम्रो सोधाइले बिच्किएर उनले फेरि रक्सी खान सुरु नगरून् !
एक साँझ रेकर्डिङ् सिध्याएर म घर र्फकने तरखरमा थिएँ । त्यही बेला एक साँझ मलाई दाइले एउटा यस्तो क्लबमा लगेर गए जुन क्लब हरेक आइतबार रक्सी खान छाडेका भूतपूर्व पियक्कडहरूले सञ्चालन गर्दा रहेछन् । उनीहरूको मूल उद्देश्य के रहेछ भने रक्सी नखानेहरूले रक्सी छुँदै नछोउन् र खानेहरूले रक्सीलाई तत्कालै परत्याग गरून् । हरेक आइतबार त्यहाँ त्यस्ता पात्रको उपस्थिति हुने गर्दो रहेछ जसले भर्खरै रक्सी खान छाडेका छन् र उसले डायसमा उभिएर आफूले रक्सीको बेहोसीमा गरेका गल्ती तथा कुकृत्यहरूको आत्मस्वीकृति -कन्फेसन) मात्र होइन, अबदेखि कहिले पनि रक्सी नखाने प्रतिज्ञासमेत गर्नुपर्दो रहेछ ।
त्यस्ता पात्रहरूले रक्सी खाँदा गरेका गल्तीहरू, झैझगडा, असामाजिक तथा अमर्यादित वृत्तान्तहरू, कोही अनौठो अथवा कोही घीनलाग्दो, कोही अमानुसिक र कोहीकोही मार्मिक पनि हुने गर्दोरहेछ । ती सबै त्यहाँ त्यतिबेला देख्न नपाइए पनि पछिबाट केही घटनाहरूबारे भने सुन्न पाइयो । त्यहाँ रमाइलो कुरा के रहेछ भने त्यस्ता पात्रहरूलाई त्यहाँ ल्याउने अभिभावकहरू धेरैजसो आफ्नै परिवारमध्येका हुँदा रहेछन् । कसैको मातापिता, दाइदिदी, कसैका अन्तरंग मित्र, धेरैजसोका पत्नी र कसै-कसैका त प्रेमिकासमेत हुने गर्दा रहेछन् । अझ रमाइलो कुरा त के रहेछ भने कसैकसैले आत्मस्वीकृति गर्दै प्रतिज्ञा गरेर पनि फेरि रक्सी खान सुरु गर्दा रहेछन् ।
त्यही क्लबमा भएको र पछिबाट मात्र मैले सुनेको एउटा पात्र वृत्तान्तको कुरा मैले आजसम्म बिर्सन सकेको छैन । उक्त घटनाको पात्र एक नम्बरका रक्स्याहा मात्र नभएर जुवाडे पनि रहेछ र, आफ्नी स्वास्नीलाई अत्यन्त निर्ममतापूर्वक व्यवहार गर्दो रहेछ । त्यस्तै झोंकमा एकरात उसले स्वास्नीलाई घरबाट निकालिदिएछ । त्यसको केही दिनपछाडि ऊ मरणासन्न हुनेगरी बिरामी भएछ । र, त्यही क्रममा उसको रक्सी खाने लत छुटेछ । त्यसपछाडि उसलाई आफूले रक्सी खाएकोमा भन्दा बढ्ता पश्चात्ताप स्वास्नीलाई घरबाट निकालेकोमा भएछ । धेरै समयसम्म घरबाट निकालिएकी स्वास्नी खोज्दा पनि नभेट्टाएपछि अन्तमा ऊ त्यो क्लबमा आत्मस्वीकृति र पश्चात्ताप गर्न आएको रहेछ । पश्चात्ताप गर्दै उसले भनेको रहेछ, ‘हो, मलाई रक्सी खाएकोमा एकदमै ठूलो पश्चात्ताप छ तर त्योभन्दा पनि धेरै ठूलो पश्चात्ताप मैले आफ्नी निर्दोष पत्नीलाई घरबाट निकालिदिएकोमा छ र, म यहाँ पश्चात्ताप मात्रै होइन, माफी माग्नलाई पनि आएको हुँ । उनले त मलाई माफी दिन्छिन् कि दिन्नन्, त्यो त थाहा छैन…।’
यो घटना दुःखान्तमा नभएर सुखान्तमा टुङ्गएिछ । कुनै दुर्लभ संयोगले होला, त्यस दिन त्यही क्लबमा उसकी प्यारी पत्नी उसको बिलाप सुनेर सारीको फेरले आँसु पुछ्दै एक कुनामा उभिएर मर्माहत भइरहेकी रहिछ । कुरा टुङ्गिने बित्तिकै त्यो अबला दौडिएर आफ्नो पतिको चरणमा परिछ । हाम्रो जीवनमा जस्तै त्यस क्लबाट पनि कोही हाँस्दै र कोही रुँदै बाहिरिँदा रहेछन् । यहाँनेर यो कथाको नाटकीय अन्त्य भए पनि कुराको अन्त्य भएको छैन ।
त्यहाँ आत्मविवेचना गर्नेहरूका कथा र घटना आ-आफ्नै भए पनि आत्मस्वीकृतिको पश्चात्ताप एउटै खाले थियो- हामीले रक्सी खाने गल्ती अज्ञानताबस गरेका थियौं । यहाँनेर मलाई के आभास हुन्छ भने अज्ञानता नै अन्धकार र अन्धकार नै अज्ञानताको समस्या हो । सुरुमा हामी अज्ञान नै थियौं, अन्धकारमै थियौं । त्यसबेला टुकीको उज्यालो हामीलाई पर्याप्त थियो । बिजुली भनेको धेरै पछिको आविस्कार हो, यो आविस्कार ज्ञानबाट भएको हो । हो, यो संसारभरका सारा विज्ञ विद्वान्हरू भन्छन् कि यो संसारमा कुनै पनि त्यस्तो समस्या छैन जसको समाधान हुँदैन । अहिलेको लोडसेडिङ हाम्रा लागि समस्या होइन, अज्ञानता हो । तपाईहरू सहमत हुनुहुन्छ ?
हुनुहुन्छ भने लौ त अब कुरा मात्र होइन, काम पनि गरौं । र, अहिलेको काम भनेको यही हो-चिराग तो जलाओ, बडा अन्धेरा है…!
(स्रोत : संगीतज्ञ गुरुङ ‘कहाँ गए ती दिनहरू’ पुस्तकबाट)