कथा : अकारण

~अनमोलमणि~Anmolmani

आइतबार,

………..र, खुल्ला झ्यालबाट पसेको हावाको शीतल मुस्लो साँघुरो कोठाको चौकुनामा ठोकिएर भित्ताको क्यालेन्डरलाई जबरजस्ती गर्न खोजिरहेको छ । हावाको जबरजस्तीले क्यालेन्डर विस्तारै अफूलाई ऊ प्रति समर्पण गर्दैछ ।

प्रमाण : केही क्षण नाइनास्तीको प्रतिवादमा छट्पटिँदै क्यालेन्डरका पन्नाहरु विस्तारै पल्टिरहेछन् । क्यालेन्डरमाथि जवरजस्ती गरिरहेको हावा त देखिएन तर खुला झ्यालबाट देखिएको एक टुक्रा पनि बादल नभएको बाहिरको नीलो आकाशले आँखा तिरमिरायो । बादल नभएकाले होला आकाशको चमक एकदम बढेको छ । झ्यालबाट आएको पश्चिम भासिँदै गरेको पहेँलो सूर्यको तीखो किरण अगाडिको टेबुलमा बजारिएको छ । र त्यसको टकले मेरो मथिङ्गलमा चक्मा दिइरहेको छ । म यो आकाशभन्दा माथिको कल्पनामा छु ।

आजै एउटा अनौठो विरामी अस्पताल भर्ना भएको छ । दिनभर उसको उपचारमा व्यस्त रहेँ । ऊ छाती पोल्यो भन्छ र रुन्छ, छट्पटाउँछ । र भन्छ—‘आइ गट पेन इन माइ चेस्ट, प्लिज डक्टर किल मी, आइ वान्ट टु डाइ ।’

रगत र पिसाब जाँचमा त्यस्तो कुनै खराबी देखिएको छैन । प्ररम्भिक एक्स रे पनि नर्मल छ । समग्रमा उसमा कुनै पनि रोगका लक्षण छैनन् । ऊ निरोगी छ । आज सामान्य केही औषधी लेखिदिएको छु ।

सोमबार,

म त्यही घटना सम्झि रहेछु—
हिजो मैले उसलाई यति सिरयिस देखिनँ । कतिसम्म भने मैले उसलाई डिस्चार्ज गरेर घर जाने सम्मको सल्लाह दिएँ । तर उसले मेरो सल्लाह मानेन । बरु दाहिने हातले आफ्नो छाती विस्तारै थिच्दै भन्यो—‘डाक्टर, शायद प्रत्येक आँशुले पीडा दिन्छ । मसँग त्यही आँशुको पीडा छ र मेरो छातीमा चोटै चोट छ । मलाई डिस्चार्ज गरेर चोट नथप डक्टर । म तिम्रो छेउ बस्न चाहन्छु । तिम्रो छेउमा मलाई केही ढाडस मिलेको छ ।’

उसको कुरामा म मौन छु ।

‘हो डाक्टर, यो सब आँशुको घाऊ हो, प्लिज विलिभ मी’, उसले यसै भन्यो र मेरो एप्रोनको फेर समातेर हल्का आफू तिर तान्यो—‘मलाई पोल्छ डाक्टर, भित्र भित्र पोल्छ । मिल्छ भने मलाई मारिदेऊ । म मेरो मृत्युपत्रमा हस्ताक्षर गरिदिन्छु ।’

म डाक्टर भएपछि पहिलो पटक यस्तो अनौठो पेसेन्ट हेरिरहेको छु । मैले धेरै पेसेन्टको उपचार गरेको छु । यस्तो पेसेन्ट न कहिल्यै अस्पतालमा भेटेँ न मेरो क्लिनिकमा ।

मैले उसको शरीरको माथिल्लो भागको कपडा खोलेँ र छातीमा छामेँ । स्टेथेस्कोप लगाएर जाँच गरेँ । सबै ठीक थियो । बाहिर देखिने गरी कतै घाउको कुनै निशाना थिएन । उसलाई भित्रैसम्म पीडा हुने गरी पोल्ने उसको छातीमा के त्यस्तो रोग थियो । मेरो स्टेथेस्कोपले पत्ता लगाउन सकेन ।

‘डाक्टर यो आँशुले बनाएको घाऊ हो’, उसले पहिले कै कुरा दोहो¥यो । मैले धेरै विरामीको धेरै थरी घाउ चिरेको छु । तर यो देख्दै नदेखिने घाउ? म अन्यौलमा छु । ‘डाक्टर मेरो छातीको सिटी स्क्यान गर’, जीउ बटारेर लरबरिएको स्वरमा उसले भन्यो—‘प्लिज प्लिज डाक्टर…..।’

मैले उसको छातीको सिटी स्क्यान गरेँ । एक्स रे गरेँ । मुखबाट नली राखेर भित्रका धेरै अङ्गको परीक्षण गरेँ तर उसको कुनै अङ्गमा त्यस्तो अराबी देखिएन । सबै ठीक थियो ।

‘चुरोट पिउनुहुन्छ ?’

‘अहँ पिउँदिन ।’

‘रक्सी ?’

‘अहँ पिउँदिनँ ।’

‘पिरो अमिलो…?’

‘अहँ डाक्टर म केही पिउँदिनँ, मसँग त्यस्ता कुनै नियमित लत छैन । मैले खाने गरेको कफी चकलेट, भुटेको सुपारी, पान, किसमिस, काजु पनि वर्षौँदेखि छोडिसकेको छु । जुन स्वास्थ्यका लागि हानीकारक छ’, उसले भन्यो ।

‘त्यसो भए तिमी प्रत्येक विहान कडा शारीरिक अभ्यास गर्छौ ?’

‘अहँ म खेलाडी पनि हैन । विहान ८.३० सम्म म मेरो प्रिय ओच्छ्यान मै हुन्छु ।’

ऊ पुन शान्त हुँदै गयो । उसको छटपटी कम हुँदै गयो । मुहार हँसिलोजस्तो देखियो । आवश्यकजस्तो लागेका केही औषधी लेखिदिएर म उसको कोठाबाट बाहिरिएँ ।

मंगलबार,

आज तेश्रो दिन ऊ निकै छटपटइरहेको थियो । त्यहाँका ३ नर्सले थाम्न नसक्ने गरी बेडमा मडारिएर उसले झण्डै चिच्याए जसरी भन्यो—‘पोल्यो मेरो छातीमा पोल्यो । प्लिज डाक्टर म सहन सक्दिन, किल मी । कि मेरा प्रत्येक नशाहरु चिर र त्यस भित्रका आँशुहरु निचोरेर फालिदेऊ डाक्टर, ती आँशु खील बनेका छन् मेरो छातीमा ।’

छाती सुम्सुम्यो, मडारियो र एकै छिनमा उ फेरि शान्त भयो । सिटी स्क्यान, एक्स रे र अन्य जाँच आज पनि भयो । त्यसबाट कुनै खराबीको रिपोर्ट देखिएन । सबै ठीक थियो । कतिसम्म भने ब्लड प्रेसर समेत नर्मल थियो ।

‘तपाईँसँग के त्यस्तो लत छ जुन तपाई हामीलाई ढााटिरहनु भएको छ ?’

‘आइ प्रोमिस डाक्टर, आइ नेभर ड्रिङ्कस् वाइन, सिग्रेट………’, मध्यपान, धुम्रपान कुनै पनि लत नभएको लामो फेहरिस्त उसले सुनायो ।

‘ त्यस्तरी सहनै नसक्ने गरी केले पोल्छ त तिम्रो छाती ?’

‘त्यो पोल्ने विष आँशु हो डाक्टर तर तिमी त्यो देख्दैनौँ । मेरो कुरा सुनेर तिमी मलाई पागल सोच्न सक्छौ । तर त्यसो होइन । जुन म तिमीलाई प्रत्येक दुखाइका पिडाहरुमा सुनाइरहेछु त्यो आँशुको पीडा हो भन्नेमा म विश्वस्त छु । मलाई मात्र थाहा छ यो आँशुले नै पोलेका हो । मलाई पहिले नै थाहा थियो तिमी मेरो घाउ पत्ता लगाउन असमर्थ हुनेछौ’, मानौँ डाक्टर म होइन ऊ हो जसरी उसले मलाई आफ्नो समस्याको बयान ग¥यो—‘मेरो छातीमा ठूलो घाउ छ । छाती भित्र प्वाल नै प्वाल छ र मेरो छाती भित्रको पाटो जिल्जिल्याउने फोकाहरुले भरिएको छ । प्रत्येक क्षण ती फोकाहरु फुटेको अनुभव गर्छु र मलाई असह्य हुने गरी पोल्छ ।’

‘कसरी? यो असम्भव हो’

‘दिस इज रियालिटी डाक्टर’

‘बट हाउ?’

उसले सबै कुरा सम्झिँदै यसरी भन्यो—‘हरेक साँझभन्दा फरक गरी ऊ तयो साँझ मेरा छातीमा धेरै बेर रोइ । शायद उसको विहे हुनु तीन दिन अघिको साँझ हुनुपर्छ । पहिलो पटक मेरो छाती त्यही रात पोलेको थियो । नमीठो अनुभव हुनेगरी चस्किएको थियो । म बोल्नै नसक्ने भएको थिएँ । मेरो छातीका रौँहरु उसले निथु्रक्क भिजाएकी थिइ रोएर । सानो भल नै बग्यो मेरो छातीको कुलेशोमा । त्यसको पर्सिपल्ट ऊ अर्कैकी भइ । यसो भनौँ त्यसपछि ऊ बैधानिक रुपमा कुमारी रहिन । उसलाई मैले साँच्ची नै मन पराएर पनि आफ्नो बनाउन सकिनँ । म त्यही अभागी मान्छे हुँ ।’ ऊ दुखी र रोएजस्तो भयो तर आाशु गहको बाँध नाघेर झरेन ।

‘तिमी छिट्टै निको हुन्छौ । यो तिम्रो साइकियाट्रिक प्रोबलम हो’

‘इटइज इम्पसिबल डाक्टर र तिम्रो अनुमान पनि ठीक होइन । मभित्र साँच्चै आँशुको घाउ छ ।’

‘इटइज पसिबल, तिमी यस्ता वित्थाका कुरा नसोच छिट्टै निको हुन्छौ । अब तिमी आराम साथ सुत्नमा कल्याण छ ।’

बुधबार,

आज ऊ सामान्य थियो । उसको बेडमा पुगेँ । स्टेथेस्कोपले उसको सबै अङ्ग जाँच गरेँ । विशेष गरी सधैँ पोल्ने त्यो चौडा छाती । जहाँ धेरै रौँ पलाएका थिएनन् । सबै ठीक थियो ।

‘मैले उसलाइृ धेरै मन पराएँ कति भने त्यति धेरै म आफूलाई पनि मन पराउन्न । म प्रेमको भ्रममा बाचेँ डाक्टर । तर मैले मेरो प्रेममा फगत छाती पोल्ने आँशु बाहेक केही पनि पाइनँ । मेरो छाती भित्र त्यही आँशुको घाउ छ । भन अब यो कसरी निको हुन्छ?’, मैले स्टेथेस्कोप छातीमा राख्दै गर्दा उसले भन्यो ।

‘त्यस्तो तिमीलाई लागेको मात्र हो । आँशुले कहिले पनि भित्र घाउ बनाउँदैन । आँशुमा कुनै त्यस्तो एसिड हुँदैन । यसमा साइड इफेक्ट गर्ने कुनै त्यस्तो हानिकारक केमिकल पनि हुँदैन । आँशुले तिम्रो छातीमा घाउ बनायो भन्ने तिम्रो दावी असत्य हो । त्यो तिम्रो भ्रम मात्र हो । आँशु त झरिहाल्छ यो प्राकृतिक नियम हो । आँशु झर्नु आँखाको नानीका लागि पनि फाइदा जनक कुरा हो ।’

‘सबै सत्यको प्रमाण हुँदैन । तिम्रो स्टेथेस्कोपले पत्ता लगाउन सक्दैन आँशुले भिजेको यो छातीको घाउ । हो मसँग तिम्रो सिटी स्क्यान र एक्स रेले देखाउन नसक्ने चोट छ, डाक्टर । छाती भित्र यो करङको चेपचेपमा उसको आँशुले भिजेका दागहरु छन् । छातीमा त्यो आँशुले बनाएको घाउले मेरो छाती चाल्नो जस्तो बन्दैछ भन्ने मैले अनुभव गरिरहेको छु । मेरो छातीमा कहिल्यै नमेटिनेगरी सुकेका आँशुका टाटाहरु छन् । प्रत्येक टाटाहरु चसक्क चस्किन्छन् र प्रत्येक चस्काइमा मेरो छाती विस्तारै कमजोर बन्छ । मलाई लाग्छ चस्काइ पिच्छे अब म विस्तारै सकिन्छु । मलाई मेरो मुटु ग्यास ट्याङ्करजस्तो छताछुल्ल हुने गरी विष्फोट हुन्छ भन्ने अनुभव भइरहन्छ । तिमी यी केही देख्दैनौ डाक्टर, केही देख्दैनौ । तर यी सबै मसँग छन् र सबै सत्य हुन् । सबै घाउहरु देखिने र पत्तो लाग्ेन गरी हुँदैनन् । मसँग त्यही नदेखिने घाउ छ । शायद अब म कहिल्यै निको हुन सक्दिनँ । पीडा खेपेर बाँच्नु भन्दा प्लिज डाक्टर एक इन्जेकसनमा मलाई यो संसारबाट विदा देऊ । प्लिज डाक्टर किल मि सुन ।’

विहीवार,

उसले सामान्य छाती पोलेको बतायो । आवश्यक ठानेको औषधी सेवन गराएँ । ऊ केही गफिन चाह्यो । मैले उसलाई केही समय दिएँ ।

‘डाक्टर, ऊ मेरो मनमा यसरी फैलिएकी छ कि चाहेर पनि उसलाई मबाट पन्छउन सक्दिनँ’, उसले भन्यो—‘कतिसम्म भने म यो खुला हावामा, यो जुनेली रातको छायामुनी विर्सन खोज्दै उसलाई कल्पिरहेको हुन्छु र त्यही कल्पनाको दुखमा आनन्दित हुन्छु । म जूनको छाया, चिसो र शीतजसरी झरेको तुसारो, अँध्यारो रात सबैलाई नियाल्छु र उसैलाई अँगालो हालेर एक पटक रुन चाहन्छु । यी सबै सम्झिँदा लाग्छ जिन्दगी यही रातजस्तो अस्पष्ट र गहिरो छ । डाक्टर तिमीलाई कहिल्यै तिमीलाई औधी माया गर्ने कुनै मान्छेको सम्झना आउँछ ? तिमीले कहिल्यै आफूलाई भन्दा बढी अरुलाई प्रेम गरेका छौ?’

मैले मात्रै हुँ हुँ गरेर उसको कुराको न उत्तर दिएँ, न समर्थन गरेँ, न विरोध नै ।

उसले मेरा उत्तरमा ध्यान दिएन फेरि भन्यो—‘म अस्पतालको ओच्छ्यानमा पल्टिरहँदा पनि बुझ्दिन किन उसको सम्झना मेरो मनमा मुस्लो बनेर पस्छ? किन अर्का कि भइसकेकी उसलाई म यति धेरै सम्झिन्छु र किन यो मनमा उसको मात्र झझल्को टाँसिएको छ? म किन विगतको ऐनामा मात्र हेर्छु र आफूलाई दुखी बनाउँछु ? शायद म पनि सबै मान्छेजस्तै छु कि?’

उसले फेरि उसकी प्रेमिका आफ्नो छातीमा टाउको अड्याएर रोएको, आँशु बगेको र त्यही रातदेखि उसको छाती चस्किएको कुरा देहो¥यायो ।

मैले फेरि आँशुमा त्यस्तो केही नहुने र उसलाई मानसिक रुपमा त्यस्तो कुरा नसोच्न सम्झाएँ । तर उसले यति अड्डि लिएर भन्यो कि उसको छाती पोल्ने त्यो घाउ उसकी प्रेमिकाको आँशु नै हो । कतिसम्म भने उसले मलाई प्रेमिकालाई छातीमा अडेस लागेर रुन नदिनु पनि भन्यो ।

शुक्रबार,

नर्सहरुले आज ऊ विहानदेखि नै छाती दुख्यो भन्दै छटपटाइरहेको बताए ।

म उसको कोठामा पुगेँ । अव्यवस्थित रुपमा ज्यान छाडेर छाती समात्दै ऊ निकै छट्पटाइरहेको थियो । यसरी छट्पटायो कि अस्पतालमा भर्ना भएपछि छट्पटाएभन्दा सयौँ गुणा बढी छट्पटायो । छेउमा रहेका दुई नर्सले उसलाई थाम्न सकिरहेका थिएनन् । छट्पटाउँदा छट्पटाउँदै ऊ ओच्छ्यानबाट भुइँमा डङरङ्ग सुत्यो । मैले उसलाई यथास्थितिमा ल्याउने कुनै पनि प्रयास गर्न नपाउँदै हात खुट्टा तन्काउँदै र छातीमा छाम्दै ऊ घोप्टो परेर पछारियो । ममात्रै उसलाई हेरेको हे¥यै भएँ ।

यी सबै घटना अकास्मात केही हुँदै नभएजसरी यति छिटो भयो कि केही सोच्न नभ्याउँदै पत्याउनै नसक्ने गरी भयो । मेरै अघि उपचार गर्दा गर्दै धेरै पेसेन्ट मरे तर यसरी कोही मरेको थिएन । अरु पेसेन्ट रोगी भएर मर्थे । मर्दा उनीहरुमा एक न उक रोग पत्ता लाग्थ्यो । यो पेसेन्ट विना कुनै रोग म¥यो । उसको मृत्यु मेरा लागि विना घटना भएको एउटा ठूलो दुर्घटना जस्तै भयो । एकदिन अघिसम्म किल मि भन्दै छटपटाउँदै गरेका पेसेन्ट आफै म¥यो । मैले साथमा रहेको स्टेथेस्कोपले छाती र नाडी जाचेँ । रक्तसञ्चार अवरुद्ध भइसकेको थियो । पल्स रेटिङ अलिकति पनि बाँकी थिएन । कतिसम्म भने त्यति छिटै नाडीमा तातो पनि हराउँदै गएको थियो । सबै डेथ भइसकेको थियो । एक छिन अघिको तातो पनि अब सेलाउँदै गइरहेको थियो । मैले देखेँ उसको छातीमा चिट चिट पसिनाजस्ता केही बुँदहरु थिए ।

शनिवार,

आज उसको मृत्यु भएको दोश्रो दिन हो । यदि जीवित भइदिएको भए आज ऊ अस्पताल भर्ना भएको सातौँ दिन हुने थियो । छ दिनसम्म ऊ मेरो पेसेन्ट भएर बस्यो । ऊ भर्ना भएको कोठा आज एक्लो छ । मैले कसै गरे पनि उसको छातीको व्यथा पत्ता लगाउन सकिनँ । मलाई सम्झिँदा पनि अचम्म लाग्छ सबै प्रविधि अपनाउँदा पनि पत्ता नलाग्ने उसलाई के रोग लागेको थियो । ऊ क्षणमै तन्दुरुस्त र क्षणमै सिकिस्त हुनेगरी छातीमा झड्का दिने कुरा के थियो? जाँच्दा त उसको सबै कुरा नर्मल नै थियो ।

शायद मान्छेभित्र विज्ञानले पत्ता लगाउन नसक्ने अदृश्य घाउहरु धेरै हुँदा रहेछन् । उसले भनेजस्तै उसको छातीमा पोल्ने त्यही प्रेमिकाको आँशु नै थियो ? उसले बताए जस्तै एक्स रे, सिटी स्क्यान केही गरे पनि पत्तो नलाग्ने गरी साँच्चै उसको छातीमा उसकी प्रेमिकाको आँशुले घाउ बनाएको थियो ? मैले पढेको विज्ञानको उपचार पद्यती उसको छातीको घाउ पत्ता लगाउन असफल भएकै हो? होइन भने किन नदेखिने घाउका कारण एउटा विरामी(ऊ) समग्र (म)डाक्टरहरुलाई चुनौति दिएर म¥यो ? म सोचिरहेछु उसको मृत्युसँगै विज्ञानलाई चुनौति दिँदै थुप्रै घाउका ढोकाहरु खुलिरहेका छन् । पीडा र चित्कारका ढोकाहरु खुलिरहेका छन् ।

आइतबार,

ऊ अस्पताल भर्ना भएको खबर थाहा पाएपछि भेट्न आएकी यौटी विवाहित युवती उसको मृत्युको खबरले मुर्छा परेकी थिई ……………..। आज दोस्रो दिनसम्म पनि उसको होस खुलेको छैन । म त्यही मुर्छित युवतीको उपचारका लागि घाँटीमा बेरिएको स्टेथेस्कोप समाएर उसको छेउमा उभिएको छु ।

…………………र, दुखी भएर डायरीमा आज मैले लेख्नै पर्छ—‘यो मेरी श्रीमती हो ।’

(स्रोत : कथा संग्रह ‘नीलिमा र गाढा अँध्यारो’बाट)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.