व्यङ्ग्य निबन्ध : कृष्ण सिटौलाको मनोवाद

~आनन्दराम पौडेल~

बिहान ध्यान सकिएपछि कृष्णप्रसाद सिटौलाजी घोत्लिए। आत्मलीन भएर गम्न थाले। सोचे, “आफ्नै पार्टीभित्र साथीहरुले ममाथि इर्ष्या राखेको त गन्ध पाएको थिएँ, तर षडयन्त्र ठूलै भैसकेको रहेछ। षडयन्त्रकारीहरुले सुशील’दालाइ पनि प्रयोग गरेछन्। नेकपा एमालेसँग सम्बाद गर्नका लागि शुरुमा बुढाले मलाई र मिनेन्द्र रिजाललाई खटाउन चाहेको मैले वुझेको थिएँ। तर, मेरो नाम हटाइयो।

कसको षडयन्त्रले हाम्रो नाम हट्यो भन्नेपनि थाहा पाइसकेको छु। डा.रामशरण महत र दीपकुमार उपाध्यायले एमालेसँग धेरैदिन वार्ता गरे; गरिरहे। गरेको गर्यै गरे। तर, उनीहरुले एउटा बिषयलाई समेत कोट्याउन सकेनन्। प्रधानमन्त्री निर्वाचनको दिन आइसक्यो, वार्ता एक इञ्च डेग चलेन। शुरुमै राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको बिषयमा अड्केको वार्ता त्यहीं अड्केर रह्यो। केही शीप नलागेपछि सुशील’दाले पनि आजित भएरै हामी दुई भाइलाई बोलाए। ‘यिनीहरुले तार नलाउने भए, तपाईंहरुले कुरा गरेर टुङ्ग्याउनुपर्यो’ भनेका हुन्। बुढाको आदेश शिरोपर गरेरै हामी दुइ भाइ त्यहाँबाट हिंडेका हौँ हिंड्नेबेलामा अमरेशकुमार सिंह आइपुगेकोले उसलाई पनि साथै लगेका हौँ |”

बिहान स्नानध्यान सकेर ब्रेकफास्ट लिने नित्य नियम थियो। ब्रेकफास्ट आइपुगेकोले सिटौलाजीले मनोवाद एकछिन स्थगित गरे। ब्रेकफास्ट सकिएपछि पुन: अन्तर्मनमै प्रवेश गरे। सोचे, “वार्ता गर्न शीप, कला, कौशलता र धैर्य चाहिन्छ। वार्ताको मेलो अघि सरेन, अड्किएर बस्यो भने आफ्नो प्रस्तावको चुरोमा असर नपर्नेगरी वैकल्पिक निकास खोज्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमै अड्किएको सम्बादलाई अघि बढाउन मैले यही सूत्र प्रयोग गरेको थिएँ। शुरुमा त मैले, ‘गृह, अर्थ, स्थानीय विकास जस्ता महत्वपूर्ण मन्त्रालयहरु तपाईंहरु नै लिनुहोस्, तर राष्ट्रपतिको निर्वाचनलाई छाडिदिनुहोस्’ भनेको थिएँ। उहाँहरु टसमस नभएपछि राष्ट्रपति निर्वाचनको बिषयमा मध्यमार्ग अपनाएर गृह र अर्थ मन्त्रालय बाँडेका हौँ | भएभरको बिबरण सुशील’दालाई रिपोर्ट पनि गरेकै हो। उहाँले ध्यान दिएर सुन्नुभएको र टाउको हल्लाउनुभएको मैले देखेको थिएँ। सोही अनुसार प्रधानमन्त्रीको निर्वाचन भएको हो। संयुक्त सरकार बन्नैलागेको के भनौं, बनि नै सकेको थियो। कत्रो जुक्तिबुद्धि लगाएर र मिहेनत गरेर बन्दोबस्त मिलाइयो, तर रामचन्द्र पौडेल र प्रकाशमान सिंहले ह्वात्तै चीसो पानी खन्याइदिए। रामचन्द्र पौडेलले त, ‘किन एमालेलाई गृहमन्त्रालय दिएको ? कसले भनेर दिएको ?’ भनेर ठाडै झपारे। पौडेलबाजेले भित्रभित्रै प्रकाशमान सिंहलाई, ‘तपाईं यसपाली उपप्रधानमन्त्री र गृहमन्त्री हुने हो’ भनेर फकाएका रहेछन्। ‘सिटौला र मिनेन्द्रलाई वार्ता गर्न खटाएकै होइन’ भनेर दुस्प्रचार गरे। फागुन ५ गते संसदीय समितिको बैठकमा सभापतितिर औंलो ठड्याएरै मैले, ‘तपाईंले हामीलाई वार्ता गर्न खटाएको हो कि होइन ? यस्तो प्रश्न उठाइरहँदा तपाईं किन मौन बस्नुभएको ? मुख खोल्नुहोस् सुशील दा’ भनेर कड्केरै बोलें। ९ गते संसदीय समितिको बैठकमा पनि मैले, ‘सहमतिको बाटो छाडेर हामी कतातिर जाँदैछौं ?’ भनेर अलिकति कड्किएँ। नबोल्ने होभने त यी षडयन्त्रकारीहरुले सिध्याउने नै भए, के गर्नु त !”

धेरैबेर एउटै पोस्चरमा बस्दा जिउ भारी भएको महसुस गरे। गोडा पनि निदाएछ। उठेर जिउ तन्काए। कर्याककुरुक् पारे। पुन: पलेटी कसेर बसे। र, घोत्लिएर सोच्नथाले, “यी षडयन्त्रकारीहरुले, ‘प्रधानमन्त्रीलाई बलियो पार्नको लागि गृह हामीले राख्नुपर्छ’ भनिरहेछन्। कस्तो हाँसोउठ्दो कुरो ! वेस्टमिनिस्टर प्रणालीमा प्रधानमन्त्री सर्वेसर्वा (अल इन अल) नै हो भन्ने के दुनिञालाइ थाहा छैन र ? यहाँ प्रधानमन्त्रीलाई होइन कि सुशील कोइराला नामका ब्यक्तिलाई बलियो बनाउने कुरा भनेको भए त्यो सही हुन्थ्यो। हाम्रा साथीहरुले, ‘माधव नेपाल प्रधानमन्त्री हुँदा गृहमन्त्री एमालेलाई दिएको’ भनेर ब्यापक प्रचार गरिरहनुभएको छ। २०६६ जेठमा कोलिशन मन्त्रीमण्डल बनाउने बेलामा एमाले पार्टीभित्रबाट बिद्या भण्डारीलाई गृहमन्त्री बनाउने दबाब परेको रहेछ। बिद्या भण्डारीलाई गृहमन्त्री बनाउनुपर्ला भनेर माधव नेपाल गृह मन्त्रालय लिनै नचाहने। कांग्रेसतिर पन्छाउने। कांग्रेस पार्टीबाट खुमबहादुर खड्काको नाम अघि सारिएछ। खुमबहादुर खड्कालाई गृहमन्त्री बनाउनुपर्ला भनेर गिरिजाप्रसाद कोइराला गृह मन्त्रालय लिन नचाहने। एमालेतिरै पन्छाउने। त्यसबेला कोलिशन मन्त्रीमण्डल बनाउन खटिएका टोलीसदस्य बिमलेन्द्र निधीजीले भनेर पो थाहा भयो। त्यसबेला त्यत्रो दाउपेचमा पन्छाएको गृहको बिषयमा अहिले आएर, ‘हो न हो, त्यसबेला हामीले सैद्धान्तिक आधारमा उदारमनले दिएको’ भनेर ब्यापक प्रचारवाजी गरेको सुनिरहेछु। यिनीहरुको यो दरिद्र मानसिकतामाथि टीठ लागेर आउँछ।”

घडीले ट्याङट्याङ बजायो। ८ बजिसकेछ। भन्नुपर्ने त धेरै थियो। लामो कुरा कस्ले सुन्छ ? सम्पादकले पनि स्थान दिंदैनन्। यति गुन्दै अन्तर्मनको यात्रा स्थगित गरे।

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.