व्यङ्ग्य निबन्ध : ज्ञानेन्द्र मनोवाद

~सूर्य खड्का~

आज अनायास किन बेचैनी बढिरहेछ ? ए, रातको एक बजिसकेछ । तैपनि निद्रा किन पर्दैन ? हिजोमात्रै रक्षाबन्धन पनि बाँधेकै हुँ । ए, बिहान हुनै लाग्यो नि । अब त शहर भर गाईजात्रा हेर्न पाइने होला । तर हेर्ने पनि कसरी र खै सडकमा निस्किसक्नु छैन । जताजतै मुर्दावाद मात्रै घन्किरहेको सुन्छु देख्छु ।

हैन, २०६३ बैशाख ११ मा भएको सहमतिले मात्रै मलाई किन सताइरहेको छ हँ ? सातदलले त त्यसवेला राजसंस्था राख्ने सहमति गरेकै थियो । उनीहरुकै सल्लाहमा उनीहरुले नै तयार पारेको ड्राफ्ट वाचन मात्र गरिदिएथेँ मैले त । त्यसै अनुरुप म चुपचाप बस्यापनि हुँ । मैले २०६३ को फागुनमा प्रजातन्त्र दिवसको अवसरमा शुभकामनामा आफ्नो कदमको बचाउ गर्दा पनि दलहरुले निकै खरो प्रतिकिया जनाए । किन होला ?

आखिर यो सबै के के भैरहेका हो ? साँच्चै राजसंस्थाको स्थान नै तय नगर्ने दाउ हो त दलहरुको मैले त सबै कुरा मानेकै छु नि । तीर्थ व्रत जात्रा हेर्न नि छोडिदिएँ । शासनभार जनतालाई सुम्पेकै हुँ । जनताको नासो जनतालाई फिर्ता गरेपछि मेरो मात्रै के दोष रह्यो र अब के छ र मसँग दिन बाँकी अन्तराष्ट्रिय समुदाय पनि चुपचाप छ बा । कोही भेटघाट सम्पर्क सम्म गर्दैनन् एकजना राम्रा मित्र मोरियार्टी थिए ती गएपछि त सारै सुनसान पो भयो त आखिर यो सबै के भैरहेको हँ हैन मलाई नाबालक उमेरमा किन श्रीपेच पहिराइदिएको होला त्यतिखेर मलाई श्रीपेच लगाउने रहर कहाँ थियो र हजुरबा र वावाले नै लगाइदिया हो- मलाई के नै थाहा थियो र

२०५८ जेठमा पनि मैले आफ्नै रहरले त कहाँ हो र श्रीपेच पहिरेको । तिनी गिरिजावाबु माधवजीहरुले नै मलाई नासलचोकमा पुर् याए र उभ्याइदिए र श्रीपेच पहिराइदिए । मेरो त स्वीकृति मात्रै न थियो । मैले जनताकै कुरो मानिदिएको त हुँ नि ।

अहिले श्रीपेचकै भारले मलाई पिरोल्या हो कि क्याहो ? आखिर म श्रीपेच नै त्यागिदिउँ त ? तर कसरी ? श्रीपेच नै फुकाल भनेर कोही अगाडि आउँदैनन् । गिरिजाबाबु पनि मसँगै सपथ खाएर गएका हुन् । माधवजी लाई पहिला प्रधानमन्त्रीको टिका नलगाइदिएरै मलाई यस्तो भैरहेका त छैन फेरि एकपटक माधवजी सँगै कुरा मिलाउँकी क्याहो तर खै त्यो परिस्थिति पनि निकै बदली भैसक्यो ।

संसदले पनि केही भन्दैन । संविधान पनि मौन छ । क्याविनेट बैठकले पनि खै के के निर्णय गरिहरकेा हो कुन्नी दरबार त सबै देश र जनताकै थिए नि । मैले त उपयोग मात्र गरिदिएको होनी । ल क्याविनेटले सबै दरबार राष्ट्रियकरण गरेकै सदर भो । अब को आएर बस्ने त म कता जाउँ त छोडे पनि भर गरेर छोड्ने खालको कोही देख्दिन । कतै मेरो दृष्टि नै कमजोर भयो कि क्याहो आँखा डक्टरलाई नै देखाउन जाउँकी तर डक्टरकाँ पनि के जानु फेरि नानाथरी हल्ला फैलन्छ ।

हैन यो चुनावको कुरा पनि सेलाउँदै जान थाल्या देख्छु । खाली आन्दोलन र विरोध मात्रै बढिरहेका देख्छु । यो सबै के भैरहेछ । कता फोरम जनतान्त्रिक गोइत ज्वाला अरे । सधैं चिसीने तराई तातिरहेका जलिरहेको मात्रै बलिरहेका देख्छु । हैन यो तराईको आगो चुनाव नै सिध्याउन लाग्यो कि क्याहो कता जाति-जाति पो लड्दै छन् रे । हैन सबैतिर असन्तोष आक्रोश र आगो मात्रै किन देखिरहेको छ । लौन चुनाव भैदिए त सबै ठिकठाक हुँदो हो कि आर्मीले पनि सलामी दिन छाडिसक्यो । जयजयकार पनि हटाइहाले । मठमन्दिरले पनि रुचाउदैनन् अचेल त । खै के के भैरहेका हो त ए म पनि के के पो सोचिरहेका रहेछु । यो सब सोच्नु नै बेकार छ ।

मैले त अब पारस र हृदयन्द्रको पो ख्याल गर्नु पर्‍यो त हगी अँ पारसले त छबी सुधारीरहेकै छ । जसोतसो अब अघि बढिहाल्ला । हिमानी छ नी रिमोट कन्ट्रोल चलाउन त । ए साँच्चै हृदयन्द्र त सानै पो छ त । अलि चकचके छ । केटाकेटी उमेर हो अलिअलि उपद्रो त गरिहाल्छ नी । धन्न बाबु पारस जति चै नगर्ला नी । अब धेरै के गर्नु गिरिजाबाबुले पहिले नै भन्थेनी यही हृदयन्द्रलाई श्रीपेच पहिर्‍याइदिउँ क्यार । मैले केटाकेटीमै पाएको श्रीपेच अरु कुन केटाकेटीलाई दिनु र अब बडादशैंका अबसरमा हृदयन्द्रलाई छोडिदिउँ क्यार । ए पाँच बजिसकेछ । अब त उठ्नु पर्‍यो। जसरी पनि गाइजात्रा त हेर्नै पर्‍यो नि ।

समाप्तम् ॥

– August 29th, 2007

(स्रोत : माइ संसार डट कम)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.