~हीरारत्न श्रीशा~
तिज नजिकीरहेको छ । महिलाहरुको पर्व भएकाले प्रायः लत्ता कपडादेखि लिएर गरगहनाको किनबेच निकै हुन्छ विशेष गरीयो पर्वमा । अहिले त सीता अन्टीले पनि गहनाको राम्रै सपिड्ड गर्नुभयो भन्ने सुनेको थिएँ, हातैभरी सुनका चुरा झल्काउँदै हुनुहुन्थ्यो रे कुनै समारोहमा । कुनै बेला नेपाली चेलीलाई गहना खोलेर युद्धमा होम्ने नेता ज्यूले अहिले सिद्धान्त परिवर्तन गरी सुन गहनाप्रेमी हुनुभएछ । हुन त उहाँ गरिब हुनुहुन्थ्यो र कम्युनिस्ट सिद्धान्त बोकेर हिंड्नुहुन्थ्यो । अब धनी भए पछि त्यही सिद्धान्तलाई बोकेर हिंड्ने कुरा पनि भएन । साच्चै भन्नु पर्दा सच्चा कम्युनिस्ट भनेकै गरिब हुन् । यो पालिको तीजमा चै सिता अन्टी विदेश घुमेर सुन झल्काउँदै नाँच्नु हुने भो । बरु गीत पो उहाँको लागि छनोट गर्न गारो भो । नयाँ पिढीका गीतमा खै कसरी सुन देखाउनु हुन्छ र कुन्नी ? उहाँको पालीका गीत सुन्नलायक थिए, नाचेको हो कि पानीमा बगेको ? छुट्याउन गारो पथ्र्यो । अहिलेका तीजका गीत कंगारु उफ्रे जस्तो के हो के हो ?
पहिलेका तिजका गीत ठेट गाउँले शब्द हुन्थे । गाउँदा पनि सजिलो सुन्दा पनि रमाईलो लाग्थ्यो । म पश्चिमको भएकाले मलाई विशेष पश्चिमकै गीतहरुका शब्द थाहा छ । पहिले यस्ता शब्दमा गीत रचिन्थ्यो जुन सुन्दा मिठो लाग्ने र गीतले के भन्न खोजेको हो बुझ्न खोज्यो भने झन रमाइलो लाग्थ्यो । किनकि गीतको खास अर्थ नै भेटिंदैनथ्यो खास गीतले भन्न खोजेको के हो भनेर । यस्तै गीतमा पुस्तौंपुस्ताले रमाए पुराना गीत संगीतको पिछा गर्दै वा भनौं संरक्षण गर्दै गए । यिनै अर्थहिन गीत मै कतिको घरजम भयो मन पनि साटिए । हिजो आज पुराना गीतहरु कहिं कतै सुनिन्छन् । ती गीतका केही झलक यस्ता छन्–”ओ मेरो साट्ने चोलीमा सरपोते सरसर”, “रेलिमाई गाईका कुरा लर्के–भंगेरी चरीले मैदानमा लरिलरर” यस्तै यस्तै धेरै गीतहरु जस्मा कुनै सन्देश छैन न त अर्थ नै छ । विशेषगरी रमाइलोको लागि यस्ता शब्दमा धुन हालेर गाइन्थ्यो ।
आजभोलि समयको माग भन्दै भित्रिएका उत्ताउला संस्कृतिले गर्दा गाउँमा पनि यी गीत मेटिंदै गइरहेको स्थिति हो । हिजो आजका तिजका गीत सुन्ने हो भने गाईजात्रामा प्यारोडी राख्न लायक हुन्छन् । जुन गीतले समाजमा राम्रो सन्देश दिनुको साटो नराम्रो छाप छोड्छन् । हिजो आज गाइने गीतहरु–”मोबाइल किन्देउ बुढा भैसी बेचेर” “गर्नु गरेउ बलराम भैसी पालेर” “यसपालिको तिजमा पोइल जान पाम” रमाइलोको लागि बनाइएका यस्ता गीतले जनमानसमा नराम्रो प्रभाव पारेको हुन्छ । यस्तै उत्ताउला शब्दले भरिएको गीतले बजार पिट्छ । हुँदाहुँदा अहिले त यस्तो गीत पो आएछ “जसो परे पर्ला–घरमै बस्न भुलेछु, पटुकी कस्न भुलेछु, मै नाच्छु उफ्रि उफ्रि गानो सरे सर्ला” रे । यी दिदीबैनीहरुलाई नाँच्ने भनेपछि गानो सरे पनि मतलब नै रैछ ज्यान कै माया मार्ने । यो पेंmद न टुप्पोको गीतमा उफ्रेर गानो सार्नुभन्दा, देशमा भएका महिला हिंसाका विरुद्ध आवाज उठाउँदै सडकमा आएर उफ्रिए पीडित दिदीबैनीहरुले न्याय पाउँथे, स्व्तन्त्र भएर हिंडडुल गर्न पाउँथे, राम्रो कामको नाम हुन्थ्यो समाज सेवाको हुन्थ्यो गानो पनि सर्दैनथ्यो होला ।
तीजमहिलाहरुको पर्व हो रमाइलो गर्नुपर्छ । गीत यस्तो बन्नुपर्छ जसमा नम्र भाषा, सरल शब्द होस र जसले समाजमा सकारात्मक प्रभाव पारोस् । गीत बन्नुपर्छ समाज परिवर्तनका । जुन शब्दले मान्छेका मनमस्तिष्क छुन सकोस्, बन्द आँखा खोलिदियोस् । बोल्न हिचकिचाउनेहरुलाई आफ्नो अधिकार र शोषणका विरुद्ध बोल्न उत्प्रेरित गरोस्, त्यस्तो यो गीत । बजारमा प्राय गीत महिला कलाकारले नै ल्याउँछन् तर विडम्बना ¤ ती गीतका भावले महिलालाई नै निचा देखाइरहेको हुन्छ । “पोइल जान पाम” भन्ने बाक्यको खास अर्थ के ? “मनमा आँट भाको गोजीमा गाँठ भाको (कोमल ओलीको गीत) मात्र एउटा पुरुष जीवनसाथी हुनुयोग्य हो त ? के यही हो त महिलाको रोजाई ? “घरैमा बस्नै भुलेछु पटुकी कस्न भुलेछु” यो वाक्यले भनेको के हो ? घर बाहिर हिंडिरहन्छु, गुन्युचोली भुलेर छोटा कपडा लगाउँछु त भन्न खोजेको त होइन ? अपमान त आखिर महिलाको नै भयो नि होइन र ? यस्ता उत्ताउला शब्दले सजिएका गीतमा कस्तो खालको रमाइलो गर्ने ? यस्ता शब्दको प्रयोग त पहिला पहिला गाउँमा कसैको बिहेमा बज्यैहरुले रत्याउलीमा गाउँथे, हामी बच्चा नै भए पनि सुन्न दिइन्नथ्यो । अझै गीतहरु कस्ता कस्ता आछन् भन्नुन–”मोटर साइकिल झ्याऊ ..कार किनेर ल्याउ” अरे । आज मोटरसाइकिल झ्याऊ भयो, भोलि कार पनि झ्याउ होला र हेलिकोप्टर किन्न लगाउलान, पर्सी जहाज किन्दीन भन्लान । साइकिल पनि किन्ने हैसियत नभएका हामी जस्ताले चाहिं के गर्ने नि ? यहाँ त तीजका गीतहरुले धेरै भत्काइदेलान भन्ने जगजगी भयो । त्यस्तै अर्को गीत छ–”मलाई उत्ताउली नभन जमानाले हो” अरे । जनमानाले उनीहरुलई उत्ताउली बनाएको हो कि उनीहरुले नै जमानालाई उत्ताउलो बनाएका हुन् ? त्यो त सबैलाई थाहा छ तर आजभोलि यिनै शब्द टिभि रेडियोमा कान पाक्ने गरी घन्किन्छन् । वास्तविक जीवनमा एकातिर गाउँकी एउटी चेली दिन दाहडै बलात्कार भई न्यायको ढोका ढकढकाउँदै चिच्याएकी छन्, अर्कोतिर शहरकी सम्पन्न चेली गाँठ र आँट भको चाहियो भनेर गीतमार्फत् वरको विज्ञापन गर्छिन् । अनि कसैले वास्ता नगरेपछि “पोइल जान पाम” भनेर भगवान गुहार्छिन तर व्याथा उनको आज पनि पुरानै छ । एकातिर एउटी अबला नारीलाई कालोमोसो दलेर, जुत्ताका माला लगाएर कुटेर पेटमा गानो छ कि छैन पुष्टि नै हुन नसक्नेगरी घायल बनाउँछन्, अर्कोतिर शहरकी चेली “गानो सरे सर्ला” भन्छिन् । २–४ जना सचेत महिलाहरुले आवाज उठाउँछन् । त्यो आवाज सम्बन्धित निकायसम्म पुग्दैन ।
मन्त्री ज्यू महिला चित्कार सुन्नुहुन्न तर गानो सरे सर्ला भन्ने गीत खोजी खोजी मन्त्रानी ज्यूलाई उपहार स्वरुप लगिदिनुहुन्छ । सच्चा मनले उपहार लगिदिएको हो कि, यदि गीतले भने जस्तै मन्त्रानी ज्यू गीतमा उफ्रिंदा गानो सर्ला र विदेश घुम्न जानु पाइएला भन्ने लोभमा हो पत्तै लगाउन गारो ।
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३८ – Aug. 14, 2013 – २०७० श्रावण २९ गते, बुधबार)