~गिरीप्रसाद बुढा मगर~
मुसलधारे वर्षा बोकेर
पश्चिमी मनसुन नेपाल प्रवेश गर्दा
फेरि पनि बाढीपहिरोको सामना गर्दै
नेपाली नागरिकलाई मर्नु पर्यो
हाम्रो प्यारो दार्चुलालाई क्षत्विक्षत् हुनु पर्यो
क्षत्विक्षत् दार्चुलाको सामुन्नेमा उभिएर
महान नागरिकले ज्यान गुमाएको थलोमा आएर
एनजिओको एउटा तप्काले चाउचाउको प्याकेट बाँड्यो
राहत बोकेको हेलिकोप्टर आकाशमा उड्यो
कुहिरोले ढाकेको शोकमग्न बस्तीमा पुगेर
सरकारले आश्वासन चखायो
तर पनि अपुरणीय क्षति भयो यो देशका लागि
त्यसैले हे दार्चुला ¤ तिमी आफूलाई संहाल
अनि दुख्न नदेऊ यो देशको छातीलाई
के थाहा ? राति पुरिएर मरेका नागरिकहरु
साँझ देशको चिन्ता गर्दै सुतेका पो थिए कि ?
अथवा मङ्गल ग्रहमा नेपाली बस्ती बसाउन
महान् सपना पो देख्दै थिए कि
यति बेला दार्चुला तिमीले
आँसुले मुख धुँदै गर्दा
मृतक नागरिकका भोटले लठ्ठिएकाहरु
कुन दुलोमा छन् ? थाहा छैन
महाकालीको प्रकृतिले हृदय चिरेर रुँदै गर्दा
काठमाडौँको बागमती रुन्छ वा रुँदैन ? थाहा छैन
तर पनि अपुरणीय क्षति भयो यो देशका लागि
त्यसैले हे दार्चुला ¤ तिमी आफूलाई संहाल
अनि ढल्न नदेऊ राष्ट्रिय खुशीको खम्बालाई
आज दार्चुलालाई बिपत्ति पर्दा झापा बेखबर हुनु हुन्न
महाकालीमा उच्छलन हुँदा फेवा निदाउनु हुन्न
हे दार्चुला ¤ तिमी शोकलाई शक्तिमा बदल
त्यतातिर तिमीले सुदूर पश्चिमलाई उद्बोधन गर्दै
देउडा भाकाबाट नेपालको समृद्धि गाउँदै गर
यतातिर हामीले मध्य पश्चिमलाई सम्बोधन गर्दै
मयुरपङ्खी नृत्यबाट जनता उठाउँदै गर्नेछौं
हे दार्चुला ¤ तिमी सतिसाल झैँ कदापि नडमगाऊ
हामी सबै मिलेर नेपाली
ओठबाट मुस्कान खोसिनु दिनु हुन्न
किनकि हामीसँग एकताको फलामे डोरी मजबुत पारेर बाटिएको छ
युगौँदेखि हामीसँग
आस्थाको प्रतिक सगरमाथा ठिड्ड उभिएको छ ।
–रुकुम
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३३, – July 03, 2013 – २०७० आषाढ १९ गते, बुधबार)