नियात्रा : क्वालालम्पुरमा वेतिनीको सपना

~जीवनाथ धमला~

दक्षिण पूर्वी एसियाको एउटा सुन्दर सहर क्वालालम्पुरमा झण्डै १८ वर्षपछि पुनः पाइला टेक्ने अवसर मिल्यो । २०६४ साल फागुनको अन्तिम साताका चार दिन म क्वालालम्पुरमा रहेँ । टेलिभिजनसम्बन्धी एक कार्यशालामा सहभागी हुन म त्यहाँ पुगेको थिएँ । प्रसारण विकासका लागि एसियाली संस्था -ब्क्ष्द्यम्)को निमन्त्रणाअनुसार बसाइँ सराई र सांस्कृतिक विविधतासम्बन्धी परामर्श गरिने कार्यशालामा सहभागिताका लागि नेपाल टेलिभिजनद्वारा मलाई मनोनयन गरिएको थियो । त्यसनिम्ति २०६४ फागुन २६ गते काठमाडौँबाट त्यसतर्फ गएको थिएँ । म थाई एयरलाइन्सको विमानबाट बैङ्कक हुँदै क्वालालम्पुर पुगेको थिएँ । बैङ्ककमा थाईकै अर्को विमान चढी रातको १२ बजे क्वालालम्पुर एयरपोर्टको टर्मिनलमा उत्रेपछि क्वालालम्पुरको पछिल्लो यात्रानुभव गर्ने अवसर मैले पाएको हुँ ।

मध्यरातमा एयरपोर्टमा उत्रेर अध्यागमन प्रक्रिया पूरा गरेपछि बाहिर निस्केर होटलसम्म पुग्ने ट्याक्सीको खोजीमा लागेको मात्र के थिएँ, भतिज ऋषि धमलासँग भेट भयो । उनीसँग अघिल्लो दिन मोबाइलमा कुरा त भएको थियो तर उनी एयरपोर्टमै आइपुग्छन् भन्ने निश्चित थिएन । उनी मलाई लिन अर्को एक साथीसहित एयरपोर्टमै आइपुगेका रहेछन् । मलाई औधि खुसी लाग्यो । उनी झण्डै पाँच वर्षदेखि मलेसियामै बसेकाले उनलाई भाषाको समस्या थिएन । मध्यरातको प्रायः खाली सडकमा १२० कि.मि.का दरले हुइँकिएको ट्याक्सीलाई मध्य- क्वालालम्पुरस्थित होटल आकाशमा पुग्न १ घण्टा लाग्यो । होटलको बाहिरपट्ट िबिसाएर १५/२० मिनेट भतिजो र उनको साथीसँग कुरा गरेपछि उनीहरू छुट्टएि । म होटलमा चेकइन गरी कोठातिर उक्लिएँ । कोठामा पुग्दा डेढ बजेको थियो । झ्यालको पर्दा सारेर सहरतिर आँखा फैलाएँ, क्वालालम्पुर रात्रि व्यस्ततामा दौडिरहेको थियो ।

काठमाडौँबाट लगेको केही खाजा त थियो तर भोक नलागेकोले केही खाइँन । दुइटा जहाजमा खाएको खानाको कारण भोकाउने अवस्था थिएन । नुहाएर सुतेँ । बिहान ८ बजे अर्कै होटलमा हुने कार्यशालामा गोष्ठीका लागि तयार हुनुपथ्र्यो ।

भोलिपल्ट होटल रोयल विन्टाङ्गमा पहिलो दिनको कार्यशाला सकिएपछि क्वालालम्पुर सहर घुम्ने विचार गरँे । धीरेन्द्र कोइराला त्यहीँ बसेर अध्ययन गरिहनुभएको छ र बडो सहयोगी हुनुहुन्छ भन्ने कुरा कृष्ण प्रसाईंजीले मलाई बताउनुभएको थियो । मैले धीरेन्द्रजीलाई फोन गरेँ । उहाँ साँढे ६ बजेतिर होटल आकाशमा आइपुग्नुभो । केहीबेरको सामान्य कुराकानीपछि हामी घुम्न निस्कियौँ ।

क्वालालम्पुरको भौतिक विकासबाट म सन् १९९१ मा पहिलोपटक आउँदा पनि परिचित भइसकेको थिएँ । त्यसबेला मैले पहिलोपटक तेस्रो मुलुकको धर्ती टेकेको थिएँ । उमेर, अनुभव आदि कारणले त्यसबेलाको रोमाञ्चकता फरक थियो । बुझाई र हेराइका शैली फरक थिए । यसबेला सन् २००८ मा फेरि त्यसै धर्तीमा टेकेर पैताला र आँखालाई सीप, समृद्धि र सुन्दरता मिसिएका दृश्यहरूमा विचरण गराउँदैछु । केहीबेर हलुका पानी पर्‍यो र रोकियो । हाम्रो घुमाइलाई त्यसले कुनै अवरोध पुर्‍याएन । धीरेन्द्रजी नेपाल सम्झँदै भावी नेपालको समृद्धिका लागि मलेसियाबाट धेरै सिक्न सकिने कुरा सविस्तार गर्दै हिँड्नुभयो । उहाँको विचारलाई थप समर्थन गर्दै रहेँ म पनि । हामी दुवैका मनमा वर्तमान नेपालको भौतिक विपन्नताभित्र जीवनको सपना देखिरहेका अधिकांश नेपालीहरूका कथा थिए । तिनै कथाव्यथालाई साट्दै, क्वालालम्पुरका अट्टालिका, महलहरू, सडक र त्यहाँका मान्छेका आँखाहरूलाई आˆना आँखाले स्पर्श गर्दै हिँडिरहेँ म ।

एउटा राष्ट्रको समृद्धिका लागि मुख्य तीन कुरा सर्वाधिक महìवपूर्ण हुने मैले महसुस गरेँ । ती कुनै नौला कुरा होइनन् । सबैका मनमा लागेकै कुरा हुन् । सक्षम राजनीतिक नेतृत्व, अविचलित प्रतिबद्धता, दृष्टिकोणयुक्त योजनासहितको कार्यान्वयन, यति नै रहेछन् देशलाई सिँगार्न चाहिने मूलभूत कुरा सक्षम नेतृत्वले जनचाहनाअनुसार आफूलाई राष्ट्रनिर्माणमा संलग्न गराउन आवश्यक तयारीका साथ अग्रसर गराउन सक्दछ । उसमा एउटा स्पष्ट मार्गचित्रका साथ विकास अभियानलाई साकार पार्ने प्रतिबद्धता रहन्छ । इमान्दारी र विवेकको प्रयोग गर्न ऊ सक्षम रहन्छ । जनविश्वासलाई कायम राख्न ऊ हर्दम सचेत रहन्छ । लक्ष्यअनुसारको प्रतिफल प्राप्त हुँदै गएपछि जनताले पनि उसलाई विश्वास र भरोसा गर्दै जान्छन् । आवधिक निर्वाचनहरूमा ऊ विजयी बन्दै जान्छ । ऊ लोकपि्रय राष्ट्रनेता बन्दछ । देश माथि पुग्छ । जनता सम्पन्न हुन्छन् । अन्तर्राष्ट्रियस्तरमा उसको लोकपि्रयता उच्च रहन्छ ।

मलेसियामा यस्तै भएको हो भन्न हिच्किचाउनु पर्दैन । सन् १९८० भन्दा पहिले मलेसिया एउटा अल्पविकसित मुलुककै रूपमा परिचित थियो । मलेसियाको कायापलट गर्ने नेतृत्वको उदय सन् असीको दशकमै भयो । महाथीर महम्मदको नेतृत्वमा मलेसियाको सरकार सञ्चालन हुन थालेपछि विकासले फड्को मार्‍यो ।

सन् १९५७ मा बेलायती उपनिवेशबाट मुक्त मलेसियामा सन् १९८१ देखि महाथीर महम्मदले सरकारको नेतृत्व गरेका थिए । उनी एक शिक्षकका छोरा थिए र अध्ययनको समाप्तिपछि स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत थिए । पछि आएर ६० को दशकदेखि नै उनी राजनीतिमा सक्रिय भए । सन् १९८१ मा सत्तामा पुगेपछि उनले राष्ट्रनिर्माणको सपनालाई क्रमशः मूर्तरूप दिँदै गए । आवधिक निर्वाचनहरूमा विजयी हुँदै गए । सन् २००३ सम्म २३ वर्षे लामो उनको नेतृत्वकालमा मलेसिया एसियाकै एक सुन्दरतम् राष्ट्र बन्यो । उनको योजनाबद्ध विकासप्रतिको अटल प्रतिबद्धता, तदनुसारको कार्यशैली, सङ्कल्प, निष्ठा र समर्पणका कारण वर्तमान मलेसिया एक सम्पन्न राष्ट्रको रूपमा विश्वका अगाडि सगौरव उभिएको छ । म त्यसैको राजधानी क्वालालम्पुरका सडकहरूमा बडो उत्सुकताका साथ हिँड्दैछु । धीरेन्द्रजीले भर्खरै सम्पन्न निर्वाचन परिणामसम्बन्धी कुराकानी गर्दै हुनुहुन्छ । हामी किन पछि पर्‍यौँ, हाम्रो देशको नेतृत्वले मलेसियाजस्ता विकसित देशबाट किन शिक्षा लिन सकिरहेको छैन । आदि विषयमा नै हामी कुरा गर्दै होटलबाट हिँडेको दुई घण्टामा विश्वप्रसिद्ध टि्वन टावर -जुम्ल्याहा भवन)को प्राङ्गणमा पुग्यौँ । म नेपालको भौतिक चित्रलाई लुकाएर विश्वकै एक आकर्षणका रूपमा रहेको गगनचुम्बी जुम्ल्याहा भवनको उचाइतिर आँखा उचाल्दै गएँ । त्यसको उच्चता र विशालताको प्रभावले निकैबेरसम्म छाती ढक्क फुलिरहृयो । मौसम त्यसबेला सफा भएकोले असङ्ख्य पर्यटकहरू भवनको वरिपरि फन्का मार्दै रात्रि प्रकाशमा धप्धप् बलिरहेझैँ देखिने त्यस मानवनिर्मित संरचनालाई क्यामराभित्र कैद गरिरहेथे ।

झण्डै मध्यभागमा आकाशेपुलद्वारा एक अर्कोमा जोडिएका जुम्ल्याहा भवनहरूले आधुनिक वास्तुकलाको उत्कर्ष नमुना एवं मानवीय बौद्धिक क्षमताको शीर्ष उदाहरण प्रस्तुत गरिरहेका छन् ।

क्वालालम्पुरस्थित यी जुम्ल्याहा भवनको डिजाइन इन्जिनियर सेसार पेल्लीले गरेका रहेछन् । भवनको उचाइ १४८३ फिट -४५१.९मि.) रहेको छ । दुवै भवन प्रत्येकमा ८८ तला रहेका छन् । गोलाकार शैलीमा निर्मित यस भवनमा मलेसियन राष्ट्रिय पेट्रोलियम कम्पनीको हेडक्वार्टरलगायत अन्य कयौँ व्यापारिक केन्द्रहरू रहेका छन् । पेट्रोनास टि्वन टावर पनि भनिने यस विशाल भवनको निर्माण कार्य सन् १९९८ मा सम्पन्न भएको रहेछ । अमेरिकी जुम्ल्याहा भवन ढलेपछि केही वर्षसम्म विश्वकै सर्वाधिक अग्लो भवनमा दरिएको यो भवन अहिले ताइपेइमा निर्मित ५०८ मिटर अग्लो अर्को भवन पछिको दोस्रो नम्बरमा गणना हुन्छ । स्टिल र कङ्क्रिटद्वारा निर्मित यस भवनको रात्रि सौन्दर्य सधैँ नयाँ र प्रत्येक रातको लागि प्रतीक्षाकै विषय हुनेरहेछ । जति हेरे पनि हेरिरहुँझैँ लाग्ने । हामी भित्र पसेर भवनको फेदीतिरका डिपार्टमेन्टल स्टोरहरू निकैबेर घुम्यौँ । टावरको माथितिर जान समय अनुकूल भएन । त्यसबेला बिहान मात्र माथि चढ्न पाइनेरहेछ । बिहानको समय आफूलाई नमिल्ने भएकोले

त्यसका टुप्पोतिर गएर सहर अवलोकन गर्न भने पाइएन । छ/सात तलासम्मका पसलहरू घुमेर ओर्लेपछि हामी पछाडितिरको रमणीय पार्कतिर लाग्यौँ । पार्कमा कलात्मक हिसाबले निर्मित पोखरीहरूबाट विद्युतीय संयन्त्र जडान गरी निकालिएका असङ्ख्य फोहराहरू प्रकाशका धाराझैँ अटुट खसिरहेको दृश्यले सीमातीत आनन्द दिनेरहेछ । ती प्रकाशमय फोहराहरूको पृष्ठभागमा गगनचुम्बी भवनभित्र बलिरहेका बत्तीहरूको प्रतिबिम्बले पोखरीलाई झन् सुन्दर पारिरहेथे । पार्कका विश्रामस्थलहरूमा ठाउँ सर्दै हामी भवनको दाहिनेतिरबाट पुनः अग्रभागतिर आयौँ र एकपटक फेरि भित्र पसेर भुइँतलाहरूको अवलोकन गर्‍यौँ । भवनबाट बाहिरिँदा रातको झण्डै साँढे १० बजेको थियो । त्यहाँबाट होटलतिर फर्किंदा हामी अर्कैतिरबाट आयौँ । साँढे ११ बजेतिर धीरेन्द्रजीसँग छुट्टएिर म कोठातिर लागेँ । क्वालालम्पुर पुग्नु अगाडिसम्मको त्यस सहरबारेको मेरो खालीखाली मन यसबेला भरिएको महसुस गर्दै १२ बजेतिर वेडस्वीच बन्द गरेँ । नेपाली हुनुको गौरवले भरिएको छातीमा मलेसिया र नेपालका दृश्यबिम्बहरू आउँदै-जाँदै गरिरहे । केही छिनको विदेश र समृद्ध भूमिको स्पर्शले आफूले खेलेको गोरेटोको धूलोलाई कहाँ बिर्साउँदोरहेछ र Û मैले आˆनै पहाड ओखलढुङ्गाको वेतिनीको सपना देखेँछु ।

-ओखलढुङ्गा

(स्रोत : मधुपर्क २०६६ बैशाख)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.