~कालूसिंह रनपहेंली~
यसपल्ट म जङ्गल पसें- आधा मगज भएर होइन यसो रे रहेछ जङ्गलतिर भनेर बुझ्नु, जान्नुलाई। लाटपञ्चर मुनिको त्यो गुफाटारतिर गएँ। उहिले यो गुफाटार थियो जङ्गल अनकण्टर। अहिले गुफाटार गोइन गफाटार भएको रहेछ। अहिले यहाँ कोही गुफा बस्दैन, मान्छेहरू बसेर गफ गर्दा रहेछन्। मान्छेहरूले यसका हरिया अङ्गवस्त्रहरू च्यातिदिएछन्। जङ्गल नरहेर अब यो उजाड़ पारिने जङ्गको स्थल भएको रहेछ।
मलाई अझ तर गरगरे पाखातिर झर्ने मन भयो। झरें म जेठको बादलबाट पानी झरेजस्तो तलतिर। अलिक तल के पुगेको थिएँ एउटा विचित्रको दृष्य देखें। अरे! यो के? एउटा मरेको बिरालो काखी च्यापलाजस्तो र झीनो सिंह एउटा जालको छेउमा बसिरहेको छ। जालभित्रचाहिँ एउटा मोटो मुसो बन्दी भएको छ। मैले उहिले उल्टा पढ़ेको थिएँ कि क्या हो? मैले उल्टै कथा लेखेर पनि पास मार्क ल्याएको थिएँ कि क्या हो? सरले मैले लेखेको उत्तर फीटले नापेर अंक दिए कि कसो? म छक्क परेको देखेर सिंह पनि छक्क पऱ्यो। हामी दुवै छक्क परापर भएको देखेर मुसाले पनि आफू जालमा छु भन्ने कुरा बिर्सेर हामीतिर ट्वाल्ल परेर हेर्न लाग्यो। मैले सिंहलाई सोधें, “जङ्गलमा म यो के देख्दैछु? दुष्यान्तले शकुन्तला नचिनेकोजस्तो यो कस्तो अन्योलको दृश्य देख्दैछु? कसरी कथा उल्टो पऱ्यो? कसरी मुसा जालमा छिर्यो?”
सिंह हाँस्यो यतिखेर। त्यसको नमोलेको दाँतबाट दुर्गन्ध आयो। मैले भने, “किन दाँत नमोलेको? कति पहेंलो दाँत? सिंहको त रगतसरि रातो दाँत हुनुपर्ने! कस्तो जण्डिस लागेजस्तो दाँत हँ तिम्रो? ” सिंहले पाकेको लप्सी रङ्गको दाँत देखाएर भन्यो, “अन्त तिमीहरू मान्छेले नै हाम्रो नीम पत्तीका रूखहरू मासिदिएपछि हामीले केले दाँत माझ्नु? तिमीहरू नै उत्तरदायी छौ मेरो दाँत पहेंलो हुनुमा। बेसी खिसी नगर है…. मान्छे!”
सिंह रिस कड़ा हुन्छ र मैले सम्बोधन तिमीबाट तपाईंतिर बढ़ाउँदै कुरा बङ्ग्याएँ, “अन्त महाराज सञ्चै हुनुहुन्छ? हजूरको राजपाट चाहिँ कता गयो? कि जङ्गलमा पनि प्रजाततन्त्र आयो? मूसालाई पो रूँगिरहनु भएको छ त हजुरले? महाराज के भयो यो? कि इंग्ल्याण्डमा जस्तो हजूर पनि नामको लागि मात्रै राजा हुनुहुन्छ? ”
“म राजाको राजै छु। अरूले कति नै कोशिष गरे पनि मलाई पल्टाउन सक्ने होइन!” मैले भनिहालें, “अन्त जाबो मुसालाई यहाँ जालमा बन्द गरेर हजूर किन रूँगिरहनु भएको छ त?” सिंहले भन्यो, “हे मान्छे! हिजो आज जमाना छैन सिंह पासोमा पर्ने। तिमी मान्छे नै त हौ नियम बनाउने। तिमीहरूले वन्य प्राणी मार्न नहुने नियम त बनाएकै छौ नी! यसर्थ सिंहलाई कसैले माऱ्यो भने उसलाई पनि कानूनले मारिहाल्छ। सिंह माऱ्यौ भने नी यो मुसाजस्तै जेलभित्र पस्नुपर्नेछ। सिंहहरू आजकल यसकारण पासोमा पर्दैनन्। मान्छेले तर यो अनिकाल लगाउने मुसाहरूमाथि चाहिँ रोक लगाएको छैन। त्यसलाई मार्दा भने कानून लाग्दैन। यो कानून पनि माइत घरमा लाड़प्यारमा हुर्किएर आएकी नव दुलहीको तिहुनको नूनजस्तै छ- कतै लाग्छ चर्को कतै अलिनो। जे होस् हाम्रो चाहिँ सुरक्षा छ बुझ्यौ? मुसा मार्ने विष दवाई दोकानमा जताततै बेचिन्छ। सिंह मार्ने विष कतै बेचिन्छ? यो उपद्रे मुसाले अघि मेरो मीठो नींद भङ्ग गरिदिएको र मेरो याल काटिदिएको रिस मनमा आलै छ। यसकारण यो मोरा कतै भागिहाल्छ कि भनेर म यो जालको छेउमा बसेर रखवाली गर्दैछु। कतै यो अनिकाले मुसो नभागोस्।”
मलाई मुसाको माया लाग्यो। अब पासो थाप्ने मान्छे आएपछि शिकार पर्ला भनेको त जालमा यो लोधरे मुसा किन परिस् भनेर मार्ने नै हो। मलाई मुसालाई छोड़िदेऊ भन्नु मन लाग्यो। तर कसरी मुसापट्टि लाग्नु र ज्यान जोखिममा पार्नु? लागेपछि ठूलो ढुङ्गाको छेल लाग्नुपर्छ, लागेपछि ठूले नेताको पछि लाग्नुपर्छ। म पनि सिंहपट्टि नै लागेर भने, “यो मुसाले उहिले ब्वाँसोको पानी पनि जुठो पारेको हो।”
मेरो तेल लगाई बुझेपछि सिंहले भन्यो, “बेसी कुरा नगरन। त्यो त ब्वाँसोको पानी मैला पार्ने पाठोको कथा पो त! दोस्रो कक्षाको पाठ भुलें ठान्छौ? तिमी बेसी तेल मालिस नगरन!”
म अलिक रातो भएँ। फेरि भनें, “तर मलाई मुसा मनै पर्दैन। यसले प्लेग फैलाउँछ, अन्न बाली तुर्छ, घरमा खाड़ल खन्छ, भान्सा मानौं यसैले तलब थापेर किनिल्याएको अऩ्नजस्तो गरेर खान्छ। यो मुसाको वर्वाद होस! यसको सखाप होस्! यसलाई मान्छेले कुटिकुटि मारोस्। आजकल जति छन् गाड़ीहरू। गणेशजीले जेन, मारुती, बोलेरो, स्पेसियो, अल्टो, आरमाडोरतिरै चढ़ुन, तर यो मुसालाई मान्छेले मारोस्् नै मारोस्।”
सिंह किच्च हाँस्यो। मेरा आँखाले त्यसका पहेंला दाँतहरू फेरि देख्यो। मैले नदेखेको जस्तो गरें। सिंहले भन्यो, “ए मान्छे तिमी झट्ट गएर यो पासो थाप्ने मान्छे लिएर आऊ। म यहीं पर्खिबस्छु। यो मुसाको धुजा नकाड़ी भयो र आज?”
मौका पाइहालें सिंहबाट फुत्कने। “ल म झट्टै लिएर आउँछु है महाराज !” भनेर हिंसबाट फुत्केर उँभो दगुरें। ममाथि आएर भने, “यत्राको त्यो मान्छे खोजेर पठाउँछु म! लागिरहेको छ पुच्छर! सिंह मोरा अब मुसालाई नै रुँगिबस है! म चाहिँ लागें घरति।”
घरमा आएर म सिरक ओढ़ेर सुतें। कसैले सोध्न आए म घरमा छैन भन्नु भनेको छु घर परिवारलाई। तपाईं पनि मलाई भेट्न नाआउनुहोस् है ! म घरमा छैन।।
(स्रोत : टिस्टारङ्गीत डट कम)