कविता : मसित मेरो रात छैन…

~बसन्त चौधरी~

एउटा रात मसित छ
घरी-घरी पग्लिन्छ
हेर्दछु,
रात
बादलको उँचाईमा पुगेर सग्लिन्छ
तर अँध्यारो छरिएकै छ चारैतिर

एउटा मेरो रात छ
त्यो पनि चुलिन्छ, अग्लिञ्छ
तर, मेरो रात
मेरो साथ हुन्दैन

रात,
आकाश बनिसक्यो
मसित त केवल
रातको उपहार छ
अन्धकार छ

मेरो रात
मसित भएको भए
त्यसको एकान्तमा
म कविता रच्न सक्थेँ
भोलिको,
सूर्योदय पर्खिन सक्थेँ
जति भत्किए पनि
आगतको आशामा
समेटिन सक्थेँ

आफूभरि,
आफ्नो जीवन भरी
रातका साथै
मानिसको,
दुख सम्झिन सक्थेँ
मन बुझ्न सक्थेँ
रातलाई
अँगालोमा लिएर
भोलि बिउँझिनलाई,
सुमसुम्याउन सक्थेँ

यसरी मेरो रात
सृजनाको प्रतीक बन्न सक्थ्यो
एकान्तको प्रतीक बन्न सक्थ्यो

आज सम्म
रातलाई,
कुरूपताको बिम्ब भन्नेहरूलाई
उसको सौन्दर्य
देखाउन सक्थेँ
आजको रात
भोलिको सूर्योदय हो भनी
चिनाउन सक्थेँ

तर अपसोस,
मेरो रात
मसित छैन
धेरै उँचाईमा छ
बादल र आकाशको,
गहिराइमा छ

त्यसैले मेरो रात
छाना पनि बन्न सकेन
सग्लिएर,
त्यसले आफ्नोपन हरायो
रात,
रात पनि बन्न सकेन

दिन पर्खिनु पर्ने म
रात पर्खि बसेको छु
शितलता खोज्नु पर्ने म
मध्यान्य चर्किरहेछु
भित्र भित्रै अस्तित्व भरी
अनन्त थर्किरहेछु

अब यहाँ
न कविता छ
न रात छ
न एकान्त छ
न साथ छ
विजेता बन्न चाहेको हार छ
रातले छाडेर गएको,
अन्धकार छ
केवल अन्धकार छ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.