कविता : पुरानो नेपालमा

~भोगेन एक्ले~

पुरानो नेपालमा
रुनुपर्नेहरु खित्का छाडिरहेका छन्
हाँस्नु पर्नेहरु सुक्सुकाइरहेका छन्
सुन्नु पर्नेहरु बेफवाक बक्बकाइरहेका छन्
बोल्नु पर्नेहरु चुपचाप सुनिरहेका छन्

पुरानो नेपालमा
हलो र कोदालोले अड्काएका बाहेक
सिन्दुरे र दर्पनेको दाम्लाले बाँधेका बाहेक
कतै बहानामा त कतै तीब्र चाहनामा
मसी पोत्नेेदेखि लिएर थुतुनो जोत्नेसम्म
ताते गरेको आगन बनाएर पर्देश
गाउँ सहरतिर भासिएको छ
हाल ठेगाना साटिएको छ
उदाहरण कत्तिको मात्र लिउँ !
मध्येका एकाथरि
किताबका पानाहरु पल्ट्याउँदा
कलमका हरेक हस्ताक्षरहरु
विगत गाउँ देखिन्छ
हाल सहर भेटिन्छ
भू-मण्डली करणको नाराभित्र
साम्राज्यवादको अमिलो गन्ध सुघ्नेहरु
पहिचानको लागि आफ्नो भन्ने एउटा छानु र
नामको अगाडि गाउँ लेख्न खोज्नेहरुकै विरुद्घमा
पछाडिबाट चोर औंला ठड्याउँदै छन्
आधुनिकतामा मधुरो देखेर अनुहार
उत्तरआधुनिक दर्पण हर्ेर्नेहरु
केन्द्र भङ्गको पक्षमा उभाएर विचार
खुद केन्द्रभित्र आफूलाई खौज्दैछन्

पुरानो नेपालमा
त्यहीं मध्येका एक अर्काथरि
मेरै र मै जस्तोको भोट ओढेर
काठमाण्डौं टेकेका बामप्रशादहरु
बाहुलीबाट शिलान्यास सकेर बेपत्ता
माननीय मन्त्रीज्यू उहीं गुप्तबहादुरहरु
चप्पलबाट बुटमा साटिएका छन्
झुस्स दाह्री गनाउने नियाउरा अनुहारहरु
सपाट चम्किला अनुहारहरुमा ठाँटिएका छन्

अझ अर्को बेग्लै नितान्त बेग्लै
पाटीमा बाह्रखरी छिचोलेर
छडीवाल जुङ्गे गुरुको गौरव बन्दै
उहिलेका पाठशालामा उत्तम ठहरिएकाहरु
कालो, निलो, रातो मसी चलाउँदै
उतार्दै कागजमा काईते बेहोरा
माड्साप कहलिएर आज
ज्युनार लिँदै जनताका रसद पानीे
भरेर दमाहा भुँडी पल्टाउँदै
राजधानीको बङगलाभित्र
सुकुला गरिस्याछन् आनन्दका निद

पुरानो नेपालमा
सयौं छन् यस्ता बिसंगतिहरु
उज्यालाभित्रका अँध्याराहरु
उमारिएकाछन् फुटहरु साउने मूल उम्रिए जस्तो
टोलटोलमा, घरघरमा
माथ्लो घरेको करेसोबाट
तल्लो घरेको सिकुवाबाट
अझ मूलघरेको त घर भित्रैबाट
ओल्लोघरे, पल्लोघरे कुनैघरे अछुतो छैन
सुक्नु पर्छ यो सब अब
लाग्नु पर्छ हिउँद सबैघरेको ताख्लोहरुमा
ओभाउँनु पर्छ छातीका चिसा करेसाहरु
घने भेट्दा धनेलाई पर्ने कुर्साईत
छोइन्ने कुवाको पानी
विटुलिन्ने मन्दिरको धोती
छुट्टै राखिने सिल्बरे थालहरु
जबरजस्ती उमारेर हिजो
आफ्नो हैकमको उर्दी रुजु गराउन
तीनतले घरका टुप्पीवालहरुले
टम्म भरेर राखेको कुसंस्कार
मात्र अक्षरहरुबाट होइन
खोसेर व्यवहारबाटै
घोप्ट्याउँनु पर्छ अब गाम्राङ गुम्रुङ
बेत्ताले भिरबाट
र सेलाउनु पर्छ दुधकोशीमा

पुरानो नेपालमा
बिगबिगी छ आज भारत महानको
डिजलमा मट्टतिेल मिसाउँनेदेखि
सेतो बनाउन कालो भारु घुसाउनेको
उँधोको माग पुर्ति गर्न उभोको दिलमाया ओसार्नेको
चक्चकी बढेको छ संधीयारको निक्कै
उखेलिएर जँगे पिलर रातारात उत्तरतिर सर्दो छ
उठ्दो छ बाँधको नाममा बिनासको कालो पर्खाल
बर्षौ पिछे रामबिलासको छाप्रो डुब्दो छ
च्यापेर बेस्सरी खुम्चाइदिएर पहाडहरुमा
सिक्किमलाई झै विकसित बनाउन खोज्दो छ
धेरै काली निलेर सिंगै निल्ने कसरी सोंच्दो छ

धर्तीको अर्को कुनाको अर्को औतार
पासाको सतरञ्ज फिजाएर यहाँबाट
खेल्न खोज्छ जुवा माओका भतिजाहरुसंग
गान्धिको ढाड सेक्ने लौरो लुकाएर यहाँ
ग्लोवल भिलेजको नमुना बनाउन उद्घत्त छ

त्यसैले अब यो पुरानो नेपालमा
नया नेपालको बीज र्छर्ने हो भने
माखे साङ्लोबाट फुत्कने हो भने
“यी सब खोटो मोहोर चल्नु हुँदैन
सांढेहरुले जौ बारी चर्नु हुँदैन
अघाउँदा टन्न अल्सेहरु
परिश्रमी भोकले मर्नु हँुदैन
जोतेर हलोहरुमा तातो पसिना
चिसो ढुकुटी भर्नु हुदैन
एक दुईको हाँसोकोखातिर
हजारको खुसी हर्नु हुँदैन”

पुरानो नेपालमा
बरण्डाले मात्र होइन अब
छिडीले घाम ताप्नु पाउनु पर्छ
मुखहरुले मात्र होइन अब
हातहरुले भात खान पाउनु पर्छ
अर्काको लागि खिइएका नङहरुले
आफ्नो लागि पाखुरी बजाउन पाउनु पर्छ
बिर्ता होइन कसैको यो देश
धनीपुर्जाको औंठाछाप मेटिनु पर्छ
सयौं थरी फूलका बारीमा अब
मालीको नाम खुल्नु पर्छ
टाढा छैन नयाँ नेपाल दशै कदम अगाडि हो
तर भेटाउन पाईला चाल्नै पर्छ
सहरको सडक नाप्ने पाईतालाहरु
गाउँको गोरेटोतिर मोडिनु पर्छ
छेकिएका छन् पुग्ने बाटाहरु
झाडी निश्चय फाडिनु पर्छ
टालेर हुन्न भित्ता अब
नयाँ लिउन हान्नै पर्छ
लेख्नलाई नयाँ नेपाल
पुरानो नाउँ मेट्नै पर्छ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.