~प्रकाश सुनुवार ‘निराकार’~
तिमीले हामीलाई
धुलोमुलो सम्झियौ
त्यहि धुलोभित्र
तिमीले हामीलाई लाधेका पिडाहरुको पहाड चुलिएको थियो
तिमी र तिम्रा सन्ततीहरुबाट पालैपालो
बलात्कृत हुँदाको चित्कारहरु निस्सासिएका थिए
तिम्रा बैदार डिट्ठाहरुले
इमान्दारिताको छातीमा घुमाएका
काइते कलमका सियाईले दलेका
कहिल्यै नमेटिने ऋणको त्रास गुम्सिएको थियो
अन्ततः थामिनसक्नु भएर धुलोहरु बल्यो
ठुलो हुरी बतास ल्यायो
धुलोहरु एकतृत भएर उडे र उठे
तिमी र तिम्रा आकृतिहरु
उडिरहेका धुलो भित्र अदृष्य हुन पुगेउ
तिमी आफैले तिम्रा आकृतिहरुलाई
प्रष्टसंग देख्न सकिरहेका थिएनौं
हुरीले तिम्रा थुप्रै आकृतिहरुलाई ढाले
तिनै आकृतिहरुसंगै
हामीलाई हेर्ने तिम्रा प्रबृत्तिहरु पनि ढले ।
तिमी अहिले
धुलोले आधा पुरिएका छौ
तिमी निस्सासिएका छौ
तिम्रा अलिकति बचेखुचेका आकृतिहरु
हामीलाई अझै पनि कोपर्न खोजिरहेका छन्
होस गर–
फेरि अर्को हुरी चल्दैछ
त्यतिखेर
हामी तिमीलाई निलिदिनेछौं
तिमी धुलोको सागरमा बिलिन हुनेछौ
तिमी आकारबिहिन हुनेछौ
तिमी अस्तित्वबिहिन हुनेछौ ।
फेरि पनि,
धुलो नउडी भा’को छैन
कस्सेर एउटा अर्को हुरीबतास नचलिभा’को छैन
किनकि
अझै पनि
तिमीले धुलो सम्झिएकाहरुलाई
केवल धुलो मात्र देखिरहेका छौ
धुलोहरुको ताकत अझै बुझ्न सकेका छैनौ ।
(३ जुन २०१४, फार्नबोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)