पूर्वोत्तर भारतकी नेपालीभाषी महिला हस्ताक्षर
नेपालबाहिर सबैभन्दा धेरै नेपाली साहित्य विकसित भएको भूमि भारतनै हो। दार्जीलिङबाहेक असम, मणिपुरतिर पनि नेपाली साहित्यका कामहरू भइरहेका छन्। यसमा दार्जीलिङले सबैभन्दा अगाड़ि बढ़ेर काम गरेको छ भन्दा अत्युक्ति नहोला। असमले पनि नेपाली साहित्यमा ठूलो योगदान दिएको छ। नेपाली साहित्यको निम्ति असमेली भूमि पनि धेरै उर्वर देखिएको छ। यहाँबाट नेपाली सङ्गीत जगतका महान हस्ती अनि साहित्यका कहिल्यै नअस्ताउने नक्षत्रहरू जन्मिएका छन्। यसैले नेपाली साहित्यको चर्चा उठेको बेला पूर्वोत्तर राज्यहरूको प्रसङ्ग जोड्न अपरिहार्य बन्दछ। आजको यस्तै प्रसङ्गमा असमको भूमिमा रहेर भारतीय नेपाली साहित्यमा योगदान पुर्याउँदै आइरहेकी नारी हस्ताक्षरको बारेमा चर्चा गर्ने जमर्को गरिएको छ।
पूर्वोत्तर भारतले जन्माएको नेपाली साहित्यका नारी हस्ताक्षरहरूमा आशारानी राई, मैना थापा, गीता उपाध्यायहरूको नामसितै डा. शान्ति थापाको नाम पनि जोड़िन आउँछ। सन् 1961, जनवरी 9 तारिको दिन माता श्रीमती यशोदा देवी र पिता स्वर्गीय कालु थापाको कोखमा जन्मेकी थापाले हिन्दी साहित्यमा स्नातकोत्तर गरेपछि अज्ञेयको उपन्यासमा नारीहरूको जीवनको बदलिँदो मूल्यमाथि विद्यावारिधि वा पीएचडी गरेकी छन्। हिन्दी भाषामा अध्ययन गरे पनि उनमा नेपाली भाषाको राम्रो ज्ञान छ। वर्तमानमा गुवाहटीको एक महाविद्यालयमा अध्यापनको पेशामा कार्यरत् डा. थापाले गुवाहटीबाट संस्थापक सम्पादक अनुराग प्रधानद्वारा प्रारम्भ गरिएको ‘हाम्रो ध्वनि’ नेपाली राष्ट्रिय पत्रिकाको सम्पादन गरेर उनले यो कुरा प्रमाणित गरेकी छन्। उनले सन् 1997 मा असमेली नेपाली कवितामा केही गीत प्रकाशित गरिन्, सन् 1997 मा नामघरे – असमीया उपन्यासलाई नेपालीमा अनुवाद गरिन् (यो अनुवाद नेपाली साहित्य प्रचार समिति, सिलगढीबाट प्रकाशित गरिएको छ)। ‘अस्तराग’ -लाई पनि उनले असमीयाबाट नेपालीमा ‘गीत गति संग्रह’ अनुदित गरी सन् 2004 मा अनुराग प्रकाशन, गुवाहटीबाट प्रकाशित गरिन्। उनको ‘आवर्त्तन’ कथा संग्रह 2004 मा तथा ‘मोहनी डट् कम’ (उपन्यास-2009 मा) अनुराग प्रकाशन्, गुवाहटीबाट प्रकाशित भएका छन्। यीबाहके उनका लेख तथा रचनादि धेरै पत्र-पत्रिकातिर निस्किने गरेको छ।
उनले वर्ष 2002 मा साहित्य अकादमी, नयाँ दिल्लीबाट अनुवाद साहित्यमा अकादमी पुरस्कार, समालोचनाका लागि सन् 1999 मा सञ्जयनारायण स्मृति स्वर्ण पदक, आवर्त्तन कथा संग्रहका निम्ति सन् 2004 मा टंकना उपाध्याय पुरस्कार(नेसाप), लगायत गुञ्जन प्रतिभा पुरस्कार (काठमाडौं) आदि पुरस्कार तथा सम्मान प्राप्त गरेकी छन्।
उनको ‘माया’ गीत संग्रहमा 100 वटा गीतहरू छ। यसमा असमेली भाकाहरूलाई अधिक संगेटिएको पाइन्छ। यसरीनै आवर्तनमा धेरैवटा कथाहरू छन् जसमा असमेली नेपाली जनजीवन छर्लङ्ग झल्किन्छ। असमेली नेपाली बोली (केटाकेटीलाई केट्केटी, जाऊँ वा जाऔं लाई जाम्, खाऊँ वा खाऔंलाई खाम् आदि)-लाई यसमा उतारिएको छ। कथा, कविता, गीति क्षेत्रबाहेक पनि अन्य विविध क्षेत्रमा उनको कलम चलेको छ, चल्दैछ। असमेली माटोमै उब्जिएको मौलिक उपन्यास हो ‘मोहनी डट् कम’। असमको जनजीवनले भोगेका तीता-मीठा सबै कुरा उपन्यासमा झलझली देखिन्छ। भाषिक अलन्तरको स्थिति भने नेपाल, दार्जीलिङ, सिक्किम, असम, मणिपुरसम्मलाई लिएर साहित्यिक समन्वय नगरे यत्तिकै रहनेछ र समाधानको कुनै मार्ग निस्किँदैन भन्ने कुरा स्पष्ट छ, जुनसुकै स्थानबाट नेपाली साहित्य सिर्जनाको कुरा किन नहोस्। तर असम र दार्जीलिङ-सिक्किमको भूभागलाई नेपाली साहित्य सिर्जनाको क्षेत्रमा राखेर तर्जुमा गर्नु हो भने असमजस्तो क्षेत्रमा रहेर उनले जुन कार्य गरिन्, जति योगदान नेपाली साहित्यलाई दिइन् र दिँदैछिन्, त्यसलाई नगण्य तथा तुच्छ कदापि ठान्न सकिँदैन। दार्जीलिङ-सिक्किम नेपाली साहित्य सिर्जनाको निम्ति उत्तिको उर्वरशील छ, सुविधाहरूले सम्पन्न छ, क्षेत्रसम्पन्न छ, त्यति असममा छैन। जति डा. शान्ति थापाले गरेकी छन्, त्यति गर्नलाई निक्कै ठूलो संघर्ष गर्नुपर्छ। अहिले पनि असम, मणिपुर अथवा पूर्वोत्तर राज्यहरूबाट नेपाली साहित्य विकासको दिशामा गति प्रदान गर्न जेजति कार्यहरू हुँदैछन्, ती सबैको मूल्याङ्कन हुन अत्यावश्यक छ।
असम.