छन्द कविता : बीपी : एक शब्दचित्र

~कृष्णप्रसाद भण्डारी~

नेपाली गरिमा बढाई बीपीले साहित्यमा चिन्तन
राखे विश्वभरि नवीन युगको राष्ट्रियता कीर्तन ।
स्रष्टा हुन् पथका प्रभाती रवि हुन् ‘हिट्लर यहूदी’ कथा
‘मोदिआइन’ ‘सुम्निमा’ रचयिता हुन् फ्रायडीयी व्यथा ।।

राणाशासनको विरुद्ध जसले हङ्कुार गर्थ्यो ठुलो
नेता मात्र नभै समस्त जनको विश्वास लिन्थ्यो भलो ।
आफ्ना बान्धवको भलाइ नहुँदा चिन्ता सधैँ गर्दथ्यो
आफ्नो देह सुकोस् तथापि अरुको सेवा ठुलो मान्दथ्यो ।।

राजा राष्ट्र प्रजा सदैव उसको आशा लिई बस्तथे
हाम्रो देश भनी विकास गतिमा आनन्दमा मस्त थे ।
सच्चा नायक भै विशाल मनका राष्ट्रियता भावना
शिक्षा स्वास्थ्य कृषि प्रधान जसको मौलिक थे कामना ।।

यौटै व्यक्ति थिए प्रभाव यिनको चौतर्फी फैलिगयो
ठूला मानिसका प्रशस्त गुणले कीर्ति उज्यालो भयो ।
राजाको नीतिमा प्रकाण्ड गनिए साहित्य मौलाउँथ्यो
आफ्नो त्यो प्रतिभा दुवै सतहमा विश्वास फैलाउँथ्यो ।।

गाई एक हवोस् जमीन पनि होस् भन्थे सबैको उनी
पाउन् खान र लाउनै सबजना दुःखी नहुन् क्वै पनि ।
गाठेालासित त्यो दशा बुझी सधैँ लिएर माटो धुलो
सोध्ने काम उनी प्रजासित गरी लिन्थे विवेकै ठुलो ।।

बाक्लो सार्थक यत्नले फलिगयो लौ लोकतन्त्रै यहाँ
राजामा उनको विचार नमिली निर्वासनै भो त्यहाँ ।
थुनामा रचना भएछ बहुधा यो ‘तीन घुम्ती’ पर
नीति मले मिलापको लिर्इ उनी फर्के परुानो घर ।।

‘चस्मा दोषी’ भयो नदेखी प्रभुको स्वस्ति हरायो कता
देखे वाङ्मय यौनका विषयमा लेखे सुनौला कथा ।
घाँटीमा अति नै पीडा थपिदियो जो मृत्युको कारक
ज्योति अस्त भयो, रह्यो कृति सबै नेपालीका तारक ।।

(धरान, सुनसरी)

(स्रोत : मधुपर्क २०७१ भदौ – वीपी विशेष)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.