व्यङ्ग्य कविता : एक बोकाको अन्तिमपत्र

~लक्ष्मण नेवटिया~

मानवबस्तीहरूमा जब ढोल बजाउने,
बन्दै गएको छ माहोल,
गरेर हाम्रो तोल ,मोल गरिनेवाला छ कबोल,
अब त वेदनाले कुँजिएको हाम्रो उमेरको
एकएक पल सकिन्दैछ।
जीवनदीप निभाउने उल्टो गन्ती गनिन्दैछ।|
बोकालाई हान्न कतै छैन रोका- मात्र चाहियो मौका।
विश्वभरी एउटै ताल, उनको उत्सव हाम्रो काल,
हान्नुस एक चोटमा वा गर्नुस हलाल,
कसैको साथ नपाएर, हाल छ बेहाल।

लेख्दैछु यो जीवनको अन्तिमपत्र धर्माधर्मी,
हरे कोही भेटिएन कतै ” बोका अधिकारकर्मी “।
किन हाम्रो बाँच्ने अधिकार खण्डित छ ?
मनमा यही छट्पटी छ ,
शान्तिको देशमा हाम्रो मनको शान्ति संकुचित छ।
न कुनै समाचार फत्फताइने छ,
न कतै कुनै नारा घनकाइनेछ,
न कतै भाषण भट्भटाइनेछ।
बिना कुनै अपराध मृत्युदण्ड सुनाइनेछ,
एकैछिनमा सिध्याइनेछ।

झन हामीलाई जीवनमुक्त पार्दा ,
ताली बजाइनेछ ,खुसियाली मनाइनेछ।
अधिकारवादीहरूले पनि हामी बोकालाई,
मुटुबाट होइन मासुबाट माया गर्ने भएर,
कतै छैन कसैको बाधा विरोध ,
हाम्रो लागि जताततै छ संवेदनाशून्यताबोध।

ऐ मेरा बाल्यकालका बोका साथी,
यस मानिसहरूको बपौती भएकोबस्तीमा,
आउ अब छुट्टिने बेला,
एउटा फोटो त खिचाऔं- अन्तिमसम्झनाको,
एक अर्काको न्यानो अंगालोमा
आँखा चिम्लेर – नि:शब्द भएर।

-लक्ष्मण नेवटिया, बिराटनगर-१२

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.