लेख : समकालीन कविताका १० स्वर

~हरि अधिकारी~

नेपाली साहित्यको काव्य परम्परामा मुख्यत: क्रान्ति योद्धा कवि गोपालप्रसाद रिमालले सुरु गरेको मुक्त छन्द प्रयोगधर्मी आधुनिक कविता लेखनले लगभग सात दशक लामो रचनात्मक यात्रा पूरा गरेको छ । गोपालप्रसाद रिमाल, भवानी भिक्षु, महाकवि देवकोटा, सिद्धिचरण श्रेष्ठ आदि स्रष्टाका कालजयी रचनाहरूका माध्यमबाट सुरुमा नै अत्यन्त प्रान्जल छटा छर्दै आएको त्यो काव्यिक धार नै आज आएर आधुनिक नेपाली कविताको मूलधार बन्न पुगेको छ भन्दा अर्घेलो हुनेछैन ।

समय र त्यसको चेतनाको प्रवाह सँगसँगै नेपाली कविताले पनि कथ्य, शिल्प, संरचना, भाषा र विम्बगत प्रयोगका हिसाबले आफूलाई निरन्तर परिवर्तनशील बनाउँदै लगेको छ । आधुनिक नेपाली कविताको आरम्भबिन्दु पछिका प्रत्येक कालखण्डका कविहरूले त्यही परिवर्तनशीलतालाई आत्मसात् गर्दै आफ्ना कविताहरूमा त्यति बेलाको समय, समाज र मानिसहरूको बाह्यान्तरिक स्वरूप, चरित्र, भाव र मनोग्रन्थीलाई सूक्ष्म अन्तर्दृष्टिसहित पर्गेलेका छन् र आफूले भोगेको समयको लालित्यपूर्ण काव्यात्मक अभिलेखन गरेका छन् ।

दुई हजार सत्र सालको राजनीतिक दुर्घटनाभन्दा अगाडि कथ्य र भावाभिव्यक्तिको स्वच्छन्द, उन्मुक्त र लालित्यपूर्ण प्रस्तुतिका लागि प्रशंसित रहँदै आएको नेपाली कविता त्यसपछि निरंकुश राजतन्त्रले खडा गरेको शासकीय बन्धनले गर्दा तिमिराच्छन्न बनेको परिस्थितिमा लामो समयसम्म क्लिष्ट विम्बविधान, अबोधगम्य भाषाशैली र अभिव्यक्तिको कूट भंगिमा अपनाउन बाध्य भयो । तर, निरंकुश शासन व्यवस्थाले लागू गरेको कडा सेन्सरसिपका कारण उन्मुक्त अभिव्यक्तिमाथि अंकुश लागेको त्यस प्रतिकूल परिस्थितिमा पनि कविवर मोहन कोइरालाले नेतृत्व गरेको प्रतिभाशाली स्रष्टाहरूको समूहले यस्तो उच्च कोटीको काव्य कौशलका साथ सृजन-कर्मलाई अघि बढाएर लग्यो, नेपाली कविताको विकासक्रममा त्यो कडा सेन्सरसिप पनि एक प्रकारले वरदान नै साबित भयो भन्न सकिन्छ ।

उन्मुक्त सिर्जनकर्मका दृष्टिले निकै नै अप्ठ्यारो मानिएको त्यो समय नै अहिले फर्केर हेर्दा अत्यन्त उर्वर र कालजयी कविताहरूको युगका रूपमा नेपाली साहित्यमा स्थापित भएको देखिनु सुखद आश्चर्यको विषय हो । त्यसै कालखण्डमा नेपाली साहित्यले मुक्तछन्द अथवा लालित्यपूर्ण पद्यमय गद्यमा बुनिएका ‘लेक’ र ‘सूर्यदान’ जस्ता विश्वस्तरीय लामा कविताहरू पायो । नेपाली काव्य परम्परामा बिलकुलै नयाँ प्रयोगका रूपमा देखा परेका ती मनोहारी कविताहरूमा नेपालको प्राकृतिक छटालाई जुन स्तरमा पुगेर शब्दचित्रमा उतारिएको छ, त्यो अप्रतिम र अलौकिक प्रतीत हुन्छ ।

मोहन कोइराला र उनका समकालीन एवं सहप्रयोगधर्मी द्वारिका श्रेष्ठ, मदन रेग्मी, रत्नशमशेर थापा, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, मोहन हिमांशु थापा, नगेन्द्र थापा आदि कविले बेग्लाबेग्लै र समुच्चयमा पनि नेपाली कविताको जुन स्वरूप निर्माण गरे अहिलेसम्म पनि त्यो एउटा प्रतिमानको रूपमा रहेको छ र अनेक नेपाली कविले त्यसैको अनुकृति तयार गर्ने प्रयत्न बारम्बार गरिरहेका छन् ।

नेपाली गद्य कविताको मुख्य स्वरूप र स्वर मोहन कोइराला स्कुलका कविहरूले निर्माण गरेको भए पनि त्यो मात्रै त्यसको एकल प्रतिनिधिमूलक स्वरूप र ध्वनि भने होइन । मोहन कोइराला स्कुलको समानान्तर र झन्डैझन्डै त्यत्तिकै प्रभावशाली किसिमले भूपि शेरचन, वासु शशी, भीमनिधि तिवारी, कालीप्रसाद रिजाल, हरिभक्त कटुवाल, भीम दर्शन रोका, रत्नदेव शर्मा, तुलसी दिवस, कुन्दन शर्मा आदि कविले आफ्ना सरल, सुबोधगम्य र मानिसको दिमागलाई भन्दा दिललाई तुरुन्तै स्पर्श गर्न सक्ने, आकारमा पनि साना र चित्ताकर्षक कविताहरूको माध्यमबाट आफ्नो पूरा पुस्तालाई मात्र होइन त्यसपछिका चौथो पुस्तासम्मलाई पनि चमत्कृत पारेका र पार्दै आएका छन् ।

यीमध्ये केही कवि उच्चकोटीका गीतकारका रूपमा पनि स्थापित भएका छन् । त्यसैले गर्दा हुनुपर्छ, यी कविका सबैजसो कवितामा गीति लालित्यको छटा छरिएको पाउन सकिन्छ । नेपाली गद्य-कविताका सुरुका प्रयोक्ता कवि गोपालप्रसाद रिमालले स्थापना गरेको परम्परासँग जोडिएका कविहरूको शैली र भंगिमालाई पछ्याउँदै कविता लेखनलाई अघि बढाइरहेका कविहरूको संख्या ठूलो छ हाम्रो साहित्यमा ।

पछ्याउन सजिलो हुने खालका देखिने भूपि वा शशी आदिका कविताहरू आफैं त मानिसको मन र मष्तिष्कलाई झनन पार्ने खालका छन् वहुधा तर यिनकै शैलीमा लेख्न खोज्ने कविहरूमध्ये प्राय:जसो भने ती सुन्दर कविताका अस्पष्ट कार्बन कपीजस्तो मात्र बन्न पुगेका छन् । सरल लाग्ने तर उत्कृष्ट कविताको शिल्पसम्म जोकोही पनि सजिलै पुग्न नसक्ने भएकाले नै हुनुपर्छ नेपाली कविताको विस्तीर्ण फलकमा अहिलेसम्म एउटा मात्रै भूपि शेरचन र एउटा मात्रै भीम दर्शन रोकाको उपस्थिति छ ।

नेपाली गद्य कविताका यी प्रमुख दुई धारका अतिरिक्त कवितालाई मूलत: विचार प्रक्षेपणको माध्यम बनाएर रचना गर्ने कविहरूले बनाउन खोजेको एउटा मसिनो धार पनि नेपाली गद्य कविताको परम्परामा समानान्तर गतिशील रहँदै आएको छ । राजनीतिक झुकावका दृष्टिले माक्र्सवादी रहेका र साहित्यिक भाषामा आफूलाई प्रगतिशील साहित्यकार भनाउन रुचाउने ती कविहरूले रचेको कविताको संसार त्यति धेरै मनोरम, त्यति धेरै आकर्षक र स्तरीय कविताकै रूपमा त्यति धेरै उल्लेख्य बन्न सकेको छ चाहिँ भन्न सकिँदैन ।

राजनीतिको हतियारका रूपमा प्रयोग गर्न रचिएका कवितालाई भाषिक लालित्य र कलात्मक काव्यकारिताका दृष्टिले समेत उच्चस्तरीय बनाउन ठूलो रचनात्मक सामथ्र्यको आवश्यकता पर्छ । यस्ताखाले कविता लेख्ने नेपाली कविमध्ये अधिकांश यस कसौटीमा कस्दा कमजोर साबित हुन्छन् । विचारको आग्रहलाई केन्द्रमा राखेर काव्य सिर्जना गर्दा त्यसले माग गर्ने कलात्मक शिल्पको निर्वाह गर्न जहिले पनि र जहाँ पनि कठिन नै हुने नेपाली भाषामा रचिएका कविताहरू मात्र होइन, अन्य विकसित भाषाका कविहरूका यस शैलीका कविताहरूको सन्दर्भमा हेर्दा पनि प्रस्ट हुन्छ । सबै भाषाका साहित्यमा वैचारिक पक्ष बढी मुखर भएका कविताहरूको ओज र आयु अल्पकालीन रहेको पाइएको छ । वैचारिक कविता लेखनमा नाम कमाएका जर्मन कवि ब्रतोल्त ब्रेख्त, हिन्दी कवि धूमिल र रसियन कवि येवगेनी एव्तुसेंकोलाई भने अपवादका रूपमा लिन सकिन्छ ।

यद्यपि नेपाली कविताको तथाकथित प्रगतिशील धार धेरै पहिलेदेखि नै निरन्तर प्रवाहवान् छ, तर त्यसले नेपाली कविताको मूल स्वरूप निर्धारण र स्तरोन्नतिमा खासै उल्लेख्य योगदान गर्न सकेको भने देखिँदैन । प्रगतिशीलहरूले आफ्नो भनेर दाबी गरे पनि मिल्ने तर कवि स्वयंले चाहिँ राम्रो कविता रचना गर्ने ध्याउन्न मात्र गरेर सिर्जना गरेका केही देब्रेतिर ढल्किएका जस्ता लाग्ने कविताले मात्र प्रगतिशीलहरूको इज्जत धानिदिएको देखिन्छ अलि गहिरिएर यस विषयमा विमर्श गर्ने हो भने ।

गोपालप्रसादका अधिकांश, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भूपि शेरचन, भिक्षु र स्वयं महाकवि देवकोटाका केही कविता राजनीतिक रूपले सही र मुखर मात्रै होइनन् कलात्मक सिर्जनाका दृष्टिले पनि उच्च कोटीका छन् । यस कोणबाट हेर्दा कवितालाई प्रगतिशीलता वा त्यसको विपर्याय घेरामा राखेर हेर्ने तरिका नै सर्वथा अर्थहीन छ भन्नुपर्ने हुन्छ । पुरानामा आनन्ददेव भट्ट, दुर्गालाल ख्वबिलु, पारिजात, दिल साहनी आदि र त्यसपछिको पुस्तामा विमल निभादेखि विनोदविक्रम केसीसम्मका सर्जकहरूले राजनीतिलाई केन्द्रमा राखेर प्रगतिशील भनाउन चाहनेहरूले मन पराउने खालका कविता रचेका छन् तापनि तिनमा श्रेष्ठतम् कविता भनेर स्वीकारिएका भने निकै थोरै छन् ती पनि विचार पक्षको कारणले भन्दा कविताको कलात्मक प्रस्तुतिका कारण।

मोहन कोइरालाको युग र त्यसपछिको समयको सन्धिकालमा उभारमा आएका शैलेन्द्र साकार, हरि अधिकारी, मञ्जुल, उपेन्द्र गौतम, कुन्ता शर्मा, कृष्णभूषण बल, बेञ्जु शर्मा र मञ्जु काँचुलीजस्ता कविमध्ये दिवंगत भएका बलबाहेक अरू सबैजना अझै पनि लेखिरहेका छन् र लगभग तिनीहरूसँग कुम जोडेर कविताको आराधना गरिरहेका श्यामल, विमल निभा आदि पनि लेखनमा नै सक्रिय छन् । विक्रमको तीसको दशकको आधाआधीमा तत्कालीन दलविहीन निरंकुश व्यवस्थाको औचित्यमाथि प्रश्न उठाउँदै भएको राजनीतिक आन्दोलनले बनाएको खुकुलो परिवेशमा नेपाली कविताको संसारमा उत्साही कविहरूको एउटा ठूलो जमात नै देखा पर्‍यो ।

त्यस बेला आएका दिनेश अधिकारी, विमल कोइराला, विश्व विमोहन श्रेष्ठ, हेमन्त श्रेष्ठ, मीनबहादुर विष्ट, गोविन्द गिरी प्रेरणा, विष्णुविभु घिमिरे, नकुल सिलवाल, तीर्थ श्रेष्ठ, लव गाउँले आदि कविले नेपाली कविताको भण्डारलाई संख्यात्मक रूपमा समृद्ध बनाउनमा महत्वपूर्ण योगदान त गरे । तर, एकजना मीनबहादुर विष्टले बाहेक अरू कसैले पनि उक्तिचातुर्य, पृथक र आकर्षक विम्बविधान र नवीन शैलीको संधानका दृष्टिले कविको विशिष्ट छाप आफ्ना कवितामा छोड्न नसकेकाले ती भीडमा हराउन पुगे ।

त्यस समूहका कविहरूले प्राय: एकरसमय, छुट्याएर चिन्न नसकिने, एउटै शैलीका र सामयिक घटनाका प्रतिक्रियामा व्यक्त आक्रोशपूरित कविता नै धेरै संख्यामा लेखेको देखिन्छ । सुधी पाठकहरूले त्यति बेला ठट्टामा भन्ने गरेका थिए— हाम्रा अधिकांश कविले लेखेका कविता लेखकको नाम छोपेर पढ्न दिने हो भने एउटाले लेखेकोलाई अर्कोले लेखेको भनिने सम्भावना सय प्रतिशत हुनेछ । त्यो समूहका कविहरूमध्ये सबैभन्दा बढी उत्पादनशील दिनेश अधिकारीले आफूलाई उच्चकोटीको गीतकारका रूपमा भने स्थापित गराएका छन् ।

२०४२ सालमा पञ्चायत व्यवस्थाविरुद्ध नेपाली कांग्रेस पार्टीले आह्वान गरेको सत्याग्रह आन्दोलन र आन्दोलनकै बीचमा बम विस्फोटन भएपछि हुन गएको त्यस आन्दोलनको भ्रूणपतनले जहाँ एकातिर पञ्चायतविरुद्ध निर्णायक आन्दोलनका लागि जमिन तयार हुने संकेत देखा पर्‍यो त्यहीँ अर्कोतिर कवि साहित्यकारहरूले पनि आफ्नो कथ्यको दायरा अलि फराकिलो भएको अनुभूति गर्न थाले । छयालीस सालको जनआन्दोलनले नेपाली कविहरूलाई रचनात्मक स्तरमा सहभागिता गर्न उत्प्रेरित मात्र गरेन, कतिपय त्यसमा भौतिक रूपमा नै सामेलसमेत भए ।

आन्दोलन सफल भएर देश लोकतन्त्रमा प्रवेश गरेपछि नेपाली कविहरूले त्यस नयाँ राजनीतिक परिवेशको सतर्क दृष्टिका साथ पर्यवेक्षण गरे र त्यस संक्रमण कालका जटिलताहरूसँग मुखातिव हुँदै आफ्ना कविताका माध्यमबाट नकारात्मकतातिर ढल्कँदै गएको राजनीतिक परिस्थितिमाथि सार्थक हस्तक्षेप गर्ने प्रयत्न गर्न थाले । लोकतन्त्रको स्वप्न बगैंचामा वैयक्तिक र दलीय स्वार्थको दूषित हावा बग्न थालेको अनुभव भयो ।

राजनीति आदर्शविमुख हुन पुग्यो । भ्रष्टाचार राष्ट्रिय सदाचारमा परिणत भएको देखियो । त्यस्तो अवस्थामा राष्ट्रको नैतिक र आध्यात्मिक चेतनाको पहरेदारका रूपमा रहेका कविहरूले पनि आफूसँग भएको रचनात्मक ऊर्जाको साधन प्रयोग गरे । तत्कालीन नकारात्मक परिसूचकहरूको निर्मम शल्यक्रिया गर्दै कविहरूले त्यति बेला लेखेका नेपाली कविताहरू समसामयिक नेपाली कविताको भण्डारका अमूल्य सम्पदा भएका छन् ।

समसामयिक नेपाली राजनीतिको पछिल्लो कालखण्डको सर्वाधिक महत्वपूर्ण घटना वा दुर्घटना हो— तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २०५२ सालको हिउँददेखि लगभग १० वर्षसम्म चलाएको नेपाली राज्यसत्ता विरुद्धको सशस्त्र आन्दोलन । सुरुमै असफल हुने भनी आकलन गरिएको त्यो छापामार आन्दोलन असफल भई सम्झौतामा गएर टुंगिन त टुंगियो तर आन्दोलनको १० वर्षको लामो समयमा त्यसले नेपाली समाजको सोच, संरचना, संस्कार र चेतनामा जुन गहन तर बहुधा नकारात्मक प्रभाव पार्‍यो त्यो लगभग युगान्तकारी रह्यो ।

त्यसै पनि दलगत रूपले विभाजित भएको नेपाली समाजमा माओवादी आन्दोलनले जाति, धर्म, वर्ग र सम्प्रदायका नाममा विभाजनका थप बीज रोपेर छोडिदियो । आश्चर्यको कुरो त के पनि रह्यो भने आधारभूत रूपमा मानिस-मानिस वा समाज-समाजलाई जोड्ने अथवा एक ठाउँमा ल्याउने रसायनको काम गर्नुपर्ने कवि लेखकहरू नै आन्दोलनको रापताप बोकेर विभाजनका गुमाष्ताहरूको प्रतिरक्षा गर्न खोज्ने रचना तयार गर्दै हिँडेका देखिए । माओवादी जनयुद्धले बनाएको जमिनमा उभिएर सञ्चालन गरिएको विसं ०६२ र ०६३ को दोस्रो जनआन्दोलनले नेपाली समाजलाई रन्थन मन्थनका लागि केही थप मुद्दा दियो ।

लोकतन्त्र कालदेखि अलि कम तीव्रताका साथ उठ्दै आएका जातीय पहिचान र क्षेत्रीय स्वामित्वका सवालहरू मुखर रूपमा ध्वनित हुन थाले । जातीय पहिचान र क्षेत्रीय प्रभुत्वको अजेन्डाले सबैभन्दा बढी कविहरूको एउटा समूहलाई प्रभावित पारेको छ भन्न सकिन्छ । आफ्नो कविताको मूल कथ्य र सम्भवत: ध्येय नै पनि जातीय पहिचानलाई बनाएर कविता लेख्नेहरूको प्रभावपूर्ण उपस्थिति छ अहिलेको नेपाली कविता संसारमा ।

समसामयिक नेपाली कविताको ऐतिहासिकताका बारेमा सरसर्ती यति कुरा राखिसकेपछि म समसामयिक नेपाली कविताका, मेरो विचारमा विशेष रूपले उल्लेख्य अथवा आफ्नो ढंगका कविताका लागि मेरो नजरमा अरूभन्दा केही बढी प्रशंसा गर्नलायक १० जना कविको नाम लिन चाहन्छु । यो कुनै मास्टरी शैलीको स्याबासी होइन न त मैले यहाँ नामोल्लेख नगरेका कविहरू यहाँ नाम परेका कविहरू भन्दा कमसल हुन् भन्ने नै मेरो दाबी छ ।

समसामयिक नेपाली कविता वहुविध प्रयोग, नयाँनयाँ विषयको सन्धान, नयाँनयाँ विम्बविधान र रचनाशैलीको अन्वेषणका कारण समृद्ध हुँदैछ । तल नाम दिइएका कविहरूले पनि यहाँ नाम उल्लेख गर्न नसकिएका सय्यौं कविहरूले झैं नेपाली कविताको समृद्धिका लागि योगदान गरेका छन् र त्यसको कदर हुनुपर्छ भन्ने मेरो एकमात्र आग्रह हो।

१. श्यामल : कविताको शिल्प राम्रो भएको कवि । कविताको अन्तर्यमा राजनीतिक ध्वनि भए पनि त्यसलाई काव्य सौन्दर्यको परिधिमै राखी पाठकलाई आधुनिक जीवनका जटिलतासँग सहज साक्षात्कार गराउनसक्ने सामथ्र्यवान् कविहरूमध्ये एक । सिर्जनात्मक निरन्तरता उल्लेख्य ।

२. विमल निभा : नेपाली कवितामा गम्भीर राजनीतिक व्यंग्यका प्रखर प्रयोक्ता । अरू कविहरूद्वारा प्राय: प्रयोग नभएका विम्बद्वारा पाठकलाई चमत्कृत बनाउन सक्ने प्रयोक्ता । आफ्नो व्यंग्यकारको व्यक्तित्वको कवितामा भरपूर प्रयोग ।

३. श्रवण मुकारुङ : नेपाली कविता जगत्मा पहिलोपल्ट दमित वर्गको आवाज घन्काउँदै बिसे नगर्चीको बयान नामक कविता लेखेर नेपाली कविताको भण्डारमा विषयगत विविधता थप्न सफल । कवितामा गीतको आस्वादन दिन प्रयासरत ।

४. रमेश क्षितिज : मानिस र प्रकृतिका बीचको सम्बन्धका केस्राकेस्रा केलाएर पाठकलाई एउटा नितान्त नौलो काव्यलोकसम्म पु‍र्‍याउन सक्ने शब्दशिल्पी । मानिस भित्रको एकान्तको अन्वेषण गर्दै गरेको जस्तो, कतै हराए जस्तो अनौठो शब्दाविम्ब रचिरहेको कवि ।

५. विप्लब ढकाल : नयाँनयाँ विम्बको सन्धान गर्दै नेपाली कवितालाई एउटा नौलो रचना संसारसम्म लैजान खोज्ने कवि । आफ्नो उमेर वर्गका कविहरूमध्ये प्रमुख हस्ताक्षर । आफूलाई दोहो‍र्‍याइरहेको जस्तो लाग्न थालेपछि शैली र कथ्य फेर्न प्रयासरत ।

६. सरिता तिवारी : नेपाली कविताको संसारमा पूरै गम्भीरताका साथ राजनीतिक कविता लेखिरहेकी प्रमुख कवि । कविताको माध्यमबाट नारीवादी अभियानलाई पनि अगाडि बढाइरहेकी सर्जक । राजनीतिक कवितालाई पनि कलापूर्ण बनाउन सक्षम ।

७. मनु मन्जिल : कोमल, भावप्रवण विम्बको प्रयोग गर्दै आधुनिक मान्छेको जटिल जीवनचर्याको सफल सन्धान गरिरहेको समर्थवान् कवि । वाचालभन्दा कम मुखर अभिव्यक्ति बढी प्रभावशाली हुन्छ भन्ने कुरामा विश्वास गर्ने स्रष्टा ।

८. स्वप्निल स्मृति : सामाजिक न्यायको पक्षमा वकालत गर्न कवितालाई माध्यम बनाइरहेको एउटा कवि । सिर्जनशील अराजकता र विशेष रङवाद जस्ता आन्दोलनबाट आएका कविहरूमध्ये सवैभन्दा चर्चित र प्रशंसित ।

९. रावत : नेपाली कविहरूको पछिल्लो पुस्ताका कविहरूमध्ये प्रखरतम् प्रतिभा । नयाँ विम्ब, प्रतीक र मिथकको प्रयोग गरिएका रावतका कविताहरूले पाठकलाई एउटा भिन्नै मनोलोकमा पु‍र्‍याएर छोडिदिन्छन् ।

१०. विनोदविक्रम केसी : नयाँ कविहरूमध्ये साथी साहित्यकारहरू र समीक्षकहरूको एउटा समूहले सबैभन्दा रुचाएको कवि । कठोरजस्ता लाग्ने विम्ब रच्न मन पराउने केसीका कवितामा शूष्क व्यंग्यको मज्जा लिन सकिन्छ ।

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.