~विश्वराज अधिकारी~
सरला दिदीसँग मेरो निकै लामो समयको अन्तराल पछि भेट भएको थियो, यस्तै अठार बीस वर्षपछि, काठमाडौंको नयाँ सडकमा, एउटा गहना पसल नजिक, २०५३ र ५४ साल तिर । मेरी पत्नी, निशाले गहना छान्न अति नै समय लाएकोले म सडक बाहिर उनको बाटो कुर्दै थिएँ र त्यही क्रममा मेरो सरला दिदीसँग बाटोमा भेट भयो, अनि कुराकानी पनि । सरला दिदीसँग निकै लामो कुराकानी भएको थियो । अब तपाईं स्वयंले अन्दाज गर्नुस् मेरी धर्मपत्नीले गहना किन्न कति समय लगाएकी होलिन् किनभने उनी गहना किनेर बाहिर आएपछि मात्र मेरो र सरला दिदीको कुरा सकिएको थियो । सरला दिदीसँग भएका सम्पूर्ण कुराकानीको फेहरिस्त त म प्रस्तुत गर्न सक्दिनँ, केवल सानो अंश मात्र प्रस्तुत गर्छु, यहाँ । सरला दिदी आइए. मा पढ्दा म दस कक्षामा पढ्थें, नेपाल राष्ट्रिय विद्यापीठ स्कूल, श्रीपुर, वीरगंजमा । अँ, सरला दिदीसँग त्यस्तो किसिमले कुराकानी गर्न सक्ने घनिष्टता कसरी भयो, त्यो भने पछि सुनाउँला ।
मेरो र सरला दिदीबीच कुराकानीको क्रम शुरू भयो । कुराकानी अगाडि बढाउँदै सरला दिदीले हाँस्दै भन्नुभयो– “कसैले मेरो जीवनी लेखेको छ र त्यो जीवनीमा विमला दिदीको कतै पनि चर्चा गरिएको छैन भने या त त्यो जीवनी नै अधूरो छ या त्यो लेख्ने मान्छेले मबारे त्यति जानेकै रहेन छ ।”
मैले पनि हाँस्दै प्रश्न गरे– किन होला त्यस्तो, हँ, सरला दिदी ? सरला दिदी एकै छिन केही सोचेझैं गर्नुभयो अनि भन्नुभयो–“मेरो जीवनमा विमला दिदीको विचार, सिद्धान्त, आदर्श र भन्ने हो भने वहाँको सम्पूर्ण व्यक्तित्वको ज्यादै बलियो प्रभाव परेको थियो, त्यो बेला जुन बेला म वीरगंजको ठाकुर राम क्याम्पसमा पढ्थें । त्यो प्रभाव अहिले पनि कायम छ, धेरै हदसम्म । सेतो कपडालाई कुनै रङको घोलमा राखे पछि त्यो सेतो कपडा त्यसै रङमा रङिए जस्तै मेरो व्यक्तित्व पनि विमला दिदीको विचारले रङिएको छ । वहाँका हरेक कुरा– बोल्ने तरिका, व्यवहार, जीवन प्रतिको दृष्टिकोण, सिद्धान्त सबै मेरो लागि आदर्श हुन्थे, त्यति बेला । यतिसम्म कि म घरमा आएर वहाँले बोल्ने तरिकाको नक्कल समेत गर्थें । परिवारको सदस्य, साथी, परिचित वा अन्य कुनै व्यक्तिसँग कुराकानी गर्दा वा वादविवाद हुँदा पनि, म विमला दिदीले झैं गर्थें, वहाँझैं प्रस्तुत हुन खोज्थें । हामी दुवै ठाकुर राम क्याम्पस, वीरगंजमा पढ्थ्यौं । म आइए. तर वहाँ भने बिए. मा । पढेको समय भने यस्तै २०३३ वा ३४ साल हुनुपर्दछ ।
मैले सरला दिदीको भनाइमा छोटो प्रतिक्रिया जनाएँ– होइन, त्यस्तो, ज्यादै ठूलो, प्रभाव परेको थियो तपाईंंमाथि वहाँको व्यक्तित्वको । योपटक भने केही गम्भीर मुद्रामा प्रस्तुत हुनुभयो सरला दिदी । अघिदेखि मुहारमा देखिएको हाँसोलाई चिन्तामा रूपान्तरित गर्दै भन्नुभयो “हो, अति नै प्रभाव पारेको थियो, विमला दिदीको विचारले । हुन त वहाँको व्यक्तित्व नै त्यस किसिमको थियो, जो पनि छिटै प्रभावित हुन्थ्यो वहाँबाट, कुरा गरेको एकै छिनमा । तर म भने अलि बढी नै प्रभावित भएकी थिएँ विमला दिदीबाट, खोइ किन हो कुन्नि… ।”
सरला दिदीले फेरि भन्नु भयो–“विमला दिदी विचारमा प्रस्ट हुनुहुन्थ्यो । सिद्धान्तमा पनि त्यतिकै अडिग । अति नै दृढ निश्चयी अनि आफूमा विश्वास पनि उत्तिकै । वहाँका यिनै विशेषताहरूले मलाई आकर्षित गथ्र्यो । पछि वहाँका तिनै विशेषताहरू मेरा आदर्श बने । सबै भन्दा त, वहाँको पुरुषहरूप्रतिको दृष्टिकोणले मलाई अति नै प्रभावित पारेको थियो । विमला दिदी जहिले पनि के भन्नुहुन्थ्यो भने नारी–शोषणको आधारभूमि यो पितृ–सत्तात्मक पुरुष–प्रधान समाज हो । एउटा सबल विद्रोहद्वारा यो पुरुष–प्रधान समाजलाई तहसनहस पार्नुपर्छ । नारीको भूमिकालाई समाजमा महत्त्वपूर्ण पार्नुपर्दछ । पुरुष–प्रधान समाज सामन्ती संस्कृतिको अवशेष हो । त्यसकारण हामीले अहिलेदेखि नै आफूमा विद्रोही स्वभावको विकास गर्नुपर्दछ, सामन्ती संस्कृतिको त्यो अवशेषलाई समाप्त पार्न । आफूलाई सफल विद्रोही तुल्याउनुपर्दछ । पुरुषहरूले नारीमाथि लगाएको अंकुशलाई टुक्रा टुक्रा पार्नुपर्दछ । पुरुषहरूले धेरै हुकुम चलाए नारीहरूमाथि । पुरुष–प्रधान समाजप्रतिको आफ्नो विरोधी विचारलाई चट्टानझैं बलियो र अडिग पार्नुपर्छ । पुरुष– प्रधान समाजप्रतिको वहाँको त्यस्तो नकारात्मक दृष्टिकोण देखेर मैले एकचोटी क्याम्पसबाट फर्कंदा सोधेकी थिएँ, वहाँलाई– विमला दिदी, तपाईंले बिहे गर्ने व्यक्ति यदि नारीलाई दबाउने किसिमको परे भने के गर्नुहुन्छ नि ? मेरो प्रश्नको उत्तरमा वहाँले भन्नुभयो – के को बिहे गर्नु ? बिहे नै गर्दिनँ । किन र ? के बिहे गर्न आवश्यक छ ? लोग्ने मान्छेको सहारा चाहिन्छ नै, आइमाईलाई बाँच्नका लागि ? यदि चाहिन्छ भने म लोग्नेमान्छे बिनाको जीवन बाँचेर यो समाजलाई देखाइदिन्छु, बुझ्यौ । यदि विज्ञानले, आउने दिनमा पुरुषको सम्पर्क बिना बच्चा जन्माउने प्रविधिको विकास गरेछ भने म पुरुषको सम्पर्कबिना बच्चा जन्माएर देखाइदिन्छु यो ढोंगी, यो पाखण्डी समाजलाई । म प्रगतिशील नारी पो हो त । म पौराणिक कालकी सीता होइन, अग्निपरीक्षा दिने । म त आधुनिक युगकी विमला हुँ ।”
यति भनेर सरला दिदी केही छिन मौन हुनुभयो । एकै छिनको मौनतापछि फेरि भन्नुभयो–“एकचोटी हामी वीरगंजबाट रक्सौलको कृष्णा टाकिजमा सिनेमा हेर्न जाँदै थियौं, रिक्सा चढेर । हाम्रो रिक्सा रक्सौल पस्न मात्र केही समय बाँकी थियो अर्थात् हामी सिर्सियाँ नदीको पुल माथि थियौं । विमला दिदीले भन्नुभयो –“हेर सरला, महिलाहरू कहिले स्वतन्त्र भएर बाँच्न पाउँदैनन्, यो नारी–शोषणको युगमा, यो बुर्जुआ समाजमा, यो आधुनिक युगमा पनि । नारीले जहिले पनि एक किसिमको बन्धनमा बाँच्नुपर्छ, गाई–गोरुले डोरीमा बाँधिएर बस्नु परे झैं । बिहेभन्दा पहिले बाबुको बन्धनमा । बिहेपछि लोग्नेको बन्धनमा । लोग्नेपछि, छोरा ठूलो भएपछि, छोराको बन्धनमा । अनि यदि छोरा छैन भने कुरौटे छिमेकी वा समाजको बन्धनमा । यसरी एउटा नारीको जीवन बन्धनबाट शुरू भएर बन्धनमा नै समाप्त हुन्छ । त्यस कारण अब हामीले त्यो बन्धनबाट आफूलाई मुक्त पार्नुपर्छ । दासताबाट आफूलाई उन्मुक्त पार्नुपर्छ । विमला दिदीका यस्ता कुराले म निकै प्रभावित हुने गर्थें त्यो बेला ।”
म मौन भएर केवल सरला दिदीको कुरा सुनिरहेको थिएँ । सडकमा उभिएर कुरा गर्न गार्हो भएकोले मैले रेस्टुरातिर जान आग्रह गरें । मलाई विश्वास थियो, हामी रेस्टुराबाट फर्किंदासम्म पनि निशाको गहना किन्ने क्रम जारी नै रहने छ । चिया खान जाऊँ भन्ने मेरो प्रस्तावमा सरला दिदीले स्वीकृति जनाउनुभएन । बरु कुराकानीको क्रम अगाडि बढाउँदै भन्नुभयो–“म त्यस बेला क्याम्पसमा पढदा, एउटा मसँग नै पढ्ने, नारायणघाटको केटोले निकै हैरान पारेको थियो मलाई । कुनै व्यापारीको सन्तानजस्तो लाग्दथ्यो त्यो, लबाइ–खबाइ हेर्दा । म प्रति हुरुक्कै हुन्थ्यो तर भद्र तरिकाले । ऊप्रति म पनि आकर्षित थिएँ तर किन हो, म आफूले नै पनि स्वीकार गर्न चाहन्थिनँ कि म पनि उसलाई मन पराउँछु । कुनै बेला लाग्थ्यो त्यो केटा पनि त्यै पुरुष–प्रधान संस्कृतिको प्रतिनिधि हो । मैले योसँग बिहे गरेमा यसले मेरो शोषणबाहेक केही गर्दैन । मेरो शोषण, मेरो शरीरको शोषण । यसको अहिलेको मप्रतिको आकर्षण केवल मेरो उमेरप्रतिको हो, मेरो जवानीप्रतिको हो । उसको मप्रतिको आकर्षण केवल शारीरिक भोक हो ।”
सरला दिदी एकै छिन शान्त हुनुभयो । न्युरोडमा मोटरको चाप बढ्दै थियो । गाडीहरूबाट निस्केको आबाजले हामीलाई अलि चर्को स्वरमा बोल्न बाध्य पारेको थियो । सरला दिदीले हाँस्दै भन्नुभयो– “त्यो केटाको नाम नरेन्द्र थियो । नरेन्द्रले कतिपटक उसको आँखामा केही पर्यो भन्दै मलाई झिकिदिन आग्रह गरेको अहिले पनि मलाई सम्झना छ, क्याम्पसमा । त्यसको आँखामा के को केही पर्नु ? त्यो त उसको केवल बहाना हुन्थ्यो मलाई ज्यादै नजिकबाट हेर्ने । म पनि उसको आँखामा हेर्थें केही छिन, र केही छैन आँखामा, त्यतिकै चिलाएको होला भन्थें । ऊ मेरो ज्यादै नजिक हुन खोजेपनि मैले उसलाई नजिक हुन त दिएँ, तर मेरो मनको नजिक हुन दिइनँ कहिले पनि । केवल मेरो वरिपरि चक्कर काट्यो मात्र, लामो समयसम्म । पछि थाकेर मेरो पछि लाग्न छाड्यो । मैले त्यस बेला उसलाई देखाएको त्यस्तो व्यवहार विमला दिदीले निर्माण गरिदिएको त्यस किसिमको मेरो मनोविज्ञानको कारणले हुन सक्छ । त्यस्तो अब लाग्दैछ । त्यो केटा, केटा के भन्नु अब, संयोगले अहिले म बसेको टोलमा नै बस्छ, यही काठमाडौंमा नै । भद्र र असल जीवन बिताइरहेको छ उसले, त्यस्तो लाग्छ मलाई, उसलाई हेर्दा ।
धेरै बेरदेखि म केवल मौन बसेकोले मलाई पनि केही बोल्न मन लाग्यो । सरला दिदीको कुरा विमलामा केन्द्रित हुन छाडेर नरेन्द्रमा बढी केन्द्रित हुन थालेको देखेर झनै केही बोल्न बाध्य भएँ म । म भने विमलाबारे जान्न उत्सुक थिएँ । मैले भनें– सरला दिदी, पुरानै प्रस·मा फर्कौं न, हुँदैन? तपाईंलाई त्यति बढी प्रभावित गर्ने तपाईंकी आदर्श, विमला दिदी कहाँ हुनुहुन्छ नि, अहिले? अनि के गर्नुहुन्छ ?
सरला दिदीले छोटो उत्तर दिनुभयो “राजनीति गर्नुहुन्छ ।”
मैले फेरि प्रश्न गरें– अनि, तपाईंको विमला दिदीले बिहे गर्नुभयो कि भएन ?
सरला दिदीले भन्नुभयो “किन नगर्नु, गर्नुभयो नि । छोराछोरी छन् । बिराटनगरमा हुनुहुन्छ ।”
सरला दिदीले हाँस्दै भन्नुभयो– “सुन्नुस् न, मैले आइए. सक्याएको दुई–तीन वर्ष पछिको कुरा हो, विमला दिदीलाई विराटनगरमा भेटेकी थिएँ, एकपटक । वहाँको बिए. सकिएको पनि त्यतिकै समय भएको थियो । बिराटनगरमा एउटा बिहेमा भेट भएको त्यो बेला, मैले आश्चर्य मान्दै सोधें– तपाईंको काखको बच्चा कसको हो, विमला दिदी ? तपाईंकै त होइन ? बिमला दिदीले हाँस्दै भन्नुभयो– हो, मेरो छोरा हो, यो । यसको नाम गौरव हो ।”
मेरो आँखामा फैलिएको आश्चर्यको बाढीको अर्थ बुझ्न विमला दिदीलाई समय लागेन ।
मेरो काँधमा हात राख्दै भन्नुभयो– “जीवनमा धेरै मोडहरू आउँदा रहेछन् । सोचे जस्तो हुँदो रहेन छ, यो जीवनमा । विद्यार्थी बेलाको कुरा गरेर के साद्दे लाग्छ । विद्यार्थी बेलाको, आलो काँचो बुद्धि ।”
विमला दिदीको पछिल्लो कुरा सुने पछि वहाँसँग थप कुरा गर्न रहर नै भएन मलाई । वितृष्णा जागेर आयो, वहाँप्रति । बेहुलीलाई भेट्नु छ भन्दै पन्छिएँ म विमला दिदीबाट ।” यति भनेर एक छिनसम्म न्युरोड गेटलाई हेर्याहेर्यै गर्नुभयो सरला दिदीले ।
मैले कुरा सक्याउने विचार गरें । मेरी पत्नीको गहना किनमेल सकिन थालेको अनुमान पनि गरें । हुन पनि उनले गहना किन्न लगाएको समय दुई घण्टा भन्दा बढी भइसकेको थियो । सरला दिदीको त्यो एकोहोरो हेराइलाई तोड्दै मैले प्रश्न गरें– अनि, सरला दिदी, तपाईंले बिहे गर्नुभयो कि भएन, हँ ?
सरला दिदीले भन्नुभयो “गरिनँ ।”
मैले पुन: प्रश्न गरें– किन? किन नि ?
सरला दिदीले भन्नुभयो– “बिहे गर्न मनै लागेन ।”
छुट्टिने बेलामा मतिर केही बेर हेर्दै सरला दिदीले भन्नुभयो– “हुँ, क्रान्तिकारी विमला दिदी रे ।”
समाप्त
(स्रोत : प्रतीक दैनिक पत्रिका)