व्यङ्ग्य लघुकथा : बाघसत्ता र बिरालो

~हेमबहादुर गन्धर्व~

कुनै एउटा जंगलमा चार वटा ठूला बाघहरू बस्दथे । बाघहरूबीचको स्वभाव, रंग र आकारमा भने फरक फरक थिए । बाघहरू कहिले मिलेर बस्दथ्यो भने कहिले लड्दथे । ती आपसमा लडिरहने बाघहरूले शक्ति सन्तुलनलाई कायम राख्ने यस्तो षडयन्त्रकारी गोप्य बाघे सम्झौता गरेछन् कि बरू पालै पालो गरेर जंगलको सत्ता सिंहसानमा बस्ने तर साना बाघ, चितुवा, गैडा, मृग, हरिण जस्ता अन्य बन्यजन्तुहरूलाई सत्ता सिंहसानमा छिर्ने नदिने । त्यही गोप्य घाती बाघे सम्झौता अनुरूप ती चार बाघहरू सारा जंगल भरी साना अन्य वन्यजन्तुहरूप्रति पालैपालो जंगली निरंकुशता हिंस्रक अक्रमण र चर्को दमन गर्दै आएका थिए ।

एक दिन बाघहरू बीच एउटा यस्तो अवस्था आयो कि सत्तामा रहेको बाघले त्यो जंगली सत्ता अर्को बाघलाई छाड दिनुपर्ने बाघे सम्झौता अनुरूप छाडेन । –“जंगलमा शान्ति कायम गर्छु वन सभा गराउँछु र अन्य सारा बन्यजन्तु स्वतन्त्र र सुरक्षा हुने वनको नुन लेख्छु” भन्दै वन सत्तामा पुगेको सत्तासीन बाघले उल्टै बाघे सम्झौता तोड्दै सारा जंगलमा अत्याचार, दमन, आतंक र निरंकुशता लाद्यो । वन काुनन मिच्दै जाँदा सारा जंगलमा बाँच्ने र चर्ने स्वतन्त्रता गुम्दै गएपछि जंगलमा ठूलो संकट देखा पर्न थाल्यो । तब यता साना वन्यजन्तुहरू सत्तासीन बाघको निरंकुशता विरूद्ध प्रतिरोधमा उत्रन थालेका थिए भने उता सत्ता बाहिरका बाघहरू नै सत्ताको बाघबाट् सत्ता लम्बाउने योजना देख्दा निकै चुर परेका थिए । किनकि वन सभा गर्ने बाचा खाएर सत्तामा पुगेको बाघले वन सभा नै विघटन गराउँदै सारा जंगललाई नै आफ्नो अधिनमा लिंदै थियो । विपक्ष बाघहरू पनि सत्तासीन बाघ विरूद्ध गर्जिन थालेका थिए । तर सत्तासीन बाघले दक्षिण जंगलतिरका छिमेकी बाघहरूलाई रिझाउँदै र आफ्नो समर्थन र शक्ति बढाउँदै शासन लम्बाई रहेको थियो ।

आखिर एक दिन सत्तासीन बाघले सत्ता छाड्नु पर्ने अवस्था आयो । अन्तर्राष्ट्रिय सिंहहरूले बढी हिस्रंक बनेर नचल्न दबाब दिएका थिए भने सिंहदुतहरूले अब चार बाघहरू आपसमा मिलेर जानुपर्ने सुझाव राखेका थिए । अर्कोतर्फ सारा जंगलभरी साना वन्यजन्तुहरूले सत्तासीन बाघ विरूद्ध चर्को प्रतिरोधमा उत्रिरहेका थिए ।

दिनहरू बित्दै गएका थिए । सत्तासीन बाघ समूहको छुट्टै भेला चल्दै थियो । भेलामा सत्ता पक्षीय बाघको तर्फबाट संकट समाधानको एउटा रहस्यमय प्रस्ताव आयो–“बाघहरू बीचमै विश्वास नभएको कारण जंगलको बाघ सत्ता घरेलु विरालोलाई सुम्पने । विरालो कै नेतृत्वमा वन सभा गराउने र वन सभाबाट जितेर आएको बाघ फेरि सत्तामा बस्ने तर बिरालो बाघ नियन्त्रणमा राख्ने ।” सत्ता पक्षीय यो प्रस्ताव अरू तीन बाघहरूले पनि स्वीकारे । यही प्रस्ताव बोकेर चार ठूला बाघहरू जंगलबाट घरेलु विरालो कहाँ पुगे र आफ्नो प्रस्ताव राखे । तर पलमा बाघहरू बलिया भए पनि बुद्धि र विवेकमा बिरालो निकै निपूर्ण थियो । प्रस्ताव नियाल्दै बिरालोले भन्यो –“बाघ सत्तामा बसेर वन सभा गराउन तयार छ । तर म बाघहरूको नियन्त्रणदेखि स्वतन्त्र रहन पाउनुपर्छ ।”–आखिर बाघहरूले पनि बिरालो प्रस्ताव स्वीकार्दै सत्ता छोड्न तयार भए ।

यता साना बन्यजन्तुहरू बिरालोलाई बाघ सत्ता छोडेको झनै बाघहरू विरूद्ध खनिएका थिए ।” घर बिरालो जंगली बाघ सत्ता कसरी चलाउन सक्छ ? घरमा चोर मुसाहरू समाप्ने नेतृत्व र वनसभाको नेतृत्व एउटै बिरालोलाई सुम्पनु शक्ति पृथकीकरण सिद्धान्त विपरीत छ । आजसम्मका वन कानुन र बाघ सत्ता संचालन गर्ने मूल्य र मान्यता विपरीत छ । गैर कानुनी रूपमा भएको बिरालोको सत्तारोहणलाई हामी मान्दैनौं । वन्यजन्तुहरूबाटै वनको नेतृत्व र संचालन हुनुपर्छ”–यस्तो भन्दै साना वन्यजन्तुहरूको प्रतिकारात्मक आवाज जंगलभरी बढ्दै थियो । उता बुद्धिमान चलाख बिरालोले छिटोछिटो जंगलमा पुगेर सपथ लिई बाघ सत्तामा बसिहाल्यो । तर घमन्डी ती हुतिहारा बाघहरू आफ्नो अक्षमता र असफलतालाई लुकाउँदै लुरूलुरू जंगल छोडेर हिंडे ।

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १८ – March 20, 2013 – २०६९ चैत्र ७ गते, बुधबार)

This entry was posted in लघुकथा, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.