कथा : प्रेम कि युद्ध

~सङ्गीत नेम्वाङ~

दुई दाजु-भाई आँगनमा खेलिरहेको छन् गट्टा। ती नानीहरूको आमा रूपमती भान्सा गर्नलाई चिसो दाउरा हाल्दै फुकिरहेको छ चुल्हो। बलेको छैन चुल्हो। बरू उल्टो दन्किरहेको छ विकराल धुवाँ। र बगिरहेको छ आँसु। तर उसलाई थाहा छैन बगिरहेको आँसुको इतिहास? बस उ चुल्हा जोड्नका तल्लिन देखिन्छे। धुवाँले पाकघर ढाक्न लागेको छ र आशुँसरी हुदैँ कराउँछे रूपमति-

– ‘जेठा…sss’

– ‘हजुर आमा।’

– ‘त्यो जम्मा गरेको प्लास्टिकको पोको ले त! यहाँ आगै बलेन।’

– ‘काँ राखेको छ?’

– ‘दैलोको चेपमा हेर न।’

– ‘ल ल।’

– ‘ए! सुन?’

– ‘अँ, भन्नु।’

– ‘स्कूले गाडी आउने बेला हुनु पो आटेछ। छोड्दे प्लास्टिकको पोको। बरू छिटो गरेर लुगा लगा। नभई आइले छोड्छ गाडीले।’ भित्ते घडीलाई हेर्दै कराउँछे रूपमति।

– ‘ह्या…. जादिन् म स्कुल-सिस्कूल।’

कक्षा पाँचमा भर्खरै भर्ना भएको छोराको प्रतिवादी कुरा सुन्नसाथ रन्कियो रूपमतीको मगज। चुल्हा फुक्दै गरेकी रूपमती स्वाते लिई दौडेर निस्की आँगनमा। कुटे भक्कु छोरालाई स्वातेले। भई आमा खुनखार बाघिनी। छोरा भिजेको मूसा।

यही घटनापछि जेठा र कान्छा सुचारू रूपमा जान थालेको हो स्कूल। बिहान-बेलुका ट्युशनपनि। पत्याउन थालेको हो आमालाई। डराउन थालेको हो आमादेखि। बुझ्न र देख्न थालेको हो आमाको दुई थरीको प्रेम। प्रेममा प्रेम र अर्को क्रोधमा प्रेम।

कक्षा पांँचमा यही प्रेममार्फत प्राप्त गर्यो जेठा उर्फ सफलले सफलता। अर्थात् प्रथम स्थान। जसलाई निरन्तता दिँदै आइरह्यो कक्षा नवौंसम्म। र रूपमती छोरा सफलको सफलतादेखि निकै हर्षित छ। गर्वित छ। अर्थात् आमा-छोरा दुवैले देख्न थालेको छन् सपनाहरू।

* * * * * * *

रूपमती आज अलिकति हर्षित र अलिकति चिन्तीत देखिन्छे। अर्थात् कोक्टेल रूपमती।

हर्षित छे किनभने जेठा छोरा सफल माधमयमिक परिक्षामा प्रथम स्थान प्राप्त गरेर ब्लकमा उच्च अङ्क हासिल गरेको छ।

र दुखित छे किनभने सानो छोरा भर्खर प्राथामिक तहसम्मको शिक्षा समाप्त गरीसकेको छ तर उसको स्कूल भर्ना भने निश्चित भएको छैन।

– ‘सफलको बाबा!’

– ‘भन।’

– ‘अब जेठा साइन्स पढ्छु भन्दैछ?’

– ‘पढोस न अन्त…’

– ‘फेरि तिनारको नेपाली स्कूलमा छैन् रैछ नि साइन्स?’

– ‘अनि काँ जानु पर्ने साइन्स पढ्नु?’

– ‘सिलगुढी?’

– ‘छोरा जे पढ्छु र जाँ पढ्छु भन्दैछ पढाउने हो तेलाई। आखिर केटोले नाक राखेको छ हाम्रो।’

– ‘तर?’

– ‘तर के?’

– ‘खर्च निकै लाग्ने रैछ।’

– ‘खर्चको कुरो नगर त्यो म मिलाउँछु। मेरो जिम्मा।’

बुडाको यति कुरा सुन्नसाथ उ ढुक्क भई जेठाको निम्ति। तर उसलाई थाहा थिएन वास्तवमा खर्च कति लाग्छ? उसले छोरालाई सोध्दा सफलले पनि केवल खर्च निकै लाग्छ मात्र भनेको थिए र सोहि कुरा रूपमतीले पति अगि राख्यो। फेरि बोली रूपमती –

– ‘बाबा! कान्छालाई चै अब कता लाउने हऊ?’

– ‘सफल पढ्ने नेपाली स्कूलमा नै लगाउनु पर्छ नि।’

– ‘थाहा छ तिमीलाई?’

– ‘के?’

– ‘यो वर्षदेखि नेपाली स्कूलमा पनि नेपालीमा नभएर इङ्लिशमा पो पढाउँछ हरे त! सरकारी स्कूल नेपालीमा पढ्ने नानीले सक्ला र एकैचोटि इङ्लिशमा पढ्नु?’

– ‘त्यसो भा के गर्ने? सक्दैन र कान्छाले?’

– ‘कुनि! मलाई त पूरा चिन्ता लागिराको छ।’

– ‘अनि जेठा खोई?’

– ‘सिलगुढी गोयो स्कूलको फर्म निकाल्नु।’

– ‘त्यो पढेको केटा, भरै बेलुका त्यो आएपछि कुरा गरूम। के कस्तो गर्दा राम्रो होला कान्छालाई?’

– ‘हुन्छ त्यसै गरूम।’

साईकल टिपेर निस्क्यो बीरे हजिरा कामतिर।

रूपमती पनि निस्की टोप्ला बोकेर कमानतिर।

* * * * * * *

अस्थायीपनको मुजुत्रो ओडेर सुतेको देखिन्छ डुवर्सका चियाकमानहरू। चियाकमान रोगी छ। मृत्यु समेत भएको छ उसको। तर नीतिवादले मृतलाई तर्साउने गरेको छ र बाध्यतावंश जाग्ने गरेको छ। अर्थात् कमान श्रापित जिन्दगी बाच्दैँछ। जसले गर्दा पस्ट देखिन्छन् त्रासका धर्सा कमानेहरूको अनुहारमा।

यस्ता धर्सा रूपमतीको अनुहारमा पनि भेटिन्छ।

अहिले रूपमती कमानको मेलोमा छे। काम निज हो अर्थात् स्थायी। तर कुनै भर छैन कामको। कहिले हुन्छ त कहिले हुँदैन? निज भन्न त औपचारिकता मात्र हो।

सधैँ उसलाई मेलो लाग्दा चिन्ताको विषय यो हुन्थ्यो तर आज उसलाई यो कुराभन्दा कान्छाको स्कूल भर्नाको विषयले बडी चिन्तित बनाएको छ।

मेलो लाग्दै गरेकी रूपमती आफुसँग बात गर्छे – “जेठाको पालामा चिन्ता पनि भएन। खुरूखुरू नेपालीमा पढ्नु पायो र रिचल्ट राम्रो पनि गर्यो। सानोको पनि चार क्लास सक्यो अब कुन स्कूलमा हाल्नु पर्ने हो? जेठा पढ्ने सकूलमा हालुम कि नहालुम? सक्छ कि सक्दैन फेरी कान्छाले? कि हिन्दीमा पो हालुम? अक्षर पनि चिन्ने, आखिर कति हदसम्म भाषा पनि मिल्ने। बरू हिन्दी स्कूलमा हाले सजिलो होला त्यसलाई। नेपाली पढ्दै गरेको छोराले काँ एकैचोटि इङ्लिश हाल्नु, फ्युटर मात्रै बिग्रिन्छ?”

मगज कान्छाको विषयमा चलिरहे तापनि हातले चियापत्ती सोर्दै थिई रूपमति। गम्भीर हुँदा मान्छे एकहोरो हुन्छ भन्ने सिद्धान्तले रूपमतिलाई प्रभाव पार्न सकेको छैन। आखिर उ एक आमा हो।

‘रूपा! ओजन आयो। जु। नत्र अहिले नम्बर काटिन्छ ।’ – सँगै मेलो लागेकी साथी बोल्यो।

अझै रूपमती चियापत्ती टिप्नुमा तल्लिन छे।

‘ओइ रूपा!’ – यसपल्ट जोडले चिच्यायो साथी।

‘अब्बुइ..sss’ – करेन्टले भेटे जस्तै प्रतिक्रिया गरी।

* * * * * * *

‘नानी! फर्म निकालिस्?’ – भात हाल्दै सोध्यो रूपाले।

‘हजुर।’ – पानीको गिलास उठाउँदै उत्तर फर्कायो सफलले।

‘एडमिन्सन कहिले हुन्छ? अनि खर्च कति जस्तो लाग्छ? – बोल्यो बिरे।

‘तर म यतै पढ्छु बाबा। – एक घुटकी पानी पिएर दियो उत्तर।

‘अनि यतातिर त साइन्स छैन, होइन?’ – फेरि बोल्यो बाबु।

‘हजुर।’ – गाँस उठाउँदै बोल्यो सफल।

‘किन? के भयो?’ – आमा-बाबा दुवैको मुखबाट एकसाथ निस्कयो।

‘खर्च निक्कै लाग्ने रछ। त्यसैले…’ – गाँस फेरि तल राखेर मुस्दै भन्यो।

‘कति जस्तो?’ – फेरि दुवैको मुखबाट एकैसाथ निस्कयो।

‘एडमिसन ६०००, तीनटा ट्युशन गर्नुपर्छ। एउटा ट्युशनको १००० गरेर। उतै बस्नुपर्छ। फेरि सिलगुढी कस्तो मङ्गो छ। रूमको मात्रै २००० भन्छ फेरि खानु आफ्नै…’

छोराको कुरा सक्केको थिएन आमाले ‘आम्मामा’ भनी।

बाबाले खुइय्य गरे।

कान्छाचाहिँ आफनो धुनमा भात खाँदै भने ‘आमा अलिकति निगुरे हालिदिनु न।’

‘तेरो पढ्ने इच्छा छ भने पढाउने हाम्रो कर्तव्य हो। बुझिस?’ – बीरे गम्भीरतापूर्वक बोल्यो।

‘त्यो त होनि बाबा तर…’

छोराको कुरा काट्दै बाबु निरन्तर बोल्यो – ‘थाहा छ हामलाई पनि। कमानको कामले सक्दैन यस्तो पढाउनु। बरू पढछस् नै भने म बाहिर काम गर्नु जान्छु। कि कसो?’ रूपमतितिर हेर्दै बोल्यो।
सफल हात धुन्दै बोल्यो – ‘भने त म यतै पढ्छु। तपाईँलाई बाहिर जानु पनि पर्दैन।’ र मुख चुट्यो।

‘धेरै बाटो नबन तँ!’ – आवेशमा आउँदै बोल्यो बाबु।

‘म धेरै थाकेको छु। म गाको सुत्नु।’ – जुठो थाल बोकेर बाहिर निस्कयो सफल।

निस्क्यो कान्छापनि दाजुको पछिपछि।

झुठा भाँडा जम्मै झुठाल्नमा निकाली रूपाले। पाकघर सफा गरी। भाँडा जम्मै सन्क्क पारी। भित्ते घडी हेरी नौ नाघिसकेको थ्यो। ओछ्यानमा पसी। बिरे निदाईसकेको देखी। ढल्की उ पनि।

तर निद्रा भने आएन उसलाई। केवल चिन्ता छायो छोराहरूको भविष्यको।

बिहानसम्म हर्ष र चिन्ताको कोक्टेल थियो रूपमती। फेरि उ पिउ्र चिन्ताको रूपमती भई।

सँगै सुतेको पतिको कुम समायो। हल्लाएर ‘बाबा!’ भन्यो।

‘तँलाई पनि निन्द्रा आएन?’ – प्रश्न गर्यो बीरेले।

‘तिमी पनि सुतेको छैनौ र? – प्रश्नमाथि प्रश्न गरी रूपाले।

‘निन्द्रा आएन हाउ।’

‘मलाई पनि त्यस्तै भई’राको छ।’

‘सुन त।’

‘भन न’

‘म सोच्दै थे कि जेठाको एडमिन्सनको लागि कसैलाई दशहजार जति उधारो मागेर म बाहिर जान्छु होला। बिस्तारै-बिस्तारै तिर्छु। आखिर तिनारूको लागि यति त गर्नुइ पर्छ हामीले।’

‘जाने नै हो तिमी बाहिर?’

‘परिस्थिति नै त्यस्तै छ। अन्त कमान र हजिरी कामले नसकिने रैछ। के गर्नु? उपाय नै छैन।’

‘हुन्छ।’ – यति भन्दै रूपाले स्वीकृति दिई।

तर रूपमती आफैँ छक्के परी। उसले हुन्छ कसरी भन्न सकी। उसलाई रातभरि निन्द्रा परेन। केवल छटपट मात्र गरी रही। घडी हेरी। १०, ११, १२ हँदै १,२ भयो। अहँ उसलाई निन्द्रा आएन। यतिकै सोच्दा-सोच्दा कतिबेला निन्द्रा पर्यो उसलाई पत्तै भएन।

* * * * * * *

पाँच बज्न लागेको छ। रूपा भानसा गर्नमा व्यस्त छे। भात पकाएर उ तरकारी बसाल्नको निम्ति आत्तुर छे। हतारमा प्याज काट्दै गरेको थियो।

‘रूपा!’ – कतै टाढाबाट बीरे करायो।

‘के भयो? – जोडले कराउँदै रूपाले उत्तर फर्काइ।

‘म आज जान्छु ल?’

‘काँ?’ – खोर्सानी चिर्दै बोली।

‘बाहिर।’

‘केको हत्तार नि फेरि तिमीलाई?’

‘लडाईमा भन्दा छिटो निर्णय लिनुपर्छ बाउ-आमाले छोरा-छोरीको निम्ति?

रूपा बिरेको कुरा सुनेर ट्वाल्ल परी।

गोजीमा हात हालेर निकाल्यो बिरेले रूपियाँको बन्डल। यति पैसा देख्दा झन् रूपाको आँखा उल्लुको झैँ भयो। हतारको कारण डब्बुमा सारेको चियासमेत पिउन नभयाएको रूपाले उठाएर एकै सासमा सक्कायो डब्बुको चिया।

‘काँबाट ल्यायौं यत्रो पैसा एकाबिहानै? – जिज्ञासापूर्ण सोधी।

‘कन्टेक्टर दाजुलाई मागे।’

‘कति सुध लाग्छ यस्को? – चुल्हामा कराई बसाल्दै सोधी।

‘सैकडा दश भनेको छ।’

‘कुरा पछि गरौ। तँलाई पनि हतार छ। मपनि सामानहरू हाल्छु।’ – लाएको रूपियाँ रूपालाई दिएर बिरे कोठातिर लाग्यो।

एकैक्षणमा कोठाभित्र गद्रर्याङ-गुन्द्रुङ सुन्यो। रूपले अनुमान गरी पक्कै पनि समान पोको पार्न लागेको होला।

अचानक रूपाको नौनाडी गलेर आयो। उसलाई सम्झना आयो सानो छँदा हेरेको ‘मुना-मदन’ नाटक। मदन भोट जान लाग्दाको दृश्य। जो झ्वाम्म आँखामा आई र साग काट्दै गुनगुनाउन थाली-

“हातको मैला सुनको थैला के गर्नु धनले

साग र सिस्नु खाएको बेस आनन्दी मनले।”

उसले फेरि के सोच्यो। र ‘सफलको बाबा’ भनेर कराई।

‘के भयो? – कोठाबाट करायो बिरे पनि।

‘नाटक मुना-मदनमा तिनारको नानी हुन्छ कि हुँदैन?’ – प्रश्न सोध्दै फेरि बोलि – ‘मैले लास्टसम्म हेरेको छुइन नि त्यो नाटक’

बिरेले ‘हुदैँन ‘भनेर जवाब दियो।

रूपा मुसुक्क हासि। र चिसो दाउरा टेल्दै फेरि सब्जी बनाउन व्यस्त भई।

तर कोठाबाट बिरेले गुनगुनाई रहेको गीत रूपाको कानमा पर्यो।

“मायाले संसार थाम्दैन
प्यारी! मायाले संसार थाम्दैन।”

चुल्हा नबलेर बुङबुङ धुवाँ उडिरहेको थियो। र बगिरहेको थियो रूपमति आशुँ। पस्यो पाकघर सफल चिया पिउन। पाकघर धुवाँको अधिपत्यमा थियो। र आमातिर हेर्यो उसले। आमा आशुँसरि हुदै चुल्हा जोड्ने प्रयत्न गरिहेकी थिई।

सङ्गीत नेम्वाङ
कालचिनी, डुवर्स, भारत।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.