~गिरीप्रसाद बुढा~
मामा : के हो भाञ्जा, आज त पुस्तकमा पो घोरिनु भएको छ त । खै खै यो कुन पुस्तक पढ्न थाल्नुभयो ?
भाञ्जा : ओ हो मामा नमस्कार घ् ढुङ्गा खोज्दा देउता मिल्यो भने झै आज त खोजेकै बेला पो हजुर आइपुग्नु भयो ।
मामा : नमस्कार भाञ्जा नमस्कार घ् भाञ्जाले त निकै महत्वपूर्ण पुस्तक पो पढ्न लाग्नु भएछ । यो स्टालिनले लेखेको माक्र्सवाद र जातीय सवाल भन्ने पुस्तकले जाति भनेको के हो र जातीय समस्यालाई कसरी हल गर्न सकिन्छ भन्ने कुरालाई निकै स्पष्ट पारेको छ । यस्ता महत्वपूर्ण पुस्तकहरू गहिरिएर व्यापक अध्ययन गर्नु पर्छ† किनकि आज–भोलि हाम्रो गाउँ ठाउँमा नानाथरीका मुखुन्डोधारीहरू डुलिरहन्छन् । यस्ता मुखुन्डोधारीका मुखुन्डो उतार्न हाम्रो दिमागलाई धेरैभन्दा धेरै सशक्त बनाउनु पर्दछ ।
भाञ्जा : अरू कुरा पछि गर्दैै गरौँला । अहिले भने मामालाई एउटा नौलो कुरा छिटो सुनाउन पाए हुन्थ्यो भन्ने लागेको छ ।
मामा : कस्तो नौलो कुरा हो भाञ्जा ? सुनाइहाल्नुस न त ।
भाञ्जा : हिजो नि मामा, मकहाँ चन्द्र र इन्द्रे आएका थिए ।
मामा : अनि के भने त तिनीहरूले ?
भाञ्जा : तिनीहरूले त बाहुन क्षेत्रीभरि जम्मैलाई ठोक्नु पर्छ । खेद्नु पर्छ भन्ने कुरा बताए । हामी जनजातिलाई उभो लाग्न नदिने, यो देशलाई बिगार्ने यिनै बाहुन–क्षेत्री हुन भनेर गए । मलाई त मामा यिनीहरूका कुराले खुब चित्त बुझ्यो ।
मामा : ओहो भाञ्जा, तिनीहरू त तपाईकहाँ पनि भ्रम छर्न आएछन् घ् हेर्नुस् भाञ्जा, यिनीहरू पनि घोर जातिवादी मुखुन्डोधारीहरू हुन् ।
मामा : हो भाञ्जा, यस्ता जातिवादी र मुखुन्डोधारीहरूबाट हामी बेलैमा सजग र सचेत हुनै पर्छ† किनकि हरेक मुुकुन्डोधारीहरू भ्रमका पोको बोकेर आएका हुन्छन् । यसैगरी जातिवादीहरू हरेक कुरा जातलाई केन्द्रमा राखेर सोच्ने र बुझ्ने गर्दछन् । प्रकृतिले समग्र मानव जातिलाई दिएको उपहारहरू जल, जमिन, जङ्गल आदिलाई समेत आफ्नै जातिको मात्रै हो भन्न पछि पर्दैनन् । समाजमा रहेका शोषणका विभिन्न अंशहरूमध्ये जातीय शोषण पनि एक हो । यसैगरी लैङ्गिक शोषण, बाल शोषण, धार्मिक शोषण जस्ता शोषणका कैयौँ अंशहरू हुन्छन् । यी तमाम शोषणहरूका समग्रता भनेकै वर्गीय शोषण हो† तर जातिवादीहरू शोषणका एउटा अंश, जातीय शोषणलाई मात्रै समग्रतामा बुझ्ने गल्ती गर्छन् र वर्गीय लडाइँ भन्दामाथि जातीय लडाइँलाई राख्न पुग्दछन्, जुन माक्र्सवादविरोधी कुरा हो ।
भाञ्जा : होइन मामा, तपाईको यो कुराले मेरो खासै चित्त बुझेन ।
मामा : किन बुझेन ?
भाञ्जा : किनभने अहिलेसम्म मैले जनजाति भनेकै श्रमिक वर्ग हो भन्ने बुझिरहेको छु ।
मामा : त्यो तपाईको बुझाइ सही छ† तर समयको गतिसँगै जनजातिभित्र पनि कैयौँ टाठाबाठा र जालीझेलीहरू जन्मेका छन् । स्वयं जनजातिभित्रकै कतिपय व्यक्तिहरू शोषकको रूपमा देखिएका छन् । त्यसैले अब जनजातिभित्रका श्रमीक वर्गले जनजातिभित्रकै शोषक वर्गलाई जनजाति भनेर छुट दिनु मिल्दैन । जनजाति नै भए पनि त्यो शोषक छ भने उसका विरूद्ध सङ्घर्ष गर्नै पर्छ ।
भाञ्जा : तर नि मामा, हामी जनजातिहरूको एउटा पक्षमा त दयनीय अवस्था नै छ नि ।
मामा : कुन पक्षमा ?
भाञ्जा : हामी सबैलाई थाहै छ नि मामा, अहिलेसम्म राज्यका महत्वपूर्ण अङ्गहरूमा हामी जनजातिका पहुँच कहाँ पुग्न सकेको छ र ? हामी जनजातिहरूका न सिडिओ र एलडिओ नै हुन्छन्, न मन्त्री प्रधानमन्त्री नै बन्न सक्छन् । हरेक सरकारी कार्यालयमा वा अड्डा अदालतहरूमा हाकिम बन्नेहरू पनि उनै बाहुन क्षेत्री नै हुन्छन् । हामी जनजातिहरूका त जता हे¥यो रित्तै घ् यो हिसाबले त मलाई चन्द्रे र इन्द्रेले भने जस्तै जातीय राज्य सहितको सङ्घीयता ल्याउने कुरा पो जायज लाग्यो ।
मामा : भाञ्जाको दिमागलाई पनि भटमास भुटे झैँ भुटिदिएछन् ती जातिवादीहरूले । हेर्नुस् भाञ्जा, जातीय राज्यका कुरा गर्नुभन्दा पहिले जनजाति र जातिका बीचको अन्तर राम्ररी बुझ्नु जरूरी छ । लौ भाञ्जा ठ्याक्कै भन्नुस् त जनजाति भनेको के हो ? अनि जाति भनेको के हो ?
भाञ्जा : यो बारेमा त मलाई त्यति थाहा छैन मामा ।
मामा : यसैले त भाञ्जा “पहिले कान छाम्नु, अनि मात्रै कागको पछि दौडनु ।” लौ सुन्नुस् भाञ्जा, जाति र जनजातिबीचको फरक । सर्वप्रथम कविला अवस्थामा रहेका विभिन्न मानव समुदायहरू व्यापार, विवाह, युद्ध, बसाइँसराई, सांस्कृतिक आदान प्रदान जस्ता विभिन्न कारणहरूले अन्तरघुलित भएर र प्रत्येक कविलामा रहेको परम्परागत भाषा, संस्कृति र मनोविज्ञान जस्ता विशेषताहरू लोप हुन गएर निर्माण हुन पुगेको नयाँ मानव समुदायलाई जनजाति भनिन्छ । यो जनजाति समुदाय सामन्तवादी युगभित्र हेलिएर देखा पर्ने मानव समुदायको एउटा चरण हो । यो चरणभित्र पनि थुप्रै भूभागमा थुप्रै जनजातीय मानव समुदाय चलायमान हुने र ती सबै जनजाति एउटै साझा भाषाको अभ्यास गर्दै साझा इलाका, साझा आर्थिक जीवन र साझा संस्कृति अँगाल्दै एउटा स्थिर जनसमुदायको चरणमा अथवा जातिवको चरणमा प्रवेश गर्न पुग्दछन् । त्यसैले हेर्नुस् भाञ्जा, आज हाम्रा देशका जातिवादीहरूले यही कुरालाई सही ढङ्गले बुझ्न सकिरहेका छैनन् अथवा बुझेर पनि बुझ पचाइरहेका छन् । उनीहरूले जाति र जनजाति दुवै चरणका मानव समुदायलाई गोलमटोल पारेर बुझ्ने गर्दछन् र दुवै राज्यको आवश्यकता नभएका अस्थिर र चलायमान जनजातीय मानव समुदायलाई समेत छुट्टै राज्य चाहिन्छ भन्दै हिँडेका छन् ।
भाञ्जा : उसो हो भने त हामी नेपालका जनजातिहरू जातिको चरणमा नपुगेसम्म राज्यविहीन अवस्थामा रहनु पर्ने भयो, कि कसो मामा ?
मामा : होइन, होइन भाञ्जा, राज्यविहीन अवस्था भन्ने कुरा त वर्गविहीन अवस्थामा मात्रै हुने हो । अहिले हामी राज्यविहीन अवस्थामा छैनौँ । हामी राज्यभित्रै मानव समुदाय हौँ । कुरा के मात्रै हो भने यो राज्य हाम्रो पक्षमा छैन† किनकि हामी शोषित र उत्पीडित वर्गका मान्छेहरू हौँ । अहिलेको राज्य शोषक र उत्पीडक वर्गको पक्षमा छ । तसर्थ हामी छुट्टै राज्यको लागि होइन, यही राज्यमाथि विजय प्राप्त गरेर शोषित उत्पीडित वर्गको पक्षपाति राज्य स्थापना गर्न सङ्घर्ष गर्नु पर्दछ ।
भाञ्जा : कविलाबाट जनजातिमा र जनजातिबाट जातिमा रूपान्तरित हुँदै मानव समुदायको सामाजिक चरण अगाडि बढ्दो रहेछ । यसरी नै कविला र जनजाति चरणमा रहेका मानव समुदायको छुट्टै राज्य नहुने, तर कुनै निश्चित र स्थिर अवस्थामा रहने जातिको भने छुट्टै राज्य हुन सक्ने कुरालाई आज पो बल्ल घाम जस्तै छर्लङ्ग बुझ्न पाएँ ।
मामा : यसै हिसाबले गर्दा मगर, गुरूङ, तामाङ, थारू, राउटे आदि हामीहरू जुन जुन समुदाय जनजातिको रूपमा चिनिँदै आएका छौँ, हामी जम्मै नेपाली जातको मनोविज्ञानमा मिलिसकेका छौँ । त्यसैले त हामी सबैले विश्व जगतमा हाम्रो राज्य भनेको नेपाल हो र हामी नेपाली हौँ भनेर आफूलाई चिनाउने गर्दछौँ । यसरी हामी कैयौँ जनजाति र समुदायहरूबीचमा नेपाली जातिको एउटा साझा र स्थिर मानव समुदायकसो निर्माण हुन पुगेको छ । जस अनुसार हामी नेपालीहरू एउटा साझा भाषा, साझा भूगोल, साझा आर्थिक जीवन र साझा संस्कृतिमा अभ्यस्त भइरहेका छौँ । पृथ्वीनारायण शाहको पालादेखि हाम्रो नेपाल राज्य र हामी नेपाली जाति ऐतिहासिक रूपले नै स्थापित र सङ्गठित भइसकेका हुनाले सङ्घीयताको नाममा हामीले छुट्टै राज्यको माग गर्नु भनेको नदुखेको कपाल डोरी लाएर दुखाउनु जस्तै हो । त्यसैले भाञ्जा हामीले सङ्घीयताको नाममा एउटा अखन्ड राज्यलाई खन्ड खन्ड बनाएर टुक्राउनु हुँदैन र नेपाली जातिलाई फुटाउनु हुँदैन । हेर्नुस् भाञ्जा, यदि हामीले यो देशलाई जोगाउने हो भने हामीले एकात्मक शासन व्यवस्थाका लागि नै जोड दिनु पर्ने हुन्छ ।
भाञ्जा : यही एकात्मक राज्यका कारणले हामी पुस्तौँपुस्तासम्म दबियौँ । छाडि पारियौँ† तर मामाले भने यै एकात्मक राज्यकै पक्षमा यो कुरा गर्दै हुनु हुन्छ ।
मामा : होइन, होइन भाञ्जा । हामी पुस्तौँपुस्तासम्म दबाइएको र पछाडि पारिएको भन्ने कुरा एकात्मक राज्यले कदापि होइन ।
भाञ्जा : उसो भए केले हो त ?
मामा : सुन्नुस् भाञ्जा । हामीलाई पछाडि पारेको त एकात्मक राज्यलाई चलाउने सामान्ती र केन्द्रीकृत शासन पद्धतिले गर्दा पो हो । त्यसैले हामी एकात्मक राज्यलाई चलाउनका लागि प्रजातान्त्रिक विकेन्द्रीकृत शासन पद्धतिको स्थापना गर्नु पर्दछ । यही शासन पद्धतिले हामी जनजातिलाई अधिकारसम्पन्न हुने र अगाडि बढ्ने मार्ग प्रशस्त गर्नेछ ।
भाञ्जा : मैले कुरा अझै अलि राम्ररी बुझिनँ मामा ?
मामा : सुन्नुस् भाञ्जा । यो एकात्मक राज्य चलाउनलाई प्रजातान्त्रिक र विकेन्द्रीकृत शासन पद्धतिको स्थापना गरेर यसभित्र हामी पछाडि पारिएका र दबाइएका कुनै पनि जनजाति वा समुदायलाई स्थानीय स्वशासनको अधिकार दिन सकियो अथवा जुन गाउँ वा जिल्लाहरूमा जुन जाति वा समुदायको घना बस्ती र अत्यधिक बाहुल्यता छ, ती गाउँ वा जिल्लाहरूमा तिनै जातिवा समुदायकै स्वशासन हुने गरी स्थानीय स्वशासनको व्यवस्था मिलाउन सकियो भने कुरै खत्तम ।
भाञ्जा : ओहो मामा घ् म त चन्द्रे र इन्द्रेको प्रसङ्गमा झन्डै फसेछु । यिनीहरू त जातीय सद्भाव बिगारेर द्वन्द्व मच्चाउने बाटोमा हिँडेका मुखुन्डोधारी मान्छेहरू पो रहेछन् ।
मामा : त्यसैले भाञ्जा, अब हामी सबै मिली मुखुन्डोधारीहरूका मुखुन्डो च्यात्नै पर्छ । साम्प्रदायिकतावादी र जातिवादीहरूबाट हामी सबै सजग हुँदै देश र जनतालाई सही बाटोमा हिँडाउनु पर्छ, कि कसो भाञ्जा ?
भाञ्जा : ठीकै भन्नु भो मामा, हामी सबै मिली साम्प्रदायिकतावादी र जातिवादीहरूको मुखुन्डो च्यात्नै पर्छ । देश र जनतालाई सही बाटोमा दोहो¥याउनै पर्छ ।
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २५ – May 8, 2013 – २०७० बैशाख २५ गते, बुधबार)