~राजेन्द्र पराजुली~
मैले डिप्रेसनको औषधि खान थालेको तीन वर्षजति भएको थियो। डाक्टर भन्थ्यो- तनाव यसरी नै बढाउँदै जाने हो भने औषधिको डोज बढाउनुपर्छ।
‘कति पटकसम्म बढाउन सकिन्छ डोज?’ मैले एक दिन डाक्टरलाई सोधेको थिएँ।
‘अब एकपटक बढाउन सकिन्छ,’ डाक्टरले भनेको थियो।
तर अचानक मलाई डोज बढाउन नपर्ने भएको छ। डोज क्रमशः घटाउन सकिने अवस्था आएको छ। डाक्टर नै चकित परेको छ। कसरी अचानक मेरो अवस्थामा यस्तो चामत्कारिक परिवर्तन आयो भनेर! मलाई भने थाहा छ मेरो डिप्रेसन कम हुनाको कारण। तर म यो कारण अहिले नै कसैलाई पनि बताउन चाहन्नँ। जे कारणले मेरो डिप्रेसन कम भएको हो, त्यो ‘कारण’ले मेरो साथ छाडिदियो भने! त्यसपछि त कुनै डोजले पनि मेरो डिप्रेसनलाई नियन्त्रणमा राख्न सक्ने छैन।
मलाई पटकपटक डाक्टरले सोधिसकेको छ, कसरी मेरो डिप्रेसन नियन्त्रणउन्मुख भयो भनेर।
‘यो विज्ञानलाई नै असफल बनाउने कुरो पो भयो त पत्रकार महोदय! कसरी तिमीमा यस्तो अस्वाभाविक परिवर्तन आयो? त्यो पनि जम्माजम्मी तीन महिनामा। यत्ति छोटो अवधिमा यसरी डिप्रेसन नियन्त्रण हुने विधि चिकित्सा विज्ञानले आजसम्म पत्ता लगाउन सकेको छैन। प्लिज मलाई त भन। तिम्लाई थाहा छैन, डाक्टर र वकिललाई कुनै पनि कुरा ढाँट्नु हुँदैन भन्ने!’
डाक्टर दीक्षित मलाई हैरान पारिरहेको थियो। प्रायः हरेक दिनजसो ऊ मलाई फोन गर्थ्यो। पहिलापहिला उसलाई भेट्न कम्ती गाह्रो थिएन। दुई महिना कुरेर मैले उसलाई पहिलोपटक जँचाएको थिएँ। सन्काहा छ यो डाक्टर, तर रोग निको पार्न अत्यन्तै सिपालु। त्यसैले मान्छेहरू उसलाई जँचाउन चाहन्छन्। बिरामीका निम्ति ऊ अहिले पनि ‘भेट्न मुस्किल’ डाक्टर हो। तर मेरो पछि नै लागेको छ ऊ अचेल। सन्काहामात्र हो र, बडो जिद्दी पनि छ यो डाक्टर। अब त यसका प्रश्नहरूले पो मेरो नियन्त्रित डिप्रेसन बढाउला कि भन्ने भय छ! किन यतिविघ्न स्याडिस्ट भएको हो डाक्टर!
‘स्याडिस्ट’ गज्जबको विशेषण हो यो, डाक्टर दीक्षितको नामका अघिल्तिर झुन्ड्याउनका निम्ति। अचानक फुरेको छ यो विशेषण मभित्र। कारण जेसुकै भए पनि बढ्दै गएको मेरो रोग अचानक कम हुँदै गएको छ, त्यसमा खुसी हुन छाडेर यो डाक्टर मसँग किन कारण सोधिरहन्छ!
‘डाक्टरसाप तपाईंको औषधि र उपचारविधिकै कारण मेरो रोग नियन्त्रणमा आएको हो’ भन्दा पनि मान्दैन। उसलाई खास कारण नै चाहियो रे! स्याडिस्ट चरित्रको योभन्दा अर्को उदाहरण के हुन सक्ला? कतै यो डाक्टर मेरो डिप्रेसन कम भएकोमा दुःखी त छैन? मलाई अलिकति शंका लाग्छ।
‘तिम्ले पत्रकारिता छाडेको हो?’ डाक्टरले एक दिन मसँग सोध्यो। डाक्टरको ठहर थियो— मेरो असफल पत्रकारिताका कारण मभित्र फ्रस्टे्रसन बढ्दै गयो। त्यही फ्रस्टे्रसनको चरम रूप हो डिप्रेसन। मेरो रोगको डायग्नोसिसको निष्कर्ष उसले यही दिएको थियो। ‘आफूभन्दा कम उन्नति भएका मान्छेलाई हेरेर पनि चित्त बुझाउनुपर्छ’ भन्थ्यो ऊ कहिलेकाहीँ।
‘चालीस वर्षका भइसक्यौ, बिहा किन गर्दैनौ?’ यो पनि उसको नियमित प्रश्न थियो। ‘मान्छेभित्रका कुण्ठा, असफलता वा गल्ती नै पनि कुनै मन मिल्ने साथीसँग भन्न पाउँदा हलुका हुन्छ। यसले फ्रस्ट्रेसन हुन दिँदैन। त्यस्तो साथी आफ्नी श्रीमतीजत्तिको उपयुक्त अरु कोही हुन सक्दैन,’ डाक्टरको यो भनाइ पनि मलाई थोत्रो लागिसकेको थियो।
डाक्टरलाई थाहा थियो— मैले २० वर्ष पत्रकारितामा बिताइसकेको थिएँ। तर पनि म कहिल्यै सम्पादक हुन सकेको थिइनँ। सधैं सेकेन्ड म्यान। मैले पत्रकारितामै स्नातकोत्तर गरेको छु। समाचार लेख्न, लेख लेख्न र सम्पादन गर्न पनि म कोहीभन्दा कम छैन। मभन्दा धेरै जुनियरहरू मेरा सम्पादक भइसकेका थिए। पत्रकारिता पढ्दै नपढेका र जम्माजम्मी आइए पढेका व्यक्ति सम्पादक हुने क्रम बढिरहेको थियो। तर म कहिले समाचार सम्पादक, कहिले समाचार संयोजक त कहिले चिफ रिपोर्टरमै सीमित थिएँ। माथि जान सकिरहेको थिइनँ। उसले भनेको ‘आफूभन्दा तल रहेकालाई हेर्ने’ सूत्र पनि मेरो सवालमा काम लागेको थिएन। पछिल्ला केही वर्ष त मैले काम पनि राम्ररी गरिरहेको थिइनँ। तर पनि मलाई प्रकाशक र सम्पादक कामबाट निकाल्न सकिरहेका थिएनन्। किन निकाल्न नसकेका होलान्! कहिलेकाहीँ म सोच्थेँ र अचम्म मान्थेँ। सायद दया पो गरिरहेका हुन् कि!
आफू काम गर्ने पत्रिकामा म हरेक साता पूरा एक पृष्ठको स्तम्भ लेख्थेँ। ‘काठमान्डु गीत’ शीर्षकमा शुक्रबार आउने उक्त स्तम्भमा राजधानीका विसंगत पक्षलाई घोच्थेँ। लेख्दालेख्दा म काठमाडौंप्रति बढी नै आक्रामक हुन थालिसकेको थिएँ। जे मन लाग्यो त्यही लेख्थेँ। मेरो स्तम्भ सम्पादन हुँदैनथ्यो। अर्थात् त्यो सम्पादन गर्ने सक्ने हैसियत भएका पत्रकार मैले काम गर्ने पत्रिकामा कोही पनि थिएनन्। सम्पादक त झन् कामै गर्दैनथ्यो। थुप्रै ‘ठूलाबडा’सँग भने उसको कुशल सम्बन्ध थियो। यही ‘पिआर’लाई भजाएर नै ऊ विभिन्न पत्रिकामा सम्पादक हुन सफल भएको थियो। ऊ गफ हाँक्न पनि खुबै सिपालु थियो।
आफ्नो स्तम्भ म मनमौजी ढंगमा लेख्थेँ। एक प्रकारले त्यो स्तम्भ मेरो कुण्ठा पोख्ने स्पेस बनिसकेको थियो। यो कुराको ज्ञान पनि मलाई हालैका दिनमा मात्र भएको हो।
डाक्टर दीक्षित मान्छेको मनोविज्ञान बुझ्न खप्पिस मानिन्थ्यो। मनोचिकित्सामा उसले धेरै ज्ञान हासिल गरेको थियो। ऊ मलाई स्तम्भ नलेख्ने सल्लाह दिन्थ्यो। मनमा यस्तो कुरा खेलिरहँदा मानसिकतामा नकारात्मक असर पर्छ भन्थ्यो। त्यसैले डाक्टरका अनुसार स्तम्भ नलेख्नु मेरो स्वास्थ्यको हितमा थियो। तर म मान्दैनथेँ। साताको दुई–तीन दिन म विषय खोज्न काठमाडौंका गल्ली र काँठ क्षेत्रतिर डुल्न निस्कन्थेँ। मेरो स्तम्भ निकै लोकप्रिय थियो। हरेक साता दर्जनौं इमेल मेरो प्रशंसामा आउँथे। सायद ती इमेल लेखकको मानसिकता पनि मेरोजस्तै अवस्थाको थियो। तिनलाई पनि काठमाडौंलाई गाली गरेको खुबै मनपर्थ्यो। म दिनप्रतिदिन काठमाडौंप्रति आक्रामक बन्दै गएको थिएँ। मलाई डिप्रेसनको सिकार बनाउने चालीस लाख मान्छे बोकेर बस्ने काठमाडौं नै हो भन्ने मेरो ठहर थियो।
एक दिन अचानक मेरो निजी इमेलमा स्तम्भको विरोधमा चिठी आयो। चिठी लेख्ने पाठकको नाम थियो— शिखरा। नाम देखेर नै मलाई त्यो छद्म हो भन्ने लाग्यो। चिठी पढिसक्दा मेरो रिसको पारो सबैभन्दा चुचुरोमा पुगिसकेको थियो। मेरो औंला ‘डिलिट’मा पुगिसकेको थियो। मलाई आफ्नो कम्प्युटरमा त्यो चिठी एकछिन पनि राख्न मन लागेन। ‘दुस्मनको चिठी’जस्तो लागेको थियो त्यो मलाई। त्यसैले एकपटक पढेर डिलिट ठोकिदिएँ। चिठीले मलाई घोचिरहेको थियो, खाइरहेको थियो। बाहिर निस्केर एक कप कडा कालो कफी खाएर म पुनः अफिस फर्कें।
कम्प्युटर अन गरेँ। कुन मनले हो मेरो औंला ‘रिसाइकल बिन’मा पुगेछ। र, मैले शिखराको चिठी तानेर पुनः अगाडि डेस्कटपमा ल्याइसकेछु। मैले एकपटक फेरि त्यो चिठी पढेँ। पहिलो पटकभन्दा कम रिस उठ्यो।
‘प्रिय लेखक,
यो सुन्दर काठमाडौंलाई यसरी निरन्तर गाली गर्ने तिम्रो अधिकार छैन। यही काठमाडौंले तिमीजस्ता लाखौं मान्छेलाई आफ्नो छातीमा बास दिएको छ, बिना कुनै गुनासो। काठमाडौं स्वयंमा बिग्रेको र नकारात्मक स्थान होइन, तिमी र तिमीजस्तै मान्छेले यसलाई विरूप पारेका हुन्।
म तिम्रो स्तम्भ ‘काठमान्डु गीत’को नियमित पाठक हुँ। तिम्रो भाषामा चमत्कार छ। शैली चित्ताकर्षक छ। त्यति मिठो भाषाशैली भएको मान्छेले किन यतिविधि स्याडिस्ट आर्टिकल लेखेर क्षमतालाई नष्ट पारेको? मान्छेलाई यस्ता आर्टिकल पढिसकेपछि आनन्द आउँदैन। तिमीले गाउन खोजेको काठमान्डुको गीत बेसुरा छ। त्यसमा तिमीले भरेको संगीत लयहीन छ। तिमी प्रायः काठमाडौंलाई ‘उत्तरआधुनिक सहर’ भनिदिन्छौ। तर वास्तवमा तिम्रो लेखनीचाहिँ उत्तरआधुनिक लाग्छ मलाई। त्यसमा न छेउ छ न त टुप्पो नै, केवल गाली छ। तर तिम्रो गाली गर्ने शैलीचाहिँ मज्जाको छ। तिम्रो भाषाले पाठकलाई तान्छ। तिमी यसका सकारात्मक पक्षमा बिलकुलै ध्यान दिँदैनौ। कहिले यहाँका मान्छेले प्रयाग गर्ने भाषामाथि प्रहार गर्छौ त कहिले भत्किएका सडकलाई व्यंग्य ठोक्छौ! एकपटक शान्त मनले काठमाडौंलाई कुनै अग्लो ठाउँमा गएर नियाल त, तिमी यसलाई सुन्दर देख्नेछौ।
हुन त तिम्रो पेसा पत्रकारिताले ‘हरेक कुरा र विचारलाई शंका गर’ भन्ने सिद्धान्त बोक्छ क्यारे! तर तिमीजस्तो दक्ष कलम भएका व्यक्तिले नै त हो गलत र स्थापित सिद्धान्त भत्काउने। र, नयाँ मान्यता स्थापित गर्ने। तिमीलाई लाग्दो हो, मेरो स्तम्भ दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ। तर तिमीले भुल्न नहुने कुरो के हो भने दुनियाँमा ‘स्याडिस्ट’को संख्या असाध्यै धेरै छ। तिमीले तिनै स्याडिस्टलाई खुसी पार्ने काम गरिरहेका छौ। तिम्रै स्तम्भका कारण मान्छेका ‘स्याडनेस’ बढेको कुरामा तिमी रत्तिभर चिन्तित छैनौ। समाजलाई सकारात्मक बनाउन तिम्रो स्तम्भले कुनै काम गरिरहेको छैन। मान्छेका दुःख बढाउने काममात्रै गरेको छ, शंका र चिन्ता बढाउने काममात्रै गरेको छ।
निश्चय पनि म तिम्रो नियमित पाठक हुँ। नछुटाई तिम्रो स्तम्भ पढ्दै आएको छु। कुनै न कुनै दिन त तिम्रा आँखाले यो काठमाडौंलाई सुन्दर देख्ला र यसको पक्षमा लेख्ला भन्ने मेरो विश्वास छ। तर आजका मितिसम्म त्यो देख्न पाएको छैन। त्यसैले आज यो पत्र तिम्रा नाममा लेखिरहेकी छु। तिमीलाई मन लाग्दा यो पत्रलाई प्रकाशित गर्नेछौ, अन्यथा कम्प्युटरको रिसाइकल बिनमा फ्याँकिदिनेछौ। यो तिम्रो इच्छा र अधिकारको कुरा हो।’
मैले तीनपटक शिखराको चिठी पढेँ। मेरो दिमाग यति धेरै असन्तुलित भएको यो पहिलोपटक हो। मन साह्रै उद्वेलित हुन पुगेको थियो। सम्हालिएर सामान्य बन्न कठिन भइरहेको थियो।
मैले विचार पृष्ठको साथीलाई उक्त इमेल फरवार्ड गरिदिएँ र छाप्न भनेँ। उसले चिठी पढेर भन्यो, ‘दाइ यो त तपाईंको विरुद्धमा पो छ त! यति धेरै गाली गरेको छ तपाईंलाई किन छाप्नु! तपाईंले पढ्नुभएन? छाप्ने र यसलाई!’
मैले सहमतिसूचक टाउको हल्लाएँ र पुनः छाप्नका लागि उसलाई भनेँ।
बिहानै डाक्टर दीक्षितले मलाई फोन गर्योप। ‘चमत्कार नै गरेछौ पत्रकार तिमीले त! आफ्नो विरोधमा चिठी प्रकाशित हुन दिएछौ। म निकै खुसी छु तिमीमा आएको यो परिवर्तनले। यसले तिमीमा सकारात्मकताको विकास गर्नेछ। तिम्रो डिप्रेसन कन्ट्रोलमा ल्याउन यसले मद्दत गर्नेछ। कङ्ग्राचुलेसन पत्रकार!’ डाक्टरको फोनले मलाई हल्का सञ्चो पारेको थियो। उसले साँझ भेट्न बोलाएको पनि थियो। तर मैले आउन असमर्थ रहेको बताएको थिएँ। मेरो मोटरसाइकलमा पेट्रोल थिएन। पेट्रोल भइदिएको भए म निश्चय पनि जान्थेँ, डाक्टरले बोलाउँदा नजाने प्रश्न नै थिएन।
मुलुक महिनौंदेखि छिमेकीले गरेको नाकाबन्दीको मार खेपिरहेको थियो। नाकाबन्दीले देशभरि इन्धनको हाहाकार मच्चिएको थियो। नाकाबन्दी भएकै दिनदेखि मैले मोटरसाइकल घरमै थन्काइदिएको थिएँ। सडकमा सवारीसाधन पातलो भइसकेको थियो। बिहान एघार बजेतिर म अफिस जान घरबाट निस्केको थिएँ त्यस दिन। सार्वजनिक सवारीमा पाइला राख्ने ठाउँ थिएन। कसरी पुग्ने अफिस! म चिन्तित थिएँ। छतमा बस्न मलाई बिलकुल मन लाग्दैनथ्यो। त्यसो गर्न मेरो उमेरले पनि दिँदैनथ्यो।
नाकाबन्दीले काठमान्डुवासीमा एउटा सहिष्णु संस्कारको भने विकास गरिदिएको थियो। ‘लिफ्ट’ संस्कार कसैले नसिकाईकनै सिकेका थिए काठमान्डुवासीले। कुनै पनि मोटरसाइकलवाला एक्लै हिँड्दैनथ्यो। कारवालामा पनि त्यस्तै भावना विकसित हुँदै गएको थियो। सवारी कुरिरहेका मान्छेलाई ‘कहाँ पुग्ने’ भनी सोधेर लिफ्ट दिने काम भइरहेको थियो। पन्ध्र मिनेटजति बसस्टपमा बस्दा मैले पाँच जनाले लिफ्ट पाएको देखेँ। तर मलाई भने कोही लिफ्ट दिइरहेका थिएनन्। त्यसो त मैले पनि कसैसँग लिफ्ट मागिरहेको थिइनँ। मैले लिफ्ट संस्कारलाई नै यसपटकको मेरो स्तम्भको विषय बनाउने निधो गरेँ।
शनिबार पनि बस बिसौनीमा मान्छेको हुल थियो। म तिनका अनुहार हेर्न थालेँ। बस कुरेर बसेका सबै मान्छे मेरो स्तम्भका पात्र हुन लायक थिए।
अचानक रातो स्कुटी मेरो अघिल्तिर आएर रोकियो।
‘तपाईं कहाँसम्म जानुहुन्छ? म पुर्या इदिन्छु,’ स्कुटीचालकको सुमधुर आवाज मेरो काननजिकै गुञ्जियो।
मैले दायाँबायाँ पल्याकपुलुक हेरेँ, अरू कसैलाई पो भनेको हो कि जस्तो लागेर! उनले पुनः सोही वाक्य मैतिर औंला तेर्स्याउँदै दोहोर्याकइन्।
‘म सुन्धारा–सहिदगेटतिरै जाने हो,’ उनले भनिन्।
‘मेरो अफिस सुन्धारामा छ भनेर कसरी थाहा भयो? कि यी महिलालाई म पत्रकार हुँ र कुन पत्रिकामा काम गर्छु भन्ने पनि थाहा छ? कतै यिनले मलाई चिनेर नै लिफ्ट दिन त खोजेकी होइनन्?’ मैले आफैसँग प्रश्न गरेँ।
आफ्ना प्रश्नका उत्तर खोजिरहनु आवश्यक लागेन मलाई। उनको प्रस्तावलाई सहर्ष स्वीकार्दै म स्कुटीको पछिल्तिर बसेँ।
सुरुमा उनले स्कुटीको एक्सिलेटर अलि बढी दाबिन्, तर एकैछिनपछि घटाइन्।
काठमाडौंमा जाडो सुरु हुनै लागेको थियो। पातलो सर्ट र हाफ स्वेटर लगाएको थिएँ। स्कुटीमा बस्दा चिसो महसुस भइरहेको थियो।
‘मेरो नाम शिखरा,’ स्कुटीको स्पिड थप घटाउँदै उनले अलिकति मतिर फर्किएर भनिन्।
‘शिखरा…!’ मैले उनको अनुहार हेर्ने प्रयास गरेँ। तर देखिएन। लुकिङ ग्लासमा हेरेँ। अलिअलि देखियो।
मलाई अकस्मात् गर्मी महसुस हुन थाल्यो। फेरि लुकिङ ग्लासमा मेरा आँखा दौडिए। कालो रङको पुलओभरमा थिइन् उनी। आँखामा ठूलो आकारको गगल्स, ओठमा गुलाफी लिपिस्टिक। अनुहार गोरो र गोलो। बस् यत्ति देखेँ मैले।
‘के हामी सँगै बसेर एकएक कप क्यापुचिनो खान सक्छौं?’ उनले प्रस्ताव मतिर फ्याँकिन्।
मैले ‘हुन्छ’ भनेँ। मभित्र कौतूहलताको ठूलो भुइँचालो गइरहेको थियो। मेरा हातगोडा शिथिल भइसकेका थिए।
कफी स्टेसनमा पुगेर हामीले क्यापुचिनो खायौं करिब चालीस मिनेट लगाएर। उक्त अवधिमा बोल्ने कुनै शब्द नै पाइनँ मैले। उनी पनि उतिविधि बोलिनन्। केवल दुई वाक्य बोलिन्।
‘मैले तपाईंको फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको धेरै लामो समय भइसकेको छ, प्लिज त्यो एक्सेप्ट गरिदिनुस् है।’
र, अर्को वाक्य, ‘के तपाईं आफ्नो मोबाइल नम्बर मलाई दिन सक्नुहुन्छ?’
उनका दुवै वाक्यलाई मैले ‘हुन्छ’ मा जवाफ दिएको थिएँ।
म पुनः उनको स्कुटीको पछाडि बसेँ एउटा आज्ञाकारी बालकझैं। उनले मलाई मेरो अफिससम्मै पुर्या?इदिइन्। छुट्टिने बेलामा एउटा अर्को वाक्य बोलिन्, जुन मेरा निम्ति अत्यधिक महŒवको थियो। सोही वाक्यको अक्षरशः पालना गरेकै कारण मेरो डिप्रेसन नियन्त्रण भएको छ। यही कुरो डाक्टर दीक्षित सुन्न चाहन्थ्यो।
‘तपाईं आफ्ना आवेग, रिस, कुण्ठा सबै मसँग पोख्न सक्नु हुन्छ— कृपया त्यसलाई आफ्नो स्तम्भ वा कतै अन्त कुनै मान्छेसँग प्रकट नगर्नोस्,’ स्कुटी पूर्वतिर मोडेर शिखराले मलाई भनेकी थिइन्।
२६ मंसिर, २०७२
(स्रोत : नागरिक – शनिबार)