~डा. गोविन्दराज भट्टराई~
बसन्त ऋतु विदा हुने एक बिहान भ्यालमा बसेर माथि बाघभैरवको गजूरतिर एक दृष्टि लगाएँ । फेरि एक दृष्टि इन बक्सका इमेलतिर दिएँ । माथि सल्लेरी पनि बिस्तारै हल्लिरहेको छ। यो मौसमका चरा कराएको सुनिने गरी झ्यालबाट सिरसिरे बतास ओहरदोहोर गरिरहेको बेला तल खेतका गरा खनेर तयार छन्; धानका वियाड घामले जल्ने हुन् कि पानी पर्खिरहेछन् । कान्तिपुरवाला आएर गइसक्यो, काठमाडौं पोस्ट त्यसैमा हुन्छ। नागरिक, द हिमालयन टाइम्स पनि मोटरसाइकलमै बोकिएर आउँछन् । साइकलमा टाँसिएर आउँछन् विचारा गोरखापत्र र राइजिङ नेपालहरू यति बिहानै पारी कलङ्कीतिरका गाडी हल्लिन थालेका छन् । जीवनको प्रारम्भ यिनै दृश्य, ध्वनि, गन्ध र अक्षरबाट हुन्छ यो कीर्तिपुरमा ।।
यो सुन्दर र स्वच्छ कीर्तिपुरले मलाई चिन्दैन तर चालीस वर्ष पुग्नै आँटेछन् म यसको काखमा बसेर वरपर नाचिरहेको छ । आजको दैनिकी हेरें- प्रज्ञा-प्रतिष्ठानमा रुसी विद्वान बोइड माइकलोब्स्कीको हायू भाषासंस्कृति माथि प्रवचन छ। प्रवचन छ। आजै विनय रावलको पाँचौ वार्षिक श्रद्धाञ्जली कार्यक्रम छ । राष्ट्र बैङ्क जान्। छ। त्यहाँ उनको योगदानबारे बोल्नु छ । “एक अमर योद्धाको सम्झनामा’ शीर्षकको रचना तयार गरेको छ । उनको स्वतन्त्रता प्रेम र विचारको साम्राज्य स्थापनामा गरेको लडाईं हामीले भुलेका छैनौं। कठोर कालमा आस्थाका लागि लडेका थिए; लडाइँको बीचमै/असमयमै उनी बितेर गए। उनले आजको परिवर्तित दिन अझ भोलिको बिहान देख्नु पर्यो । स्रष्टा र बौद्धिकहरू निरङ्कुश भएर बोल्न सकेको लेख्न सकेको दिन उनले पर्खिरहेका थिए। यस्तो व्यक्तिको सम्झनामा स्थापित एक सम्मानित पुरस्कार ज्ञानु पाण्डेलाई प्रदान गरिने अवसर पनि छ ‘विनय रावल पुरस्कार’ । डा. ज्ञानु पाण्डे एक वैचारिक बौद्धिक एवम् स्वतन्त्रता प्रेमी विदुषी हुन्। उनले वी.पी. कोइरालाका उपन्यासमाथि विद्यावारिधी गरेकी हुन् । उनको सम्मान हुनु पनि मानव स्वतन्त्रताप्रतिको आस्थाको अभिव्यक्ति हो । यतिखेर हामी स्पष्ट विचारक विदुषी मान्दछौं उनलाई।।
आज एक ठाउँ मात्र जान सक्छ होला । फेरि भोलिको हेरें-भोलि पनि रहेछ । भीमनिधि तिवारीको शतवार्षिकी समारोह हिजो आरम्भ भयो। त्यो वर्षभरि चल्ने छ। भोलि पनि छ। भोलि प्रा. केशवप्रसाद उपाध्यायको दुःखान्त नाट्य परम्परा र नाटककार तिवारीको दुःखान्त नाट्यविधान शीर्षक एक कार्यपत्र छ- प्रज्ञा-प्रतिष्ठानमा । हाम्रा समयका एक उच्च समालोचक प्रा. सुवेदी । अब पुराना पुस्ताका सम्मानित समालोचकहरू धेरै नै विदा भइसकेको रिक्तता छ। खासगरी कृष्णचन्द्रसिंह प्रधानको अवसानले उत्पन्न गरेको रिक्तता अब कहिल्यै भरिने छैन । यही आउँदो सोमबार उहाँको पनि प्रथम वार्षिकी छ र पुस्तुनजीले भन्नु भएको छ- केही लेख्न सके हुने । मनमा कति सपना छन् । शरीर चटपटाउन नसकिने गरी बाँधिएको छ- विविध प्रकारका कर्तव्यले, वाञ्छनाले, दैनिकीले अठचालिस घण्टे दिनरात भइदिए अलिक भ्याइन्थ्यो कि ? यस्तो सुन्दर, स्वच्छ, शुभ्र बिहानीमा पनि यो मन तीब्र बतासले छुचल्काएको तलाऊझै छ। कति काम भ्याउँछ होला ! कति धेरै काम ता नभ्याएर नै छुटिरहेका गन्छ प्रत्येक साँझ।।
डा. पुस्तुन प्रधानले आफ्नो पिताको वार्षिकी सम्झाएझैं डा. बेन्जु शर्माले पनि आफ्ना पिता तिवारीजीको शतवार्षिकी सम्झाएकी छन् । तर दुवै स्रष्टा परिवारबाट माथि टाढा पुगेका, राष्ट्रकै वन्दनीय व्यक्तित्व हुन् । त्यहाँ प्रा. उपाध्यायको प्रस्तुतिमाथि टिप्पणी छ। एक पुराना पुस्ताका समर्पित विद्वान्ले लेखे/ बोलेको कुरा छ। अब यस्तो आदरणीय पुस्ता ओझेल पर्न लागेको समय छ। त्यताको तयारी गर्ने छ।
यति कामहरू मनमा छचल्किन थालेपछि इमेल खोल्दै, कौसीबाट देखिने कीर्तिपुर डाँडातिर आँखा लगाउँछ। नजिकै छ नेपाल भाषा एकेडेमी, नजिकै छ मोडेल अस्पताल, नजिकै छ सेता गाडी कुदाउँने रिङ्गरोड, प्लटिङले धसारेको फाँट र नजिकै छ मसलाको बोटले छोपेको त्रिभुवन विश्वविद्यालय।
चार दशक पुग्नै लागेछन् । यी निर्जन स्याल कुद्ने झोडी जङ्गल, खेतका फाँट र एकान्तहरू पहिलोपल्ट देखेको आज त्यो सपना भएको छ। बिहानैदेखि ईंटा ओसार्ने ट्रकहरू धुलो उडाउन थालेका छन्, बालुवा बोक्ने टिपरहरू फर्किसकेका छन्, कर्मी ज्यामी कति घरका गारामा झुन्डिएका; छानामा काँटी ठोक्न थालेका ठेकेदार, बेल्चा भिरेर उडेका बालुवाचालक, फाँटभरि सिग्रेट तान्दै कान्लाकान्ला हामफाल्दै गरेको जग्गा दलाल, जमीन भत्काउन तत्पर भएको पहेंलो एक्स्काभेटर, काँधमा जाँडको गाग्रा बोकेर खेत खन्न झरेका अनेक खेतालाको लस्कर । तर बिस्तारै तिनीहरूको संसार विस्थापित हुनेछ। कहाँ छन् र अब खुन्नलाई बाँकी रहेका खेत ? बाँकी रहेका खेतहरू सबै नेल हतकाडीमा छन्- त्यो सिरानको घडेरीवाला अमेरिकामा छन्, बीचको मेघालयका हुन्, पुछारका दुईवटा एउटा पहाडेको अर्को मधेसी जनकपुरीयाको। ती मात्र ओगटिएका बाँझा छन् । उता क्यानडा छिरेको गोपीले भनेका छन्- मामा एउटा घडेरी त्यहीं रोकिदिनू । यसरी संसार ओगट्नेले काठमाडौं निले; त्यसमाथि ढुङ्गाले, बालुवाले छडफलामले, गगनचुम्बीले सारा निल्यो। त्यसमाथि काला प्लाष्टिक र भुस्याहा कुकुर झटारिएर उडेको दृश्य हेर्नु त्यसमाथि ट्याङ्लाको डिलमा उठेको एउटा कोलोनी उता ढुङ्गा अड्डातिर फैलिएको अर्को विशाल हाउजिङ्ग कम्पनी हेर्नु। यी फाँटहरू समाप्त पारिए। यो देखेर मनमा एउटा भीड, एक उकुसमुकुस र व्यक्त गर्न नसकिने व्यस्तताले छोप्छ।
यी व्यस्तताहरू उठेर मनमा बसिसकेपछि तिनीहरूलाई विर्सन खोल्दै इनबक्समा क्लिक गर्छ – मेरो मनमा यतिबेला कुनै गोप्य आशाहरू हुन्छन्। यति स्वच्छ बिहान यो यन्त्रमा केही राम्रा खवर आए हुने । दिनभरिलाई उज्यालो दिने शब्दहरू भए हुने । नभन्दै एउटा थियो मुकुल दाहालको। बेलायतमा बसेर आधुनिक नेपाली कविताको अध्ययन गरिरहेका विद्वान् भाइ । आफ्नो साइट सुदृढ गर्न अङ्ग्रेजीमा लेखिएका कविता विषयक लेख रचना समालोचना पठाइदिनु होला दाजु । म विश्वलाई अवगत गराउन चाहन्छ। उनले त्यही लेखेका छन्। मैले उत्तर दिएँ भाइ मैले गतवर्ष देहरादुनको नेपाल-भारत सम्मेलनमा प्रस्तुत गरेको आधुनिक नेपाली कविताका प्रवृत्ति विषयक कार्यपत्र (त्यसको अङ्ग्रेजी अनुवाद) नत्थी गरिरहेको छ। नेपाली कवितालाई विश्वतिर परिचित गराउने तपाईंको यस प्रयत्नको म हार्दिक स्वागत गर्दछु। मेरो पनि त्यहीं खिलिदिनु होला ।
माथि रिङ्गरोडमा सेता माइक्रो, पहेंला मिनी र नीला साझाहरू उड्न थालेका छन् । बाघभैरवसँगै नारिएर कसरी त्यो वाइफाइको टावर उभिएको आकास छुनेगरी । मलाई त्यो एक अत्याधुनिक जीवनसँग प्रत्यक्ष जोडिएको नयाँ बाघभैरवको अर्कै गजूर लाग्छ। एकछिन त्यो (वाइफाइ) देवता अप्रशन्न हुँदा कत्रो अन्धकारले छुन्छ। तल भाइ देवेन्द्र ल्यापटपको छेउमा चिया राखेर बसिरहेका छन् । पर्तिर ऋचा पनि ब्लयाकेट भित्र ल्यापटपमै छिन्, टाढाकी सेवाले भनेकी छन्- मैले लस एन्जेलसबाट फर्किंदा भ्यान गगको चित्र देखें बुबा ।
भ्यान गगको ?
उनले बनाएको ।।
म खुसीले उत्तेजित भएँ, किन मलाई भ्यान गग सधैं चिनेको जीवित व्यक्तिनैं लागेको होला ! लैनसिंह बाङ्गदेलले अनेक पल्ट उनको बारेमा लेखेका छन्; मुकेश मल्लले आफ्नो पुस्तक (नेपाली कलाको उत्तरआधुनिक अभिलेखन) को एक च्याप्टर अर्पित गरेका छन् । यसै वर्ष प्रकाशित कुमार नगरकोटीको मास्टरपीस मोक्षान्त : काठमाडौं फिभरमा पनि भ्यान गग कसरी पसेका छन् नेपाली कथामा। एक विश्वचित्रकारले पाएको सम्मान कति ठूलो छ; कति व्यापक उनको प्रभाव ! मैले पनि वाङ्गदेलको विषयमा लेख्ता कसरी भ्यान नझेडेको छ । कसरी जोड़ें भन्नुहोला; त्यो उत्तरआधुनिक विमर्श (२०६४) भित्र आलेख छ आधुनिक फ्रान्सेली दर्शन, कला र साहित्यले विश्वलाई देखाएको बाटो शीर्षकमा । त्यहीं म अलिकति वाङ्गदेलको प्रवक्ता भई बोलेको छ । फेरि यतिखेर मोमिलाको सेलेक्टेड पोएम्समाथि परिचय समीक्षा लेख्दैछु । त्यहाँ एक कविता छ, उनले भ्यान गगलाई समर्पित गरेकी ।
त्यो तारा बलेको रात शीर्षक कविता पनि मैले सम्झे-
दुई ताराबिचको दुरीमा
कति पीडाहरू अटाउन सक्छन् !
जीवनभन्दा पनि दिव्य मृत्यु
यो रात !
यही दुरी मीठो लागेको छ।
तारा बलेको यो मलामी रात !
तिम्रो प्रेमको आकाश फैलिन
मलाई तिमै समयको वेश्या हुने रहर छ
तिमीजस्तै, म ।
मेरो समयको ‘आउटसाइडर’ हुँ।
तर सभ्यताको प्रेममय विश्राम ।
यो साइबर रात !
सम्झेरै आत्महत्याको कुरा गर्ने छैन।
रात त आखिर
उज्यालोमा छायाँ परेको न हो !
यो कवितांश पढिसकेपछि सेवालाई सम्झेर सोधे- छोरी, भ्यान गगको आपनै पेन्टिङ्ग कि अरूले गरेको उनको ?
उनले भनिन्- बुबा, उनले बनाएको पेन्टिङ्ग मैले हेरें । त्यसको शीर्षक थियो आइरिसेज त्यसपछि मैले हेरें – आइरिस ग्रिक पुराकथाबाट आएको शब्द जसको अर्थ हुन्छ इनद्रेणीकी देवी वा दूत । आँखाको नानीलाई पनि आइरिस भनिन्छ। तर यहाँ भ्यान गगको आइरिसको अर्को अर्थ छ । यो एक प्रकारको पुष्प हो। पातलो डन्डि र तरवारनैं पात गरेको, बहुरङ्गी ससानो भुइआफूलको नाम आइरिस हो। भ्यान गगले बनाएका आइरिसेजको बारेमा लस्ए न्जलसको गेटि सेन्टर (सङ्गाहालय) ले व्याख्या गरेको छ : मई १८८९ मा भ्यान गग आत्मध्वंशको असफल प्रयत्नले विक्षिप्त थिए। ती उनको मृत्युपूर्वका अन्तिम दिन थिए। ती दिनमा उनले १३० वटा पेन्टिङ्ग बनाए। उनले पहिलो हप्ता आइरिसेज। (इन्द्रधनुषी) फूलबाट आरम्भ गरे। जापानी बुट्टाबाट प्रभावित ती अमर कर्महरू विविध रङ्गमा थिए, कुनै फूल यसका किनारा उम्लेर बुट्टामा परिणत भएका अनेक रूप रङ्ग, आकृति र स्वरूप देखेर त्यही वर्षको प्रदर्शनीमा उनका भाइले लेखेका थिए- टाढबाट यसले आकर्षित गर्दछ। यी जीवन र प्रकाशले युक्त रचना हुन् ।
भ्यान गगले रचेको प्रत्येक आइरिस भिन्न र विचित्र छ । उनले ती पुष्पको गति, चाल, रङ्ग, आकारको गहिरो अध्ययन गरी, अनेक प्रकारका पाश्र्वचित्र, तरङ्गित, वटारिएका, लर्केका, उठेका, छायाँमा, रेखामा, प्रकाशमा हुँदाका भिन्नाभिन्नै रूप रचेका थिए । “पुष्पको प्रकृतिलाई कसरी भ्यान गगले जीवन दिएका होलान् !” त्यसबेला मानिसले आश्चर्य प्रकट गरेका थिए । ती पेन्टिङ्को पहिलो धनी भ्यान गगका समर्थक, पे्रमी, फ्रान्सेली कला समीक्षक अक्टेव मिर्बाैले भनेका थिए— पुष्पको आत्मालाई उनले कति गहिरो गरी बुझेका थिए ।(How well he has understood the exquisite nature of flowers.)
तर मैले सोचेँ आजसम्म ती चित्रका कतिवटा धनी फेरिए होलान, फेरि कसरी गेटि म्युजियममा पुगे होलान् । मेरी छोरीले त्यहाँ हेरेका आइरिसेस के कस्ता थिए हुनन् । ती प्रतिकृति यो थिए कि मौलिक ? त्यसपछि गुगलमा जिज्ञासाबश हेरेँ— रचेको एकसय वर्ष पश्चात भ्यान गगको आइरिसेज विश्वका अत्यन्तै मूल्यवान् कलामध्ये एक गनिएको थियो । अकल्पनीय मूल्यमा उक्त कला अमेरिकाको न्यू योर्कमा बिक्रि भएको थियो । उनी पिकासो, रुबेन, एन्डी वारहोल, क्लड मोने, रोथ्को, वाङमेङ आदि बीसौँ शताब्दीका महानतम् चित्रकारसँग जोडिएका छन् । ती साराकोबारे लैनसिङ् वाङ्गदेलले चर्चा गरेका छन् ।
त्यसपछि विश्वकलाका केही अपूर्व रचना हेरेका अरू सम्झनाले मलाई छोप्यो । त्यो पनि अघिल्लो यात्राको कुरा थियो । मैले च्याटमै छोरीलाई सोधेँ— हामी सँगै यात्रा गर्दा एक महान् कला हेरेको सम्झेकी छौ नानी ? बाल्टिमोरको एक सङ्ग्रहालयमा ?
हो बुबा, रोदाँको मूर्ती मेरो मनमा बसेकै छ ।
मैले भनेँ— “म ती यात्राबारे लेखिरहेको छ” । तिमी र म न्यूयोर्क हुँदै बाल्टिमोर पुगेको । हामीलाई त्यहाँ एचवी भण्डारी “प्रभात”ले लगेका थिए । न्यू योर्कसम्म ता भारती दिदीसँगै थियौँ । सर्वप्रथम हामी जोन्स हप्किन्ज विश्वविद्यालय गयौँ जहाँ डेरिडाले १९६७ मा स्ट्रक्चर साइन एन्ड प्ले प्रस्तुत गरेपछि विनिर्माणवादी प्रकृया विश्वतिर फैलेको थियो जहाँ पछि पल द मन्, लुइ आल्थ्युजर, रोलाँ बार्ट सबै यो युगका महान् चिन्तक बौद्धिक भेट भएका थिए । म त्यता जान्न तर एकैछिन रोदाँको सम्झना नगरी कहाँ जानु ?
ती महान् फ्रान्सेली मूर्तिकार अगस्त रोदाँ (१८४०— १९१७) आधूनिक मूर्तीकलाका अग्रणी । उनी परम्पराविरुद्ध विद्रोहका एक प्रतीक भएकैले जीवनकालमा उनको प्रशंसा भएन । रोदाँले १९०२ बनाएको कास्य र सिंगमरमरमिश्रित द थिङ्कर (चिन्तक) को मूर्ति त्यहाँको म्युजियममा हामीले देख्यौँ सायद त्यो प्रतिलिपि थियो । संसारभरि त्यसका अनेकौँ प्रतिलिपि पुगेका छन् भनिएको छ । यस मूर्तिमा एउटा पुरुष गम्भिर मुद्रामा चिन्तन गरिरहेको छ; यो चिन्ता र चिन्तनको भित्री प्रभाव त्यसले उत्पन्न गरेको तनावसँग सङ्घर्षरत देखिन्छ । निहुरेको, चिन्ताले घोप्टिन खोजेको, टुसुक्क बसेको, नसाहरू फुलेका, नाङ्गो । एउटा हातले चिउँडो थामेर, आँखा खुला र चिम्मका बीच कतै हराएझैँ, निमग्न, ससानो पत्थरमा अडिएर । कस्तो जीवन्तता— आजको मानवको स्थिति— कत्रो कला ! अनि सेवालाई भनेँ— तिम्रो यात्रा वर्णन जीवन्त शैलीमा आउँछ । अस्ति इलिनोइ विश्वविद्यालयबाट ग्यालिस्बर्ग जाँदाको यात्रा कस्तो जीवन्त लेख्यौ । शहरमा अब्राहाम लिङ्कन भेटेको लेख्यौ । पढेर प्रभावित भयौँ । म यस्तै च्याटको अन्त्यमा थिएँ । अलिकति बिहान उम्किनै लाग्यो । दूधवाला फर्किए, पेपरवाला फर्किए । चिया कफीको वाफ सेलाइसक्यो । बाघभैरवमा घण्ट बज्न छोडिसके । प्रभातकालीन प्रभुका आराधनाको समय समाप्त भयो । कलङ्कीमा गाडी बत्तिएर बेगले गुड्न थालेको अथवा दिग्दारीले हरन फुकेको आवाज आइरहेछ ।
एकमन सम्झिएँ— यतिखेर नगरकोटमा अञ्जना के गर्दै होलिन् ? आजको दिन म प्रतीक्षामा छु । नेल्टाको कत्रो सम्मेलन र भेटघाट त्यहाँ । कतिवर्ष त म पनि काँधमा नेल्टा भिरेर उडेँ; बल्ल आज बिसाएको छु । गरुन् अब नयाँ पुस्ताको काँधमा छ । एकदिन नेल्टा भएरै अमेरिका पुगेको थिएँ । आज ज्योतिले मलाई त्यहीँबाट सम्झेकी छन् ।
भोलिको रुटिन यो मनमा फिजाउँन चाहन्न । मलाई समय सकिएको लाग्छ, हतारले छोप्छ, एक सूर्यभरिलाई फिँजाइएका कामको बिस्कुन छिचोलेर पारी पुग्नै नसक्ने हुँ कि भन्ने चिन्ताले छोप्छ प्रत्येक दिन । त्यसैले दिनदिनको बाटो मात्र हेर्दैछु मनमा । सूर्य उदाएदेखि अस्ताइन्जेलसम्मको मात्रै । आजलाई यति पूरा गर्न पाए भयो ।
तर ठीक त्यसैबेला भोलिको पनि प्लानरको पाना पल्टेर आयो— अहा ! जेठ ३१ गते सोमबार छ त्यो । मैले नोट गरेकैछु — पद्मावती दिदीको पुस्तक विमोचन । दुईवटा एकैचोटी— एउटा कथा सङ्ग्रह छ (समयदंश) र एउटा उपन्यास प्यारालल स्काइ । प्यारालल स्काइ उनको अत्यन्तै शक्तिशाली उपन्यास समानान्तर आकासको रूपान्तरण । यो नेपाली नारी लेखनको एक अध्यावधिक बिसौनी पनि हो । नेपालीबाट अङ्ग्रेजीमा अनूदित उपन्यासको सङ्ख्या तीन दर्जन कटेको छ तर केवल पाँच नारी श्रष्टाका उपन्यास अङ्ग्रेजी अनुवादमा आउन सकेका छन्— वानीरा गिरी, गीता केशरी, उन्नती बोहोरा ‘शीला’, शर्मिला खड्का–दाहाल र पद्मावती सिंह । त्यहाँ पनि बोल्नु छ— भोलि एकेडेमीमा । एक महिना अघि भनेकी दिदीले । उनलाई हार्न म सक्तिन । अघिल्लो पुस्ताकी अति ऊर्जाशील र समयको चेतना बुझेर लेख्ने सम्मानित स्रष्टा । नेपाली नारी सिर्जनाको सबैभन्दा नयाँ चेतनाको बिसौनी प्यारालल स्काइ नै हो । त्यो लिएर उनी अर्काे महिना एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका जाँदै छन् । त्यहाँ पनि बोल्नु छ— फोरवर्ड लखेको छु; त्यसैबाट मिलाउनु पर्ला । त्यसपछि म अलिकति शान्त भएँ ।
तर तत्कालै आफ्ना कर्मले बाँधेर मलाई थला परिरहेको घटना सम्झिएँ । पिताजी भन्नुहुन्थयो “अहम् कारोमीति वृथाभिमान, स्वकर्मसूत्रो ग्रथितोहि लोकः” अर्थात् यो मैले गरेँ भन्ने व्यर्थको अभिमान गर्दर्छौं हामी; आफ्ना कर्मको धागोले आँफै बन्धनमा छौँ । कुन उपनिषत्को कुरा हो थाहा छैन । तर के यो सत्र मलाई लाग्छ ? सम्झेँ— कीर्तिपुरबाट फाल हानेर प्रज्ञा–प्रतिष्ठान पुग्दा, कार्यक्रम सकेर फर्किंदा तीनचार घण्टा समाप्त भइसक्छ; अनेकौँपल्ट सधैँसधैँ यस्तै भएको छ । म हार्न पनि सक्तिनँ र आफूभित्रको स्रष्टालाई ठगेर, फकाएर, झुक्याएर म यसरी बत्तिएर अरूको भएर अरूकै लागि कुदिरहेको छु । यही होला आफ्नै कर्मका सूत्रमा म अल्झिएको ।
भोलिदेखि पछि आउने कार्यक्रमलाई एकछिनको लागि मनबाट डिलिट गरेँ । त्यसो त आउँदो असार ३१ सम्मका कार्यक्रम छन्, सुर्खेत जानु छ १८ मा; विराटनगर छ २८ मा । अहिले ती बिर्सन्छु, पछि नै रिट्रिब गरौँला । सधैँ कृषकको असार पन्ध्र जस्तो छ यो जीवन । यो म्याराथुन छ । तर सम्झिनु प¥यो अलिकति ता अरूको लागि पनि बाँचिन्छ । म आफ्नो लागि कम बाँचेँ कि त्यो एउटा शंका मात्र हो ।
यस्तो सोचेर फेरि शान्त, सफा कीर्तिपुर डाँडातिर दृष्टि लगाएँ । इनबक्समा क्लिक गर्दा फेरि एउटा ससानो अनुरोध पत्र आयो— ज्योति पौडेलको । त्यो रातको पत्र थियो अमेरिकाको । झल्याकझुलुक मनमा अमेरिका थोप्लाथोप्ली आइरहेको बेला जस्तो हिजो मात्रै भारती दिदीलाई पनि बोलाएको थिएँ । आज एक अनुरोध पत्र आयो ज्योति पौडेलको । ज्योतिसँग त्यति घनिष्ट हुन सकेको नभए पनि जान्दछु परोक्षबाट, उनको भाषा थियो— हामी प्रतिध्वनिको प्रकाशन गर्दैछौँ । तपाईंबाट एउटा रचनाको आशा गरेका छौँ ।
उनको अत्यन्तै विनयशील स्वभाव त्यहाँ छ । समय कम्ती छ, स्वीकार गर्न नसकिने जस्तो छ आग्रह । फेरि नाइँ भन्न सकिएला ? एक दूरभूमिमा नेपालीहरूको अमेरिकी डायास्पोरामा हाम्रो संस्कृतिको बीउ रोप्न लागिपरेका उनीहरूलाई सम्झेँ । त्यो हामी साराले गर्ने कर्म हो । भाषा साहित्य कलाले हाम्रो परिचय स्थापित गर्न लागिपरेकाहरू, उनीहरूले गरेको दुःख ज्यादा छ । देखेको सपना ठूलो छ । यसबेला होष्टेमा हैँसे गरिदिनु हाम्रै कर्तव्य हो । मूलधारबाटै त हो उनीहरूले सबै उर्जा प्राप्त गर्दछन् । त्यहाँ पनि हाम्रै संस्कृतिको ससानो बोटमा पानी हाल्दैछन् ।
गतवर्ष यसैगरी क्यानाडाका मित्र गोविन्दसिंह रावतको अनुरोधमा ए.एन.ए. स्मारिका (२०१०) को लागि लेखेँ— नेपाली भाषा साहित्यको विस्तारले जब यो हृदय उचालिन्छ शीर्षक रचना । कति राम्रो एक प्रकाशन पुष्प आएको छ यो स्मारिका । यो वर्ष ज्योतिले आग्रह गरेको पनि यस्तै कुनै ऐतिहासिक कर्मको लागि होला । म दोधारमा परेँ । समयाभावले असमर्थ जस्तो भएँ । अझै राम्ररी निको भइसकेको छुइन । हेर्नू नि बैनी बैसाख २०६८ को गरिमामा मेरा दाजुले लेखेको डा. गोविन्द ः नर्भिक बेड नं. २१३; म भर्खर निस्केको । यस्तै उत्तर दिन मन लागेर आएको थियो । तर रोकिएँ अनि लेखेँ — बैनी यो डेडलाइन अत्यन्तै छोटो भयो । मेरो स्वास्थले र पुराना कामका चापले मेरा शरीरमा त्यति तागत उत्पन्न हुन सकेको छैन । त्यति चाँडो सक्तिनँ कि ? फेरि तत्कालै उनले लेखिन्— २४ जुन सम्म भए हुन्छ सरको रचना सम्पादन गर्न‘पर्ने छैन । प्रेसमा जाने अन्तिम तयारी छ हामीलाई त्यसबाट प्रेरणा मिल्नेछ ।
मेरो दैनिकीमा बस्ने बेला हुन लागेको थियो । मैले एउटा कुरा मनन गरेँ— नेपाली साहित्यको उत्थानमा लाग्नेहरू यहाँभन्दा त्यहाँ वा अन्यत्र अझ कठिन परिस्थितिमा छन् । यसबेला जहाँबाट भएपनि उठ्न खोज्ने नेपालीलाई प्रेम र सहयोग प्रकट गर्न‘ पर्छ । उनीहरू सर्वप्रथम नेपाली साहित्य संस्कृतिको सहयोगले जातिको इज्जत स्थापित गर्न, अनि यसलाई उच्च गर्न लागिपरेका छन् । यही भावनाले आफ्नो अधिकांश समय अनेक भूगोलका नेपाली डायास्पोराबाट भएका कर्महरूलाई प्रोत्साहित गर्नमा अर्पित गरिरहेको छु । अलिकति उबारेर, बचाएर पनि यो समय अर्पित गर्दै छु ।
यतिखेर हङ्गकङ्गका देश सुब्बाको भयवादी दर्शन माथि लेख्तैछु, अफगानिस्तानी केदार सङ्केतको नियात्रा स·«ह माथि बोल्दैछु, यतिखेर जर्मनी मिजास तेम्बेहरूको रिलेक्सन्ज वियोन्ड बोर्डरमाथि गर्दैछु, यतिखेर अमेरिकाकी निलम कार्की र अरूको स्टोरिज फ्रम द डायास्पोराजमाथि गर्दैछु; यतिखेर बेलायती टंक वनेमको स·ीनको मुच्र्छना माथि पनि गर्दैछु । यी सबै गराइहरू नेपाली साहित्यलाई व्यापक र विस्तार गराउने उद्देश्यका हुन् । मैले नभ्याए कसलाई गुहार्ने होला । मैले दुई अक्षर यही (नेपाली) भाषामा गरेँ । यसैबाट गरेँ । मलाई जगत्ले चिनेको यही भाषाका अक्षरको खेलले हो । डेरिडाले यसैले ‘खेल’ भनेका छन् । यसैबाट सिकेर होला धर्मेन्द्रले आफूलाई ‘लेखक’ होइन ‘खेलक’ भनेका छन् । मैले पनि केही दिनको यस खेलमा सक्रियतासाथ भाग लिनु पर्छ । त्यो सम्झेर लिँदैछु ।
मनमा सम्झिएँ— अब ज्योतिलाई के भन्ने होला ? न्यू योर्कबाट प्रकाशित हुने प्रतिध्वनिको प्रवेशाङ्कको लागि कस्तो लेख सिर्जना गर्नुहोला । सायद अमेरिकी डायास्पोरा र नेपाली भाषा साहित्यसिर्जना शीर्षक अत्यन्तै उपयुक्त हुन्थ्यो होला । त्यता घुमेर आउने ओम सुवेदी, हिरण्य भोजपुरे, चन्द्रकान्त आचार्य, खेम दाहाल— अनेक कृति, अनेक अनुभूतिका निरन्तर आइरहेका छन् । त्यहीँ बस्नेहरूले पनि प्रकाशित गरिरहेका छन् । राजबको एक नयाँ कृति वा एटलान्टिक स्ट्रिट पक्रे हुन्छ अथवा होमनाथको अथवा रीताको अथवा भारतीको अथवा यस्ता अन्यहरूको । तर यो समग्रताको प्रयत्न ठूलो छ, हार्दिक र प्रशंसनीय ।
एक भिन्न भूमिमा आफ्नो संस्कृतिको विरुवा रोप्न चाहनेहरू त्यसमा पसेर विस्तारै दुवैतिर जराले छोएको एक हाइब्रिड विरुवा फलाउन चाहनेहरू । दुवैतिर स्वाद हुने, रङ दिने र अबको नेपाली संस्कृति र इतिहास त्यतैतिर छ । दुवैतिरको गौरव बोट हो । विश्वको स्वरूप पनि त्यस्तै छ । त्यो एक भुल्न नसकिने यथार्थता पनि । यसैको आशयले ज्योतिले मागेकी हुन् ।
यहाँ (नेपालमै) पनि यसरी बदलिएको संस्कृतिमा गम्भीर चर्चा गर्न थालेका छौँ । बोद्रियारले भनेझैँ हामी बिस्तारै साइबरनेटाइजेसनले बाँधिदै छौँ । त्यसैले ज्योति बैनीको इमेलले म संबेदित भएँ । तत्कालै म उहाँहरूसित जोडिएक भएँ, उहाँहरूको प्रयत्नको समर्थक र सहभागी म पनि हुँ भन्नेमा पुगेँ र लाग्यो साँच्चै सेन्स अव् स्पेस ह्याज रियलि रिप्लेस्ट ज्योग्राफि । भूगोलको ठाउँमा आज स्पेस (दिक भनौँ कि अन्तरिक्ष) प्रतिस्थापित छ । त्यसैले उनलाई मैले नजिक देखेँ, सँगै ठानेँ र यो प्रकाशन कार्यमा हार्दिक सहयोग गर्ने उद्देश्यले जुरुक्कै उठेँ ।
यसरी झोक्राउँदै बिहान बित्नै लाग्यो । फेरि दिउँसोको तालिकाले मनलाई बाँधेको थियो; तर फेरि मुक्त भएँ; सारा दाम्ला चुँडाएर उठेँ । अहिलेको यस्तो बन्धित अवस्था र साइबर संस्कृतिमा फँसेको मानिसको लेखान्तमा पनि हामी यस्ता गम्भीर छलफल गर्दछौँ । अघिल्लो हप्ताको “उत्तरआधुनिक समयबोध” शीर्षक कार्यपत्रमा कत्रा छलफल र विमर्श उठे, धेरै सहभागी हल्लिए । कसरी त्यहाँ नित्सेदेखि गायत्री स्पिभाकसम्मका अनि बीचमा पर्ने आल्थुजर, डेरिडा, लकाँ, बोद्रियार, सिक्सू…. सबै पश्चिमी जगत् उर्लिएर उठ्यो । हाम्रो वर्तमान कसरी एक भिन्न जगत्को रूपमा परिभाषित छ ! पाटनको एउटा रेष्टुराँभित्र हामीले विश्ववतास फेरेका थियौँ त्यो दिन । एक साता बितेछ ।
हाम्रा ज्ञानका स्रोत, विधि र उद्देश्यहरू पर्लक्क पल्टेर भिन्न भएको समयमा हामीलाई एक प्रकारको सन्त्रासले नै खेदिरहेको छ । मानवता अलिक कम्ती भएर यन्त्रले हामीलाई विस्थापित गर्न लागेको छ । यस्तो अनुभूति नै ज्योति बैनीलाई लेखी पठाउँ कि जस्तो पनि भयो । तर यो पोष्टमोडर्न विश्वको धुरीमा उनीहरू नै बसेका छन्; टाइम र स्पेस मेटिएको ठाउँमा यान्त्रिकता बिरुद्ध लर्दै अलिकति बाँकी सम्वेदनलाई यताको पनि सम्झनाले उनेर आफ्नै लिपि अक्षरमा ती सुरक्षित गर्न सकिन्छ भनी समर्पित भएर लागेका छन् । ज्योतिको चिन्ता भनाँै कि प्रेम डायास्पोरिक हो ।
यसको व्युत्पत्तितिर जान्न आज, बेविलोनबाट निस्कासित यहुदी अथवा पछिका अफ्रिकन, आर्मेनिअन्, आइरिस— अनेक कारणले देशबाट निस्कासित अभिघात भोगिहरू छन्— आज म त्यतातिर पनि जान्न । बरु आज म यस शब्दको परिवर्तित अर्थ र भावतिर जान चाहन्थेँ । डायास्पोरा निर्माण गर्ने अनेक तत्व र पक्षतिर जान चाहन्थेँ । त्यसभित्र पर्ने विभिन्न ठाउँका नेपाली जातिको साहित्यिक सांस्कृतिक पहिचानको कुरा गर्न चाहन्थेँ । आज म वर्तमान विश्वले बुझेको, व्याख्या गरेको डायास्पोरिक सिर्जना र समालोचनाबारे बोल्न चाहन्थेँ । आज म अमेरिकी–नेपाली डायास्पोराका साहित्यिक कृतिमा प्रवेश गरेर गम्भीर वार्ता उत्पन्न गर्न चाहन्थेँ; उपन्यास कथा कविता, यात्रा, संस्मरण आदिमा उनीहरूले व्यक्त गरेको संस्कृति–सचेततालाई अथ्र्याउन चाहन्थेँ । यो भिन्न सौन्दर्य र विषयवस्तुको साहित्यबारे आफ्ना दृष्टिकोणहरू प्रस्तुत गर्न चाहन्थेँ परन्तु मलाई कलम रोक्नुभन्दा अघि बोल्न मन लाग्योः ज्योति बैनी आज समय कम्ती छ, अर्काे पल्ट यही विषयमा लेख्ने बाचा गर्दछु आजको धेरै समय यस्ता असम्बद्ध विषयले लिएछ । वास्तवमा आज एक निबन्ध रच्ने इच्छा थियो— म यिनै ¥याम्बलिङमा हराएँ । अब विश्वविद्यालय जाने समय भइसकेकोछ । फेरि अर्काे समय आउनेछु, फेरि म ज्योति बैनीको लागि लेख्नेछु ।
ट्याङ्गलाफाँट, कीर्तिपुर
tu.govinda@gmail.com
प्राध्यापक (अङ्ग्रेजी)
त्रिभुवन विश्वविद्यालय
काठमाडौं, नेपाल
(स्रोत : प्रतिध्वनि – वर्ष १, अङ्क १, सन् २०११, विक्रम सम्वत्। २०६८ )