~अच्युत कोइराला~
बेलायतमा डेढ सय वर्षअघि औपचारिकरूपमा ‘छाया लेखन’ अर्थात् ‘गोस्ट राइटिङ’ सुरु भएको मानिन्छ। तर, श्रुति परम्परामा विश्वास गर्ने पूर्वीय दर्शन हेर्ने हो भने गोस्ट राइटिङ सुरु भएको पाँच हजार वर्षभन्दा बढी भइसकेको देखिन्छ। ‘महाभारत’ घोस्ट राइटिङको उत्तम नमूना हो किनभने व्यासको सर्वोत्तम सोचलाई गणेशले खुरुखुरु लेखेर मूर्त रुप दिएको मानिन्छ । अर्थात्, महाभारतजस्तो उत्तम कृति व्यासको सिर्जना भए पनि गणेशको महत्वपूर्ण योगदान थियो । तर, समयक्रमसँग गोस्ट राइटिङ बदनाम हुँदै जान थाल्यो । कोही पनि आफूलाई गोस्ट राइटरका रूपमा चिनाउन चाहँदैन । संसारमा यसले एउटा बेग्लै व्यावसायिक उचाइ पाइरहँदा भने नेपालमा यी ‘गणेश’हरूलाई कर्के नजरले हेरिन्छ ।
‘मैले विराटनगरमा केही साहित्यकारसँग छलफल चलाउँदा खाउँलाझैँ गरे,’ गोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले भने, ‘यस्तो लाग्यो, मैले कम्पनी खोलेर ठूलो गल्ती पो गरेछु !’ उनलाई केही साहित्यकारले साहित्य पनि गोस्ट राइटिङ हुन्छ अनि पैसाले साहित्य सिर्जना हुन्छ भनी ¥याख¥याख्ती पारेका थिए । तर, राजनीतिकर्मी रामहरि जोशीदेखि लेखक–चित्रकार मनुजबाबु मिश्र र राजेश्वर देवकोटाको पुस्तकसम्म काम गरिसकेका पत्रकार कुसुम भट्टराई भने गोस्ट राइटिङ कुनै लाज मान्नुपर्ने विषय नभएको बताउँछन् । भन्छन्, ‘गर्वका साथ भन्छु, म एउटा गोस्ट राइटर हुँ । मैले त्यस्ता व्यक्तिलाई तिनका अभिव्यक्ति बाहिर ल्याउन सहयोग गरिरहेको छु, जो विभिन्न कारणले लेख्न असमर्थ छन्, लेखककला छैन र पनि तिनले देश र समाजलाई केही भन्नु छ ।’
नेपालका प्रख्यात व्यक्तिका पुस्तक लेख्न सघाएका कतिपय गोस्ट राइटर आफूलाई त्यहीरूपमा चिनाउन चाहँदैनन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको आत्मकथा लेख्न सघाएका सुदीप श्रेष्ठ आफूलाई गोस्ट राइटर मान्दैनन् । उनको तर्क छ, ‘गोस्ट राइटरको नाउँ कतै उल्लेख हुँदैन र हुनु पनि हुँदैन । सम्झौतामा नै उसले कतै कहीँ चुइँक्क नबोल्ने उल्लेख हुन्छ ।’ सुदीपको विचारमा छाया लेखन गर्नु कुनै नराम्रो काम होइन । संसार बुझेका मानिसले आफूपछिका पुस्ताका लागि केही सिकाउन गोस्ट राइटिङमार्फत् मद्दत भइहेको उनी बताउँछन् । ‘एउटा अनुभवी व्यक्तिको लेख्ने कला नहुन सक्छ,’ सुदीप भन्छन्, ‘एउटा सिपालु लेखकले अनुभवी व्यक्तिका कुरा लिपिबद्ध गर्दा अर्को पुस्ता लाभान्वित हुन सक्छ ।’
आनी छोइङ डोल्माको आत्मकथा ‘फूलको आँखामा’का सहलेखक गिरीश गिरी पनि यस किसिमको लेखनको ठूलो महŒव रहेको बताउँछन् । उदाहरण दिँदै उनी भन्छन्, ‘भारतीय अभिनेता देवानन्दको ‘रोमान्सिङ विद् लाइफ’को जुन स्तरको भाषा र पुस्तकको रोचकता छ, सायद उनैले लेखेको भए त्यस्तो बन्दैनथ्यो । पक्कै पनि कुनै सिपालु लेखकले त्यो स्तर दिए । गोस्ट राइटिङ नभएको भए उनका प्रशंसक र बलिउडबारे बुझ्ने राम्रो अवसर गुम्ने थियो ।’ लेखनमा गहिरो चाह हुनेका लागि गोस्ट राइटिङ, सहलेखन वा सम्पादन एउटा दरिलो विकल्प बनेर आएको सुदीप र गिरीशको धारणा छ । गोस्ट राइटिङका अध्यक्ष कमल पनि यसमा सहमत छन् । उनले त आफ्नो कम्पनीका केही ‘स्टार’ गोस्ट राइटरले वर्षमा १० लाखभन्दा बढी कमाउने गरेको दाबीसमेत गरे । ‘मैले गफ दिएको होइन,’ उनले भने, ‘तपाईंलाई म तिरेको करको कागज देखाउन सक्छु ।’
तहगत लेखनी
बजारमा यतिबेला सबैभन्दा बढी चर्चित पुस्तक गोस्ट राइटिङ गरिएकै छन् । यस्तो लेखनी पनि तहगत हुन्छन् । कोही नामै नआउने किसिमका गोस्ट राइटर छन् त कसैलाई सहलेखक बनाइएको छ । त्यस्तै कसैको नाम सम्पादकका रूपमा राखिएको छ । विश्वव्यापी प्रचलनमा यतिबेला गोस्ट राइटिङका विविध हाँगा देखापरिसकेका छन् । अमेरिकाका टम क्लान्सी हुन् या स्टेफन किङ, तिनको नाउँ भएका उपन्यास हातहातै बिक्री हुन्छन् । तिनले ती उपन्यास लेख्न महिनौँ लगाउँथे होलान्, तर समयमै निकाल्न प्रकाशकले नै गोस्ट राइटर उपलब्ध गराउँछन् । छाया लेखन गर्दागर्दै पछि सहलेखक हुने र सहलेखनपछि स्वतन्त्र लेखन गरेर ख्याति बटुल्ने पनि थुप्रै छन् ।
‘आइ एम मलाला’ नामक जीवनीमा मलाला युसुफजाइभन्दा पत्रकार क्रिस्टिना ल्याम्ब हावी छिन् । त्यसैले उनको नाउँ सहलेखनमा राखिएको छ । अमेरिकी राष्ट्रपति उम्मेदवारकी आकांक्षी हिलारी क्लिन्टनका नाममा आएका अधिकांश पुस्तक गोस्ट राइटिङ नै हो । हिजोआज त फलानोको सहयोगमा भनेर आवरण पृष्ठमै नाउँ राख्ने चलन आइसक्यो । गुमनाम भएरै रहने गोस्ट राइटरका कथा पनि कम रोचक छैनन् । ‘कन्फेसन अफ अ गोस्ट राइटर’ पुस्तकमा एन्ड्रयु क्रफ्ट्सले ८० वटा पुस्तकमा गोस्ट राइटिङ गरिसकेपछि आफ्नो वृत्तान्त कहेका छन् । देहव्यापारी युवतीदेखि लागु औषध व्यापारी, ठूला उद्यमीदेखि सेलिब्रिटी अभिनेत्रीसम्मका पुस्तक लेखिसकेपछि आफूले बेहोरेका ती पात्रका गुह्य केलाएका छन् । गोस्ट राइटिङ आत्मकथामा मात्र सीमित छैन । उपन्यास तथा कविता अरुकै नाममा लेखिदिने पनि अन्तर्राष्ट्रिय प्रचलन छ । नेपालका कतिपय ख्यातिप्राप्त लेखकले धनीमानीका नाउँमा कविता लेखिदिने चलन निकै पुरानो हो ।
झूटका पुलिन्दा
नेपालमा गोस्ट राइटिङ यतिबेला चर्चामा छ । नहोस् पनि कसरी, गोस्ट राइटरले यतिबेला राजनीतिक व्यक्तित्वदेखि उद्यमी–व्यापारीसम्मका आत्मकथा बाहिर ल्याउन भूमिका खेलिरहेका छन् । ती आत्मकथालाई भने कतिपय आलोचकले नकारात्मकरूपमै टिप्पणी गर्ने गरेका छन् । तिनले बजारमा राम्रो व्यापार गरे पनि आलोचकले भने ती पुस्तकलाई झूटका पुलिन्दा, आत्मकथाकारको अहम्, मपाईंत्व, विगतका कमजोरी छोप्ने उपायजस्ता विशेषण लगाएर टिप्पणी गरेका छन् । ‘आत्मकथा वा जीवनी भनेकै सो व्यक्तिको अनुभूति हो, ऊ केन्द्रमा हुनु स्वाभाविक हो,’ कमल भन्छन्, ‘किताबमा ती व्यक्ति हिरो हुन्, तर अरुले नमान्न सक्छन् ।’
सुदीप पनि आत्मकथा त्यो व्यक्तिको आफ्नो भोगाइ र दृष्टिकोण भएकाले अरुकाभन्दा उसका कुरा बढी आउनु स्वाभाविक ठान्छन् । उनको विचारमा मान्छेका भोगाइ सबैभन्दा रोचक भएकाले संसारभर आत्मकथा रूचाइन्छ । एउटा मजदुरका कथा लेखियो भने पनि ऊ केन्द्रीयतामा हुन्छ । ऊ मालिकभन्दा ठूलो हुन्छ त्यतिबेला । त्यसैले अहम्, मपाईंत्व वा केन्द्रीयता हुनु स्वाभाविक भएको उनको धारणा छ । ‘हामीकहाँ इमानदारीमा प्रश्न गर्ने ठाउँ हुनसक्छ,’ गिरीश भन्छन्, ‘उसले कति इमानदारीका साथ गोस्ट राइटरलाई आफ्ना कुरा भन्यो र लेख्न लगायो, त्यो आफ्नो ठाउँमा होला, तर पनि ती कुराले अर्थ राख्छन् । ती कुरा समाजका लागि भविष्यमा पुँजी बन्छ ।’ बजारमा आएका कैयौँ आत्मकथामा इमानदारी भइदिए अझ राम्रो हुने गिरीशको धारणा छ । ‘कम्तीमा अहिले आएका आत्मकथामा एउटा पाटो त प्रस्तुत भयो नि,’ उनी थप्छन्, ‘भोलि अर्कोले अर्को पाटो थप्छ र त्यो पूर्ण बन्न सक्छ ।’
चौधरीको आत्मकथा सहलेखन गर्दाको अनुभव सुनाउँदै सुदीप भन्छन्, ‘भनिएका वा जीवनका सबै कुरा किताबमा लेखिनुपर्छ भन्ने छैन, तर त्यो व्यक्तिले इमानदारीपूर्वक भएका घटना गोस्ट राइटरलाई सुनाउनुपर्छ ।’ यसो गर्दा व्यक्तिलाई नजिकबाट चिन्ने र लेखन निखारिने अनुभव उनको छ । ‘फूलको आँखामा’ लेख्दाको अनुभवले गिरीशलाई सिकाएको छ, ‘यदि गोस्ट राइटरलाई इमानदार भएर बताउन सके छाया लेखक उनीहरूको जुनीमा छिरेर आफ्नो क्षमता देखाउन सक्छन् । यो त एउटा जुनीबाट अर्को जुनीमा छिरेर अनुभूत गर्नेजस्तो कुरा हो ।’ त्यस्तो हुन सकेन भने लेखन बनावटी हुने उनलाई लाग्छ । आफैँ लेख्ने हो भने बीपी कोइरालाले जस्तो खुलेर लेख्न सक्नुपर्ने उनको भनाइ छ । कुसुम भन्छन्, ‘बीपी कोइरालाजत्तिको खुलेर लेख्न सक्ने, विवाहेत्तर सम्बन्धका कुरा स्वयं श्रीमती सुशीला कोइरालालाई समेत थाहा भएको इंगित गरिदिने हिम्मत सायदै कुनै लेखकमा होला । फेरि यही स्तरको हिम्मत हामीले सबैमा हुनुपर्छ भन्ने आग्रह पनि राख्न सक्तैनौँ । तर, लेखनीमा आएका कुराप्रति आफू इमानदार भएर प्रष्टिनुचाहिँ पर्छ ।’
विश्वसनीय कसरी पार्ने ?
यो पनि मैले गरेँ, त्यो पनि मैले गरेँ, म नभएको भए सबथोक खत्तम हुन्थ्यो भनिरहँदा कहिलेकाहीँ लेखन बोझिल हुन्छ । सुदीप भन्छन्, ‘मनोवादमा मपाईंत्वको डर हुन्छ । धेरै मपाईंत्व आयो भने त्यो झर्कोलाग्दो बन्न पुग्छ । कुनै घटनाबारेको प्रतिक्रिया आइरहँदा झर्कोलाग्दो बन्छ । त्यसैले प्रतिक्रिया जति घटाउन सक्यो, उति पुस्तक रोचक हुन्छ ।’ किताब झर्कोलाग्दो हुनुमा आधा पृष्ठ पनि घटना हुँदैन अनि मनोवादचाहिँ दोब्बर–चौबर हुनु मुख्य कारण रहेको उनको भनाइ छ । ‘घटनाबारे टिप्पणी गर्ने अधिकार पाठकलाई दिनुपर्छ । आफूले त घटना देखाउनेमात्रै हो । हामीकहाँ यस्तो अभ्यास निकै कम छ,’ उनी भन्छन् ।
कतिपय अवस्थामा आत्मकथाकार हौसिएर समाजले रूचाउने र पचाउनेभन्दा बढी बोल्छन् । कमल भन्छन, ‘उनीहरुले जे बोल्यो त्यो लेख्ने र छाप्ने ग¥यो भने हामी समाजबाट वहिष्कृत हुन्छौँ ।’ लेखकले वाचकलाई नियन्त्रण गर्ने, सुझाव दिने र आवश्यक कुरामात्र किताबमा अटाउने सल्लाह दिनुपर्ने उनको भनाइ छ । धेरै कुरा ‘फिल्टर’ गरेरमात्र जीवनी वा आत्मकथा लेखिनुपर्ने बताउँछन् सुदीप । पछिल्लो समय राम्रै कुरामात्र बजारमा आएका कुराप्रति इंगित गर्दै उनी भन्छन्, ‘कतिपय कुराका लागि समाज अझै तयार नभएको र समाजलाई पच्ने तथा रूच्ने कुरा नै बढी आवश्यक छ ।’ गिरीश पनि जतिसुकै आलोचना भए पनि गोस्ट राइटिङ हुनुपर्ने र लेख्ने क्रम छाड्न नहुने बताउँछन् । ‘सबै कुराको मूल्यांकन आजै हुनुपर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘कतिपय कुरा भविष्यको जिम्मामा छाड्नुपर्छ । कृति वा व्यक्तिको मूल्यांकन भविष्यमा कसरी हुन्छ भन्ने थाहा हुँदैन ।’
पत्रकारलाई भ्याइनभ्याइ
बजारमा आएका अधिकांश पुस्तकमा पत्रकारको सम्पादन, सहलेखन र गोस्ट राइटिङ भएको देखिन्छ । गोस्ट राइटिङबाट राम्रै आम्दानी हुने देखेपछि कुसुमले सक्रिय पत्रकारिता त्यागेर यसैमा लागिपरेका छन् । ‘मैले जीवनका २५ वर्ष पत्रकारितामा बिताएँ,’ उनी भन्छन्, ‘अधिकांश पत्रिकामा कामको मूल्यांकन भएन। लेखनी मेरो प्यासन भएकाले त्याग्न सक्तिनँ । कुनै क्षेत्रमा २५ वर्ष बिताउँदा मान्छे प्रायः अधिकांश कुरामा सन्तुष्ट हुनुपर्ने हो तर पत्रकारचाहिँ हुन सक्तैनन् किनभने तिनलाई रोजीरोटीकै चिन्ता छ । मैले छोटो अवधिमा पत्रकारिताबाट कमाउनेभन्दा दोब्बर गोस्ट राइटिङबाट कमाइरहेको छु ।’ लेखनशैली तथा भाषा राम्रो भएका लेखकलाई मासिक ५०–६० हजार कमाउन गाह्रो नभएको कमल बताउँछन् ।
सुदीप भने कमाइलाई महŒव दिँदैनन् । ‘तपाईं एउटा यस्तो व्यक्तिसँगको संगतमा रहेर काम गर्नुपर्ने हुन्छ, जुन तपाईंका लागि आदर्श हुन्छन् । ती व्यक्तिको संगत, व्यवहार र नजिक रहनु र तिनको ज्ञान, बुद्धि र विवेकलाई नजिकबाट बुझ्न पाउनुलाई पैसासँग तुलना गर्न मिल्दैन,’ उनले भने । गिरीश पनि आफूले गर्ने कामलाई कहिल्यै पैसासँग तुलना नगरेको बताउँछन् । भन्छन्, ‘प्रकाशकले सम्झौतामुताविक रकम दिए र जसै पुस्तक निकै बिक्री भयो, मैले नसोचेको उपहार दिए । योभन्दा बढी त के अपेक्षा गर्नु र !’
कम्पनी चलाइरहँदा भने कमललाई अनुभूत भयो, ‘गोस्ट राइटरले आफ्नो मूल्यभन्दा कममा काम गर्ने चलन नेपालमा मात्रै छ ।’ उनले विदेशमा कुनै व्यक्तिको जीवनी वा साहित्यमा काम हुँदा प्रति शब्दका हिसाबले पैसा पाउने गरेको उदाहरण दिँदै भने, ‘नेपालमा चाहिँ जति भए पनि हुन्छ भन्ने मानसिकता राख्न हुँदैन । जुन मिहिनेत पर्छ, त्यो मिहिनेतअनुसारको रकम लिन कञ्जुस्याइँ गर्नु हुँदैन ।’
लेख्न छाड्नु हुन्न
गोस्ट राइटिङबारे हरेकका आ¬आफ्नै रूचि÷अरूचि जे भए पनि यो लेख्न छाड्न नहुनेमा भने सबै सहमत छन् । गिरीश भन्छन्, ‘आज यस किसिमको लेखनीलाई केहीले घृणा नै गर्लान्, केहीले राम्रै भन्लान् तर पछि गएर यी सबै हाम्रो समाजका लागि पुँजी बन्छन् । यो एकदमै राम्रो कुरा हो ।’ अन्यखालका अनुत्पादक कुरामा लगानी गर्नुभन्दा लेखनीमा गरिएको लगानी सुदूर भविष्यका लागि भएकाले यसलाई निकै सकारात्मक मान्छन् सुदीप । कमल भन्छन्, ‘कुनै पुस्तक निस्कनु भनेको विचार समाजलाई दिनु हो । त्यो विचार भोलिका दिनमा अझ सशक्त हुन्छ । बढीभन्दा बढी विचार, कथा र घटना लिखितरूपमा बजारमा आउनुपर्छ ।’
कसैले कसैमार्फत् किताब लेख्दा एउटा बजार सिर्जना हुने र अनावश्यक कुरामा खर्च गर्नुभन्दा किताबमा लगानी गर्दा समाजको भलाई हुने कुसुमको ठहर छ । ‘एउटा अपराधीले पनि पुस्तक लेख्नुपर्छ । कम्तीमा उसको अपराध र त्यसबाट सिकेको पाठ पनि समाजलाई काम लाग्न सक्छ । किताब लेखिदिनु अपराध होइन,’ उनी भन्छन् ।
के हो गोस्ट राइटिङ
गोस्ट राइटर एउटा लुप्त लेखक (लुप्तक) हो । उसलाई कुनै व्यवसायी, नामी व्यक्ति वा सेलिब्रिटीले आफ्ना कुरा लेखिदिन नियुक्त गर्छन् । त्यस्ता व्यक्तिसँग सोच हुन सक्छ, तर लेखनकला नहुन सक्छ । तिनको सोचलाई लेखनमा बद्लिने काम लुप्तकले गर्छ । यस्ता लुप्तकको नाउँ प्रायः ‘लुप्त’ हुन्छ । कतिपय अवस्थामा तिनलाई पैसाबाहेक अन्य ‘क्रेडिट’ दिइँदैन । तर, अचेल अन्तर्राष्ट्रियस्तरमा लुप्तकको नाउँ पनि सँगै सानो अक्षरमा राखेर पुस्तकको विश्वसनीयता बढाउने चलन सुरु भएको छ । मलाला युसुफजाइको आत्मकथा ‘आइ एम मलाला’ यसको राम्रो उदाहरण हो । पत्रकार क्रिस्टिना ल्याम्बको नाउँ आवरणमै दिइएको छ ।
प्रायः धेरै कमाउने र लेखनमा रहर हुनेहरूले लुप्तक प्रयोग गर्ने गरेका छन् । भारत र चीनमै पनि लुप्त लेखक उपयोग हुने गरेको र तिनले १० डलरदेखि २५ हजार डलरसम्म पाउने गरेको फ्रिलान्स राइटिङ पत्रिकाले जनाएको छ । बढीमा ६ महिनासम्म लुप्तकले समय दिने, पुस्तक लेखनका लागि सुरुमा न्यूनतम रकम लिने र पछि रोयल्टीमा रकम बुझ्नेसम्मका लुप्तक पनि छन् । कुनै लेखकले सम्भावित मनोहर कथा भन्ने अवसरलाई छोड्न चाहँदैन । त्यसमाथि त्यो कथा भनेबापत् उसले राम्रै पारिश्रमिक पाइरहेको छ भने त सुनमा सुगन्ध थपिन्छ । सेलिब्रिटीसँग उठबस् गर्न पाउनु पनि केहीले राम्रै मान्दा हुन्, तर साधारण मानिसका असाधारण भोगाइमाथि काम गर्ने रूचि प्रायः लुप्तकलाई हुन्छ ।
म कसरी गोस्ट राइटर बनेँ ?
एन्ड्रयु क्रफ्ट
एउटा बिजनेस पत्रिकाका लागि म्यानेजमेन्ट गुरुकहाँ अन्तरवार्ता लिन जाँदा उनले ‘व्यवस्थापन’सम्बन्धी शृंखलाबद्ध पुस्तक लेख्ने प्रस्ताव राखे । उनीसँग समय थिएन । उनको सोच बुझाउन मलाई उनले सेमिनारमा सहभागी पनि गराए । फिल्म उद्योगमा विलियम गोल्डम्यानले अन्यलाई पनि यस्तै कामका लागि हौस्याउँथे । टीभी लेखन सामूहिक काम हुन्थ्यो । त्यस्तै सामूहिक काम पुस्तक लेखनमा पनि गर्न सकिने भनी मलाई झक्झक्याउँथे ।
कसैको जीवनी लेख्नुपर्दा ठाउँठाउँका पुस्तकालय चहारेर, विभिन्न मान्छेलाई खोजेर हिँड्नुभन्दा लेखिने व्यक्तिसँग सीधै सम्बन्ध बनाएर स्रोत खोजिरहनु नपर्ने सजिलो बाटो मलाई रूच्यो । यसले मेरो समय वचत भयो । पहिलो पटक मैले चर्चित संगीतकर्मी गिलियन टेफोर्थबारे ‘इस्टेन्डर्स’ भन्ने किताब गोस्ट राइटिङ गर्दा बेलायतका सबैजसो पत्रिका र मिडियाले ठाउँ दिए । यसले मलाई आनन्द दियो । त्यति चर्चा त राजकुमारी डायनाले पनि पाएकी थिइनन् । फेरि गोस्ट राइटिङको सबैभन्दा गज्जबको पक्षचाहिँ, तपाईंले त्यो व्यक्तिलाई जे पनि सोध्ने लाइसेन्स पाउनु हुन्छ । यो छुट त सायद श्रीमतीले पनि श्रीमान््सँग पाउँदिन होला । मेरा लागि यो शिक्षित हुने मौका पनि हो । संसारका प्रख्यात व्यक्तिसँग संगत गर्न पाउनु र त्यसबापत् उल्टै पैसा पाउनु, यो दुर्लभ अवसर हो ।
जाना मुसेनको दर्दनाक कथा भएको ‘सोल्ड’ पुस्तक लेख्ने निर्णय गर्न मलाई तीन दिन लाग्यो र लेख्न तीन महिना । १९९२ मा यो किताब निस्कँदा ३० लाख प्रति बिक्री भयो भने संसारका विभिन्न भाषामा अनुदित पनि भयो । एउटा असल लुप्तकले आफ्ना सबै किसिमका अहम् दबाउन सक्नुपर्छ । मैले एउटी यस्ती महिलाको आत्मकथा लेखेँ, जो धनीमानीकी रखौटी थिई । उसप्रति मेरो भावना कहिल्यै नकारात्मक भएन । उसले पछि आफ्ना सम्बन्ध भजाउँदै किताबमार्फत् करोडौँ कमाइ । त्यो महिलालाई उसको नैतिकतामाथि प्रश्न नउठाउने लेखक चाहिएको थियो, मैले त्यो पूरा गरिदिएँ । म नभइदिएको भए उसको उद्देश्य सायद पूरा हुने थिएन । धेरैले आत्मकथामा काम गरिदिँदा आलोचना चाहिन्छ भन्छ भने त्यो मान्छे बेइमान हो । त्यसका लागि उसले अर्कै जीवनी लेखे हुन्छ । लुप्तकको सबैभन्दा ठूलो गुण भन्नु नै कुनै विषयमाथि उसको रूचि हुनु हो । रूचि नभएको विषयमा काम गर्छु भन्यो भने ऊ विषयमाथि पूर्वाग्रही हुने डर हुन्छ । जसले रूचिपूर्ण लेखनमा बाधा पु¥याउन सक्छ ।
मैले इस्टेन्डर्स सिरियलकी गिलियन टेल्फोर्थ आत्मकथा लेख्ने निर्णय किन गरेँ भने उसका पछि ट्याब्लोइड पत्रिका लागिपरेका थिए । उसको एउटा ब्वाइफ्रेन्ड थियो, जसलाई गिलियन नभई पनि हुन्थेन, घृणा पनि गथ्र्यो । त्यसमाथि न्युज इन्टरनेसनल पत्रिकाले गिलियनलाई मुद्दा हालेको थियो । मुद्दामा गिलियनले हारेकी थिई । त्यसपछि त ऊ मुख लुकाउन पनि लायक रहिन । अरुले भए आत्महत्या गर्थे होलान्, तर ऊ यति रोचक पात्र थिई, सारा कुरा पचाइदिइ । उसलाई परिवारले ज्यादै माया गर्थे र सजाएरै राखेका थिए । ऊ ग्रिक ट्र्याजेडीकी नायिकाभन्दा कम थिइन र उसबारे लेख्ने पर्याप्त सामग्री थिए ।
जाना मुसेनको सोल्ड किताब पनि यमनबाट भागेर बेलायत पुगेकी एउटी बहादुर युवतीको कथा थियो । त्यसले कूटनीतिक संसारको अर्को झल्को दिन्थ्यो । राजनीतिबारे व्यंग्य कस्थ्यो । पर्दाभित्रको जिन्दगीका आयामबारे बताउँथ्यो । मलाई त यो अरेबियन नाइट्सको नयाँ संस्करणजस्तो लाग्यो । मैले अर्को पुस्तक लुप्तकका रूपमा लेखेँ । ‘माइ गुरिल्ला जर्नी’ कंगोकी एउटी गुरिल्ला महिलाको थियो । उसले श्रीमान्को आँखा छलेर प्रेमी राखेकी थिई । गृहयुद्धको चपेटामा परेका बेलाको प्रेमकथा उदेकलाग्दो थियो ।
गोस्ट राइटिङमा जहिले पनि लेखक अदृश्य हुनुपर्छ । जसले कथा भन्दैछ, उसले कुनै पनि कोणमा अगाडिको मानिसले आलोचना गर्ला, शंका, धारणा वा विवाद गर्ला भन्ने लाग्यो भने त्यहाँ बोलीको इमानदारी रहँदैन । अथवा, लुप्तकले तिनको भनाइलाई कहिल्यै पनि बंग्याउने, बदल्ने काम गर्नु हुँदैन । बरु तिनलाई आफ्ना कथालाई इमानदारीका साथ भन्न हौस्याउनुपर्छ । कर्णेल मार्क कुकको किताब ‘प्रमिस अफ होप’ किताब तयार भइसक्दा आफू ‘सोल्ड’की नायिका जानाजस्तै देखिएँ कि भन्ने चिन्ता थियो । मैले उनलाई दुवैको उद्देश्य फरक रहेको बताएपछि उनी बल्ल आश्वस्त भएका थिए । लुप्तकले जहिले पनि आफू अघिल्तिरको मानिसलाई आश्वस्त बनाउन सक्नुपर्छ ।
लुप्तकले कथा भनिरहेको व्यक्तिको विचारलाई ठ्याक्कै प्रष्फुटन गर्न सकेन भने पूरै प्रोजेक्टले हावा खान्छ। पहिलो पृष्ठबाट नै यो रोचक हुन सकेन भने प्रकाशक भेट्टाउन कठिन हुन्छ ।
(क्रफ्ट बेलायतका सबैभन्दा महँगा गोस्ट राइटर हुन् । यो लेख उनको ब्लगबाट लिइएको हो ।)
(स्रोत : नागरिक – शनिबार)