~लक्ष्मण नेवटिया~
जब श्रीमान् जहाँपनि हामफालेज्यूले
पाउनु भयो प्रायोजित सम्मान
माथी बाट बधाई दिनेको तांती लम्बेतान
भित्र भित्रै यसले किन पायो
कसरी पायो चल्दै थियो घमासान।
पक्कै यस्तो गर्यो होला उस्तो गर्यो होला
उस उसलाई फुर्क्यायो होला, मिलायो होला
फोहरी मनका अनुमान,
गर्ने के?आफुले कहिल्यै पाउन नसकेको
सम्मान अरुले पाएको देख्दा
मुखले बोलन न पाए पनि मुटु बोल्दो रहेछ
भतभती पोल्दो रहेछ
संधै अरुकालागी मात्र थपडी बजाउंदा
पागल भएर मन डुल्दो रहेछ।
सम्मान पछिको चियापान धत् छियापान
ओकल्नु न निल्नु हुँदो रहेछ।
साहित्यको “सा” पनि “शा” लेख्नेले पनि
प्रसिद्ध चर्चित साहित्यकार
उद्घोष गराउन पाउने यहाँ छुट छ।
एकसे एक उपाधी
असमान्य , अमान्य सम्मानको लूट छ ।
कम्पाउन्डरले डाक्टरको डीग्री निर्धारण गर्ने
कन्डक्टरके ड्राइभरको योग्यता जाँच गर्ने।
जसले जहाँ पायो त्यहीं गरिदिने
जसले जसको पायो गरिदिने
सम्मान को असमान अप्रमाण फरमानले
सम्मान स्वयं सहेर बसेको यहाँ अपमान छ।
तिम्रो हुँदा उ चुप- उसको हुँदा तं चुप,
त हजुर! कहिले झेलौं त कहिले खेलौं
सम्मान को खेल छुपाछुप
कुर्दै आफ्नो पालो
मेरो “सम्मान” कहिले हुन्छ?
-लक्ष्मण नेवटिया, बिराटनगर-१२
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)