~जगदीश घिमिरे~
मनु ब्राजाकी उदीयमान लेखक थिए । कुरा मिल्ने उनै एकजना भए । उनी दारुको सुर्को र चुरोटको सर्कोसंग राजनीति, द्वन्दात्मक भौतिकवाद र साहित्यको चर्चा गरेर थाक्दैनथे । हामी छिटै घनिष्ठ भयौं ।
जनकपुरका दिनहरुमा मनु ब्राजाकीसंग मेरो घनिष्ठ साहित्यिक वैचारिक सहयात्रा र सोच नेपालमा साम्यवादी छापामार युद्धको सैद्धान्तिक मात्र होइन त्यसको कार्यान्वयनको अन्तिम चरणसम्म पुग्यो ।
मनु र म दरभंगा गएर सिमानापारि बस्ने–डुल्ने प्रमुख गुरु–नेताहरु–पुष्पलाल र तुल्सीलाललाई भेट्यौं । घण्टौंघण्टा उनीहरुका बिचार बुझ्यौं । तर कुनै पनि कम्युनिष्ट पार्टीको सदस्य भएनौं । जस्तो भए पनि आफ्नै संगठन बनाउने निधो ग¥यौं ।
सकेसम्म इस्पाती समर्थकहरुको सानु समूहबाट नै थाल्ने रणनीति बनायौं किनभने हामी भूमिगत संगठन बनाउदै थियौं । हामीले चिनेका र पत्याएका त्यस्ता मान्छे सिंगै हामी दुई जना थियौं । बिधान बनायौं । हामी दुइजना नै संस्थापक भयौं । गद्धारलाई मृत्युदण्ड दिने प्रावधान राख्यौं । संगठनको नाम राख्यौं–कम्युनिष्ट समाज ।
हामीले नयाँ मत प्रतिपादन गरेका थियौं–नेतृत्वको होड र फुटजुटको समस्या पार्टीमा हुन्छ–लेनिन, स्तालिन र माओ–सबै पार्टीकैले संकिर्ण भएका हुन् र जुट–फुट भएको हो । हाम्रो संगठन पार्टी होइन समाजमुखी हुनुपर्छ । अन्तमा वर्गविहीनता उपलब्ध हुने समाजमा हो, पार्टीमा होइन । पार्टीमा वर्गीकरण र तहीकरण अनिवार्य छ । त्यस्तो भएपछि ध्रुवीकरण अनिवार्य हुन्छ ।
सक्कली कम्युनिष्टले –‘टु ईच एकर्डिङ टु हिज नीड एन्ड फ्रम ईच एकर्डिङ टु हिज एबिलिटी अर्थात हरेकलाई उसको आवश्यकताअनुसार र हरेकबाट उसको योग्यताअनुसार’ भन्ने सिद्धान्त मान्छ । त्यो मानिसकेपछि त्यो कार्यकर्ता सन्त–कम्युनिष्ट हुन्छ । त्यसले सन्त–समाज बनाउछ । यो कुरा हामीले हाम्रो संगठनमा पहिलै दिनदेखि लागू गर्नुपर्छ । त्यो मूलभूत आदर्श नाउले नै बताउन सक्नुपर्छ भनेर हामीले हाम्रो संगठनको नाउ ‘कम्युनिष्ट पार्टी’ होइन, ‘कम्युनिष्ट समाज’ राखेका थियौं ।
बाबाको नाउमा लाइसेन्स भएको मैले चलाउने गरेको दुईनाले बेलायती बाह्रबोरको बन्दुक हाम्रो छापामार युद्धको पहिलो हतियारको रुपमा छानियो । एक साँझ म त्यो बन्दुक तीन ठुन्कामा फुकालेर छापामार युद्धको लागि समर्पण गर्न घरबाट चोरेर लाँदै थिएँ । नसोचेको अवस्थामा भ¥याङमा अचानक आमासंग भेट भयो ।
मैले केही भारी चीज लैजान लागेको देखेर सोध्नु भयो–‘के हो बाबु ? काँ लैजान लागेको ?’
मैले चोरी गरेको थिएँ । म अतालिएँ । हतारमा भनें–‘बन्दुक । सफा नगरेको धेरै भो, सफा गर्न आँटेको ।’
‘किन बोरामा हालेको त ?’
‘धूलो नपरोस् भनेर–म हिन्दीमा भन्नेजस्तो ‘सफेद झूठ’ बोल्दै थिएँ । त्यो सिमेन्टको बोरा धुलाम्मे थियो ।
‘किन यो बेला न कुबेला ? अरु बेला त दिउसो घाममा तेल लाएर सफा गर्थिस त ?’ म नाजबाफ भएँ । चोरी समातिएकोमा म जति डराएको थिएँ, उहाँले त्यो कुरा त्यति गंभीर रुपमा लिनु भएन । यति झुटो बोलेर भए पनि त्यो खड्गो टारेपछि फेरि बन्दुक चोर्ने आँट भएन । बन्दुक हरायो भने म नै चोर ठहरिन्छु भन्ने लाग्यो । छापामार युद्धमा लागि रहेकै भए बन्दुक चोर्ने अरु अवसर र उपायहरु पक्कै निस्कने थिए । तर त्यो अवस्था आएन ।
सिन्धुली मनुको ससुराली थियो । सिंधुलीको मरिन खोलामा पनि हाम्रो जग्गा थियो, जहाँ म बराबर जान्थें । म त्यस इलाकाको भूगोलको प्रमुख जानकार थिएँ । अत हामी त्यहींबाट क्रान्तिको बिगुल फुक्न चाहन्थ्यौं । हाम्रो पहिचान अनुसार हामी आफूलाई सैद्धान्तिकरुपले खारिएका मान्थ्यौं र देशको अवस्था साम्यवादी क्रान्तिका लागि परिपक्व भएको ।
त्यस उमेरमा हाम्रो विचारमा हामीभन्दा जान्ने कोही पनि थिएन । सिन्धुली र रामेछापलाई आधार इलाका बनाएर छापामार युद्ध थाल्ने हाम्रो ‘योजना’ बन्यो । हाम्रो योजना सिन्धुली र रामेछापको स्थलगत निरीक्षण गर्न र तुरुन्त छापामार युद्ध संचालन गरिहाल्ने थियो । त्यसको स्थलगत र वस्तुगत संभाव्यता अध्ययन गर्न ढिलो भैसकेको थियो । त्यसका लागि मनु, म र एक अर्का अर्धसदस्य सिन्धुलीतिर हिड्यौं ।
दिनभरि महोत्तरी धनुषाका गोरेटा र रातुखोलाको बगरभरि बर्गीय क्रान्ति, माक्र्सवादी सिद्धान्त, साम्यवादको इतिहास, माओत्सेतुंगको छापामार युद्धसम्बन्धी रणनीतिहरु चपाउदै उग्राउदै हामीहरु साँझमा बास बस्न त्यही भिमान पुग्यौं जहाँको पुलिसचौकीमा धेरै वर्षपछि माओवादीले ठूलो आक्रमण गरे ।
त्यसवेला भिमान सानु बजार थियो । त्यहाँ हामी पुग्दा खसी काटेर बेच्न मासुको भाग लगाउदै रहेछन् । त्यो देख्ने बित्तिकै हामी क्रान्तिकारीहरुको अनुहारमा चमक अयो । मासुको स्वादले मात्रै होइन, थाकेको गाथलाई भरे ठर्रासंग भुटेको मासुको सितन पनि जुर्ने भयोभनेर हाम्रो मुख रसायो । हामीले पनि एक भाग मासु किन्यौं र होटेलमा पकाउन लगायौं ।
दिनभरिको हिँडाइ र माओवादको ओभरडोजले हाम्रो मानसिकता ठर्रा र चौटाको लागि परिपक्व भएको थियो । सगरमाथा, हिमाली, पहाडी, मैदानी र नदीनालाहरुको सौन्दर्यमा थप्ने अरु केही विशेषता छ भने त्यो हो–ठर्रा, जसको नेपालभरि कहीं पनि कमी छैन ।
मैले जान्दादेखि नै नेपालमा रक्सीको भेल दिउसो दोब्बर र राति चौबरको हिसावले उर्लिंदो छ । भविष्य कसैले पनि जान्दैन । तेसैले कसैले पनि भविष्यवाणी गर्न सक्तैन । तर आँखा नचिम्लिने हो भने घटित भैसकेको भविष्य देख्न सकिन्छ ।
सबै सूचकहरु भन्छन्–नेपालको पतन हुनाको पहिलो कारण नेताहरुको भ्रष्टाचार र दोस्रो कारण हो–रक्सी हो । नेपाल पानीको होइन, रक्सीको सुनामीमा बग्दै छ र एक दिन बगिसक्ने छ अनि अहिले सुतेका अगुवाहरु ब्यूँझिने छन् । यो त्यस्तै घटित किवा दूर्घटित सत्य हो, जुन धनान्ध व्यापारी र सत्तान्ध नेताहरुको आचरणले त्यस दावानलमा घिउ होइन पेट्रोल हाल्दो छ । जन समान्य त्यसको अनुकरण गर्दैछ ।
नेपालमा अन्नको अकाल छ । हजारौं गेडा अन्नको नाश भएपछि एकथोपो चुहिने रक्सीरुपी अर्कको चाँहि सहकाल छ, फालाफाल छ । घरपालाको घरैपिच्छे आतंक छ, कारखानामा उत्पादित र आयातित मदिराको आफ्नै उत्पात छ ।
विपरीत भनेको यही हो । नेपाली समाज त्यो अर्कको सुनामीमा बगेर सिनित भैसकेपछि मात्र चित्र प्रस्ट हुनेछ । तर त्यसबेला समय वितिसकेको हुनेछ ।
हामीले मासु र ठर्राको सुरमा एकै दिनमा नेपालमा सफलतापूर्वक छापामार युद्ध सम्पन्न ग¥यौं र सुत्यौं । माओवादीलाई जस्तो एघार वर्ष लाएर बहुलवादसंगको संझौतामा टुंगिनु परेन ।
बिहान उठ्ता मलाई हन्हन्ती जरो आएको थियो । घाँटी निकै दुखेको थियो । हिजोको हिँडाइमा जुत्ताले कुर्कुच्चामा बनाएको घाउ निकै राँकिएको थियो । तिघ्राको काछमा दुख्ने गाँठो पलाएको थियो । गलेको थिएँ । हिंड्न निकै गाहारो थियो । तैपनि क्रान्तिको लागि ज्यान दिने संकल्प गरेर हिंडेको मान्छे त्यति जाबो बिसन्चो हुँदैमा लक्षबाट विमुख हुनु भएन ।
म अगाडिको यात्रा गर्न तत्पर भएँ, तर यौटा सर्तमा–मेरो झोलाका केही सामानहरु साथीहरुले बोकिदिने भए । हामी सबैले अनेक कागतसहितको भारी झोला बोेकेका थियौं । हामीले आपसमा ज्यान बाँडेर बोकेका थियौं । आआफ्ना हत्केलामा लिएका ज्यान साथीको हत्केलामा सुम्पेर क्रान्तिमा होमिएका थियौं । तर हामी झोलाको वजन बाँडेर बोक्न तयार थिएनौं ।
त्यो थियो बोली र व्यवहारको फरक । मानव मनको सबभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म निस्संकोच भन्छु–बोली र व्यवहारमा फरक । पशुजगतमा त्यस्तो हुँदैन । त्यस मानेमा मान्छेभन्दा पशु श्रेष्ठ छन् ।
मेरा साथीहरु मलाई जनकपुर फर्काएर आफू सिन्धुलीतिर लागे । फर्किंदा म जरोले ग्रस्त थिएँ । घाँटी दुखेर थुक निल्नु हुँदैनथ्यो । कुर्कुच्चाको घाउले गर्दा विस्तारै, खोच्याउदै खोच्याउदै दिउसै बाघ लाग्ने चुरेको जंगल एक्लै काटें ।
त्यसरी एक्लै बिल्टौवा भएर त्यो बाटो हिंडेको त्यो मेरो पहिलो अनुभव थियो । अनि रातुको बगर समाएँ । घस्रिंदैपस्रिंदै लालगढ बास बस्न पुगें र भोलिपल्ट मात्र जनकपुर पुगें । घर जानु भन्दा पहिलो डाक्टरकहाँ गए ।
अहिले संझिंदा लाग्छ त्यै एक यात्रा र भिमानको त्यै एक बासमा भएको अनुभव र छलफलहरुको निचोडस्वरुप मेरो साम्यवाद र छापामार युद्धको मोहनी पूर्ण रुपले तुहियो । फेरि मैले बन्दुक चोर्ने प्रयास गर्नु परेन । पछि बाबाले उहाँको नामका सबै बन्दुकहरु नामसारी गरेर मलाई जिम्मा लाइदिनु भयो ।
निकै लामु संगत, निकै ठूलो आपसी विश्वास, निकै लामालामा र गहिरा तर्क र बहसहरुको परिणामस्वरुप मनु र म छापामार युद्ध थाल्नैपर्ने सैद्धान्तिक निर्णयमा पुगेका थियौं । युद्ध थाल्नु नै त्यसको कसी थियो । हामीलाई हतार थियो ।
हामीले केही डाका र अपराधी प्रकृतिका मान्छेहरुसंग सहकार्य गरिसकेका थियौं । उनीहरुलाई मान्छे मार्नु चरा मारेजत्तिकै थियो । उनीहरु हाम्रो छापामार युद्धको मिसनलाई सहयोग गर्न तत्पर थिए ।
तर हामीले उनीहरुलाई सैद्धान्तिक शिक्षा–दीक्षा दिन सकेका थिएनौं । उनीहरु हाम्रो सैद्धान्तिक आडमा आफ्नै लागि डकैती गर्न चाहन्थे । भन्थे–कसलाई कसरी मार्नुपर्छ भन्नुुस् मात्रै तीन दिनभित्र सफाया गरेनौं भने हामी मान्छे नै होइन । बस्, हामीलाई केही राम्रा बाह्रबोर बन्दुकहरु दिनुहोस् !
ती हाम्रो संगठनका सदस्य हुने लाइनमा थिए, भैसकेका थिएनन् । हामी छापामार युद्धको लागि हतियार संकलन गर्ने मेलोमा थियौं । पछि तिनलाई मेरो बन्दुक दिने निधो भएको थियो, जुन योजना मैले घरबाट त्यो बन्दुक चोर्न नसकेर तुहिएको थियो ।
भिमानको त्यस सानु घटनाले हाम्रो छापामार युद्धको संपूर्ण योजना भंग हुनु पर्ने थिएन । तर म हाम्रो मूल सैद्धान्तिक प्रेरणा–चीनको माओवादी छापामार युद्ध र माओत्सेतुङको मोहनीबाट क्रमश मुक्त हुँदै थिएँ ।
माओवाहेक हाम्रा प्रेरणाका अरु स्रोत थिए–विश्वका क्रान्तिकारी, आतंककारीलगायतका हामीले पढेसुनेका भूमिगत, छापामार विद्रोहीहरु । तर माओ मूल थिए । चीनमा सांस्कृतिक क्रान्ति छिप्पिंदै थियो र न्यायभन्दा बढी अन्याय हुँदै थियो ।
चीनको सांस्कृतिक क्रान्ति साम्यवादको तार्किक र व्यावहारिक निष्कर्ष हो । छापामार युद्धको पूर्णताका लागि जुनसुकै नामले भए पनि माओको सांस्कृतिक क्रान्ति जस्तै अभियानमार्फत रहेसहेका सामन्ती अवशेष ‘सफाया’ गर्नैपर्छ । नत्र छापामार युद्धको औचित्य पूरा हुँदैन ।
त्यै मूल कुरो नै मैले पचाउन सकेको थिइन । हाम्रो योजनाको छापामार युद्धका विरुद्ध मभित्र भने अर्को प्रति–छापामार युद्ध चल्दै थियो, जसलाई भिमानको त्यो सानु घटनाले पूर्णता दियो । मेरा लागि हाम्रो त्यो छापामार युद्ध त्यहीं समाप्त भयो ।
त्यसपछि छापामार युद्धमा मेरो आस्था नभएको कुरा मनुलाई बताएँ । अनि त्यो छापामार युद्ध कहाँसम्म पुग्यो, मलाई थाहा भएन । मैले केवल पलायन गरेको र ‘गद्धारी’ नगरेको हुनाले ‘कम्युनिष्ट समाज’ले मेरो ज्यान नलिएको होला । मेरो दोस्रो उपन्यास ‘साबिती’को ‘म’ पात्रका आत्मालापहरुमा मैले मेरो त्यस छापामार युद्धसम्मको यात्रा र त्यसबाट बहिर्गमनका कारणहरु खुलाएको छु ।
पछि त्यै मैले चोर्न नसकेको बन्दुकले मेरो साथी बैद्यको ज्यान जोगायो । त्यो बन्दुक मेरो एकहाते थियो र हाम्रा बन्दुकहरुमध्ये सबैभन्दा गतिलो थियो । म वैद्यको गाउमा बस्ता त्यै बन्दुक लिएर जान्थें–चराचुरुंगीको शिकार खेल्न । तर डाका लाग्ने ठाउमा बन्दुक दुइधारे तरबार हुन्छ । एकधारले सुरक्षा दिन्छ भने अर्को धारले बन्दुक लुट्ने डाकालाई पनि निम्त्याउँछ ।
म नभएको बेलामा पनि कैलेकाँहि बन्दुक बैद्यकै गाउमा हुन्थ्यो । यस्तै बेलामा एक पटक बन्दुक लुट्न दिउसै आएका डाकाले वैद्यलाई आँगनमै खुकुरीले हाने । उनको टाउकोमा निकै चोट लागे पनि उनी जसरीतसरी घरभित्र पसे र डाकाहरुलाई त्यै बन्दुक पड्काएर भगाए ।
…जनकपुरमा मेरो वृत्त सानु थियो–डा धीरेश्वर झा धर्मेन्द्र । मनु ब्राजाकी । लीलासिंह कर्मा । दिनेश गिरी । राप्रउ पोखरेल । लेखनाथ शर्मा । इलामका दुइ भाइ भक्तबहादुर देवान र कथाकार कमल गजमेर । अमेरिकी शोधकर्ता रिचर्ड बर्गहार्ट । …फाट्टफुट्ट नै भए पनि रमाइलो साहित्यिक वातावरण पनि हुन्थ्यो ।
त्यसबेला जनकपुरभरिमा नेपाली साहित्यको दियो बालेर बसेका सिंगै एक जना थिए–गोपाल पाण्डे ‘असीम’ का भाइ लोकराम पाण्डे । बेलाबेलामा साहित्यिक गोष्ठीहरु आयोजना गर्ने जिम्मा उनकै थियो, ती अवसरहरुमा काठमाण्डौंबाट प्रतिष्ठित लेखकहरु र छोरी रमा शर्मालाई लिएर गोपाल पाण्डे ‘असीम’ पनि आइपुग्थे ।
नेपाली भाषाका सर्जकलाई संझने जिम्मा तिनै दाजुभाइको थियो । त्यसपछि राससका संवाददाता भएर थपिए लीलासिंह कर्मा । त्यसपछिका जनकपुर कर्मभूमि बनाउने साहित्यकारहरु म र मनु नै हौं भन्दा पनि हुन्छ । तर म धेरै बसिनँ ।
…मनु र मेरो रणनीति साहित्यको आवरणमा हाम्रो छापामारलाई लुकाउनु पनि थियो । हामी साहित्यमा देखिएर सक्रिय थियौं, जुन हाम्रो छद्मभेष थियो । हामी चाहन्थ्यौं लोकले हामीलाई केही मानव पशुले भन्नेजस्तो समाजका लागि काम नलाग्ने, खान नदिने, अतः अनुत्पादक साहित्यमा लागेका निकम्माहरु भनेर चिनोस्, जसको आवरणमा हाम्रो छापामार लुकोस् ।
तिनैताका हामीहरुको समेत प्रयासमा जनकपुरको स्टेसननिरको चौबाटोलाई भानुचोक नामकरण गरियो । अनि रामजानकीको थलो जनकपुरमा भानुभक्तको सालिक बनाउन कम्मर कसेर लाग्यौं । देउसी, भैलो खेलेर र सामूहिकरुपमा बजार घुमेर समेत चन्दा बटुल्यौं । यौटा जापानी आर्किटेक्टरले भानुभक्तको सालिकको नक्सा बनाइदिए । त्यो सालिक बन्दा मैले जनकपुर छाडिसकेको थिएँ । ०६३ सालको मधेश आन्दोलनले त्यो सालिक ढाल्यो ।
…डा धीरेन्द्र मेरो साहित्यका मेन्टर हुन्–दृष्टिगुरु । मेरा साहित्य र जीवनदर्शनका जिज्ञासाका गाँठा फुकाउन उनी सधैं तत्पर हुन्थे । उनी उमेर पुगेरै बिते भन्दा हुन्छ । उनको मैथिली साहित्यमा निकै ठूलो स्थान छ । जस्तो कि साहित्यकारहरुको नियति हुन्छ, उनको वृद्धावस्था दुखद थियो । आर्थिक र मानसिक रुपमा तनावग्रस्त थिए ।
अहिले हिसाव गर्दा बुझ्दै छु, मेरा जनकपुरका साथीहरुमध्ये कमल, दिनेश, देवान, धीरेन्द्र, रिचर्ड, कर्मा, लेखनाथ र वैद्य वितिसके । कति धेरै अघि नै विते । सबै म भन्दा जेठा थिए–कोहीकोही त निकै जेठा । कोही अकालमा गए र धेरै जति अल्पकालमा । अब तीनजना मात्र बाँकी छौं–मनु, राप्रउ र म । म त मै भएँ । मनुलाई शिराघात भएको छ । राप्रउको गर्दन बटारिएको छ ।
आश्चर्य के हो भन्ने यक्षप्रश्नको जवाफमा युधिष्ठिर भन्छन्–‘आफ्ना वरिपरि सधैं मृत्युको नाच देखेर पनि मान्छे आफू मर्छु भन्ने ठान्दैन–त्यो भन्दा ठूलो आश्चर्य अरु केही छैन ।’ साँच्चै मैले मेरा यी युवावस्थाका साथीहरु त्यसरी जाँदा मृत्युवारे खास सोचेको थिइन । मृत्यु अरुलाई मात्रै आउँछ, आफूलाई आउदैन जस्तो लाग्थ्यो । त्यै जिन्दगीको के भरोसा, आज हो कि भोलि हो भने पनि मनले चाँहि भनेको हुँदैन । अब म मृत्यु त्यसरी नै देख्न थालेको छु जसरी जीवन ।
(जगदीश घिमिरेको मदन पुरस्कार प्राप्त पुस्तक ‘अन्तर्मनको यात्रा’बाट यो अंश साभार गरिएको हो । ०६३ सालमा प्रकाशित उक्त पुस्तकमा घिमिरेले उनका अभिन्न मित्र मनु ब्राजाकीबारे लेखेको सन्दर्भ सान्दर्भिक लागेर साभार प्रकाशित गरेका हौं । मनु ब्राजाकीको निधन उक्त पुस्तक प्रकाशित भएको तेह्रवर्षपछि भयो माघ १८ गते बिहिवार काठमाण्डौंमा भयो भने लेखक घिमिरेको निधन पुस्तक प्रकाशित भएको सातवर्षपछि २०७० अशोज महिनामा माइलोमा भनिने क्यान्सर रोगबाट भएको थियो । )
(स्रोत : सदृश्य डट कम)