~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~
छन्द : शार्दूलविक्रीडित
कस्ले भन्दछ कृष्णले सयवटी राखे भनी गोपिनी ?
आत्मा एक शरीर मात्र दुइटा राधा तथा रुक्मिणी
यीबाहेक कतै सुनिन्न उनको खै राशलीला पनि !
गीता दर्शन कृष्णको बनिरह्यो उत्कष्ट सञ्जिीवनी ।।१।।
धेरैको मत एउटै छ दुइटा प्राणी बनेका भनी
राधाचाहिँ शरीर, रूप त्यसको भित्री बनिन् रुक्मिणी
चर्चा श्री शुकदेव भागवतमा गर्छन् यही कृष्णको
नारीमाथि दया गरी प्रिय बने श्रीकृष्ण नै विश्वको ।।२।।
ग्वाला नायक रूपमा पनि कतै पुज्छन् कि गोवद्र्धन
चर्चा चल्छ दही, खुवा मखन ती गर्थे भनी भक्षण
राम्रा, सुन्दर देहका हँसमुखी क्या रूप जादूगरी !
के को दोष छ कृष्णका पछि सधैँ लाग्छन् भने सुन्दरी ।।३।।
जाली कौरबले जुवा जितिलिए हारे सबै पाण्डव
भन्छन् अर्जुनको निरर्थक बन्यो ताँदो–धनुष् गाण्डिव
ब्यर्थै भो बल भीमको पनि त्यहाँ भारी उचाल्ने गदा
बोल्थे सत्य भने युधिष्ठिर बने भूmटो सदा–सर्वदा ।।४।।
भो अन्याय भनेर पाण्डवहरू रोए–कराए कति ?
नाङ्गै देह बनाउँदा थरथरी काँपिन त्यहाँ द्रौपदी
यस्तो आपतमा बनेर भगवन् देखापरे कृष्ण जी
थाप्दा हात दुवै सभा भवनमा देवी बनिन् द्रौपदी ।।५।।
दुःखी, दीन, गरीबका उपरमा छर्दै नयाँ चेतना
जाली, शोषकका विरुद्ध रहँदा पाए निकै यन्त्रणा
आपैंm सारथि युद्धको समयमा आपूm नभै नायक
ती सङ्गीत सुधा छरी अमृतका बन्थे स्वयं गायक ।।६।।
नारीकै अपमान कारण भयो त्यत्रो महाभारत !
राजा, राज्य गए पराजित भए हारे सबै गारत
बाँकी एक कतै रहेन सब ती राजाहरू मेटिए
सारा साम्य हुँदा सबैतिर उनै श्रीकृष्णजी भेटिए ।।७।।
यस्तो सत्य कथा छ, कृष्णमहिमा गीता ठुलो दर्शन
कर्मै मात्र मनुष्य धर्म बलियो हो एक आकर्षण
कर्मैबाट महान–तुच्छ दुनियाँ बन्छन् भने मानिस
मान्छे माथि उठोस् सबै किसिमले यै धर्मको सार छ ।।८।।
मिथ्यारोप लगाउने मनसुवा राख्छन् भने व्यर्थ छ
खोज्छन् ज्ञान भने सबै किसिमका लाग्ने त्यहीं अर्थ छ
आपैmँ मोक्ष हुने अनन्ततकको बाटो स्वयं ज्ञान हो
गर्छन् योग निरोध, रोग नहुने यो स्वास्थ्य विज्ञान हो ।।९।।
मान्छेले जति पढ्छ पाउँछ त्यहाँ कैयौं नयाँ दर्शन
काम, क्रोध र लोभ, मोह नलिई पार्ला सुखी जीवन
गीता भन्नु त कृष्णको उपज वा सद्ज्ञानको सार हो
लिन्नन् ज्ञान भने अपार भवमा बाँच्नु स्वयं भार हो ।।९।।
(प्रस्तुत कविता अभिनव साहित्य समाज र शान्ति काव्य प्रवाहमा वाचित हो; छन्दमा लेखिएको कवितामा
व्याकरणगत शुद्धाशुद्धि छन्द भंग हुने हुनाले जस्ताको तस्तै छापिदिनु होला । –ले.)
– महाकवि देवकोटा आश्रम, काठमाडौं ।