~कृसु क्षेत्री~
विषालु सर्पको शयनमा बसेर
जिउनुको अर्थ हराएको छ शब्दकोषबाट
तर पनि एकाकी विषादपूर्ण भोगाइमा बाँच्नुको बाध्यतामा
मौन हुनुको अर्थ जिब्रो थुतिएको पक्कै हैन
स्थिर बस्नुको अर्थ खुट्टा काटिएको सत्य हैन
पखेँटा काटिएर कतै उड्न नसकेका चराका बथानझैं
धवलयात्राको नजरले हेर्दैछौँ हामी टाढा क्षितिजमा
कहिले देखिएला नीलो आकाशमा शारदीय प्रकाशहरु ?
आँसुको हिमपात भएको छ
बादलहरूबाट कालो वर्षाले आक्रान्त छ समय
अकस्मात सपनामा तुषारापात भएको छ
र आकाश खसेझैँ पहिरो गएको छ
पहिरोसँगै उदास छ आस्थाको पहाड
वेदनाको अनुभूतिसँगै पग्लँदै गएको छ
एउटा स्वाभिमानको अग्लो हिमाल
प्रतिक्षण खस्दै ओझेल पर्दै गएका छन् विश्वासका ताराहरु
अस्ताउँदै गएको छ क्षितिजमा मुक्तिको रातो घाम
आँधी–तूफानमा डुब्दै गएको छ सहाराको डुङ्गा
हुरीले निभाउन प्रयत्नरत छ सङ्घर्षको मैनबत्ती
अभावको सारङ्गी रेटेर उस्तरी नै टोलाइरहेछ वर्तमान
भ्यागुता छलाङ मार्न नसकेर सरिसृप गतिमा छ भविष्य
फैलन नसकेका बोधीवृक्ष जराहरू
र झाङ्गिँदै गएका विषवृक्षका पालुवाहरू हेरेर
अनि खडेरीले धाँजाधाँजा परेको खेतमा उभिएर
असारे गीत कसरी गाउलान् किसान
घुम ओढेर बाउसेसँग प्रीतिको साइनो कसरी लाउलान्
रोपहार ।
उज्यालो हुन नसकेपछि
निस्तब्ध चुक घोप्ट्याएको अन्धकारमा
भाले बास्न नसकेपछि बिहानीको स्वागतमा
चिरबिराउन नसकेपछि चराहरू गुँडमा
अवरुद्ध समयलाई वाचाल प्राण भर्न
किसानका सपनाहरू फलाउने योजना बनाउन
स–साना नानीहरूलाई भोक मार्ने दूध खुवाउन
विधवाको सिउँदोमा भरोसाको रङ भर्न
हिमनदीझैँ अविरल बग्ने आँसु पुछ्न
प्रमीथसझैँ चोर्न उज्यालो
भगीरथझैँ बगाउन गंगोत्री
एकाएक एउटा धुमिल छाया मनको आँगनबाट
प्रवासिएको छ
र आजसम्म त्यही यात्रीको पुनरागमनको प्रतीक्षामा
टोलाइरहेछौँ निर्निमेष ।
चराहरुको मौनता उसको मौनताको प्रतिविम्ब
अँध्यारोले पोतिएको क्षितिजमा सुदूरको गोधूलि
नियाल्दै
अब सुन्नुपर्छ उसले संघर्षका गीतहरूमा समुद्री
गर्जनझैँ स्वर
छालहरूको आवाजझैँ विद्रोहको ज्वार
उसको आगमनसँगै मृत्यु हुनेछ अँध्यारोको
उसको आगमनसँगै एकाएक कसिने छन् मुठीहरू
चलायमान हुनेछन् अविचलित ज्वारभाटाहरू
कोमा विचारहरूमा तरगिंत हुनेछन् रक्तप्रवाह
अनि सुरु हुनेछ शिखर आरोहणको मुक्तियात्रा ।
तर विजयको शङ्खघोषका साथ
अलिकति आशा र भरोसाको प्रवाह गर्दै प्रवासिएको
ऊ
अहँ ! अझै फर्केन
त्यही अन्तिम थियो उसको यात्रा
या शीतको थोपाजस्तो थियो उसको साथ
सोच्दैछु कहिल्यै फर्कन्छ होला त्यो आकृति !
खुसीको लहर भएर हाम्रो वस्तीमा
सायद कहिल्यै फर्कन्न कि ???
(स्रोत : मधुपर्क २०७१ भदौ – वीपी विशेष)