पौराणिक कथा : परशुराम

~उमाशङ्कर द्विवेदी~

कान्यकुब्ज (कन्नौज) नामक नगरमा गाधि नामक एउटा बलवान राजा राज्य गर्दथे । कुनै कारणवश उनी वनमा गएर बस्न थालेका थिए । वनमा उनको एउटी कन्या उत्पन्न भइन् । ती कन्या स्वर्गकी अप्सराभैंm सुन्दरी थिइन् । उनको नाम थियो– सत्यवती । उनको लागि भृगुनन्दन ऋचीकले राजासित याचना गरे । राजा गाधिले ऋचीकसित आफ्नी कन्याको विवाह गरिदिए । वैवाहिक कार्य सम्पन्न भएपछि भृगुजी आएर आफ्ना पुत्रलाई सपत्निक भएको देखेर अत्यन्त प्रसन्न भए । उनले आफ्नी पुत्रवधूसित भने–“सौभाग्यवती वधू, तिमीले मसित वर माग । तिम्रो जे इच्छा छ, त्यो म दिन सक्छु ।” सत्यवतीले आफ्नो ससुरालाई प्रसन्न भएको देखेर उनीसित आफ्नो तथा आफ्नी आमाको लागि पुत्रको याचना गरिन् । पुत्रवधूको कामना पूर्तिको लागि भृगुजीले भने– “तिमी र तिम्री आमा ऋतुस्नान गरेपछि पुत्रोत्पत्तिको कामनाले बेग्लाबेग्लै दुईवटा रूखलाई अड्ढमाल गर्नु । आमाले पीपलको रूखको तथा तिमीले गुल्लरको रूखलाई अड्ढमाल गर्नु । यसबाहेक म संसारभरि डुलेर तिम्रो र तिम्री आमाको लागि बडो प्रयत्न गरेर दुई ठाउँमा उत्तम चरु तयार गरेको छु । यसलाई तिमीहरूले सावधानीका साथ खानु ।” यति भनेर भृगु ऋषि अन्तध्र्यान भए । आमा र छोरीले चरु भक्षण र वृक्षहरूको आलि·न गर्नमा अज्ञानताको कारण उल्टो गरिदिए । आमाले भक्षण गर्ने चरु छोरीले तथा छोरीले भक्षण गर्ने चरु आमाले खाइदिए । पीपलको रूखलाई छोरीले तथा गुल्लरको रूखलाई आमाले अड्ढमाल गरे ।

धेरै दिन बितेपछि भृगुजी फर्किआए र आफ्नो दिव्यदृष्टिले जम्मै कुरा थाहा पाए । उनले आफ्नी पुत्रवधू सत्यवतीसित भने– “छोरी, चरु भक्षण र रूखहरूको आलि·न गर्नमा उल्टो गरेर तिम्री आमाले तिमीलाई धोका दिएकी छिन् । तिमीले जुन चरु खाएकी तथा रूखको आलि·न गरेकी छयौ, त्यसको प्रभावले उत्पन्न हुने तिम्रो छोरा ब्राह्मण भएर पनि क्षत्रीय स्वभावको हुनेछ । तिम्री आमाको कोखबाट उत्पन्न हुने छोरा क्षत्रीय भए पनि ब्राह्मणको आचारवाला, बडो तेजस्वी तथा सत्पुरुषहरूको मार्गको अनुसरण गर्ने खालको हुनेछ ।” ससुराको यस प्रकारको कुरा सुनेर सत्यवतीले बारम्बार प्रार्थना गरेर ससुरालाई प्रसन्न पारी बिन्ति गरिन्– “प्रभु, मेरो छोरा यस्तो नहोस्, बरु मेरो नाति यस स्वभावको भइहालोस् ।” भृगुजीले पुत्रवधूको याचना अनुसार भने– “हुन्छ, त्यस्तै होस् ।” भृगुजी गइसकेपछि यथासमयमा सत्यवतीको गर्भबाट जमदग्नि मुनिको जन्म भयो ।

समयानुसार परम तपस्वी जमदग्निले वेदाध्ययन प्रारम्भ गरे र नियमानुसार स्वाध्याय गर्नाले जम्मै वेद कण्ठस्थ गरे । विद्याध्ययन समाप्त गरेपछि उनी राजा प्रसेनजितसित उनकी पुत्री रेणुकाको लागि याचना गरे । राजाले उनको योग्यता देखेर प्रसन्नतापूर्वक आफ्नी छोरीको विवाह उनीसित गरिदिए । रेणुकाको आचरण आफ्नो पतिदेवको अनुकूल थियो । पत्निसित रहेर जमदग्नि ऋषिले तपस्या गर्न थाले । उनका क्रमश: चारवटा पुत्र उत्पन्न भए । त्यसपछि परशुरामजीको प्रादुर्भाव भयो, जमदग्नि ऋषिका उनी पाँचौं सन्तान थिए । दाइहरूभन्दा उनी कान्छो भएपनि गुणहरूमा उनीहरूभन्दा अगाडि थिए ।

एक दिन पुत्रहरू वनमा फल लिन गएका बेला रेणुका नुहाउन भनेर नदीमा गइन् । नुहाएर आश्रममा फर्किने बेला रेणुकाले राजा चित्ररथलाई जलविहार गरिरहेको देखिन् । त्यस सम्पत्तिशाली राजालाई उन्मुक्तरूपमा जलविहार गरिरहेको देखेर रेणुकाको चित्त चलायमान भइहाल्यो । यस मानसिक विकारले दीन, अचेत र त्रस्त भएर उनी आश्रमभित्र प्रवेश गरिन् । महातेजस्वी जमदग्नि ऋषिले रेणुकाको अवस्था देखेर जम्मै कुरा थाहा पाइहाले । उनलाई अधीर र ब्रह्मतेजले च्युत भएको देखेर जमदग्नि ऋषिले धेरै धिक्कारे । त्यसै बेला ज्येष्ठ पुत्र रूक्मवान, अनि सुषेण, वसु र विश्वावसु नामक छोराहरू पनि आए । मुनिले क्रमश: ती जम्मैजनालाई आफ्नी आमालाई तत्काल काट्न अर्‍हाए । पिताको यस प्रकारको डरलाग्दो आज्ञा सुनेर चारैजना किंकर्तव्यविमूढ भए । कसैले पनि आमालाई काट्ने आँट गर्न सकेनन् । यो देखेर मुनिले क्रोधित भएर उनीहरूलाई शाप दिए, जसको कारणले उनीहरूको विचारशक्ति नष्ट भयो तथा उनीहरू मृग र चराहरूका समान जडबुद्धि भइहाले । उनीहरूपछि परशुरामजी आश्रममा आए । उनीसित महातपस्वी जमदग्नि मुनिले भने– “बाबु, आफ्नी यस पापिनी आमालाई तत्काल काटिदेऊ तथा यसको लागि आफ्नो मनमा अलिकति पनि खेद नगर ।” यो सुनेर परशुरामजीले आफ्नो बञ्चरोले तत्काल आफ्नी आमालाई काटिदिए ।

त्यसपछि जमदग्नि ऋषिको कोप शान्त भयो । प्रसन्न भएर उनी आफ्नो पुत्रसित भने– “बाबु, तिमीले मेरो आज्ञानुसार यो काम गर्‍यौ, जसलाई गर्नु निकै कठिन थियो । त्यसैले तिमीले आफ्नो मनमा चिताएको वर माग ।” परशुरामजीले भने– “पिताजी, तपाईं प्रसन्न हुनुहुन्छ भने मेरी आमा जीवित भइहालून्, उनलाइ मैले मारेको कुराको सम्झना नहोओस्, उनको मानसबाट पापको नाश भइहालोस्, मेरा चारैजना दाइहरू स्वस्थ भइहालून्, युद्धमा मेरो सामना गर्न सक्ने कोही नहोओस् तथा मलाई लामो आयु प्राप्त होओस् ।” परम तपस्वी जमदग्नि ऋषिले आफ्नो आज्ञाकारी छोराका जम्मै कामना पूर्ण गरिदिए ।

एकचोटि यस्तै उनका जम्मै पुत्रहरू आश्रमबाहिर गएका थिए । यत्तिकैमा अनुप देशका राजा कार्तवीर्य अर्जुन आश्रममा आए । मुनिपत्नी रेणुकाले उनको यथोचित आतिथ्य–सत्कार गरिन् । कार्तवीर्य अर्जुन युद्धको मदले उन्मत्त थिए । मुनिपत्नीले गरेको आतिथ्य–सत्कारको केही वास्ता नगरेर आश्रमको होमधेनु डुक्रीरहँदा पनि त्यसको बाच्छोलाई हरण गरेर आश्रमका रूख–बुट्यानहरूलाई पनि ढालिदिए । परशुरामजी आश्रममा आएपछि जमदग्नि मुनिले कार्तवीर्य अर्जुनको जम्मै करतुतबारे सुनाए । उनले रोइरहेकी होमधेनु गाईलाइ देखेर अत्यन्त क्रोधित भई कालको वशीभूत भएका कार्तवीर्य अर्जुनलाई खोज्दै गए । कार्तवीर्य अर्जुनलाई भेटेपछि उनले आफ्नो धनुषले कार्तवीर्य अर्जुनको एक हजार बाहु काटेर उनलाई परास्त गरेर कालको गाँस बनाए । आफ्नो बुबाको पराजय सुनेर छोराहरू क्रोधित भएर परशुरामजीको अनुपस्थितिमा आश्रममा जाइलागे । जमदग्नि ऋषि तपस्वी ब्राह्मण भएको हुनाले उनले कुनै विवाद गरेनन् तैपनि कार्तवीर्य अर्जुनका छोराहरूले मुनि अनाथभैंm ‘हे राम, हे राम’ गरिरहँदा पनि उनको हत्या गरिदिए । उनीहरू मुनिको हत्या गरी आश्रमबाट गइसकेपछि परशुरामजी समिधा लिएर आश्रममा आइपुगे । त्यहाँ आएर आफ्नो पितालाई यस प्रकार दुदर्शापूर्वक मरेको देखेर उनलाई बडो दु:ख भयो तथा उनी डाँको छाडेर रुन थाले ।

केही बेरसम्म करुणापूर्वक विलाप गरेर उनले आफ्नो पिताको अग्नि संस्कार र प्रेतकर्म गरेर सम्पूर्ण क्षत्रीयहरूको संहार गर्ने प्रतिज्ञा गरे । महाबली परशुरामजी क्रोधको आवेशमा साक्षात् कालको समान भएर कार्तवीर्य अर्जुनका जम्मै सन्तानहरूको संहार गरिदिए । त्यस बेला जुन जुन क्षत्रीयहरूले उनीहरूका पक्ष लिए, ती जम्मै क्षत्रीयहरूलाई सखाप पार्दै सम्पूर्ण संसारका क्षत्रीयहरूको एकाइसपटक संहार गरेर उनीहरूको रगतले समन्तपञ्चक क्षेत्रका पाँचवटा सरोवरहरूलाई भरिदिए तथा आफूले विजय गरेको सम्पूर्ण पृथ्वी ब्राह्मणहरूलाई दान गरी आफू महेन्द्र पर्वतमा वास गर्न थाले ।

(स्रोत : महाभारतबाट सङकलन तथा अनुवाद गरिएको )

This entry was posted in पौराणिक कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.