~विश्वराज अधिकारी~
अड्ढितले भने–“मैडम, म एक किसिमले पागलजस्तो भएको छु, न ठीकसँग बाँच्न सकिरहेको छु, न मर्न सकेको छु, आत्महत्या गरेर । तपाईंले मलाई केही पनि नगरेकोले त झनै विचलित तुल्याएको छ मलाई । मैले त विचार गरेको थिएँ, तपाईंले अवश्य पनि प्रहरीलाई खबर गर्नुहुनेछ । अनि मैले जेलमैं बसेर भए पनि आफ्नो पापको प्रायश्चित्त गर्न पाउँछु, तर तपाईंले त्यस्तो केही पनि गर्नु भएन । मप्रति अति नै असाधारण गाँधीवादी दृष्टिकोण राख्नुभयो ।
दिलाशा मैडमले अड्ढित कुरा सुन्नुभयो तर उसलाई केही पनि भन्नुभएन ।
अड्ढितले भने – साथीहरूको लहैलहैमा लागेर तपाईं आमाजस्ती मान्छेलाई मैले त्यस्तो गरें । नर्कमा पनि ठाउँ नहुने किसिमको महापराध, अति नै घृणित कार्य भयो मबाट । त्यसैले मेरो त्यो अपराधको लागि मलाई अवश्य पनि सजाय दिनुस्, दिलाशा मैडम । अहिले नै प्रहरीलाई बोलाएर मलाई गिरफ्तार गर्न लगाउनुस् । प्रहरीलाई सबै कुरा भन्नुस्, हामीले एक महिना पहिले, शनिवारको रात तपाँईसँग कस्तो व्यवहार गरेका थियौं । आफ्नो कलेजको शिक्षकसँग पनि कसैले त्यस्तो व्यवहार गर्छ ? तर हामीले त्यस्तो घृणित कार्य गर्यौं । कालो इतिहास बनायौं । त्यस घटनामा संलग्न साथीहरूले आफूलाई महाअपराधी नठाने पनि म भने आफूलाई त्यस्तो ठान्दछु । त्यस कारण मैले कुनै गम्भीर सजाय पाउने किसिमबाट मुद्दा अगाडि बढानुस् । तपाईंले त्यस्तो गर्नुभयो भने मेरो आत्माले शान्ति पाउने छ, म मरें भने पनि । यो अवस्थामा त मैले आत्महत्या गरे पनि मेरो मनले शान्ति पाउने देखिरहेको छैन । त्यसैले म आज तपाईं नजिक आएको हो, कुनै किसिमको गम्भीर सजाय तपाईंबाट पाउने अभिप्रायले ।
लामो मौनतापछि दिलाशा मैडमले भन्नुभयो–तिमीले मप्रति गरेको त्यो घृणित कार्यका लागि म तिमीलाई एउटा सजाय म दिन चाहन्छु ।
अड्ढितले भन्यो–“मैडम, जस्तोसुकै सजाय दिनु भए पनि म तयार छु, त्यो भोग्न । मलाई आत्महत्या गरेर मर भन्नुभए भने पनि म मर्न तयार छु । तपाईंले भनेर मैले मर्न पाएँ भनें त्यो मेरो पापको प्रायश्चित्त ठान्नेछु ।”
दिलाशा मैडमले भन्नुभयो–तिम्रो लागि सजाय यो छ, मैले पढाउने स्कूलमा तिमीले पढाउनुपर्नेछ ।
यो त सजाय नै भएन, मैडम । यो त झन् मलाई पुरस्कृत गरेको जस्तो भयो । अड्ढितले तुरुन्तै उत्तर दियो।
सजाय यो नै हो । तिमीलाई इच्छा लाग्छ गर, लाग्दैन नगर ? मैडमले प्रस्ट पार्नुभयो ।
अड्ढितले स्वीकृति जनायो । मैडमले काम गर्ने स्कूलमा पढाउन शुरु गर्यो पनि ।
स्कूलमा पढाएको एक महिनापछि मैडम समक्ष उपस्थित भयो अड्ढित । उसले भन्यो–मैडम, अरु नै कुनै सजाय दिनुहोस् मलाई, तर यो सजाए नदिनुहोस् । सक्नुहुन्छ भने म रिभल्भर दिन्छु, मलाई गोली ठोक्नुस् । त्यसो गर्नुभयो भने केवल एकचोटी मर्नुपर्छ मैले । सधैं स्कूलमा आउँदा, तपाईंलाई देख्दा, मैले तपाईंलाई बलात्कार गरेको दृश्य नाच्न थाल्छ मेरो आँखामा । मेरो अन्तर्आत्माले धिक्कार्न थाल्छ– आमातुल्यसँग किन त्यस्तो व्यवहार गरिस् भन्दै । म मरेतुल्य हुन्छु । यसरी हेरक दिन स्कूल आउँदा, हरेक दिन तपाईंलाई देख्दा म मरिरहेको छु । म प्रत्येक दिन मर्छु । मलाई यो स्थितिबाट मुक्ति दिनुहोस् ।
तिम्रो लागि उत्रम सजाय यै हो । एउटै अपराधका लागि प्रत्येक दिन अपराध बोध हुनुभन्दा ठूलो अर्को कुनै सजाय हुन सक्तैन । दिलाशा मौडमको मन्तव्य आयो ।
समाप्त
(स्रोत : प्रतीक दैनिक पत्रिका)