~लक्ष्मण नेवटिया~
जताततै एउटै काम छ,
जोडेकोलाई तोड्ने,
अति नै दुख पाइसक्यौं,
नियत राखौं जोड्ने,
धेरै हामी पर्खिसक्यौं,
अरू नपर्खाउनुस्,
बाटो छिटै बनाउनुस।
धन्यवाद त दिनै पर्यो,
महानगरपालिका बनाइयो,
तर अग्रस्थानमा रहेकालाई,
किन पाँच श्रेणीमा पुर्याइयो?
एकताबद्ध भै लागिपरेर,
गुमेको शान फर्काउनुस्,
बाटो छिटै बनाउनुस्।
कहाँ कसले गल्ती गरे,
अहिले न कोट्याउनुस्
सहरलाई उभो लाउन,
सारा शक्ति लगाउनुस्
सपना जे देखाउनु भयो,
विपना गरि पुर्याउनुस्,
अरू कुरा पछि गरौंला,
बाटो छिट्टै बनाउनुस्।
भाषण गर्ने धेरै देशमा,
गरेर तपाईं देखाउनुस्,
“न” गर नगरलाई गर्ने बनाई,
प्रदेश राजधानी बनाउनुस्,
कतै षडयन्त्र अरू नै नहोस् ,
हौसिएर कदम बढाउनुस्,,
गफै गफ यहाँ धेरै भैसक्यो,
अब बाटो छिट्टै बनाउनुस्।
-लक्ष्मण नेवटिया, बिराटनगर
(स्रोत : “उद्घोष”मा प्रकाशित कविता)