छन्द कविता : सत्ता

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : अनुष्टुप्

क्रूर हुन्छ सधैँ सत्ता लास गन्दै रमाउँछ
अन्धो यो चोर छाडेर साधुलाई समाउँछ !

सुन्दैन कान सत्ताले जस्तै रुँदा कराउँदा
निदाउँछ सधैँ सत्ता देशै सर्वस्व सल्कँदा !

माथि हुन्छ सधैँ सत्ता आँखा हेर्दैन तल्तिर
हेर्छ हेर्छ अझै माथि घुम्छ आकाश फर्फर !

शान रवाफ हो सत्ता दास खोज्छ यताउता
खाएर भक्तको ताली नेता बन्दछ देवता !

अजिँगर सधैँ सत्ता गाँस निल्छ चुली चुली
उपदेश सधैँ दिन्छ देश फेर्दैन काँचुली !

छलछाम सधैँ सत्ता छलेर कर छाम्दछ
खलको बल हो सत्ता सोझाको मुटु काम्दछ !

सुन जागिर हो सत्ता सुन पैह्रेर नाच्दछ
महँगो सरको कार देशकै हाड भाँच्दछ !

सत्ताको दिल नै हुन्न कहाँ पग्लन्छ पत्थर ?
आशाले पछि लागेको स्याल सन्तुष्ट के छ र ?

(स्रोत : “सपनामा हराएको बिपना” – कवितासंग्रह – २०६६ बाट साभार )

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.